मलेसियाको डिपोर्टेसन सेन्टर : चिसो भुईंमै बित्छ जीवन     

जेलभित्र फलामको बेड, ओढ्ने ओछ्याउने केही छैन, अनिश्चित कालसम्म डिपोर्टेसनमै

चैत्र २२, २०८१

होम कार्की

Malaysia's Deportation Center: Life on the Cold Floor

क्वालालम्पुर, मलेसिया — क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा खोटाङका रेखकुमार राईसहित १० जना नेपाली श्रमिक हत्कडीमा थिए । उनीहरूलाई डिपोर्टेसन सेन्टरबाट नेपाल पठाउन विमानस्थल ल्याइएको थियो । विमानस्थलको अन्तिम ‘बोर्डिङ गेट’ को प्रतिक्षालयसम्म उनीहरूलाई पुर्‍याएपछि प्रहरी फर्केर गए । 

उनीहरू सबैको हातमा नेपाल फर्किने बटिक एयरलाइन्सको टिकट र नेपाली दूतावासबाट राहदानीको सट्टामा एकपटक मात्रै प्रयोग गर्न मिल्ने गरी जारी गरिएको ट्राभल डकुमेन्ट मात्रै थियो । १३ वर्षपछि खाली हात घर फर्किनु पर्दा राईसँग जेल जीवनमा भोगेका, देखेका र सहेका थुप्रै सम्झनाहरु मात्रै छन् । ‘हामी कोहीसँग पनि एक पैसा साथमा छैन । एकजोर फेर्ने कपडा छैन । मैले लगाएको जुत्ता पनि अरु कसैको हो । जेलबाट निस्किने बेला बाहिर थोत्रो जुत्ता देखेँ । त्यही लगाएर आएँ,’ क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको ट्रर्मिनलमा भेटिएका राईले कान्तिपुरसँग भने,‘मैले यहाँ अपराध गरे । अपराध गरेपछि सजाय त भोग्नै पर्‍यो ।’

Malaysia's Deportation Center: Life on the Cold Floor 

उनको अपराध भनेको कागजातविहीन भएर मलेसियामा श्रम पोख्नु थियो । अर्थात् उनीसँग मलेसियामा काम गरेर बस्न पाइने श्रम भिसा थिएन । कतारको रोजगारीबाट फर्केर सन् २०११ तिर मलेसियाको कोडाक कम्पनीमा काम गर्न पुगेका थिए । ५४६ रिंगिटको तलब पाउन उनले म्यानपावर कम्पनीलाई लागत शुल्कबापत ८५ हजार रुपैयाँ बुझाए । ऋण तिर्न नै समय लागेपछि राई कम्पनीसँग करार अवधि पूरा नहुँदै अर्को कम्पनीमा काम गर्न हिँडिदिए । त्यसरी कम्पनी छाडेर उनी प्रहरीबाट छल्दै, भाग्दै काम गरिरहेका थिए । त्यो ब्रेक गत मे १२ तारिखमा गएर लाग्यो । ‘म एउटा सुरक्षा गार्ड थिए । अध्यागमनबाट खटिएका प्रहरीबाट काम गरिरहेको बेला दिउँसो एक बजे पक्राउ परे । सधैँ छल्दै हिँडेको थिएँ । यसपटक सफल भइएन,’ उनले भने ।  कागजातविहीन हैसियतमा काम गरेको अभियोगमा अदालतले उनलाई चार महिना जेल सजाय र ५ हजार रिंगिट जारिवाना लगाई डिपोर्ट गर्ने फैसला सुनायो । 

जेलभित्र फलामको बेड, ओढ्ने ओछ्यानसम्म छैन 

अदालतले सुनाएको सजायभन्दा उनी ६ महिना बढी अर्थात १० महिनासम्म जेलमा बस्नुपर्‍यो । त्यो जेलजीवन निकै कष्टकर थियो । उनको शरीरको छालामा चिलाउने दाग थिए । ‘यो दाग सफा पानीमा नुहाउन नपाएर लागेको रोग हो । हाम्रो नुहाउने सानो स्वीमिङ पुलजस्तो ठाउँ छ । त्यसमा दैनिक सयौं जनाले नुहाउँछन् । त्यो पानीमा साबुन नै साबुन हुन्छ । त्यहाँभित्र ज्यानलाई सफा बनाउन जाने होइन, रोग निम्ताउन गए जस्तो लाग्थ्यो,’ राईले भने । 

Malaysia's Deportation Center: Life on the Cold Floor

उनीसँगै छेउमा रहेका अर्का कागजातविहीन श्रमिक रितेश वाइबा हाफपेन्टमा थिए । उनीहरुलाई काजाङ क्याम्प (डिपोर्टेसन सेन्टर)मा एउटै कोठामा सयजनाभन्दा बढीलाई राखिएको थियो । ‘हामीलाई त ओढ्ने ओछ्याउने पनि दिँदैन । आफूले लगाएको एकसरो लुगामा मात्रै हुन्छ । भुईंमा सुत्नुपर्छ,’ उनले भने,‘त्यो भुईंमा तीन लाइनमा सुत्नुपर्छ । कतिले टाउकोमा टेकेर हिँड्छ । झगडा त्यतिकै हुन्छ । खाना पनि फोहोर हुन्छ ।’ 

जेलमा भने एउटा कोठामा १२ जनासम्म राखिएको थियो । त्यहाँ पनि ओछ्यान छैन । फलामको खाटमाथि नै सुत्नुपर्छ । ‘फलाम माथि सुत्ने हो । शौचालय पनि भित्रै हुन्छ । एकदमै कोठा गन्हाउँछ । जेलमा भात पकाउने पनि कैदी नै हुन्छन्,’ उनले भने,‘चेपबाट खाना छिराइदिन्छन् । त्यो पनि समयमा आउँदैन । कहिले त चार बजे ल्याएर दिन्छ । त्यो पनि राम्रो हुँदैन । जेलभित्र लामखुट्टे मौरी जसरी आँउछ । राम्रोसँग कहिले निदाउन पाइँदैन ।’

अनिश्चित कालसम्म डिपोर्टेसनमै 

कागजातविहीन श्रमिकलाई पक्राउ गरेर डिपोर्टेसन सेन्टरमा राखिने दिनको निश्चित छैन । यस्तो अवधिको कुनै कानुनी सीमा छैन । चैत ४ गते बुटवलका कृष्णप्रसाद न्यूरे कायामाङ डिपोर्ट सेन्टरमा राखिएका बुटवलका दलबहादुर महतलाई नेपाल नपठाएको भन्दै नेपाली दूतावास पुगेका थिए । कागजातविहीन हैसियतमा बसेका महतलाई रेस्टुरेन्टमा काम गरिरहेको बेला सात महिना अघि प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले तीन महिना जेल र १० हजार रिंगिट जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । ‘१० हजार तिर्न नसकेको भए पाँच महिना जेलमा बस्नुपर्दथ्यो । धेरै लामो जेल बस्नुनपरोस् भनेर आफैँले अदालतमा गई जरिवाना तिरेको थिएँ,’ न्युरेले कान्तिपुरसँग भने,‘जेलमा परेको सात महिना भइसकेको छ । कहिले घर पठाइदिने हो थाहा छैन । महतसँग सर्म्पक पनि हुन सकेको छैन ।’

उनले दूतावासमा निवेदन दिएको दिन महतको नेपाल फर्किने टुङ्गो लागेको थियो । दूतावासले कायामाङमा नेपाली श्रमिक हेर्ने प्रहरी अधिकृतलाई यसबारे जानकारी दिइएको थियो । जेल प्रशासनले टिकटको कारण रोकिएको जानकारी दिँदै भन्यो,‘टिकटको  व्यवस्था गरेर खबर गर्नु । टिकट आएको दिन नेपाल पठाइदिनेछौं,’ ती अधिकारीले दूतावाससमक्ष भने । त्यो खबर पाउनसाथ महतको टिकट परिवारले पठाइदिए ।

परिवार वा आफन्तले खोजी नगर्ने हो भने जेलभित्र भएका कागजातविहीन श्रमिक भित्रका भित्रै हुन्छन् । जेलभित्र न्यूनतम आधारभूत मानवअधिकार प्रत्याभूति नगरिँदा बेला बेला जेल नै तोडेर कैदी भाग्ने गरेका घटना दोहोरिइरहेका छन् । १ फेब्रुअरी २०२४ मा एउटा डिपोर्टेसन सेन्टरबाट सय जनाभन्दा बढी भागेका थिए । भाग्ने क्रममा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । २०२२ मा पनि यस्तै घटना घटेको थियो । त्यसबेला ५२८ जना रोहिंग्या शरणार्थी पेनाङ राज्यको हिरासतबाट भागेका थिए । उनीहरू राजमार्ग पार गर्नेक्रममा ६ जनाको मृत्यु भएको थियो । उनीहरूलाई पक्राउ गरी पुन हिरासतमा राखिएको थियो । त्यसरी भाग्नेहरु बढीजसो रोहिंग्या शरणार्थी थिए । 

Malaysia's Deportation Center: Life on the Cold Floor

मलेसियाका अध्यागमनले सबै डिपोर्टेसन केन्द्रमा स–साना समूहमा रोहिंग्या शरणार्थीलाई राखिएको छ । नेपाली श्रमिकले एउटै कोठामा रोहिंग्यासँगको बसाइलाई सहज रूपमा लिएका छैनन् ।  ‘जेलभित्र रोहिंग्याबाट अलि बढी हेपाइ सहनुपर्छ । सानो विषयमा पनि हामीमाथि आक्रामक भइहाल्छन्,’ राईले भने,‘हरेक दिन अशान्त हुन्छ । सानो गल्तीमा पनि कठिन सजाय भोग्नुपर्छ ।’ 

अनिश्चित समयसम्म डिपोर्टेसन सेन्टरमा राखिने मलेसिया नीतिको अन्तराष्ट्रिय तहमा निकै आलोचना भइरहेको छ । मलेसिया शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र महासन्धिको हस्ताक्षरकर्ता मुलुक होइन । २०१९ देखि संयुक्त राष्ट्रसंघीय मानव अधिकार नियोग यूयएनएचसीआरलाई डिपोर्टेसन सेन्टरमा पहुँच दिइएको छैन । 

मार्च २०२४ मा ह्युमन राइट्स वाच (एचआरडब्लु) द्वारा जारी गरिएको प्रतिवेदन अनुसार मलेसिया सरकारले १४ सय बालबालिकासहित लगभग १२ हजार कागजातविहीन आप्रवासी र शरणार्थीलाई शारीरिक दुर्व्यवहार र मनोवैज्ञानिक हानिको गम्भीर जोखिममा पर्ने गरी हिरासतमा राखिरहेको छ ।’ प्रतिवेदनले मे २०२० देखि यता ४५ हजारभन्दा बढी कागजातविहीन आप्रवासीलाई ‘एक नाङ्गो र क्रूर अस्तित्व’ बाँच्न बाध्य पारेको उल्लेख गरेको छ । त्यहाँभित्र खाना र पानीको सीमित पहुँच, अपमानजनक व्यवहार, गम्भीर सजायको बारम्बार धम्कीहरू दिइएको जनाएको छ । ‘मलेसियाको अपमानजनक र दुर्व्यवहारपूर्ण हिसाबले डिपोर्टेसनमा राख्ने  प्रणालीले कागजातविहीन आप्रवासी र शरणार्थीलाई स्वतन्त्रता, स्वास्थ्य र उचित प्रक्रियाको अधिकारलाई अस्वीकार गर्दछ,’ ह्युमन राइट्स वाचका एसिया अनुसन्धानकर्ता शायना बाउचनरले भनिन् । 

कागजातविहीन श्रमिकको घर फिर्ने अर्को बाटो- आत्मसर्मपण

मलेसियाले हरेक वर्षजस्तो कागजातविहीन श्रमिकलाई घर पठाउन बेला–बेला आममाफीका कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०२४ को १ मार्चदेखि  डिसेम्बर ३१ सम्म १० महिने आप्रवासी फिर्ता कार्यक्रम लागू गरिएको थियो । यसमा कागजातविहीन आप्रवासी श्रमिकले तोकिएको ५ सय रिंगिट जरिवाना बुझाएपछि जेलमा नबसी स्वदेश फिर्न पाइने सुविधा  थियो । यो कार्यक्रममा ६ लाख कागजातविहीन श्रमिक सहभागी हुने मलेसियाको अपेक्षा थियो । तर, दुई लाख जना मात्रै सहभागी भए । नेपाली दूतावासकाअनुसार यो कार्यक्रममा ८ हजार ९ सय ७३ जना सहभागी भई नेपाल फर्किएका छन् । उनीहरुले जरिवाना वापत मलेसिया सरकारलाई १५ करोड २५ लाख रुपैयाँ बुझाउनुपरेको थियो ।

यो सुविधालाई धेरै कागजातविहीन नेपालीले उपयोग गरेनन् । राजधानी क्वालालाम्पुरबाट २५ किलोमिटरको दूरीमा रहेको रवाङका एउटा पसलमा दाङका शिवराज चौधरी सामान बेचिरहेका थिए । नेपालबाट मलेसिया आउँदा उनका छोरा दुई र छोरी एक वर्षका थिए । अहिले छोरा १५ र छोरी १३ वर्षका भए । कागजविहीन हैसियतमा रहेको उनी घर नफर्केको १३ वर्ष पुग्यो । उनले सामाजिक सञ्जालबाट नै आफ्नो बच्चाहरु हुर्के–बढेको देखिरहेका छन् । ‘भिसा नहुने श्रमिकको जीवन डरलाग्दो हुन्छ । अध्यागमन प्रहरीले भेट्यो भने चिलले चल्लालाई छोपेझैं लिएर जान्छ । यदि मृत्यु भयो भने पहिचान सहजै खुल्दैन । मलेसियाको अस्पतालमा नै सडिने हुन्छ । साथीभाइले चिन्यो भने मात्रै शव घर पुग्छ । दुर्घटनाको बिमा हुँदैन । कानुनी सुविधा केही पाइँदैन । हाम्रो मिहेनतको फल अरुले खाइदिन्छन्,’ उनले भने,‘कतिपय साथीहरु  दुःख पाएर गोदाई खाएर घर जानु परेको छ ।’

अनि, यस्तो जोखिम मोलेर किन कागजातविहीन भएर मलेसिया बस्नुपरेको छ त ? जेल नबसी घर जान पाउने आममाफीको अवसर किन गुमाउनुपर्‍यो ? उनको जवाफ थियो,‘घरमा गएर के गर्ने ? यहाँ जस्तो महिनापिच्छे एक लाख रुपैयाँको तलब पाइँदैन । विदेशबाट लगेको पैसाले चार-पाँच महिना मात्रै पुग्छ,’ उनले भने,‘म फर्केको दिन बच्चाको भविष्य नै जोखिममा पर्छ । उनीहरूलाई चाहेको सबै चिज पुर्‍याउन सकेको छु । अरु देश जाँदा के हुने हो थाहा छैन । यो ठाउँ त आफूले चिनेको छ । बच्चाहरू मिस त हुन्छ । सोसल मिडियाले नै नजिक बनाइदिएको छ ।’

Malaysia's Deportation Center: Life on the Cold Floor

कागजातविहीन श्रमिक आफैंले अध्यागमनमा आत्मसमर्पण गरेमा जेल बस्नुपर्दैन । ८ वर्षदेखि कागजातविहीन हैसियतमा बसिरहेका सिराहाका ५५ वर्षीय धनेश्वर तेली शाहले स्वदेश फिर्न आफैं अध्यागमन गएर आत्मसमर्पण गरे । कतारमा तीन वर्ष काम गरेर स्वदेश फिरेपछि उनी २०१६ मा मलेसियाको इपोमा पुगेका थिए । ‘हामी विदेशमा आएपछि छोराछोरीलाई क्षमताअनुसार स्कुल पठाउन सफल भयौं । यसैमा म खुसी छु । मेरो जति जिम्मेवारी थियो, त्यो पूरा भयो । उनीहरूको पढाइ सकेपछि मेरो श्रीमतीले अब फर्कनु भन्यो । म फर्किँदैछु,’ एउटा अस्थायी सेल्टरमा भेटिएका तेलीले कान्तिपुरसँग भने,‘म आफैं घर जान्छु भनेर आत्मसमर्पण गरेको हो । जसले गर्दा मेरो जरिवाना ३१ सय रिंगिट मात्रै तोकियो । मेरो औंठाछाप पनि सकिइसकेको छ । कुनै केस देखिएको छैन । अब उनीहरूले फेरि बोलाउँछ । त्यो दिन टिकट लिएर जान्छु ।’

मलेसियाको अध्यागमन प्रहरीको फन्दामा पर्‍यो भने जेलको कठिन अवस्था भोग्नुपर्छ । १० महिने आममाफीको कार्यक्रम समाप्त भएपछि मलेसियाले फेरि पक्राउ अभियानलाई तीव्रता बनाएका छन् । त्यसरी पक्राउ परेकालाई १० हजार रिंगिटसम्म जरिवाना र पाँच वर्षसम्मको जेल सजाय वा दुवै भोग्नुपर्नेछ ।

मलेसियालाई दबाब- हिरासतको विकल्प देऊ

अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित सांसदहरूले कागजातविहीन श्रमिक, शरणार्थी र गैरकानुनी रूपमा मलेसिया प्रवेश गरेको व्यक्तिलाई अनिश्चितकालसम्म डिपोर्टेसन सेन्टरमा राख्ने मलेसियाको नीतिलाई खारेज गर्न दबाब दिइरहेका छन् ।

गत जुनमा महिलाविरुद्धको भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्लु)ले नियमितीकरण र व्यवस्थापनको लागि कानुनी र नीतिगत ढाँचालाई सुधार गर्न सुझाव दिइएको छ । 

ह्यूमन राइट्स वाचको पछिल्लो प्रतिवेदनमा भनिएको छ,‘देश निकाला गर्नुअगाडि राखिने हिरासतको अभ्यासलाई मलेसियाले नयाँ कानुन र नीति लागू गर्नुपर्छ । स्वास्थ्य हिसाबमा कमजोर आप्रवासीलाई तुरुन्तै हिरासतमा राख्न बन्द गर्नुपर्छ’, वाचको रिपोर्टमा भनिएको छ,‘जोखिममा परेका बन्दीलाई पहिचान र रिहा गर्न सुरक्षित जाँच गर्ने प्रक्रियाहरू स्थापना गर्नुपर्छ ।’

उनीहरूले डिपोर्टेटेसन सेन्टरमा राख्न सकिने समयको सीमा स्थापित गर्न जोड दिएका छन् । ‘डिपोर्टेटेसन सेन्टरलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी सुधार गर्नुपर्छ । जसमा बन्दीलाई मानवीय र मर्यादित रूपमा व्यवहार गर्ने, ठाउँ, खाना, पानी, पर्याप्त चिकित्सा उपचार र सरसफाइमा पर्याप्त पहुँच सुनिश्चित गर्नुपर्छ’, वाचको प्रतिवेदनमा भनिएको छ,‘सबै अवस्थामा सजायको रूपमा न्यायिक लाठी प्रहारको प्रयोगलाई रद्द गर्न अध्यागमन ऐनसहित कानुनमा संशोधन गर्नुपर्छ ।’

वाचले कागजातविहीन आप्रवासी श्रमिकको स्थितिलाई वैधानिक बनाउन र श्रमिकमाथि रोजगारदाताद्वारा हुने भ्रष्टाचार र शोषणलाई सम्बोधन गर्न कार्यक्रम कार्यान्वयन गर्न जरुरी रहेको जनाएको छ । 

ग्लोबल डिटेन्सन प्रोजेक्टले पनि सबै बन्दीलाई कानुनी सहायता प्रदान गर्न जरुरी रहेको जनाएको छ । ‘राष्ट्रियता वा स्थितिलाई ध्यान नदिई सबै गैरनागरिकलाई घरेलु कानुनी सहायता योजनामा पहुँच विस्तार गर्नुपर्छ,’ प्रोजेक्टको सुझाव छ,‘ हिरासतमा नराख्ने विकल्प हेर्नुपर्छ । हिरासतमा राखिएको व्यक्तिलाई अदालत वा अन्य सक्षम, स्वतन्त्र र निष्पक्ष अधिकारी समक्ष हिरासतमा राखिएको आधारलाई चुनौती दिन सक्ने क्षमता सुनिश्चित गर्नुपर्छ ।’ 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully