नोटाम : हवाइजहाजलाई आकाशको खबर 

चैत्र २६, २०८१

सुरज कुँवर

NOTAM: Sky news to airplanes

काठमाडौँ — आम मानिस जसरी बिहानै अखबार पढ्छन्, त्यसरी नै हरेक उडानमा निस्कनुअघि पाइलट तथा उड्ययनकर्मी नोटाम पढ्छन् । विमानस्थलमा जारी हुने नोटाम (नोटिस टू एयरमेन) को सामान्य अर्थ ‘उड्डयनकर्मीका लागि सूचना’ हो ।

उड्ययन सुरक्षाको यो महत्त्वपूर्ण हिस्सा हो । नोटाममा पाइलट तथा उड्ययनकर्मीका लागि आवश्यक ताजा सूचना तथा जानकारी हुन्छन् । विमान उडाउनुअघि अनेकन सावधानी अपनाइन्छन् । उड्डयनकर्मीलाई तत्काल जानकारी दिइहाल्नुपर्ने वा अग्रिम सूचना दिनैपर्ने विषय भए नोटामबाट भनिन्छ ।

उडानसम्बन्धी साझा जानकारी वा सूचना हरेक पाइलट तथा वायुसेवालाई कुनै तोकिएको व्यक्ति वा समूहले फोन गरेर/इमेल पठाएर टावर वा अरु कुनै स्थानबाट भनेर सूसूचित गराउन नसकिने भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् १९४७ मा उडान सुरक्षामा सुधार गर्ने र समयमै सूचना दिने उद्देश्यले नोटाम प्रणाली लागू गरेको थियो ।

आइकाओका अनुसार, संसारभरका विमानस्थमा विशेष उडानमार्फत भीभीआईपीको ओहोरदोहार हुने भए, सैनिक गतिविधि गर्नुपर्ने भए, विपत् व्यवस्थापन गर्नुपरे आंशिक रूपमा विमानस्थल बन्द गर्न, हिमपातले उडान रोक्नु परेमा नोटाम जारी हुन्छ । त्यस्तै विविध कारणले उडान रोक्नुपर्ने भएमा, विमानस्थलको धावनमार्गलगायतका एयरसाइड क्षेत्र अचानक मर्मतसम्भार गर्नुपर्ने भएमा वा अन्य सुरक्षाका कारण विमानस्थल निश्चित समयका लागि बन्द गर्नु परेमा पनि नोटाम जारी गरेर नै विमानस्थल बन्द गरिन्छन् ।

‘भैपरी अवस्था वा अचानक विमानस्थलमा निश्चित समयका लागि उडान रोक्नुपर्ने अवस्थामा सचिव, मन्त्री वा मन्त्रिपरिषद्को खोजी गरेर बैठक गरेर निर्णय गराउन सकिँदैन । यस्तो आपत्कालीन अवस्थामा सरकार मातहतका निकायको खोजी गर्न वा निर्णय पर्खन व्यवहारिक पनि हुँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले यस्तो अवस्थामा विमानस्थलमा उडान रोक्ने अधिकार आफ्ना सदस्य राष्ट्रमा नागरिक उड्ययन हेर्ने निकायका प्रमुख डाइरेक्टर जनरल (महानिर्देशक) लाई दिएको छ । यो भनेको नोटाम जारी गरेर विमानस्थलमा उडानमा रोक लगाउन महानिर्देशकलाई अधिकार प्रत्योजन गरिएको छ । नोटाम भनेको कानुन हो । संयुक्त राष्ट्रसंघअर्न्तगत सबै मुलुकले यसलाई कानुनसरह पालना गर्ने थुप्रै सन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।’

NOTAM: Sky news to airplanes

नेपालमा नोटाम जारी गर्ने आधिकारिक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । यसले सैनिक तथा गैरसैनिक उडान दुवैमा व्यावसायिक वा सैनिक उडान सेवालाई सघाउने उद्देश्यले नेपालभित्रको आकासमा लागू हुने गरी नोटाम जारी गर्छ । ‘नेपालको कुनै पनि स्थानमा यदी सेना/प्रहरी/सशस्त्र प्रहरीले बम विस्फोट, फायरिङको तालिम दिइरहेको छ भने प्राधिकरणले नै नोटाम जारी गर्छ,’ सहप्रवक्ता भूलले भने, ‘यस्तो अवस्थामा यदि सुरक्षाकर्मीको तालिम भइरहेको स्थानभन्दा माथि हवाई रुट पर्छ भने नोटामले त्यो क्षेत्रमा जहाजलाई सचेत गराएको हुन्छ । पाइलटहरू त्यो रुट छल्न वा निश्चित उचाइभन्दा तल झर्दैनन् ।’

प्राधिकरणमातहतमा रहेको ‘इन्टरनेसनल नोटाम अफिस’ नेपालमा नोटाम जारी गर्ने आधिकारिक निकाय हो । यो २४ घण्टा ३ सय ६५ दिन खुला हुन्छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टावर रहेको भवनमा छ । यसले जारी गर्ने नोटाम वायुसेवा कम्पनीका प्रतिनिधिले त्यहीँबाट लिन्छन् । अनलाइनबाट पनि पठाइन्छ । वेबपेजमा पनि एरोनटिकल इन्फरमेसन सर्भिसमार्फत डिजिटल कपी उपलब्ध हुन्छ ।

यस कार्यालयका अनुसार, नोटामलाई आइकाओको मापदण्डअनुसार तीन प्रकारमा विभाजन गरिएको छ । अल्फा, ब्राभो र डेल्डा सिरिज । विमानस्थलको हवाई अपरेसनलाई प्रभावित पार्नसक्नेसम्बन्धी नोटाम अल्फा सिरिजमा जारी हुन्छन् । सुरक्षाकर्मी/सैनिक गतिविधिबारे जारी हुने नोटाम ब्राभो सिरिजमा जारी हुन्छन् । घरेलु आन्तरिक विमानस्थलबारे सूचना डेल्टा सिरिजमा जारी हुन्छन् । देशभरका सबै विमानस्थलको नोटाम यही निकायबाट जारी हुन्छ । 

NOTAM: Sky news to airplanes

‘कुनै पनि विदेशी राष्ट्रप्रमुखको आगमन हुने भए वा नेपालबाट सरकार प्रमुख वा राष्ट्रपतिको कुनै राजकीय भ्रमण हुने भए त्यो अल्फा सिरिजको नोटाममा पर्छ,’ काठमाडौं विमानस्थलमा रहेको नोटाम कार्यालयका एक अधिकारीले भने,‘यदि टुँडिखेलमा सेनाले कुनै दिवस, प्याराजम्म, हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम भए वा कतै सुरक्षाकर्मीको फायरिङ सम्वन्धि तालिम हुने भए त्यस्ता सूचना ब्राभो नोटाममा पर्छन् । घरेलु विमानस्थलमा कतै अवरोध भए वा हवाई अपरेसनमा असर पर्ने भए डेल्टा सिरजको नोटाम जारी हुन्छ ।’

नोटाम कार्यालयका अनुसार सन् २०२४ मा अल्फा सिरिजका ३ सय ३९ वटा नोटाम जारी भएका थिए । सैनिकसम्बन्धी ब्राभो सिरिजमा १२ वटा र डेल्टामा १ सय ५८ वटा नोटाम जारी भएका थिए । सन् २०२५ को साढे तीन महिनामा अल्फा, ब्राभो र डेल्टा सिरिजमा १ सय ९१ वटा नोटाम जारी भएका छन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै बिमस्टेक बैठकमा भएको थाई एयरको सवारीका लागि भएको नोटामसम्म रहेको छ । भीभीआईपी सवारीमा नोटाम कार्यालयले नेपालको आकाशभित्र रहेको जहाजलाई अन्य व्यावसायिक जहाजहरूबाट 'सेपरेसन' गर्न बढीमा आधा घण्टाको समय राखेर नोटाम जारी गर्छ । यस्तो अवस्थामा अरु कुनै पनि वायुसेवालाई उड्न र अवतरण गर्न दिइँदैन ।

NOTAM: Sky news to airplanes

नोटामबिना कुनै पनि उडानले पूर्णता पाउँदैनन् । हवाई रुट तथा विमानस्थलमा हुने जुनसुकै स–साना जानकारी, नयाँ निर्माण, उपकरण मर्मत, मौसम परिवर्तनबारे जानकारी, विमानस्थलमा हुने परिवर्तन, आकाशमा उड्न नपाइने क्षेत्र वा आकस्मिक जोखिमबारे समयमै खबर दिन नोटामको भूमिका रहन्छ ।

नोटाम आइकाओद्वारा तोकिएको ढाँचामा तयार पारिएको हुन्छ । उसले तयार पारेका कोड/संकेत, वाक्यांश, संक्षिप्ताक्षर,डिजाइन, कलसाइन, फ्रिक्वेन्सी आदि सामान्य भाषामा नोटाम लेखिएको हुनुपर्छ । नोटामलाई आइकाओले खासगरी चार प्रकारमा विभाजन गरेको छ । जसमा ए,बी,डीबाहेक एस पनि अर्को प्रकार रहेको छ । एस सिरिजलाई स्नोनोटाम भनिन्छ । यो उचाइमा रहेका हिउँ पर्न सक्ने विमानस्थलहरूमा जारी हुन्छ ।

हिउँका कारण धावनमार्ग रोक्नुपर्ने भएमा वा बरफले उडानमा अवरोध गरेमा युरोपलगायतका मुलुकमा स्नोनोटाम जारी हुन्छ । नेपालमा भने यो प्रकारको नोटाम हुम्लाबाहेक अरु विमानस्थलमा धेरै प्रयोगमा नआएको एयर ट्राफिक कन्ट्रोलर बताउँछन् । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully