झापामा दुई दशकयता २१ हात्ती मारिए, अनुसन्धान अधुरै

झापाका जंगलमा दुई दर्जनभन्दा बढी रैथाने हात्ती भएको संरक्षणकर्मीको अनुमान, तीमध्ये धेरै घाइते अवस्थामा

वैशाख ७, २०८२

नवराज सुवेदी

21 elephants were killed in Jhapa in the last two decades, the investigation is incomplete

झापा — झापाको मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन । एउटा घाइते हात्ती खुट्टा र पछाडिपट्टिको भागमा चोट लिएर कैयौं दिनदेखि जंगलको वल्लो छेउ र पल्लो छेउमा भौंतारिइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालय झापासँगको सहकार्यमा उक्त हात्तीको उपचार गरिरहेको छ । तर अपेक्षाकृत सुधार आउन सकिरहेको छैन । 

उपचारमा प्रत्यक्ष संलग्न संरक्षणकर्मी शंकर लुइँटेलका अनुसार हात्तीको उमेर ढल्कँदै गएका कारण उपचार प्रभावकारी बन्न नसकिरहेको हो । झापाका जंगलमा यसरी घाइते अवस्थामा हात्ती भेटिने गरेको यो पहिलोपटक भने होइन । स्थानीय जंगलमा वर्षौंदेखि विचरण गर्दै आएका रैथाने हात्ती पटकपटक घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छ भने अधिकांश घाइते अवस्थामै भौंतारिएका छन् ।

हात्ती संरक्षणकर्मी लुइँटेलले गत फागुन २८ मा मेचीनगर–४ मा एउटा घाइते हात्ती देखे । देब्रे खुट्टा, ढाड र दाहिने पातामा चोट देखिएको उक्त हात्तीमा गोलीका छर्रा लागेजस्तो देखिन्थ्यो । चोटले भौंतारिरहेको हात्ती गाउँगाउँ डुलेर आहारा खोजिरहेको थियो । 

21 elephants were killed in Jhapa in the last two decades, the investigation is incomplete

गत चैत २६ गते मेचीनगर–१ मा एउटा हात्ती घाइते अवस्थामा गाउँनजिक निजी वनसम्म आइपुग्यो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त हात्तीको तिघ्रा सुन्निएर डम्म थियो । सुन्निएको भागमा भित्रभित्रै घाउ पाके जस्तो देखिन्थ्यो भने हात्ती सुस्त शैलीमा हिँडिरहेको देखिन्थ्यो । 

यो घटनाको केहीदिनपछि मेचीनगर–१३ चारआलीस्थित प्रगति सामुदायिक वनमा अर्को वयस्क हात्ती आँखा नदेखेर हिँडडुल गर्न नसक्ने अवस्थामा भेटियो । पूर्वपश्चिम राजमार्गनजिक आइपुग्दा सयौं सवारीसाधनको ओहोरदोहोरले बिच्किएर गाउँ पस्ला भनेर डिभिजन वन कार्यालयले उक्त हात्तीलाई जंगलमै धपाउन सुरक्षाकर्मीसमेत परिचालन गरेको थियो । 

यसरी जिल्लाका विभिन्न स्थानमा एकपछि अर्को गर्दै घाइते हात्ती देखिइरहेका छन् । यस्ता हात्ती गाउँबस्तीसम्मै आइपुग्छन् भने मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, भद्रपुर, कचनकवल लगायतका क्षेत्रमा पटकपटक देखा पर्छन् । यी रैथाने हात्ती भएको संरक्षणकर्मीको मत छ । तर, वर्षौंदेखि स्थानीय जंगलमा विचरण गर्दै आएका हात्ती किन पटकपटक घाइते अवस्थामा भेटिन्छन् ? कसले घाइते बनाइरहेको छ हात्ती ? 

संरक्षणकर्मीको यसमा एक मत छ । कि हात्ती आपसमा जुधेर घाइते भइरहेका छन् कि त मानवीय आक्रमणमा परेर । लगातार हात्ती घाइते भेटिनु मानवीय प्रहारको उपज मान्छन् वन्यजन्तु संरक्षणकर्मी देवेन्द्र खरेल । ‘जब मान्छेले धर्ती मेरो मात्रै हो भनेर आधिपत्य जमाउन खोज्यो तब हात्ती मारिने र घाइते हुने क्रम बढ्दै गएको हो,’ खरेल भन्छन्, ‘मान्छेले सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्यो, यसैको नतिजा पछिल्लो समय जंगली हात्तीले भोगिरहेको छ ।’ 

21 elephants were killed in Jhapa in the last two decades, the investigation is incomplete

उनी झापाका जंगलमा दुई दर्जनभन्दा बढी रैथाने हात्ती भएको र तीमध्ये धेरै घाइते अवस्थामा रहेको बताउँछन् । अधिकांश हात्तीको शरीर सग्लो अवस्थामा नभेटिएर कुनै न कुनै चोट रहेको उनी बताउँछन् । समूहमा हिँड्ने हात्तीलाई एउटा मादाले नेतृत्व गरेको हुन्छ । हात्तीको समूहमा आफ्नै अनुशासन हुन्छ । यसरी समूहबाट अलग्गिएर एक्लै हिँड्ने (रैथाने) हात्ती अरुभन्दा धेरै आक्रमणमा पर्ने गरेको खरेलको अनुभव छ । 

समूहबाट अलग्गिएर एक्लै हिँड्ने हात्ती कोही अनुशासित हुन्छन् भने कोही अन्यसँग जाइलाग्ने खालका हुन्छन् । यसरी एकआपसमा जुध्दा हात्ती घाइते हुने गरेको उनी बताउँछन् । एक्लै हिँडेका हात्ती आहाराको खोजीमा बस्तीसम्म आइपुग्दा मान्छेले खेद्ने क्रममा विभिन्न औजार (ढुंगा, राँको, भाला, पटका, धातुजन्य वस्तु) लगायत प्रहार गर्छन् । यो पनि हात्ती घाइते हुने अर्को कारण रहेको उनको ठहर छ । ‘हात्ती सग्लो अवस्थमा भेट्नै मुस्किल छ । कि कान छेडेको अवस्थामा हुन्छ कि आँखा, सुँडमा, छाला, खुट्टामा कतै न कतै चोट भेटिन्छ,’ खरेल भन्छन्, ‘यी अधिकांश चोट मानवीय प्रहारबाट भएको पाइन्छ ।’ 

डिभिजन वन कार्यालयले वन्यजन्तु मरे कारणबारे अनुसन्धान गर्छ भने घाइतेको उपचारका लागि समन्वय गर्छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ पनि हात्ती आपसमा जुधेर वा मानवीय आक्रमणबाट घाइते हुने गरेको बताउँछन् । ‘हात्ती गम्भीर घाइते हुने एउटा कारण प्राकृतिक कारण हो । प्रजनन, आहारा लगायतका लागि विशेषगरी भाले हात्ती आपसमा जुध्छन् । यसरी जुध्दा हात्ती गम्भीर घाइते हुने गरेको पाएका छौं,’ उनी भन्छन् । यसका अलवा मान्छेले विभिन्न औजार प्रहार गर्दा पनि हात्ती घाइते हुने गरेको उनको भनाइ छ । 

21 elephants were killed in Jhapa in the last two decades, the investigation is incomplete

गम्भीर घाइते भएका हात्तीलाई वन कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरी उपचार गर्दै आएको छ । ‘तर, भीमकाय जनावर हात्तीको उपचार गर्न सहज हुँदैन । उपचारका लागि लठ्याउनु एकदमै जोखिमपूर्ण कार्य हो,’ उनी भन्छन्, ‘लठ्याउने चरणमा निसाना (डार्टिङ) मिलेन या हात्तीको बसाइँ मिलेन भने उठ्नै नसक्ने पनि हुन्छ । कतिपय अवस्थामा मृत्यु नै हुन्छ ।’ यसरी जोखिम मोलेर गम्भीर घाइते भएका हात्तीको मात्रै उपचार गरिने उनी बताउँछन् । प्राकृतिक रुपमा घाइते भएका हात्तीलाई भने खासै उपचार गरिँदैन । प्राकृतिक रुपमै उपचार हुने अपेक्षाका साथ छाडिन्छ । पछिल्लो समय भने मान्छेको आक्रमणबाट हात्ती घाइते हुने क्रम बढेको उनको अनुभव छ । ‘मानव–हात्ती बीचको द्वन्द्व पुरानो हो । हात्ती र मान्छे दुवै एकअर्काका लागि महत्वपूर्ण छन्,’ उनी भन्छन् । 

पत्ता लाग्दैनन् तस्कर
झापाको मेचीनगर–१३ स्थित कालिका सामुदायिक वनको मध्य भागमा २०८१ वैशाख सुरुमा करिब ४५ वर्षको हात्ती दुवै दाह्रा काटिएको अवस्थामा मृत फेला पर्‍यो । भरुवा बन्दुक प्रयोग गरी उक्त हात्ती मारेर दाह्रा, पुच्छर, नङलगायत अंग तस्कर गिरोहले लगेको थियो । यस्ता अंग बहुमूल्य मानिन्छन् र यसको अवैध अन्तर्राष्ट्रिय कारोबार भइरहेको संरक्षणकर्मीको भनाइ छ ।  

संरक्षणकर्मी खरेलका अनुसार त्यसबेला एकदमै गन्हाइरहेको अवस्थामा उक्त हात्ती फेला परेको थियो । ‘यति ठूलो जनावर मारेर दाह्रा काटेर लगिसक्दा समेत कसैले चाल पाएनन् । सम्बन्धित टोली पुग्दा गन्धका कारण हात्तीको नजिक जान सक्ने अवस्था थिएन । उचित अनुसन्धान गरी दाह्रा लाने गिरोहको खोजी गर्न हामीले पटकपटक दबाब दियौं,’ खरेल सम्झन्छन्, ‘तर, अहिलेसम्म न त गिरोह पत्ता लाग्यो, अनुसन्धान कहाँ पुग्यो भन्ने पनि थाहा छैन ।’

त्यसको तीन महिनापछि २०८१ असारमा मेचीनगर–३ स्थित बहुवन क्षेत्रमा एक जंगली हात्ती मृत फेला पर्‍यो । स्थानीय धरधरे खोला आसपासमा मृत भेटिएको हात्तीको घाँटीमा गहिरो चोट देखिन्थ्यो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको चिकित्सकको टोलीले पोस्टमार्टम गर्दा हात्तीलाई भरुवा बन्दुक प्रयोग गरी मारिएको पुष्टि भयो । 

21 elephants were killed in Jhapa in the last two decades, the investigation is incomplete

अघिल्लो पटक मेचीनगर–१३ को घटनामा जसरी हात्ती मारिएको थियो, त्यही शैलीमा यसपटक पनि हात्ती मारिएको पाइयो । जिल्लाकै बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा २०७७ कात्तिकमा पनि दाह्रा काटेर लगेको अवस्थामा हात्ती मृत फेला परेको थियो । त्यसको पनि अनुसन्धान कहाँ पुग्यो थाहा छैन । 

कसले र किन हात्ती मारिरहेको छ ? यसबारे सम्बद्ध निकाय बेखबर देखिन्छ । किन पूरा हुँदैन अनुसन्धान ? डिभिजन वन प्रमुख श्रेष्ठ खुला सीमा भएका कारण र वन्यजन्तुको अनुसन्धान जटिलो हुने भएकाले तस्करको गिरोहसम्म पुग्न नसकिने तर्क गर्छन् । ‘यस्ता तस्करीमा ठूला तस्करको संलग्नता हुन्छ, वन्यजन्तुको विषय भएकाले पर्याप्त सूचना पनि पाउन सकिँदैन । खुला सिमाना छ, यी विविध विषयले अनुसन्धानको निष्कर्षमा पुग्न अन्योल हुन्छ,’ उनी भन्छन्, ‘नेपाल प्रहरी, सीआईबी लगायतका निकायको सहयोग लिएर अनुसन्धान गर्छौं । तर, पनि तस्कर गिरोहसम्म पुग्न सकिँदैन ।’ 

दुई दशकयता झापामा मात्रै २१ वटा जंगली हात्ती मारिएका छन् । अधिकांश हात्ती विद्युतीय धरापमा पारेर मारिएको अधिकारीहरु बताउँछन् । तर, किन मारिन्छन् हात्ती ? अनुसन्धान गर्ने निकाय यसतर्फ गम्भीरताका साथ लागेको पाइँदैन । 

(घाइते हात्तीको सबै तस्बिर : शंकर लुइँटेल)

नवराज

Link copied successfully