यार्चा संकलकलाई हिमपहिरोको जोखिम

०८० मा बझाङसहित दार्चुला, मुगु र रसुवामा ७ वटा हिमपहिरोमा १२ जनाको ज्यान गयो । तीमध्ये सुदूरपश्चिमको बझाङ र दार्चुलामा गएको हिमपहिरोमा परेर यार्चा संकलन गर्न गएका ९ जनाको मृत्यु भएको थियो ।

वैशाख ८, २०८२

वसन्तप्रताप सिंह

Avalanche risk to Yarcha collectors

बझाङ — ‘हे, सुर्मादेवी यिनीहरुका साथ लागेइ’ शुक्रबार बिहान कुलदेउता पुकार्दै चारै दिशातिर अक्षता पर्छिएपछि सूर्मा गाउँपालिका–२ का चक्र बोहराले छोरी अञ्जना र छोरा सुनिलको लेक हिँड्ने साइत गरिदिए । दुवैलाई त्यहीँ कचौराको अक्षता लगाएर बिदा गर्दै भने, ‘हिउँ भयाका ठाउँ तल नजानू, जुग जमाना ठीक छैनन्, बाटोमा धुपबत्ती गर्न नबिर्सिनू ।’

टीका लगाइसकेपछि निन्याउरो अनुहार पार्दै दिदीभाइ तीन महिनालाई चाहिने खाद्यान्न, लत्ताकपडा र बन्दोबस्ती सामान भरिएको झोला बोकेर घरबाट निस्किए ।

भिर्ने झोलाको ‘साइड पकेट’ मा धुपको बट्टा र सेतो–रातो रंगका केही थान ध्वजा थिए । केही पर पुगेपछि उनीहरु जस्तै झोला बोकेका १५/१६ जनाको भीडमा मिसिए । उनीहरु सबै यार्चा संकलन गर्न करिब ४५०० देखि ४९०० मिटर उचाइमा पर्ने धानसेरी हिमाल क्षेत्रतर्फ उक्लिदै थिए । खुट्टामा जोश भए पनि सबैको अनुहारमा एकै खालको त्रासभाव देखिन्थ्यो ।

‘अचेल हिउँपहिरा (हिमपहिरो) धेरै आउँछन्, त्यसैले जरा (यार्चा) खोज्न हिउँको तल नजानू भन्नुभएको हो,’ अञ्जनाले बुबाले भनेका कुरालाई प्रस्ट्याउँदै सुनाइन्, ‘नजाऔं भने जरा बढी त्यस्तै ठाउँमा भेटिन्छन्, जाउँ भने पहिरोले च्याप्ने डर हुन्छ ।’

दुई वर्षअघि मात्रै यार्चा खोज्ने क्रममा धानसेरी हिमाल काखमा हिमपहिरोमा परेर अन्जनाकी काकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी नगरपालिका–११ मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामीसहित तीन महिला तथा बालिका एकै चिहान भएका थिए ।

Avalanche risk to Yarcha collectorsबन्दोबस्तीका सामान बोकेर लेकतिर जाँदै यार्चा संकलक । तस्बिरहरु : वसन्तप्रताप सिंह ।

०८० जेठ ७ गते दिउँसो ११ बजेतिर धानसेरीमा गएको हिमपहिरोमा परेर अन्जनाका काका बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । ‘सानो कुण्ड (उक्त घटना भएको ठाउँ) तिर गयो भने त्यहीँ (घटना)को याद आएर झन् डरले मर्नु हुन्छ,’ अन्जनाले भनिन्, ‘पहिला त यस्तो कहिल्यै हुँदैनथ्यो, अचेल पहिरोले सालसालै मान्छे च्यापिन्छन्, लेकबाट घर नफर्केसम्म हत्केलामा परान राखेर हिँड्नु पर्छ ।’

पछिल्ला केही वर्षयता बझाङसहित सुदूरपश्चिमका हिमाली जिल्लाका यार्चा संकलन क्षेत्रमा हिमपहिरोका घटनामा वृद्धि हुन थालेपछि संकलकलाई ज्यानको जोखिम बढेको छ । ‘विश्वभरि नै तापक्रम बढिरहेकाले माइनस वा शून्यको हाराहारीमा तापक्रम हुनुपर्ने हिमाली भूभाग तातिएर हिउँ पग्लिरहेको छ । यसै कारण पहिलेको तुलनामा हिमपहिरोका घटना पनि बढिरहेका छन्,’ जलवायुविद् धर्मराज उप्रेती भन्छन्, ‘हिमालनजिक गएर जडिबुटी टिप्ने स्थानीयलाई हानीनोक्सानी बढ्दैछ । सुदूरपश्चिमका बासिन्दा जो जीवन निर्वाहमा अझै संघर्षरत छन्, उनीहरुलाई अन्तका भन्दा झन् जोखिम पार्ने देखिन्छ ।’

सामान्यतयाः यस भेगका बासिन्दा जाडो समय बेँसी (औल) मा बिताएर वैशाखमा गर्मी सुरु हुन थालेपछि परिवारै लेक उक्लिने गर्छन् । कोही यार्चा तथा जडिबुटी संलकन गर्न बालबच्चा र चौपायासहित महिनौंका लागि लेक उक्लिन्छन् भने कोही भेडाबाख्रा चराउन । वर्षातका समयमा विपद्का दृष्टिले औलभन्दा सुरक्षित मानिने हिमाली क्षेत्रमा पछिल्लो समय हिमपहिरोका कारण यार्चा संकलक तथा स्थानीयको जीवन सुरक्षामा खतरा बढ्दो छ ।

हिमपहिरोका कारण हिमाल आरोही, पर्यटक, हाइड्रोपावर जस्ता क्षेत्र प्रभावित भएका घटना पहिलेदेखि नै चर्चा हुने गरेको छ । तर पछिल्ला वर्षमा स्थानीयकै दैनिकी समेत जोखिमपूर्ण बन्न थालेको छ । ‘हिमपहिरोको मुख्य असर पर्वतारोहण गर्ने र पदयात्रा जानेलाई पर्ने हो, अब स्थानीय पनि प्रभावित हुन थालेका छन् । मानवीय चहलपहल बढेको छ, पहिले यो कम थियो,’ ग्लासियोलोजिस्ट(हिमाल सम्बन्धित विषयका वैज्ञानिक) तथा मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन समेत रहेका सुदीप ठकुरी भन्छन्, ‘अर्को हिमरेखा नै माथि सरेको र प्रि–मनसुनको समयमा हुने तापक्रम वृद्धिले हिमपहरोका घटना पनि बढेका छन् । त्यसो हुँदा जडिबुटी टिप्न वा अन्य जिविकाका सिलसिलामा हिमाली क्षेत्रमा पुगेकालाई असर त पर्ने नै भयो ।’ सामान्यतयाः हिमपहिरो हिमाली क्षेत्रमा गइरहने भए पनि मानवीय क्षति भएपछि मात्रै ‘नोटिस’ मा आउने गरेका छन् । पछिल्ला समय हिमपहिरोका घटना पहिलेभन्दा बढी सुनिन थालेको ठकुरीले बताए ।

Avalanche risk to Yarcha collectors

त्यसो त देशैभरिको विपद् जोखिमस्थितीबारे जानकारी दिने गृह मन्त्रालय अन्तर्गतको नेपाल विपद् व्यवस्थापन पोर्टलमा हिमपहिरोको अभिलेख ०७३ फागुनयताको मात्रै भेटिन्छ । जसमा ०७३ फागुनदेखि ०८१ चैतसम्म देशैभर २७ वटा हिमपहिरो गएको, २५ जनाको मृत्यु भएको र ८ जना हराएको तथ्यांक छ । सबैभन्दा बढी ०८० मा बझाङसहित दार्चुला, मुगु र रसुवामा ७ वटा हिमपहिरोमा जाँदा १२ जनाको ज्यान गएको थियो । यी १२ जनामध्ये सुदूरपश्चिमको बझाङ र दार्चुलामा गएको हिमपहिरोमा परेर यार्चा संकलनका लागि गएका आठ महिला र एक बालकको मृत्यु भएको थियो ।

यो पोर्टलमा ०७७ र ०७४ मा देशैभरको हिमपहिरोको रेकर्ड भेटिँदैन । यद्यपि, ०७७ असारमा ‘रिसर्चगेट’मा प्रकाशित ‘नेपालको हिमाली भेगमा हिमपहिरो तथा हिम प्रकोप’ शीर्षकमा ‘ग्लासियोलोजिस्ट’ ठकुरीसहितको अध्ययन अनुसार सन् १९२२ देखि सन् २०२० को फेब्रुअरीको अवधिमा देशैभरि ६० भन्दा बढी संख्यामा हिमपहिरो र हिमआँधीका घटनामा परेर ३७२ जनाको मृत्यु भएको उल्लेख छ । जसमध्ये सबैभन्दा बढी सन् १९९५ मा ४८ जना, २०१४ मा ५९ र २०१५ मा २३ जनाको मृत्यु भएको थियो । त्यतिखेरको तथ्यांक अनुसार अधिकांश हिमपहिरो र हिमआँधी सगरमाथा, मनास्लु, अन्नपूर्ण र कान्जिरोवा क्षेत्रमा जाने गरेको देखिन्छ ।

Avalanche risk to Yarcha collectors

गृहको विपद् व्यवस्थापन पोर्टलको अभिलेख अनुसार बझाङमा मात्रै ०८० को वैशाख र जेठ तथा गत फागुन १७ गते गरेर तीनपल्ट हिमपहिरो गएको थियो । जस्तोसुकै जोखिम भए पनि वर्षका तीन महिना हिमाली कन्दरा चहार्दै यार्चा खोज्नुको विकल्प हुँदैन यार्चा संकलकहरुलाई । उनीहरुले घरबाट बाटो लागेपछि नफर्केसम्म ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने हुन्छ । ‘तपाईंले पिठ्युँको भारी मात्रै देख्नुभयो, यो भन्दा ठूलो डरको भारी मनमा छ,’ गह्रुँगो भारी बोकेर भीरको बाटो हिँड्न अफ्ठेरो हुँदैन ? भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै सूर्माकै अर्का यार्चा संकलक जीवन बोहराले भने, ‘लेक नगए वर्षभरि बालबच्चा भोकै हुन्छन्, डर मानेर के गर्नू ? पापी पेट पाल्नै पर्‍यो ।’

जीवन १६ वर्षदेखि निरन्तर यार्चा संकलन गर्दै आएका छन् । केही वर्षयता हिमपहिरो खस्ने क्रम बढेको अनुभव उनले पनि सुनाए । ‘भीरबाट लड्ने, चिप्लिने डर त पहिला पनि हुन्थ्यो, चार/पाँच वर्षयता हिउँपहिरोको डर त्योभन्दा बढी छ,’ उनले भने, ‘दिनदिनै हिउँको पहिरो खसिरहेको हुन्छ । पहिरो खसेपछि मान्छेको भागाभाग हुन्छ ।’ उनले मान्छे भएको ठाउँमा पहिरो पुग्नु अगावै आवाज सुनेर सुरक्षित ठाउँमा जान भागाभग गर्ने क्रम दैनिकजसो चल्ने गरेको सुनाए ।

Avalanche risk to Yarcha collectorsसूर्माको धानसेरी क्षेत्रमा पुगेका यार्चा संकलक

हिमपहिरोका घटना बढ्न थालेपछि यार्चा टिपिरहेको ठाउँमा मात्रै नभएर लामो समयदेखि अस्थायी रुपमा बसोबास गर्न पाल टाँग्ने ठाउँमा पनि जोखिम बढेको यार्चा संकलकहरु बताउँछन् । २०८० वैशाख १९ मा सूर्मामै यार्चा संकलकले टाँगेको पाल माथिबाट हिमपहिरो खस्दा व्याँसीमारे हिमालनजिक पालभित्र सुतेकी सिन्की बोहराको ज्यान गएको थियो । उनको परिवार त्यहीँ ठाउँमा १२ वर्षदेखि हरेक वर्ष तीन महिना पाल टाँगेर बस्दै आएको थियो । गत फागुनमा साइपाल गाउँपालिकामा हिमपहिरो जाँदा मानवीय क्षति नभए पनि २५ भेडाबाख्रा मरेका थिए ।

बझाङको धानसेरी हिमालक्षेत्रमा हिमपहिरो गएको १९ दिनअघि ०८० वैशाख १९ गते मात्रै छिमेकी जिल्ला दार्चुलाको व्यास–१ नाम्पा पाटन नजिकको भोलिङस्थित पालमा बसेका पाँच जना यार्चा संकलकले हिमपहिरोमा परेर ज्यान गुमाएका थिए । जसमा दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर, बझाङको साइपाल गाउँपालिकाकी ४५ वर्षीया नक्नी डोमा थापा, डोटी जोरायलकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापा थिए । सुरुमा हिमपहिरोमा बेपत्ता भएका उनीहरुको शव फरक–फरक मितिमा भेटिएको थियो ।

उक्त हिमपहिरोमा दार्चुला, डोटी र बझाङका गरी १२ जना फसेका थिए । बझाङको सूर्मा–१ डोगडीकी ३३ वर्षीया झल्लादेवी बोहरा पार्थी हिमाल क्षेत्रमा पुगेर यार्चा संकलन गरेर फर्किने क्रममा छोराहरुसहित हिमपहिरोमा हराएका थिए । २०७७ मा साइपाल गाउँपालिकाको फरालखेतमा गएको हिमपहिरोमा परेर एक जना यार्चा संकलकको मृत्यु भएको थियो ।

Avalanche risk to Yarcha collectors

यसैगरी ०८० सालमै वैशाख २२ गते मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखु लेकमा हिमपहिरोमा परेर यार्चा संकलन गर्न त्यसक्षेत्र पुगेका तीन जनाको मृत्यु भएको थियो । जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँबाट यार्चा टिप्न गएका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहराको शव हिमपहिरोमा परेर हराएको ३२ दिनपछि भेटिएको थियो ।

प्रत्येक वर्ष यी जिल्लाका हिमाली क्षेत्रमा यार्चा तथा जडीबुटी संकलनका लागि देशका विभिन्न ठाउँबाट हजारौंको संख्यामा मानिस पुग्ने गर्छन् । वैशाखदेखि असारसम्म यहाँ बसेर जडीबुटी संकलन गर्ने उनीहरुले दैनिकजसो यस्तो जोखिमको सामना गर्नुपर्ने हुन्छ ।

हिमपहिरोको संख्या र फैलावट वृद्धि भएर स्थानीयकै जनजीवनमा असर पार्न थालेकाले सरकारले जोखिम मापन, पूर्वतयारी तथा जनचेतना अभिवृद्धिका काम गर्नुपर्ने विज्ञले सुझाएका छन् । सरकारले तथ्यांक अभिलेखीकरणदेखि नै काम थाल्नुपर्ने जलवायुविद् उप्रेती बताउँछन् । ‘सरकारले मानवीय क्षति कम भएर तथ्यांक नराख्ने गर्नु हुँदैन, हिमपहिरोको सालिन्दा तथ्यांक राखेर कस्तो क्षति बढ्दैछ, ती ठाउँमा मान्छे जान दिने भए कसरी सुरक्षित हुने, पाल लगाउनेलगायतका कुरा स्थानीयलाई बझाउनुपर्‍यो,’ उनले भने, ‘जोखिम मोलेर जडिबुटी टिप्न जानेलाई वैकल्पिक रोजगारी दिन सक्ने भए त्यो विकल्प खोज्नुपर्‍यो ।’

Avalanche risk to Yarcha collectors

ग्लासियोलोजिस्ट ठकुरीले उच्च हिमाली क्षेत्र संवेदनशील हुने भएकाले त्यस्ता ठाउँमा जानुअघि मौसम पूर्वानुमान गरेर जडीबुटी संकलक तथा स्थानीयको आवतजावतलाई ध्यान दिन स्थानीय सरकारले काम गर्नुपर्ने बताए ।

‘स्थानीय जनप्रतिनिधिलाई कुन ठाउँमा कस्तो जोखिम हुन्छ भनेर बढी जानकारी हुन्छ, उनीहरुले संवेदनशील क्षेत्रको वैज्ञानिक ‘म्यापिङ’ गराएर कहाँ कसरी जाने भन्ने जनचेतना जगाउन सक्छन्, यसरी हिमपहिरोको जोखिम कम गर्न सकिन्छ,’ उनले भने ।

साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले हिमपहिरोको जोखिम बढेकाले लेक जाने यार्चा, जडिबुटी संकलक, स्थानीय तथा कृषकलाई ३ देखि ६ महिनाको जीवन बिमा गर्ने सोच बनाएको बताए । ‘यस्ता घटना वर्षैपिच्छे भैराखेका हुन्छन्, कहिले मान्छे बित्छन्, कहिले बाख्रापाठा । हामीसँग प्राविधिक दक्षता नभएकाले केन्द्रको सरकारले विज्ञ पठाएर जोखिम मापन गरिदिए राम्रो हुन्थ्यो,’ उनले भने ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully