फुङलिङमा भूमिहीन सुकुम्बासीको संख्या ७१ घरपरिवार छ । यीबाहेक दलित परिवार मात्रै ३६ घर छन् ।
ताप्लेजुङ — २०६८ सालदेखि फुङलिङ नगरपालिका–३ आगेदिममा बस्दै आएकी ५३ वर्षीय ललिमाया घतानीले दुई वर्षअघि ५६ वर्षीय श्रीमान् सन्तमान घतानी गुमाइन् । ०२८ मा जन्मिएकी उनलाई ०५२ सालमा सन्तमानले फकाएर विवाह गरेका थिए । सन्तमानले फकाउँदा, ‘मेरो दुई तले घर छ, बुवाआमा, एक जना दाजु र एकजना दिदी छन्, तिमीलाई दुःखमा रहन दिनेछैन, गरिखाने ठाउँ प्रशस्त छ’ भनेका थिए ।
सदरमुकाम फुङलिङ बजार नजिकैकी उनलाई तमोर नदीपारिको हाङपाङ गाविसको मिचिरिङमा लगेका थिए । नागरिकता, विवाह, मृत्यु दर्ताजस्ता हरेकजसो सरकारी काम सदरमुकामबाट हुने भएको त्यसबेला मेला, हाटबजार सदरमुकाममै लाग्थ्यो । मोटरबाटो नभएकाले गाउँबाट हिँडेरै फुङलिङ आउनुपर्थ्यो । सदरमुकाम आसपासलाई सुगम र तमोर खोला तरेपछिको गाउँ दुर्गम मानिन्थ्यो । ‘सन्तमानले फकाउँदा बोलेका वचन सबैजसो सत्य रहेछन्,’ ललिमाया तीन दशकअघिको स्मरण गर्दै भन्छिन्, ‘विवाह गरेर गएको छ महिनापछि थाहा भयो, जग्गा, घरचाहिँ अर्कैको रहेछ ।’
ललिमायाका अनुसार बन्धकी रुपैयाँ हालेर बसेका रहेछन् । बन्धकी लगाउने रुपैयाँ छोरी (ललिमायाका आमाजू) ले दिएकी रहिछन् । 'छोरीको पैसाचाहिँ चार-पाँच वर्षपछि राँगा, खसी पालेर बिक्री गरेँ र तिरेँ । उनीहरू थुकिमा गाविसबाट त्यहाँ बसाइँ सरेर आएका रहेछन्,’ ललिमायाले थपिन्, ‘तर थुकिमामा पनि पुर्ख्यौली सम्पत्तिचाहिँ रहेनछ, बनिबुतो गरेर खाने रहेछन् ।’
समय बित्दै जाँदा सासुससुराको देहान्त भयो । बाबुआमाको मृत्यु भएपछि जेठो छोरो फुङलिङ नगरपालिका-११ फावाखोलामा बसाइँ सरे । तीन सन्तानलाई जन्म दिइसकेकी ललिमाया पनि श्रीमान् लिएर माइती गाउँ फुङलिङ नगरपालिका-३ सिम्ले सरिन् ।
माइती घर नजिकैका तेजबहादुर लिम्बूको जग्गा अँधिया कमाउने सर्तमा मागिन् । गाउँघरमा बाँस मागिन् । आगेदिमको भीरबाट खर काटेर ल्याइन् र फुसको छानो लगाएर एकतले घर बनाइन् । यतिबेला सन्तमान खोला छेउमा बस्ने र काठका सामान बनाउने चँदाराको काममा लागिसकेका थिए । यहाँ सरेपछि दुई सन्तान थपिए र पाँच जना भए । ०६९ सालमा बसाएको घरको जग अहिले पनि छ ।
‘हाम्रो जातमा अलि चाँडै विवाह गर्ने चलन थियो । अहिले पनि छ । जेठा छोरा, छोरीको विवाह गर्यौं । सुन, गरगहना, विवाह भोज त्यहाँ पनि खर्च भयो । बुढालाई जन्डिसले सतायो । उपचारका लागि झापादेखि धरानसम्म लग्यौं । त्यहाँ पनि थुप्रै लाख खर्च भयो । बुढाको शुद्याइँ र बर्खान्तमा खर्च भयो । छोराछोरी स्कुल पठाउनु पढाउनुपर्यो,’ सुकुम्बासी भइरहनुको लामो कहानी कारण सुनाउँदै ललिमायाले थपिन्, ‘जग्गाजमिन किनेर आफ्नैमा छाप्रो हाल्ने त अहिलेसम्म दिनै पो आएन ।’
जेठी छोरीले जमिन भएकासँग विवाह गरेकी छन् । अब छोराले कमाएर जोड्लान् र बावुबाजेदेखि लागेको सुकुम्बासीको ट्याग मेटिएला भन्ने आशा लागेको छ उनलाई । ‘सुसुरा पनि अर्कैकोमा बिते, श्रीमान्को पनि त्यस्तै भयो,’ उनले थपिन्, ‘छोराछोरीले श्रम गरेर बल्ल ऋणबाट छुटकारा पाएका छौं । तै अब कमाउलान् आफ्नो बनाउलान् कि ?’
सुकुम्बासी मुक्त हुनेभन्दा पनि उनलाई ‘तेरो बुढाको किरियाको ऋण छ’ भनेर साहुले च्याप्लान् भन्ने चिन्ता थियो । श्रीमान्को देहान्त हुँदा छिमेकी भागीरथ गिरी लगायतबाट ऋण काढेकी थिइन् । त्यसबाट छुटकारा पाउँदा गर्व गरेकी छन् ।
फुङलिङ नगरपालिका-८ दोखु बहानन्दे घुम्तीका भगवान सुनुवार ६२ वर्षका भए । दुई छोरा बुहारी, नातिसँगैको परिवारमा अहिले उनी भने एकल जीवन बितारहेका छन् । उनका दुई श्रीमती दिवंगत भए । पाथीभरा याङवरक-१ नाङखोल्याङबाट ०१८ सालमा दोखु बहानन्दे आएका उनले दोस्रो सन्तानका रुपमा यहीँ जन्म लिए । आफूभन्दा अगाडिको दाजु बोली नआउने अपांगता भएका व्यक्ति हुन् । बहिनी पनि त्यस्तै भइन् । तीन सन्तानमध्ये परिवारकै सग्लो उनले १२ वर्षको हुँदा बाबु गुमाए । बाँसको चोयापाट बनाएको नाङलो बिक्री गर्नका लागि गएका भगवानका बाबु घुम बोकेर फर्किएका थिए । त्यसबेला पानीमा ओतिने छाता थिएन । बाँसको भाटाबाट घुम बनाउने र पात लगाएर ओड्ने गरिन्थ्यो । साँगुरो बाटो थियो । पहरामा ठोकिएर तमोर नदी छेउमा झरेछन् र गम्भीर घाइते भएछन् । भगीमानका भिनाजु घनश्याम सुनुवारका अनुसार त्यतिबेला अहिलेको जस्तो अस्पताल पनि थिएन । घाइते अवस्थाका ससुरालाई ल्याएर घरमै राखे । जडिबुटी लगायतको घरेलु उपचार गरे । तर, तीन महिना पुग्दानपुग्दै परलोक भए ।
फरक क्षमताका दाजु, बहिनी र आमाको हेरचाह नै भगवानका लागि सानैदेखि जिम्मेवारी बन्यो । वैकल्पिक आय नभएको समयमा खेतीपाती र बनिबुतोबाट परिवार पाल्नुपर्थ्यो । ०१८ देखि ०७१ सालसम्म कृष्णप्रसाद घिमिरेको जग्गामा बसे । त्यहाँबाट निस्कने भएपछि गाउँसमाज बसेर गरेको निर्णयअनुसार घिमिरेले ७० हजार रुपैयाँ दिए । भगवान आफू ट्रक, ट्र्याक्टरको सामान लोड अनलोडको काम गर्थे । चार जनाले एउटा ट्रकको सामान अनलोड गर्दा दिनमा एकदेखि तीन सय रुपैयाँसम्म कमिन्थ्यो । तर नियमित हुँदैन थियो । त्यो पैसाले परिवार पाल्न पनि धौधौ पर्थ्यो । ‘आज खाए भोलि के खाऊँको अवस्थामा गुज्रिएको थिएँ, घरघडेरी जोड्ने पैसा कहिल्यै पनि जुटेन,’ भगवानले सुकुम्वासी भइरहनुको कारण बताए ।
जेनतेन बचाएको २ लाख ६० हजार रुपैयाँ भने भिनाजु घनश्यामलाई दिएका छन् । भिनाजुले छ आनाजति जग्गा घर बनाउन दिएका छन् । भगवानले चार लाख पुर्याउने र घनश्यामले चार आना जग्गा रजिस्ट्रेसन गरिदिने सर्त बन्दोबस्त छ । जस्तापाता र बाँसको भाटाले आफैंले बनाएको एकतले त्यही घरमा अहिले भगवानको परिवार बसेको छ । भिनाजुलाई दिने १ लाख ४० हजार रुपैयाँ भगवानले जुटाउन सकेका छैनन् । सामान बोकेर कमाउने दुईचार पैसा घर बनाउँदा लागेको ऋण तिरिरहेका छन् । दुई छोराले अहिले ट्याक्सी चलाउन थालेका छन् । भगवानमा केही आशा पलाएको छ । उनको योजना बाँकी रकम भुक्तानी गरेर बसेको जमिन रजिस्ट्रेसन गर्ने रहेको छ । मेची राजमार्गसँगै जोडिएको जमिन र सर्त भएको धेरै वर्ष भएकाले घनश्यामले केही रकम बढाउनुपर्छ कि भन्ने सोचेका छन् । मूल्यवृद्धि र घनश्यामको मन फेरिन थालेकाले भगवानलाई सुकुम्बासी मुक्त बन्ने अवसर हुन्छ कि हुँदैन टुंगो छैन ।
ललिमाया र भगवानको जस्तै छ फुङलिङ-३ केनिममा बस्ने ठाकुरप्रसाद घिमिरेको जिन्दगी । गत वर्षसम्म उनको मुख्य पेसा ब्राह्मण समुदायमा मृत्यु भएका परिवारले दिने शय्यादान थियो । एक वर्षयता उनी त्यसबाट विमुख भएका छन् । फुङलिङ-३ केनिमका भगीरथ भट्टराईको मचानमा बसेका उनको परिवार पाथीभरा याङवरक-१ नाङखोल्याङबाट ०४८ सालमा यता आएका हुन् । गौतम थरको जग्गामा बसेका उनीहरुलाई पहिरोले विस्थापित गराएको थियो ।
‘बसेको ठाउँ पहिरोले बगाएपछि जेठो र माइलो तराईतिर लागे, साइँलो दाजु र म यता (फुङलिङ) तिर पस्यौं,’ घिमिरेले भने । अहिले दैनिक ज्यालादारी, बनिबुतो गरेर आफू पालिने काम गरिरहेको उनले सुनाए । मावली र आफन्तको मद्दतमा ठूलो छोरो र कान्छी छोरीले १२ सम्म पढेका छन् । कान्छो छोरो संस्कृत पढ्न सानीआमाको साथमा भारत गएका छन् । श्रीमान्-श्रीमतीले काम पाउँदा दैनिक आठ सय रुपैयाँसम्म बनाउँछन् । तर हट्टाकट्टा शरीर नभएका र कामको गति दिन नसक्ने भएकाले उनलाई ज्यालादारीमा काम पाउन समस्या हुने गरेको छ । ‘दाउरा काट्ने, खर काट्ने, अलैंची टिप्ने, अम्रिसो थुत्नेजस्ता काममा म दैनिक पाँच सय र श्रीमतीले तीन सय पाउँछिन्,‘ घिमिरेले थपे, ‘त्यसैले दुईजनाको परिवार पालिएका छौं ।’ शय्यादान पाउँदा चामल, भाँडाकुँडा, ओड्ने ओछ्याउने र पाँच सय देखि दुई हजार रुपैयाँ हुन्थ्यो । चामल, नुन, भुटुन, साबुन, मरमसला किन्नुपर्दा खर्चको समस्या हुने गरेको छ । बाबुबाजेदेखिनै आफ्नो नाममा धनीपुर्जा नभएका यी दम्पत्तीले आफ्नो क्षमताले कमाउन सकिएला र घर बनाइएला भन्ने सम्भावना र सपना देखेका छैनन् । ‘तीन पुस्ता बित्दा एक पुस्ताचाहिँ आफ्नै पौरखमा हुने खाने हुन्छन् भन्ने मान्यता छ,’ घिमिरेले थपे, ‘तै भगवानले छोराछोरीलाई चाहिँ हेर्लान् कि ।’
बाहिरबाट झट्ट हेर्दा टीकामाया सार्की (पुर्कोटी) बसेको घरलाई सुकुम्बासीको कसैले भन्दैन । तीनतले घर, दुईतले मतान, गाईको ग्वाली लगायतका संरचना छन् । परेवा, बाख्रा, गाई पालन गरेका छन् । घरको वरिपरि केरा, लिची लगायतका फलफूलको बगैंचा छ । श्रीमान् हर्कबहादुर सार्की वैदेसिक रोजगारीका लागि मलेसियामा छन् । टीकामाया दुई सन्तानसँगै खेती कमाइ गरेर बसेकी छन् । उनका चार सन्तान छन् ।
माध्यमिक विद्यालय टाढा भएकाले दुई छोरीलाई पढाउन झापामा राखेकी छन् । यहाँ स्कुल जान र फर्कन टाढा भएकाले मावलीमा राखेर पढाएको उनले बताइन् । यस घरमा बस्न र केही जमिन कमाउनका लागि दुई लाख रुपैयाँ बन्धकी लगाएकी छन् । घर छाड्नुपरेका दिन उनीहरुले त्यो रकम फिर्ता पाउँछन् । तर दुई लाखले बस्न मिल्ने ठाउँमा एउटा घडेरी पनि आउँदैन ।
१२ वर्षको उमेरमै पिता गुमाएका हर्कबहादुरले परिवारसँग ४० औं बसन्त बिताए । तर यसले नहुने भएपछि विदेश गए । अहिले कमाएको पैसा त्यही बन्धकी लगाएको ऋण तिरिरहेको टीकामाया बताउँछिन् । ‘मेरो मात्रै होइन सबैजसो नेपालीको पहिलो चाहना आफू र परिवारको पालनपोषण हुन्छ । केही रकम बचाएर पनि जग्गा किन्ने र घर बनाउने रहर हुन्छ,’ उनले थपिन्, ‘मेरो पनि त्यो चाहना थियो र छ । बुढोमान्छे ढिलोगरी कमाउन त जानुभयो तर खै जग्गै किन्ने घरै बनाउने गरिको हुन्छ जस्तो छैन ।’ त्यसैका लागि छरछिमेक आफन्तमा ऋण काढेर भए पनि विदेश जानुपरेको उनले सुनाइन् ।
दलित, आदिवासी जनजाति, ब्राह्मण समुदायका यी चारमध्ये जुई प्रतिनिधिका घरमुली वा छोरा विदेशमा छन् । घरमा भएकाले पनि निरन्तर प्रयास गरिरहेका छन् । तैपनि उनीहरु सुकुम्बासी मुक्त हुन सकेका छैनन् । हरेक सरकार फेरिएपछि सुकुम्बासी आयोग बन्ने गरेको छ । उनीहरुको उद्देश्य सुकुम्बासी पहिचान गर्ने र जग्गा वितरण गर्ने हुन्छ ।
ताप्लेजुङमा कृष्ण बस्नेतको नेतृत्वमा चार सदस्यीय भूमि आयोग छ । उनीहरु एक जनाको तलब सहसचिव र उपसचिव सो सरहको हुन्छ । अर्थात् मासिक ५७ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । तर किन हुँदैन सुकुम्बासी समस्याको समाधान ? बस्नेत भन्छन्, ‘हामीले फुङलिङ नगरपालिका, सिरिजङगा गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिसकेका छौं । तिनीहरु सुकुम्बासी भूमिहीन भएको विवरण तथ्य हो । तिमीहरुले राज्यबाट जमिन पाउने हक राख्छौ । हामीले यो विवरण सरकारी दस्ताबेजमा दस्ताबेजीकरण गर्यौं भनेर निस्सा पनि वितरण गरेका छौं । अहिले फुङलिङमा कहाँकहाँ सरकारी जग्गा छ भनेर तथ्यांक खोज्ने काम गरिरहेका छौं । त्यसपछि जग्गा वितरण गर्ने काम स्थानीय सरकारको हो ।’
सुकुम्बासीको पहिचान र यकिन गर्ने काम वडा, पालिका र सुकुम्बासी आयोगको हो । तीनै निकायको भूमिका उत्तीकै हुन्छ । पहिचान भइसकेपछि भूमिहीन सुकुम्बासी सरकारी जग्गामा बसेका भए त्यहीँको नापेर दिने प्रावधान छ । यसरी दिँदा एक परिवारलाई पहाडमा ६ रोपनी र तराईमा १० कट्ठा जमिन दिने प्रावधान छ । सहरी क्षेत्रमा भए पहाडमा ४ आना र तराईमा एक कट्ठा दिने उल्लेख छ । तर पहाडमा सरकारी जग्गामा बस्नेको संख्या अहिलेसम्म नभेटिएको भूमि आयोगका अध्यक्ष बस्नेत बताउँछन् ।
एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको ताप्लेजुङमा भूमिहीन र सुकुम्बासीले दिएको नाम दर्ता गर्ने काम सबै पालिकाको भइसकेको छ । तीनवटावाहेक बाँकी पालिकामा पहिचान र प्रमाणीकरणको काम भएको छैन ।
आयोगले उपलब्ध गराएको निस्सा वडाध्यक्ष टंक पालुङ्वामार्फत बुझेकी ललिमाया खेतीयोग्य जमिन पाए त्यसैमा बस्ने बताउँछिन् । तीन वर्षअघि नै आएका भूमि आयोगका अधिकारीसँग आफ्ना श्रीमान्ले पनि यस्तो अपेक्षा गरेको उनले बताइन् । ‘बुढो हुँदै दिने भनेका थिए,’ ललिमायाले भनिन्, ‘कतै केही हुन्छ कि भनेर आशा पनि गर्नुभयो । तर, उहाँको बर्खान्त सकिँदा पनि जमिन दिने आएनन् ।’ टीकामायालाई भने ४ आना मात्रै भए पनि सहरमै पाए हुने भन्ने लागेको छ । ठाकुरप्रसाद र भगवान यस्तो होस् भन्ने निर्णयमा छैनन् ।
फुङलिङमा भूमिहीन सुकुम्बासीको संख्या ७१ घरपरिवार छ । यीबाहेक दलित परिवार मात्रै ३६ घर छन् । भूमि पनि नभएका र व्यवस्थित बसोबास पनि नभएकाको संख्या ११ छ । समग्रमा नगरपालिकाभित्र १ सय १८ घर परिवार छन् ।
विज्ञ सदस्य सन्तोष चाम्लिङ व्यक्ति यकिन भएको पालिकामा जग्गा खोजी गर्ने र नभएकामा फटाफट जग्गा यकिन गराउने काममा लाग्ने दाबी गर्छन् । ‘अहिले चारजना छौं,’ उनले भने, ‘अब पालिका तोकेर काम गरे चाँडो होला भनेर छलफल गरिरहेका छौं ।’
