सन्तानको मनोभावबारे अभिभावक जानकार छन् ? 

बालबालिकाको भावनाबारे अभिभावक अनभिज्ञ हुँदा उनीहरू आत्महत्याको बाटोतर्फ अग्रसर हुन सक्छन् वा मनोवैज्ञानिक समस्यासँग जुधेर गलत कदमको अभ्यास गर्न सक्छन् ।

चैत्र १२, २०८१

प्रविना पौडेल

Are parents aware of their children's attitudes?

काठमाडौँ — केही समयअघि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भयो । प्रकृति होस्टेलमा मृत भेटिएकी थिइन् । यो रिपोर्ट तयार गर्दासम्म उनको मृत्युको छानबिन रिपोर्ट  सार्वजनिक भइसकेको छैन ।  

विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असहृय भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ  । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।  

रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीकी प्रकृति परिवारसँग नियमित कुराकानीमै थिइन् । तर उनले आफूले के महसुस गरिरहेको छु, के कस्ता सोच मनमा आइरहेका छन्, कस्ता तनाव भोगिरहेको छु भनेर आफ्ना अभिभावकलाई पनि सुनाएकी थिइनन् । 

टाढा भएकी छोरीले के कस्ता तनाव भोगिरहेकी छिन् भन्ने अभिभावकले पनि भेउ पाएनन् । घटनाको दिन पनि उनको आमासँग कुरा भएको थियो । कुरा गर्दा तनावको कुनै संकेत नदिएको उनकी आमाले बताएकी छन् । ‘दिउँसो २ बजेर ५१ मिनेटमा कुरा भएको थियो । कलेजमा फेस्टिभल चलिरहेको छ, कलाकार बादशाह आउँछन् भनेकी थिइन्,’ आमाले भनिन्, ‘अब ४ बजे जाने हो, रेडी हुन्छु भनेर कुरा टुंगिएको थियो ।’

आफ्ना सन्तानको अवस्थाबारे थाहा पाउने अभिभावक नै पहिलो ढोका हुन् । तर विभिन्न घटना र अध्ययनले नै प्रायः अभिभावक आफ्ना सन्तानका मनोभावबारे अनभिज्ञ हुन्छन् । 

२३ वर्षीया सीसम (नाम परिवर्तन) ले १५ वर्षको उमेरमा तीनपटक आत्महत्याको प्रयास गरेकी थिइन् । उनलाई त्यो समयमा कोही आएर ‘तिमीलाई कस्तो छ ?’ भनेर सोधे पनि हुन्थ्यो भन्ने लाग्थ्यो । ‘मेरो अवस्थाबारे कसैले चासो राख्ने, सहानुभूति देखाउने, परिवारमा कसैले पनि मेरो कुरा सुन्ने, मेरो भावना व्यक्त गर्न सुरक्षित स्थान सिर्जना गर्ने अवस्था भएको भए म सायदै आत्महत्या प्रयास गर्थें,' उनले आफ्नो अनुभव सुनाइन्, ‘खुला र जजमेन्टबिनाको संवाद नभएकैले मैले आफ्नो परिवारमै समेत कसैलाई आफ्नो सोचबारे बताउन सकिनँ ।’

डा. रोह्न्डा बोइड र डा. जेसन जोन्सले २०१८ मा फिलाडेल्फिया क्षेत्रका ५ हजारभन्दा धेरै परिवारसँग क्लिनिकल अन्तर्वार्ता गरिएको थियो । अध्ययनमा किशोरकिशोरी र अभिभावकलाई कहिल्यै आत्महत्या गर्ने सोच आएको छ कि छैन भनेर सोधिएको थियो । प्रत्येक दुईमध्ये एक अभिभावकले आफ्ना सन्तानले कहिल्यै आत्महत्या गर्ने सोच राखेको थाहा नभएको बताएका थिए । Are parents aware of their children's attitudes?उक्त अध्ययनमा पेन मेडिसिन र फिलाडेल्फिया बाल अस्पतालबीचको सहकार्यमा फिलाडेल्फिया न्युरोडेभलपमेन्टल कोहोर्टको डेटा प्रयोग गरिएको थियो । 

‘म प्रायः अभिभावकलाई आफ्ना सन्तानको आत्महत्यासम्बन्धी विचारबारे अनभिज्ञ भएको पाउँछु । किशोरकिशोरीले आफ्ना अभिभावकलाई आत्महत्यासम्बन्धी विचार नबताउने विभिन्न कारण दिन्छन् । उनीहरु आफ्ना अभिभावकको प्रतिक्रियाबाट डराउँछन्, मानसिक अस्पतालमा लगिने डरले खुल्दैनन् । केहीले त आफ्ना अभिभावकसँग यी कुरा बताउन सहज महसुस गर्दैनन्,’ मनोवैज्ञानिक रोह्न्डाले एक लेखमा उल्लेख गरेकी छन्, ‘जब किशोरकिशोरीले आत्महत्याबारे सोचिरहेका हुन्छन्, तब अभिभावक उनीहरूको सामाजिक समर्थनको एक हिस्सा हुनु अत्यावश्यक छ । उनीहरुले किशोरकिशोरीलाई मद्दत गर्न सक्छन्, जसले आत्महत्यासम्बन्धी विचारका कारणलाई सम्बोधन गर्छ ।’ 

नेपालमा आत्महत्या गर्ने दर निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन् । कतिपय आत्महत्याको घटनामा आमाबुबा वा साथीहरुले आफुलाई थाहf नै नभएको बताउने विज्ञहरुको भनाइ छ । 

मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाका अनुसार समाजमा आत्महत्याका बारेमा लाञ्छना र विभेद भएकाले व्यक्तिहरू आफ्नो कुरा खुलेर व्यक्त गर्न सक्दैनन् । त्यस्तै परिवारमा आफ्नो भावना व्यक्त गर्ने वातावरण छ कि छैन भन्ने कुराले पनि अर्थ राख्ने उनी बताउँछन् । 

‘सानो छँदा अभिभावकसँग राम्रो सम्बन्ध नभएका, ‘प्यारेन्टल अट्याच्मेन्ट’ राम्रो नभएका तथा बेवास्ता र अस्वीकार्यपूर्ण (नेग्लेक्टिङ र रिजेक्टिङ) खालको परिवारमा हुर्किएकाहरुमा मेरो कुरा कसैले बुझ्दैन भन्ने भावना विकास हुन्छ । त्यस्ता भावना व्यक्त गरेर पनि फाइदा छैन भन्ने मनोविज्ञान हुन सक्छ,’ ठगुन्ना भन्छन्, ‘अर्को महत्वपूर्ण कारण भनेको हामी प्रतिक्रिया दिनका लागि सुन्छौं, उत्तर दिन सुन्छौं । त्यसको सट्टा हामीले बुझ्नका लागि सुन्नुपर्छ ।  समवेदना राखेर, अरुको खुट्टामा उभिएर पनि परिस्थिति बुझ्नुपर्छ ।’ Are parents aware of their children's attitudes?

आफ्ना भावना व्यक्त नगर्ने कारणमा पारिवारिक र सामाजिकबाहेक व्यक्तिगत पनि छन् । ठगुन्नाकै अनुसार आफ्नो विश्वास पात्रबाट विश्वास तोडियो वा गोपनीयता रहेन भने पनि आफ्ना भावना व्यक्त नगर्ने बानी बस्छ । त्यस्तै कतिपय बेला आफूले कुरा सुनाएको व्यक्तिले कुरा गम्भीर रुपमा नलिँदा पनि यस्तो समस्या बढ्छ । 

मानसिक अस्पताल, ललितपुरको हेल्पलाइनमा मनोसामाजिक परामर्श दिने नमुना घिमिरेका अनुसार प्राय: आफ्नो भावना व्यक्त गर्न नपाउने व्यक्तिले हेल्पलाइनमा कल गर्ने गरेका छन् । ‘आत्महत्याका जोखिम भएकाहरुको मनमा पीडा गुम्सिएर बसेको हुन्छ । पीडाबाट मुक्ति पाउने आशयले आत्महत्याको प्रयास गरिएको हुन्छ । यस्तो सोच व्याप्त भएको समयमा, मेरो साथी कोही छैन भन्ने लाग्छ । यस्तो बेला कुरा सुन्दियो मात्रै भने पनि सहयोग हुन्छ । तर उनीहरुले त्यो पाउँदैनन्,’ घिमिरे आफ्नो अनुभव सुनाउँछिन्, ‘सहयोगको माध्यम हामी बन्न सक्छौं । कसैले बुझ्दैन, मैले केही गर्न सक्दिनँ भन्ने मनस्थितिमा हामी तपाईंका लागि छौं भनेर सम्झाउनुपर्छ । उनीहरुमा गुम्सिएको कुरा निकाल्ने वातावरण मिलाउनुपर्छ ।’ 

मनोचिकित्सक डा. वासु कार्की पनि आत्महत्यासम्बन्धी धेरै भ्रम व्याप्त रहेको बताउँछन् । आत्महत्याको सोच आएको व्यक्तिलाई बचाउन सकिँदैन भन्ने सबैभन्दा धेरै देखिने भ्रम हो । वास्तवमा धेरै अन्तर्राष्ट्रिय अनुसन्धानले पनि आत्महत्या रोकथाम हुने पुष्टि गरेको कार्की बताउँछन् ।   Are parents aware of their children's attitudes?‘आत्महत्याको सोच आउने भनेकै कुनै पीडादायी घटनाबाट मुक्ति पाउनका लागि हो । व्यक्तिलाई घटनाबाट सुरक्षा चाहिएको हुन्छ, त्यसबाट बच्नुपरेको हुन्छ । जीवन नै टुंग्याउने आशय हुँदैन । घटनाको समाधान जरुरी र सम्भव छ भन्ने जानकारी नहुँदा मात्रै यस्तो हुने हो,' उनी भन्छन्, 'हरेक आत्महत्याको सोच भएको मानिसले पीडाको कारण थाहा नपाएर वा बदल्न सकिँदैन भन्ने सोच्छ । यही अन्धविश्वास र भ्रम चिर्नका लागि सचेतना कार्यक्रम पर्याप्त भएका छैनन् ।’  

कस्ता लक्षणहरु देखिन्छन् ? 
आत्महत्याको जोखिम भएका व्यक्तिमा नकारात्मक भावना बलियो हुने विज्ञहरु बताउँछन् । आफ्नो कुरा कसैले बुझ्दैन, कसैले वास्ता गर्दैन भन्ने खालका कमजोर मनोभाव उनीहरुमा गढेको हुन्छ । समग्रमा व्यक्ति आफूप्रति, परिस्थितिप्रति र भविष्यप्रति पनि नकारात्मक हुन सक्छ । गाह्रो परिस्थितिबाट बाहिर आउने केही अन्य उपाय छैन भन्ने खालका नकारात्मकता मनमा रहिरहन्छ । यस्तै नकारात्मक सोचाइले यस्तो परिस्थितिमा बाँच्नुभन्दा आत्महत्या नै राम्रो उपाय हो भन्ने सोचाइ जन्माउँछ । यस्तो समयमा व्यक्ति आशावादी नरहने भएका जोखिम बढाउन सक्छ । 

आत्महत्याको जोखिममा कस्ता व्यक्ति ? 
मनोचिकित्सक डा. वासु कार्कीका अनुसार मानसिक स्वास्थ्य समस्या भएका जो सुकै व्यक्ति अन्यभन्दा ज्यादा जोखिममा हुन्छन् । लागुऔषध दुर्व्यसनमा परेका, पारिवारिक हिसाबले विगतमा आत्महत्याका घटना भएका परिवारका सदस्य, अत्यन्तै पीडाजन्य बाल्यअवस्था भएका, आघातजन्य घटना भोगेका किशोरकिशोरी र हालसालै जीवनको मूल्यवान् चिज वा व्यक्ति गुमाएका व्यक्तिहरु जोखिममा हुन्छन् । 

यस्ता व्यक्तिसँग हामीले संवाद गर्नुपर्छ । व्यक्तिलाई जोगाउन पनि सामाजिक र व्यक्तिगत तवरमा पहल गरिनुपर्छ । 

कस्ता संकेत बेवास्ता गर्नुहुँदैन ? 
विज्ञहरू आत्महत्याको सोच भएका व्यक्तिले देखाउने व्यवहारलाई सूक्ष्म रूपले ख्याल गर्नुपर्ने बताउँछन् । ‘जीवनदेखि वाक्क लाग्यो, एकान्तमा जान मन लागेको छ, भगवानको नजिक जान मन लागेको छ, मेरो कुरा कसैले बुझ्दैन भनेर कतिपयले गुनासो गरिरहेका हुन सक्छन्,' डा. ठगुन्ना भन्छन्, 'कसैलाई सुनाएर पनि के फाइदा छ र ? मबिनै सबै खुसी हुन्छन् भनेर निराशा व्यक्त गरिरहेका छन् भने हामी सचेत हुनुपर्छ ।' प्राय: मृत्युका बारेमा कुरा गरिरहने, नकारात्मक वा नैराश्य झल्किने व्यवहार गर्ने वा सामाजिक सञ्जालमा व्यक्त गर्ने व्यक्तिमा आत्महत्याको संकेत रहेको पनि हुन सक्ने उनी बताउँछन् । त्यसबाहेक आफ्नो स्वास्थ्य र हाइजिनमा ध्यान नदिने, ज्यान जोखिम हुने व्यवहार गर्ने पनि यसका संकेत रहेको ठगुन्नाले बताए ।

डा. कार्की पनि अरुसँग धेरै घुलमिल नगर्ने, स्वभावभन्दा भिन्दै व्यवहार देखाउने, शान्त बस्ने र रमाइलो गर्न चाहनेले पनि आत्महत्याको संकेत देखाइरहेको बुझ्नुपर्ने बताउँछन् । 'आफुलाई मन परेको कुरा अरुलाई बाँड्ने, आफ्ना योजना टुंग्याउने प्रयास गर्ने, हिजोसम्म खुसी देखिएको मान्छे एक्कासि दुःखी देखिने जस्ता अस्वाभाविक व्यवहार आत्महत्याको संकेत हुन सक्छ,' उनले भने । Are parents aware of their children's attitudes?कतिपय समयमा कोही व्यक्तिले देखाएको संकेत वा व्यक्त गर्ने कुरा साँचो हो वा धम्की भन्ने भन्ने दुविधा पनि हुन सक्छ । ‘साँच्चै सुसाइडल थ्रेट हो होइन भन्ने थाहा पाउन परिस्थिति र व्यावहारिक परिवर्तन हेर्नुपर्छ । हालसालै उसको जीवनमा कस्तो घटना घटेको छ, नजिकको कोही गुमाएर ट्रमाबाट गुज्रिएको हुन सक्छ । परिस्थिति राम्रो  छैन र उसको अभिव्यक्ति त्यसतो छ भने आत्महत्याको जोखिम छ भन्ने बुझ्नपर्छ,' ठगुन्ना भन्छन्,  'त्यस्तै जोखिमका कारक तत्व पर्याप्त भेटिरहेका छौं र व्यावहारिक परिवर्तन देखिएका छन् भने जोखिम हुन सक्छ ।’ 

हेल्पलाइनबाट कसरी सहयोग हुन्छ ? 
हेल्पलाइन नम्बरबाट परामर्श दिइरहेकी नमुना घिमिरेको अनुभवमा आत्महत्याको सोच आएका व्यक्तिले हेल्पलाइनमा फोन गरेरै त्यस्ता सोचबाट मुक्त भएको घटना पनि छन् । ‘आत्महत्या गर्न तयार भएर फोन गर्नु भएकाहरुलाई प्रहरी पठाएर रेस्क्यु गरेका छौं । कुनै समस्या हामीले नै सहयोग गर्न सकिने खालका हुन्छन्, कुनै समस्यामा व्यक्तिगत काउन्सिलिङ आवश्यक हुन्छन् । त्यस्तो समयमा मनोसामाजिक परामर्शदातालाई रिफर गर्छौं,' उनी भन्छिन्, ‘धेरै कुरामा गोपनीयता कायम गर्नुपर्ने हुन्छ । तर आत्महत्याको कुरामा गोप्य राखिँदैन । अत्यन्तै जोखिम छ भने परिवारलाई जानकारी दिएर सहयोग गर्छौं ।’ 

मानसिक अस्पतालको राष्ट्रिय हेल्पलाइन ‘११६६’ नम्बर हो । व्यक्तिगत तवरमा पनि हरेकले आत्महत्याको जोखिम भएकालाई सहयोग गर्न सक्छ । 

हरेक व्यक्ति आत्महत्याका जोखिम र लक्षणबारे जानकार हुन आवश्यक छ । सरकार आत्महत्या जोखिम मूल्यांकन निर्देशिका जारी गर्ने तयारीमा रहेको बताउँदै मनोचिकित्सक डा. कार्की भन्छन्, ‘हरेक व्यक्ति, परिवार, समुदाय कम्तीमा मानसिक स्वास्थ्य र आत्महत्याका जोखिमका विषयमा जानकार हुनुपर्छ ।’ 

प्रत्यक्ष र परोक्ष रुपमा आत्महत्याको संकेत देखिएमा व्यक्तिलाई बेवास्ता गर्ने, हेलाहोचो र भेदभाव गर्नेभन्दा गोपनीयता कायम गर्दै सौहार्दपूर्ण संवाद गर्न उनी सुझाउँछन् । ‘सफलता पाएकाहरूको जीवन भोगाइका अनुभव सुनाएर सहयोग गर्न सकिन्छ, परिवारमा खुलेर कुरा गर्ने वातावरण बनाएर सहयोग गर्न सकिन्छ,' उनी भन्छन्, 'स्वास्थ्य सेवा प्रणाली र परिवारमा पनि आत्महत्याको बारेमा खुलेर कुरा गर्ने, त्यस्ता जोखिम भएको व्यक्तिलाई सही ढंगले सुनिदिने हो भने आत्महत्या रोकथाम सम्भव छ । सबैको पहल भने आवश्यक पर्छ ।’ 

प्रविना पौडेल प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully