धरान — धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्ली सुकुटी लाइनको नामले प्रसिद्ध छ । यहाँ सुकुटी बेच्ने धेरै पसल छन् । जहाँ हरेकदिन बिक्रीका लागि सुकुटीको चाङ राखिन्छ । धरानको सुकुटी यहाँ मात्रै सीमित छैन, समुद्रपारि हङकङ र बेलायतसम्मै पुग्छ ।
धरानको सुकुटीको कथा केबल एक स्थानीय स्वादको बखान मात्रै होइन । यो एक परम्परा र संस्कृति पनि हो । लाहुरेको सहर भनेर चिनिने धरानका धेरैजसोका बसाइँ हङकङ र बेलायत पनि छ । अचेल अनलाइनबाट ती देशसम्मै पुगिरहेको छ, धराने स्वादिलो सुकुटी । ‘बेलायत, हङकङ, भारत र अन्य देशमा पनि धरानको सुकुटीका पारखी छन्’, स्थानीय व्यवसायी भन्छन् ।
पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोगबाट घरमै बसीबसी सुकुटी व्यापार फष्टाएको छ । अनलाइन माध्यमबाट सुकुटी बेच्नेको संख्या बढ्दै गएको स्थानीय व्यवसायी बताउँछन् । धरान उपमहानगरकी बिनिता राई पहिले पसल राखेर सुकुटी बेच्थिन् । अहिले उनले शैली परिवर्तन गरेर अनलाइनबाटै सुकुटी ‘होम डेलिभरी’ गर्छिन् । ‘सुकुटी र मासुका विभिन्न प्रकारका अचार पनि अनलाइन माध्यमवाटै बेच्छु’, उनी सुनाउँछिन्, ‘बेलायतमा लाहुरेको बसोबास भएका सहरमा सुकुटीको धेरै माग छ । म त्यहाँ रहेकी दिदीसँग मिलेर सुकुटी र अचार पठाउँदै आएकी छु ।’ त्यहाँको माग अनुसार धरानबाट कुरियर गरेर पठाउने गरेको उनले बताइन् । ‘एकै चोटी धेरै पठाउँदा चै अलिक सस्तो पर्ने हुन्छ । एक पटकमा कम्तीमा २०/३० केजी पठाउने गरेकी छु,’ उनले भनिन् । सुकुटीसँगै उनले मासुका भिन्नभिन्न स्वादको अचार पनि बनाउँछिन् । ‘सुकुटी भन्दा मासुका अचार बनाउन अलिक गाहृो नै छ । एक्लैले भ्याइदैन, बनाउन, ट्याग हाल्न, प्याकिङको काममा दुई जना बहिनीले सघाउँछन्,’ उनले भनिन्, ‘तीन जनाले काम गर्ने भएकाले अलिक सजिलो छ । एक्ले भ्याउन गाहृो हुन्छ, तलब दिएर कर्मचारी राख्न सकिदैन् ।’
उनले एकपटकमा ८० देखि १०० केजीसम्म रागाँको मासु किनेर आफ्नै घरमा सुकुटी बनाउँछिन् । मासुलाई मज्जाले सुकाएर बनाउनु पर्ने मौसम र सिजन अनुसार फरक समय लाग्ने उनले सुनाइन् । गर्मी सिजनमा घाम लाग्ने भएकोले सुकुटी बनाउन कम्तीमा पनि ४–५ दिन र जाडो महिनामा हप्तानै लाग्ने बिनिताले बताइन् । अचेल प्रायजसो सबैले आगो बालेर धुवामा सुकाएर बनाउने भएकोले केही छिटो हुने गरेको छ । ‘आगोको राप वा धुवामा २/३ दिनमै सुकुटी तयार हुन्छ तर अहिले दाउरा पाउन गाहृो र महँगो छ । गर्मी महिनामा मज्जाले घाम लाग्ने भएकोले घाममै सुकाउँछु,’ उनी भन्छिन् । धरान–११ मा स्थित मंगलबार चोकबाट मासु किन्ने गरेकी छन् । उनका अनुसार सुकुटीको व्यापारले घरमै बसेर मासिक ६० देखि ८० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । माग र मिहनेत अनुसार आम्दानी घटबढ भइरहने उनले सुनाइन् ।
सुकुटी लाइनकी अर्की व्यापारी मुना राई पनि यही व्यवसायबाट जिविका चलाइरहेकी छन् । उनले बनाएको सुकुटी बढी मात्रामा बेलायत र हङकङ निर्यात हुने गरेको छ । घुम्न आएका मासुका पारखीले कोसेलीको रुपमा धरानको सुकुटी लैजाने गरेको बताइन् । करिब ४ केजी रागाको मासुबाट १ केजी सुकुटी बन्ने उनले बताइन् । १ केजी सुकुटी १६ सयमा बिक्रि गर्ने गरेको बताइन् । दैनिक १ सय केजीसम्म मासुको सुकुटी आफ्नै घरमा बनाएर बेच्ने गरेको मुना बताउँछिन् । त्यो सँगै उनले सुँगुर, कुखुरा, रागाको मासु र अकबरे खुर्सानीको अचार पनि बनाएर बेच्ने गरेकी छिन् । रागाको मासुको अचारको भाउ किलोको २ हजारमाथि छ । अलिक लामो समयसम्म टिक्ने अचार केजीको २४ सयसम्म र कुखुराको अचार २ हजार, सुगुरको २४ सय रुपैयाँमा बेच्ने गरेको उनले बताइन् ।
बेलायत, हङकङमा रहेका आफन्तले अर्डर गरे अनुसार सुकुटी र अचार कुरियर मार्फत पठाउने गरेको उनले सुनाइन् । कोरोनाकाल पछि भने धराने सुकुटीको व्यापार मन्द हुँदै आएको उनीहरुको अनुभव छ । ‘पहिला त यो गल्लीमा सुकुटी बेच्ने पसल धेरै थिए अहिले कम हुँदै गएका छन् । अचेल धेरैले अन्यत्रबाट पनि अनलाइनमा राखेर सुकुटी र मासुको अचार बेच्ने गरेका छन्, त्यसैले पसल राखेका व्यापारीलाई गाह्रो छ । तर पनि अनलाइनबाट भने घरमै बसेर बिक्री भइरहेकै छ,’ मुनाले भनिन् । दैनिक १० हजार रुपैयाँ हाराहारीको व्यापार हुने गरेको उनले बताइन् । स्वदेशकै ग्राहक पनि अनलाइनबाट अर्डर गर्ने बानी पर्न थालेपछि सुकुटी लाइनमा चहलपहल कम हुँदै गएको छ ।
स्थानीय दिलकुमारी तामाङले धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङकङ, बेलायत र अन्य देशमा आफुले बनाएको सुकुटी बिक्रि गरिरहेको बताइन् । धरानको सुकुटी भनेपछि बिदेश पठाउनेहरु पनि धेरै आउँछन् । स्वदेशमा पनि काठमाडौं, पोखरा, झापालगायतका ठाउँबाट पनि माग हुने गरेको छ । पूर्वको घुमघाममा आउने धेरैजसोले सुकुटीलाई कोसेलीको रुपमा लैजाने गरेको उनले बताइन् । दिलकुमारी भन्छिन्,‘सुकुटी हाम्रो घरको मिठास र परम्परा हो र अहिले यो एक ब्रान्ड बनिसकेको छ ।’
वदैशिक रोजगारमा हङकङ पुगेकी धरान–१२ की बिना राईले अरु काम गर्दै फुर्सदमा सुकुटी, र मासुको अचार बेच्छिन् । उनका अनुसार त्यहाँ धरानको सुकुटी अचार निकै प्रख्यात छ । ‘धरानबाटै मगाएर यहाँ बसेका नेपाली र सुकुटी पारखीलाई बेच्ने गरेकी छु । हङकङमा नेपालीले चलाएको मार्केटमा पनि धरानको सुकुटीको अचार पाइने गरेको छ,’ उनले भनिन् । निकेतन गल्लीमा हुने सुकुटीको कारोबार कोरोना महामारी र त्यसयता बढेको अनलाइन व्यापारले ‘डिजिटलाइज’ तिर मोडिएको छ । ‘गल्लीभरि बेच्न राखिएको सुकुटी अचेल टिकटक, फेसबुक, इन्स्टाग्रामतिर देख्न सकिन्छ,’ स्थानीय व्यवसायी भुवन राई भन्छन्, ‘अचेल गल्लीमा ग्राहक कुरेर बस्नु पर्दैन, घरबाटै व्यापार हुन्छ । धरानको सुकुटी र अचार बेच्ने व्यवसायी बढिरहेका छन् ।’
