गत वर्ष १ हजार १०८ जना पक्राउ, ९ हजार किलो गाँजा बरामद
रौतहट — सर्लाहीको चुरे क्षेत्रबाट बुधबार राति प्रहरीले लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई २ सय ४४ किलो गाँजासहित नियन्त्रणमा लियो । प्रहरी अनुसन्धानका क्रममा चौधरीले अहिलेसम्म गाँजाको मुख्य मालिकको नाम भनेका छैनन् ।
प्रहरीले भने मुख्य व्यक्ति नजिक पुग्ने प्रयास गरिरहेको दाबी गरिरहेको छ । गाँजा बरामदको यो पछिल्लो र सामान्य घटना मात्रै हो । यस्ता घटना सर्लाहीमा मात्रै होइन मधेश प्रदेशमा हरेक दिन दोहोरिइरहेका छन् ।
प्रहरीले गाँजा बरामद गरेका तथ्यांक केलाउँदा मधेश प्रदेशमा पछिल्लो दुई वर्षमा लागुऔषध गाँजाको कारोबार बढेको देखिन्छ । बुधबारको घटनामा सिन्धुलीको मरिनबाट सर्लाहीको लालबन्दी आउँदै गरेको बा२०च १७८२ नम्बरको पिकअप गाडी लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा चेकिङका क्रममा नियन्त्रणमा परेको थियो । अनि यही गाडीमा थिए, सुशील चौधरी । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार भुसको बोरामुनि लुकाई ल्याउँदै गरेको ४५ पोका गाँजासहित चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
मधेशमा गाँजा ओसारपसारका घटना कति बढिरहेका छन् भनेर बुझ्न आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को तथ्यांक केलाउँदा नै काफी हुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका ८ जिल्लामा २०८०/०८१ मा ८ हजार ५ सय ४० किलो ९५० ग्राम गाँजा बरामद गरेको छ । २०८१/०८२ मा भने प्रहरीले अघिल्लो वर्षभन्दा झन्डै चार हजार किलो बढी अर्थात् १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम गाँजा बरामद गर्यो । यो तथ्यांकले मधेशमा गाँजा ओसारपसार कसरी बढिरहेको छ भनेर बुझाउँछ ।
सर्लाही र सिन्धुलीको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको सूचना प्रहरीसँग छ । तर यस्तो खेतीमा को संलग्न छन् र उनीहरूले कसरी लामो समय लगाएर गाँजा उत्पादन गर्ने र अवैध रूपमा भारत पठाउने काम गर्न सकिरहेका छन् भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गर्न सकेको देखिन्न । फलतः गाँजा तस्करीका घटना सार्वजनिक भइरहेका छन् ।
गाँजासहित पक्राउ परेकाहरूको बयानका आधारमा मकवानपुर, सिन्धुली, सर्लाही, पर्साजस्ता जिल्लामा उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय बजार रहेको बुझिन्छ । बुधबारको घटनामा पक्राउ परेका चौधरीको मोबाइलमा विभिन्न व्यक्तिको नाम कोड भाषामा सेभ गरेको प्रहरीले फेला पारेको छ । प्रहरी निरीक्षक पाठकले गाजा सप्लायर्सको मुख्य मानिसको नाम नै कोड भाषामा राखेको हुन सक्ने सुनाए ।
रौतहटको ईशनाथ नगरपालिका–१ स्थित झोलुंगे पुलनजिक २०८१ चैत्र २६ गते राति प्रहरीले हतियारसहित एक जना गाँजा कारोबारीलाई पक्राउ गर्यो । यो घटना भने अरूभन्दा फरक थियो । किनकि गाँजा तस्करहरूले हतियारको आडमा रेकी गरेर गाँजा भारत लैजाँदै थिए । यही घटनामा प्रहरीले गौर नगरपालिका–४ स्थित टिकुलियाका २१ वर्षीय सावन गिरीलाई गाँजा र हतियारसहित पक्राउ गर्यो । झोलुंगे पुलको पश्चिमपट्टि केराबारीमा गौंडा कुरेर बसेको प्रहरी टोलीले सोही राति ४ जनाले टाउकामा प्लास्टिकको बोरा बोकेर हिँडेको फेला पारेको थियो । अगाडि-पछाडि केही मानिस टर्च बालेर गाँजा बोक्ने भरियालाई सुरक्षा दिइरहेका थिए ।
पुलको पश्चिमतर्फ केराबारीको बीच बाटो हुँदै भारततर्फ गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीले पहिचान गर्न टर्च बालेको थियो । त्यसपछि गाँजा बोकेकाहरू बोरा फालेर भागे । पिछा गर्दै जाने क्रममा प्रहरीले भुइँमा लडेको अवस्थामा गिरीलाई फेला पारेर नियन्त्रणमा लियो । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गर्यो ।
गिरीलाई पक्राउ गरेको ठाउँनजिकै प्रहरीले गाँजाले भरिएको ४ वटा बोरा फेला परे । बोराभित्र साना ११ वटा पोका थिए । पोकाभित्र झन्डै १ सय ९ किलो गाँजा रहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । गिरीलाई लागुऔषध तथा हातहतियार खरखजाना कसुरअन्तर्गत अदालतबाट म्याद थपेर अनुसन्धान गरेको छ । यो घटनामा गाँजा बोक्ने समूहका अन्य ६/७ जना फरार भए ।
तराई-मधेशका जिल्लामा गाँजाको ओसारपसार बढ्न थालेपछि जिल्ला प्रशासन पर्साले यही चैत २७ बाट लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रम सुरुवात गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागुऔषध सेवनको महारोगबाट बचाउन सबैलाई आग्रह गरेका छन् । प्रहरी र प्रशासनले पर्सा जिल्ला लागुऔषध कारोबारको ट्रान्जिट हब बनेको भन्दै यस्तो अभियान सुरु गरेको हो । प्रजिअ अर्यालले नयाँ पुस्तालाई लागुऔषध सेवनबाट बचाउनका लागि अभियान थालनी गरिएको बताए । उनले यस्तो अभियान एक्लैले गर्दा सार्थक नहुने भएकाले अब पालिकाको बजेट बनाउँदा आ–आफ्नो पालिकामा लागुऔषध समस्या सम्बोधनका लागि बजेट राख्न मेयर र उपमेयरलाई अनुरोध गरे ।
बरामदको परिमाण बढ्दो
पर्साको जगरनाथपुर, पटेर्वासुगौली र ठोरी गाउँपालिका पछिल्लो समय लागुऔषध सेवनकर्ता र गाँजाको ट्रान्जिट हब बनेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पर्सामा चालु आर्थिक वर्षमा लागुऔषधका २ सय २० वटा मुद्दा दर्ता छन् । पर्सामा सुरक्षाकर्मीले नौ महिनाको अवधिमा ३७ बिघा ४ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले ग्रामीण क्षेत्रका सामुदायिक वन र साझेदारी वन अतिक्रमण गरेर गाँजा खेती हुने सूचनाक आधारमा फडानी गरेर नष्ट गर्दै आइरहेको बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा खेती फडानी गरिरहेको बताए ।
पर्सा प्रहरीका अनुसार ३ वर्षको अवधीमा गाँजा बरामद हुने क्रममा पनि वृद्धि भएको देखिन्छ । प्रहरीले २०७९/८० मा १ हजार १ सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै २०८०/८१ मा चार सय ६७ किलोग्राम र २०८१/८२ फागुनसम्मको अवधिमा १ हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ । मकवानपुर लगायतका जिल्लाबाट ओसारपसार हुने गाजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गरेको र यसको क्रम बढिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सिरहा प्रहरीले गत भदौ २२ गते कर्जन्हा नगरपालिका-११ स्थित कर्जन्हा स्कुल टोलबाट झन्डै तीन क्विन्टल गाँजासहित सोही स्थानका ३७ वर्षीय प्रदीप मुखियालाई पक्राउ गर्यो । दुई दिनअघि सोही स्थानबाट इलाका प्रहरी कार्यालय, मिर्चैयाको टोलीले २ सय १७ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले सोही स्थानमा खोजी गर्दा ५० मिटरको दुरीमा खाली जग्गामा २ सय ९० केजी गाँजा बरामद भयो । दुवै दिन बरामद गाँजा एउटै गिरोहको भएको प्रहरीको दाबी छ ।
उनीहरूले विभिन्न स्थानबाट ल्याएर भण्डारण गर्ने, बिक्री वितरण तथा भारत तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनायो । जिल्ला प्रहरी बाराले २०८० असार १४ गते भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ६२ किलो गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुरबाट बीआर २५ जीए १४५८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो । हेटौंडाबाट वीरगन्ज आउँदै गरेको तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी (हाल एसएसपी) होबिन्द्र बोगटीले राजमार्गका सबै सवारी जाँच गर्न आदेश गरेका थिए । जाँचकै क्रममा ९ वटा पोका राखिएको गाँजासहित ट्रक नियन्त्रणमा लिएको थियो । गाडी चालक भने फरार भए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा नेतृत्वको टोलीले राजविराज नगरपालिका–९ मलेठस्थित बाबा भूतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट गाँजासहित तस्करीका सामान बरामद गरेको थियो । स्थानीयको सूचनाका आधारमा एक ट्रकबाट अर्को ट्रकमा चाइनिज स्याउ लोड गरिरहेको पाइएपछि सुरक्षाकर्मीलाई बोलाएर गोदाममा छापा मार्न लगाइएको थियो । गोदाम खानतलासी गर्दा गाँजा फेला पारेको एसपी खतिवडाले बताए । तयारी २४ क्विन्टल १९ किलो गाँजा, चाइनिज स्याउ र अन्य सामान बरामद भएको एसपी खतिवडाको भनाइ छ ।
गत आर्थिक वर्षमा गाँजा तस्करीको आरोपमा १ महिलासहित ८७ जना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दियो । चालु आर्थिक वर्षको अहिलेसम्म ५ हजार ३ सय ६२ किलो बरामद गरेको छ । गाँजा ओसारपसार गरेको आरोपमा ३३ जना पक्राउ परेका छन् ।
प्रहरीको तथ्यांक हेर्दा सबैभन्दा बढी गाँजा तस्करी सप्तरीमा भएको देखिन्छ । सप्तरीमा गत वर्ष १ हजार ६ सय ३१ किलो र ३ हजार ६ ग्राम गाँजा बरामद भएको देखिन्छ । गत असोजमा सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजबाट २ सय ४० केजी गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले सूचनाको आधारमा पछिल्लो ७ महिनाको अवधीमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट मात्रै ४ सय ९० किलो गाँजा बरामद भइसकेको छ ।
तस्करीमा फेरिएको शैली
मकवानपुरको पहाडी भेग गाँजाको उर्वरभूमि नै बन्दै जान थालेको चिन्ता प्रहरीको छ । जिल्लाको मनहरीदेखि माथिल्लो भेगका पहाडी क्षेत्रमा सुरक्षाकर्मीले बर्सेनि गाँजा फँडानी गर्दै आए पनि यो समस्या समाधान हुन सकेको छैन । बरु ठाउँ फेर्ने, शैली फेर्ने र गाँजा खेती गर्ने क्रम जारी छ । कतिसम्म भने प्रहरीले गाँजा तस्करीमा कडाइ गर्दै बस र साना सवारीमा कडा जाँच गर्न थालेपछि तस्करले तेल ट्यांकर, एम्बुलेन्समा राखेर भारत लैजाने प्रयास गर्न थालेका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले चुरे क्षेत्रमा गाँजा र अफिमको उत्पादन बढ्न थालेको बताए । ‘गाँजा र अफिम आउने भनेको सबै मधेश प्रदेशमै हो । पक्राउ परेको देखिने भयो । नपरेको कति हो कति,’ उनले भने, ‘गाँजालाई वैधानिक बनाउनुपर्छ भन्ने बहस चल्न थालेपछि चुरे क्षेत्रका केहीले अब वैधानिक हुने भो, आम्दानी बढी हुन्छ भनेर लगाउन थालेको जस्तो बुझियो । हामी कुन–कुन समूह यसमा लागेको छ, त्यसको पहिचान गरिरहेका छौं ।’
गाजा तस्करीमा संलग्न पक्राउ परे पनि यसका मुख्य लगानीकर्तालाई जोगाउन बयानमा झुटो बोल्ने गरेको प्रहरीको भनाइ छ । मुख्य व्यक्ति मातहत धेरै वटा समूह रहेको प्रहरीको ठम्याइ छ । डीआईजी आचार्यका अनुसार मकवानपुर, धादिङ, सिन्धुलीलगायत चुरेक्षेत्रबाट गाँजा, अफिम मधेश हुँदै भारत लैजाने संगठित समूह नै छ । तर पछिल्लो समय मधेश प्रदेशका प्रहरीले गाँजा बोक्ने भरिया मात्र पक्राउ गरिरहेको देखिन्छ । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका अवकाश प्राप्त पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजमार्गमा तैनाथ प्रहरीको सूचना र प्रभावकारी सक्रियता आवश्यक रहेको बताए ।
सर्लाहीको केही भागमा गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी लागुऔषध नियन्त्रण ब्युरो जनकपुरको समन्वयमा जिल्ला प्रहरी सर्लाही, इलाका प्रहरी लालबन्दी र सशस्त्र प्रहरी गण सर्लाहीको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ बाट १६ क्विन्टल गाँजा बरामद गरेको थियो । २०८१ जेठ २३ को यो घटनामा प्रहरीले गाँजा राखिएका १६ वटा ड्रम, गाँजा च्याप्ने एउटा मेसिनसमेत प्रहरीले बरामद गर्यो । गाँजा बरामद गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी आचार्यले बताए । ‘हामीले गाँजा तस्करको सञ्जाल तोड्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘यसको मुख्य धनीको नाम पक्राउ परेकाहरूले भन्नै चाहँदैनन्, मधेश प्रदेशभरि लागुऔषध नियन्त्रणको छुटै टिम खटिरहेको छ ।’
लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी एसपी नारायणप्रसाद अधिकारीले नेपालमा करिब १ लाख ५० हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको बताउँदै यसमा गाँजा प्रयोगकर्ता असंख्य रहेको अनुमान सुनाए । उनले मधेश प्रदेशबाट गाँजाको तस्करी भारततिर भइरहेको सूचना आफूहरूसँग रहेको बताउँदै भने, ‘पछिल्लो समय ओसारपसार गर्नेले त्यस्तै बेस बनाएर, भेराइटी बदलेर काम गर्न थालेका छन् । हामी बढी एक्सनमा पनि गएका छौं । यसलाई नियन्त्रण गर्ने प्रयास जारी छ ।’
