झापाका जंगलमा दुई दर्जनभन्दा बढी रैथाने हात्ती भएको संरक्षणकर्मीको अनुमान, तीमध्ये धेरै घाइते अवस्थामा
झापा — झापाको मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन । एउटा घाइते हात्ती खुट्टा र पछाडिपट्टिको भागमा चोट लिएर कैयौं दिनदेखि जंगलको वल्लो छेउ र पल्लो छेउमा भौंतारिइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालय झापासँगको सहकार्यमा उक्त हात्तीको उपचार गरिरहेको छ । तर अपेक्षाकृत सुधार आउन सकिरहेको छैन ।
उपचारमा प्रत्यक्ष संलग्न संरक्षणकर्मी शंकर लुइँटेलका अनुसार हात्तीको उमेर ढल्कँदै गएका कारण उपचार प्रभावकारी बन्न नसकिरहेको हो । झापाका जंगलमा यसरी घाइते अवस्थामा हात्ती भेटिने गरेको यो पहिलोपटक भने होइन । स्थानीय जंगलमा वर्षौंदेखि विचरण गर्दै आएका रैथाने हात्ती पटकपटक घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छ भने अधिकांश घाइते अवस्थामै भौंतारिएका छन् ।
हात्ती संरक्षणकर्मी लुइँटेलले गत फागुन २८ मा मेचीनगर–४ मा एउटा घाइते हात्ती देखे । देब्रे खुट्टा, ढाड र दाहिने पातामा चोट देखिएको उक्त हात्तीमा गोलीका छर्रा लागेजस्तो देखिन्थ्यो । चोटले भौंतारिरहेको हात्ती गाउँगाउँ डुलेर आहारा खोजिरहेको थियो ।
गत चैत २६ गते मेचीनगर–१ मा एउटा हात्ती घाइते अवस्थामा गाउँनजिक निजी वनसम्म आइपुग्यो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त हात्तीको तिघ्रा सुन्निएर डम्म थियो । सुन्निएको भागमा भित्रभित्रै घाउ पाके जस्तो देखिन्थ्यो भने हात्ती सुस्त शैलीमा हिँडिरहेको देखिन्थ्यो ।
यो घटनाको केहीदिनपछि मेचीनगर–१३ चारआलीस्थित प्रगति सामुदायिक वनमा अर्को वयस्क हात्ती आँखा नदेखेर हिँडडुल गर्न नसक्ने अवस्थामा भेटियो । पूर्वपश्चिम राजमार्गनजिक आइपुग्दा सयौं सवारीसाधनको ओहोरदोहोरले बिच्किएर गाउँ पस्ला भनेर डिभिजन वन कार्यालयले उक्त हात्तीलाई जंगलमै धपाउन सुरक्षाकर्मीसमेत परिचालन गरेको थियो ।
यसरी जिल्लाका विभिन्न स्थानमा एकपछि अर्को गर्दै घाइते हात्ती देखिइरहेका छन् । यस्ता हात्ती गाउँबस्तीसम्मै आइपुग्छन् भने मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, भद्रपुर, कचनकवल लगायतका क्षेत्रमा पटकपटक देखा पर्छन् । यी रैथाने हात्ती भएको संरक्षणकर्मीको मत छ । तर, वर्षौंदेखि स्थानीय जंगलमा विचरण गर्दै आएका हात्ती किन पटकपटक घाइते अवस्थामा भेटिन्छन् ? कसले घाइते बनाइरहेको छ हात्ती ?
संरक्षणकर्मीको यसमा एक मत छ । कि हात्ती आपसमा जुधेर घाइते भइरहेका छन् कि त मानवीय आक्रमणमा परेर । लगातार हात्ती घाइते भेटिनु मानवीय प्रहारको उपज मान्छन् वन्यजन्तु संरक्षणकर्मी देवेन्द्र खरेल । ‘जब मान्छेले धर्ती मेरो मात्रै हो भनेर आधिपत्य जमाउन खोज्यो तब हात्ती मारिने र घाइते हुने क्रम बढ्दै गएको हो,’ खरेल भन्छन्, ‘मान्छेले सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्यो, यसैको नतिजा पछिल्लो समय जंगली हात्तीले भोगिरहेको छ ।’
उनी झापाका जंगलमा दुई दर्जनभन्दा बढी रैथाने हात्ती भएको र तीमध्ये धेरै घाइते अवस्थामा रहेको बताउँछन् । अधिकांश हात्तीको शरीर सग्लो अवस्थामा नभेटिएर कुनै न कुनै चोट रहेको उनी बताउँछन् । समूहमा हिँड्ने हात्तीलाई एउटा मादाले नेतृत्व गरेको हुन्छ । हात्तीको समूहमा आफ्नै अनुशासन हुन्छ । यसरी समूहबाट अलग्गिएर एक्लै हिँड्ने (रैथाने) हात्ती अरुभन्दा धेरै आक्रमणमा पर्ने गरेको खरेलको अनुभव छ ।
समूहबाट अलग्गिएर एक्लै हिँड्ने हात्ती कोही अनुशासित हुन्छन् भने कोही अन्यसँग जाइलाग्ने खालका हुन्छन् । यसरी एकआपसमा जुध्दा हात्ती घाइते हुने गरेको उनी बताउँछन् । एक्लै हिँडेका हात्ती आहाराको खोजीमा बस्तीसम्म आइपुग्दा मान्छेले खेद्ने क्रममा विभिन्न औजार (ढुंगा, राँको, भाला, पटका, धातुजन्य वस्तु) लगायत प्रहार गर्छन् । यो पनि हात्ती घाइते हुने अर्को कारण रहेको उनको ठहर छ । ‘हात्ती सग्लो अवस्थमा भेट्नै मुस्किल छ । कि कान छेडेको अवस्थामा हुन्छ कि आँखा, सुँडमा, छाला, खुट्टामा कतै न कतै चोट भेटिन्छ,’ खरेल भन्छन्, ‘यी अधिकांश चोट मानवीय प्रहारबाट भएको पाइन्छ ।’
डिभिजन वन कार्यालयले वन्यजन्तु मरे कारणबारे अनुसन्धान गर्छ भने घाइतेको उपचारका लागि समन्वय गर्छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ पनि हात्ती आपसमा जुधेर वा मानवीय आक्रमणबाट घाइते हुने गरेको बताउँछन् । ‘हात्ती गम्भीर घाइते हुने एउटा कारण प्राकृतिक कारण हो । प्रजनन, आहारा लगायतका लागि विशेषगरी भाले हात्ती आपसमा जुध्छन् । यसरी जुध्दा हात्ती गम्भीर घाइते हुने गरेको पाएका छौं,’ उनी भन्छन् । यसका अलवा मान्छेले विभिन्न औजार प्रहार गर्दा पनि हात्ती घाइते हुने गरेको उनको भनाइ छ ।
गम्भीर घाइते भएका हात्तीलाई वन कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरी उपचार गर्दै आएको छ । ‘तर, भीमकाय जनावर हात्तीको उपचार गर्न सहज हुँदैन । उपचारका लागि लठ्याउनु एकदमै जोखिमपूर्ण कार्य हो,’ उनी भन्छन्, ‘लठ्याउने चरणमा निसाना (डार्टिङ) मिलेन या हात्तीको बसाइँ मिलेन भने उठ्नै नसक्ने पनि हुन्छ । कतिपय अवस्थामा मृत्यु नै हुन्छ ।’ यसरी जोखिम मोलेर गम्भीर घाइते भएका हात्तीको मात्रै उपचार गरिने उनी बताउँछन् । प्राकृतिक रुपमा घाइते भएका हात्तीलाई भने खासै उपचार गरिँदैन । प्राकृतिक रुपमै उपचार हुने अपेक्षाका साथ छाडिन्छ । पछिल्लो समय भने मान्छेको आक्रमणबाट हात्ती घाइते हुने क्रम बढेको उनको अनुभव छ । ‘मानव–हात्ती बीचको द्वन्द्व पुरानो हो । हात्ती र मान्छे दुवै एकअर्काका लागि महत्वपूर्ण छन्,’ उनी भन्छन् ।
पत्ता लाग्दैनन् तस्कर
झापाको मेचीनगर–१३ स्थित कालिका सामुदायिक वनको मध्य भागमा २०८१ वैशाख सुरुमा करिब ४५ वर्षको हात्ती दुवै दाह्रा काटिएको अवस्थामा मृत फेला पर्यो । भरुवा बन्दुक प्रयोग गरी उक्त हात्ती मारेर दाह्रा, पुच्छर, नङलगायत अंग तस्कर गिरोहले लगेको थियो । यस्ता अंग बहुमूल्य मानिन्छन् र यसको अवैध अन्तर्राष्ट्रिय कारोबार भइरहेको संरक्षणकर्मीको भनाइ छ ।
संरक्षणकर्मी खरेलका अनुसार त्यसबेला एकदमै गन्हाइरहेको अवस्थामा उक्त हात्ती फेला परेको थियो । ‘यति ठूलो जनावर मारेर दाह्रा काटेर लगिसक्दा समेत कसैले चाल पाएनन् । सम्बन्धित टोली पुग्दा गन्धका कारण हात्तीको नजिक जान सक्ने अवस्था थिएन । उचित अनुसन्धान गरी दाह्रा लाने गिरोहको खोजी गर्न हामीले पटकपटक दबाब दियौं,’ खरेल सम्झन्छन्, ‘तर, अहिलेसम्म न त गिरोह पत्ता लाग्यो, अनुसन्धान कहाँ पुग्यो भन्ने पनि थाहा छैन ।’
त्यसको तीन महिनापछि २०८१ असारमा मेचीनगर–३ स्थित बहुवन क्षेत्रमा एक जंगली हात्ती मृत फेला पर्यो । स्थानीय धरधरे खोला आसपासमा मृत भेटिएको हात्तीको घाँटीमा गहिरो चोट देखिन्थ्यो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको चिकित्सकको टोलीले पोस्टमार्टम गर्दा हात्तीलाई भरुवा बन्दुक प्रयोग गरी मारिएको पुष्टि भयो ।
अघिल्लो पटक मेचीनगर–१३ को घटनामा जसरी हात्ती मारिएको थियो, त्यही शैलीमा यसपटक पनि हात्ती मारिएको पाइयो । जिल्लाकै बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा २०७७ कात्तिकमा पनि दाह्रा काटेर लगेको अवस्थामा हात्ती मृत फेला परेको थियो । त्यसको पनि अनुसन्धान कहाँ पुग्यो थाहा छैन ।
कसले र किन हात्ती मारिरहेको छ ? यसबारे सम्बद्ध निकाय बेखबर देखिन्छ । किन पूरा हुँदैन अनुसन्धान ? डिभिजन वन प्रमुख श्रेष्ठ खुला सीमा भएका कारण र वन्यजन्तुको अनुसन्धान जटिलो हुने भएकाले तस्करको गिरोहसम्म पुग्न नसकिने तर्क गर्छन् । ‘यस्ता तस्करीमा ठूला तस्करको संलग्नता हुन्छ, वन्यजन्तुको विषय भएकाले पर्याप्त सूचना पनि पाउन सकिँदैन । खुला सिमाना छ, यी विविध विषयले अनुसन्धानको निष्कर्षमा पुग्न अन्योल हुन्छ,’ उनी भन्छन्, ‘नेपाल प्रहरी, सीआईबी लगायतका निकायको सहयोग लिएर अनुसन्धान गर्छौं । तर, पनि तस्कर गिरोहसम्म पुग्न सकिँदैन ।’
दुई दशकयता झापामा मात्रै २१ वटा जंगली हात्ती मारिएका छन् । अधिकांश हात्ती विद्युतीय धरापमा पारेर मारिएको अधिकारीहरु बताउँछन् । तर, किन मारिन्छन् हात्ती ? अनुसन्धान गर्ने निकाय यसतर्फ गम्भीरताका साथ लागेको पाइँदैन ।
(घाइते हात्तीको सबै तस्बिर : शंकर लुइँटेल)
