कोरोना महामारीमा बन्द द्विदेशीय सीमा नाका खुलिसके, सामान र मानिसको आवतजावत पनि भइरहेको छ, तर पशुचौपायाको आयात-निर्यात ठप्प हुँदा किसान पिरोलिएका छन्
ताप्लेजुङ — याक–चौंरी कृषक महासंघ ताप्लेजुङका अध्यक्ष नुपु शेर्पाले गोठमा ८० याक र १० वटा चौंरी पालेका छन् । उनले भारी बोकाउने प्रयोजनका लागि चौंरी र हुर्काएर बिक्री गर्ने उद्देश्यले याक पालेका हुन् । गोठबाट निकालेर खर्कमा छाड्दा केही समय रमितलाग्दो हुन्छ । बाबुबाजेले गरेको व्यवसायलाई निरन्तरता दिएका नुपुलाई पनि आनन्द मिल्छ । तर, योसँगै पीडा पनि छ ।
नगद साट्न गरेको व्यवसायबाट चार वर्षयता सुको पैसा समाउन पाएका छैनन् । ‘हरेक वर्ष २५ देखि ३० वटासम्म बाच्छाबाच्छी जन्मन्छन् र थपिन्छन् । वर्षमा १५ देखि २० वटासम्म मर्छन् । कुनै रोगले कुनै वन्यजन्तुको आक्रमणबाट । कमै मात्र बुढो भएर मर्छन्,’ नुपुले भने, ‘आम्दानीका लागि गरेको व्यवसायले पाल्ने र मार्ने खेलो मात्रै गरिरहेको छ ।’
उनको योजनाअनुसार भए बुढापाका बेचिदिन्थे र बाच्छालाई पोसिलो खानेकुरामा जोड दिन्थे । ‘वन्यजन्तुको आक्रमणमा पर्नु, रोग लागेर मर्नु त विपति भयो । बिक्री हुने वस्तु बुढो भएर ढल्दाचाहिँ निकै नमज्जा लाग्दो रहेछ,’ नुपुले थपे, ‘घाम, पानी, झरी, चिसो नभनी लेकमा जंगलीजस्तै भएर बस्यो, पैसा आउने बेला वस्तुभाउ खाल्टो खनेर गाड्नुपर्दा त्योभन्दा पीडादायी क्षण के होला ? ’
१५/१६ वर्ष कटेपछि याक–चौरी घाँस खान कठिन मान्ने, दुब्लाउने, हिँड्न नरुचाउने, गन्तव्यमा नपुग्ने, जंगली जनावरको निसानामा चाँडो पर्ने हुन्छ । बिस्तारै हिँड्नै नसक्ने अवस्थामा पुग्छन् । त्यतिबेला खर्कमा न अरुसँगै डोर्याउन सकिन्छ न छाडेर हिँड्न मन लाग्छ ।
बच्चैदेखि हुर्काएको बस्तुभाउको मायाले पशुपालकलाई पीडा दिने गरेको छ । छाडेर हिँडे वन्यजन्तुले पीडा दिईदिई मारेको बेहोर्नु पर्छ ।
मिक्वाखोला गाउँपालिका–५ पापुङमा जन्मेहुर्केका २४ वर्षीय नुपु प्राय: ३२ सय मिटर उचाइको पापुङ तोक्पेगोलामा गोठ राख्छन् । चैत/वैशाखदेखि भदौ/असोजताका चीनको सीमासम्म पुर्याउँछन् । असोज/कात्तिकदेखि माघ/फागुनसम्म संखुवासभाका खर्कदेखि तेह्रथुम र संखुवासभाको संगमस्थल गुफापोखरीसम्म डोर्याउँछन् । हिउँ, पानी, पहिरो छल्दै छलाउँदै एकपछि अर्को डाँडामा पुग्छन् । गोठ राख्नका लागि एक ठाउँमा वार्षिक २५ देखि ६० हजारसम्म दिएर साहूको खर्क पनि किनेका छन् । यस्ता खर्क फाकुम्वा, तोक्पेगोला, गुफा पोखरी गरी चार ठाउँमा छन् । झट्ट हेर्ने मान्छेले गोठमा खायो बस्यो, चौंरी डुलायो आनन्द जस्तो देखे पनि उनी आफैले भने आत्मसन्तुष्टि लिन सकेका छैनन् ।
उनका सहयात्री छिमेकी नाइके चुङदाक शेर्पाको हाल नुपुको भन्दा पीडादायी छ । चौंरी र याक गरी झन्डै अढाइ सय बस्तु पालेका उनले गतवर्ष लम्पी स्किन संक्रमणमा ६७ वटा गुमाए । यस्तो व्यवधान आउला भन्ने नसोचेका उनलाई अहिले कहिले चीनको बजार खुल्ला भन्ने प्रतीक्षा मात्रै छ । उनको मनले भनिरहेको छ, ‘चाइनाको बजार खुलेपछि गोठै रित्याइदिन्छु र पुर्ख्यौली पेसाबाट हात धोएर पापुङ (घर) मा बाँकी जीवनयापन गर्छु ।’ 
लम्कीले पुर्याएको क्षतिपछि उनमा पीडा र आक्रोश छ । नाइकेले भर्खर लर्खराउँदै गरेका रहरलाग्दा बाच्छाबाच्छी, वयस्क उमेरका र बुढाखाडा चौंरी–याक गुमाएका थिए । निर्यात खुल्ने दिनको आशामा सदरमुकाम फुङलिङबाट नुनभुस किनेर खुवाउने काम गरिरहेको उनी बताउँछन् । ‘बजारको नुनभुसदेखि जंगलको घाँस खुवाइरहेको छु,’ नाइकेले भने, ‘अब खै रुङ्नु पर्नेचाहिँ कहिलेसम्म हो ।’ आयात-निर्यात खुल्ने दिन उनको प्रतीक्षा बनेको छ ।
पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु लगायतका हिमाली तथा पहाडी जिल्लामा पालिने पशुचौपाया चीन तिब्बत र भारतको सिक्किममा किनबेच हुन्थ्यो । चीनको तिब्बत, नेपाल, भारतको सिक्किमका खर्कमा पालिने चौंरी याकको आयात–निर्यात दोहोरो हुन्थ्यो । खासगरी नेपाली किसानले खर्कमा पाल्ने र ती देशमा बिक्री गरेर नगद आयआर्जन गर्दै आएका थिए । कोरोना संक्रमणपछि त्यो ठप्प छ ।
मानिस आवतजावत र अन्य व्यापारिक प्रयोजनका लागि सीमा नाका खुले पनि पशुचौपायाको आयात निर्यात ठप्प छ । सिमानाले नछेक्ने भएकाले तीनै देशका एकाध चौपाया आवतजावत गर्छन् तर व्यावसायिक प्रयोजनको रुपमा खुलेको छैन । सीमावर्ती जिल्ला भएकाले पाँचथर, इलामका पशुपालकले भारतको सिक्किममा पनि बिक्री गर्छन् । तर ठूलो मात्रामा नभएको किसान बताउँछन् ।
अहिले चीनको डिङ्जे काउन्टीमा चलेको मूल्य अनुसार भए नुपुका ९० वटा चौंरी र याकले ९० लाखभन्दा बढी नै साट्छन् । ‘अहिले तिब्बतको बजार बुझ्दा ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री हुने रहेछ,’ नुपुले भने, ‘सरदर मूल्य राख्ने हो भने प्रतिगोटा एक लाखका दरले ९० लाख रुपैयाँ साट्न सकिन्छ ।’ आफूले पालेको याक कुनै त १ लाख ५० हजारमा पनि बिक्री हुने उनले बताए । लम्कीबाट ठूलो सङ्ख्यामा चौपाया गुमाएका नाइकेले पनि कम्तीमा डेढ करोड रुपैयाँ गोठ बिक्री गर्दा साट्ने लक्ष्य राखेका छन् ।
जिल्लामा ८ हजार ५ सय याक चौंरी
हिमाली क्षेत्रका किसानले चौंरी र याक गरी दुई प्रजाति पाल्छन् । चौंरी सदाउन सजिलो हुन्छ । तुलनात्मक रुपमा अलि सीधा स्वभावको हुन्छ । यसलाई भारी बोकाउन प्रयोग गर्छन् । यो ३५ सय मिटरभन्दा तलको क्षेत्रमा फस्टाउँछ र बस्न रुचाउँछ । 
याक चङ्खो हुन्छ । यसलाई सदाएर भारी बोकाउने काम लगाउन गाह्रो हुने नुपु बताउँछन् । यो ३५ सय मिटर माथिको क्षेत्रमा फस्टाउँछ । यी दुवै प्रजाति भालेपोथी दुवै हुन्छन् । याक र चौंरी दुहेर दही, मोही, घिउ, छुर्पी बनाउन सकिन्छ । दुहुना बस्तु अहिले त्यही प्रयोजनमा प्रयोग भइरहेको नाइकेले बताए । हिमाली क्षेत्रमा दूधको बजार नभएकाले जमाएर मोही पार्ने, मोहीको छुर्पी बनाउने र बिक्री गर्ने काम भइरहेको छ । ‘घिउ, छुर्पी बिक्री गरेको पैसाले नुन, भुस, खर्क किनेर चलाइरहेका छौं,’ नुपुले थपे, ‘खर्चसम्म चाहिँ जेनतेन धान्छ, अरु उपलब्धि हुँदैन ।’
चौंरी बिहान-बेलुका दुहुन मिल्छ । याक बिहान् अर्थात दिनमा एक पटक मात्रै दुहुने हो । एउटा याकले तीन लिटरसम्म दूध दिन्छ । चौंरीले भने चार लिटरसम्म दिन्छ । यतिको दूध जमाएर घिउ निकाल्दा धेरै हुँदैन । नाइके भन्छन्, ‘१२/१३ वटा चौंरी याकको दूध जमाएर मोही पार्दा जम्मा एक किलो मात्रै घिउ निस्कन्छ ।'
एक किलो घिउको मूल्य एक हजार रुपैयाँ रहेको छ । तर घिउको बजार भने राम्रो भएको पशुपालक बताउँछन् । छुर्पी भने सदरमुकाम फुङलिङ पठाउनुपर्छ । बिक्री भएपछि मात्रै पाँच/छ महिनापछि किसानले बल्ल पैसा पाउँछन् ।
पशुसेवा कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा ८ हजार ५ सय हाराहारी याक चौंरी छन् । सबैभन्दा बढी मिक्वाखोला गाउँपालिका–५ पापुङ र ४ साँवाका गोठमा पालिन्छ । यो पालिकामा ३५ सयको सङ्ख्यामा रहेको तथ्यांक छ । त्यसपछि फक्ताङलुङ गाउँपालिकामा २५ सयको सङ्ख्यामा छ । मेरिङदेन, मैवाखोला, सिदिङवा र सिरिजङ्गा गाउँपालिकामा पनि छन् । फुङलिङ नगरपालिकामा पनि दुई जना किसानले झन्डै एक सयको संख्यामा पालेको याक चौंरी कृषक महासंघकाको तथ्यांकमा उल्लेख छ ।
नाका खुल्ने प्रतीक्षा
चीनको बजार खुले पाँच हजार याक चौंरी तत्काल बिक्री गर्ने तयारी अवस्थाका रहेको नुपु बताउँछन् । चीनले भने नश्ल सुधारदेखि दूध, मासुका लागि खरिद गर्ने गरेको छ । राम्राराम्रा याक चौंरी नश्ल सुधारका लागि तिब्बतीयनले खोजीखोजी लैजाने र त्यसको मूल्य पनि डेढ लाखभन्दा बढी नै लगाउने किसान बताउँछन् ।
घुम्ती गोठको रुपमा खर्कमा डुलाएर पाल्ने यी चौपाया कोरोना संक्रमण अघिसम्म चीनको बजारमा निर्वाध बिक्री गर्न पाइन्थ्यो । २०७७ सालमा नुपुले पनि २० वटा याक डिङजे काउन्टीको घुम्तीमा बजारमा पुर्याएर बिक्री गरेका थिए । उनले त्यतिबेला एउटाको ९० हजारसम्म साटेका थिए ।
संखुवासभाको थुदाम ओम्दोला नाकाबाट नुपुसँगै अरु पाँच किसानले पनि चौपाया लगेका थिए । त्यसबेला सबैले गरेर भित्र्याएको नेपाली ५० लाख रुपैयाँ अहिलेसम्म प्राप्त अन्तिम आम्दानी हो । त्यसपछि बिक्री ठप्प भएको किसान बताउँछन् ।
‘त्यसबेला बिक्री गर्दा चीनको एक युआनको नेपाली १६ रुपैयाँ हुन्थ्यो,’ नुपुले थपे, ‘अहिले त पैसा पनि बढेर १९ रुपैयाँ नजिक पुगेको छ ।’ 
याकचौंरी कृषक महासंघका अनुसार जिल्लामा १ सय ८० कृषक परिवार यही पेशामा पूर्णरुपमा आबद्ध छन् । चार/पाँचदेखि आठ/दशवटासम्म पाल्नेको परिवार संख्या तीन सयभन्दा बढीनै भएको महासंघले जनाएको छ । चीन निर्यातमा अवरोध उनीहरुको साझा समस्याको रुपमा रहेको छ ।
कोरोनासँगै बन्द भएको द्विदेशीय सीमा नाका खुलेका छन् । अन्य सामान र मानिस आवतजावत खुलेको छ । तर पशुचौपायाको आयात-निर्यात मात्रै बन्द छ । नेपालीले नश्ल सुधारका लागि चीनबाट ल्याउने गरेका थिए । त्यो पनि पाएका छैनन् । महासंघ अध्यक्ष नुपु चीनको बजारमा बिक्री नभए मर्न दिनुको विकल्प नभएको बताउँछन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सीमा बैठकका लागि चीन भ्रमणमा जाँदा यो विषय उठाइदिन यहाँका किसानले आग्रह गरेका थिए । गत मंसिर २९ गते शर्मा नेतृत्वको टोली डिङ्जे काउन्टीका प्रमुख नेतृत्वको सीमा बैठकमा सहभागी भएको थियो । बैठकमा शर्माले यस विषयलाई गम्भीरतापूर्वक लिइदिन चिनियाँ प्रतिनिधिलाई आग्रह पनि गरे । ‘मैले कृषि उपजअन्तर्गतको विषयमा राखेर यसलाई एजेन्डाकै रुपमा उठाएँ, चीनका मित्रले आफूहरु भन्दा माथिल्लो निकायबाट सबै सिमानामा रोक लगाएकाले त्यही निकायमा अनुरोध गर्ने जवाफ दिए,' उनले भने ।
मंसिरको बैठकमा तत्काल हल गर्ने संकेत नगरे पनि उनीहरुमा गम्भीरता देखिएको शर्मा बताउँछन् । ‘पशुचौपायाको विषयमा केन्द्रको निर्णय हुनुपर्छ हामी माथिल्लो निकायमा अनुरोध गर्छौं भन्नुभएको थियो,’ दोभासेको रुपमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘हामी फलोअप गरिरहेका छौं, आशा गरौं सम्बोधन होला ।’
केन्द्रको निर्देशन भए पनि स्थानीयको आवश्यकतालाई बुझिदिन र आफ्नो निकायमा बुझाइदिन आग्रह गरेको शर्माले बताए । याक चौंरी र तिनबाट उत्पादित दूध, छुर्पी, घिउसमेत निर्यात हुन नसकेको आफूले आँखाले देखेर फर्किएको भन्दै शर्माले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र आफ्नो निकायमा पुन: जानकारी गराएको बताए ।
कोरोना संक्रमणसँगै बन्द भएका ताप्लेजुङको टिप्ताला भञ्ज्याङ, संखुवासभाको किमाथांका नाका गत जेठ ११ गतेदेखि खुलेका छन् । आयातनिर्यात बन्दले तिब्बतलाई पनि क्षति भएको सीमावर्ती क्षेत्र ओलाङचुङगोलाका पशुपालक कृषक नुपु शेर्पा बताउँछन् । मसिना बाच्छा तिब्बतबाटै ल्याएर पाल्ने र वयस्क भएपछि उतै बिक्री गर्ने प्रचलन पनि रहेको थियो । ‘धेरैले आफ्नै माउबाट बाच्छा उत्पादन गराउथ्यौं,’ ओलाङचुङगोलाकी मिङमादिकीले भनिन्, ‘कसैले उता चाइनाबाट ल्याएर पाल्ने र ठूलो भएपछि बेच्ने गरेका थियौं ।’ 
नेपालमा देखिएको लम्पी स्किनका कारण हो कि भन्ने आशंका स्थानीयलाई छ । तर चीनले भने रोकिनुको कारण नखुलाएको प्रमुख जिल्ला अधिकारी शर्मा बताउँछन् । वडाध्यक्ष छेतेनले भने, ‘उनीहरुमा यसैको त्रास हो कि भनेर अब के गर्नुपर्छ भनेर पनि मैले सोधेँ तर स्पष्ट जवाफ दिएनन् ।’ हरेक किसानले गोठमा बाच्छाबाच्छी हुर्काउने र ठूलो भएको याक–चौरी पुरिरहेको दृश्य पीडादायी रहेको उनी बताउँछन् । ‘वडाले पालिकाले अनुदान दिनुपर्यो भन्छन्, सरकारसँग पनि क्षतिपूर्ति दिन सक्ने गरिएको स्रोत छैन,’ उनले भने । वस्तु बढ्दा खर्कको अभाव हुने र त्यसलाई चलायमान बनाउने पैसा किसानसँग नहुने उनको भनाइ छ । ‘हामी जनप्रतिनिधिलाई पनि दबाब छ,’ शेर्पाले भने ।
याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भनेर छुट्याउने गरिएको छ । चीनको बजार मूल्य र अहिलेको संख्यालाई आधार मान्दा ताप्लेजुङका खर्कमा मात्रै करिब एक अर्बको चौरी याक छन् ।
तत्कालका लागि ६० प्रतिशत बिक्री गर्ने वातावरण बने किसानमा उत्साह बढ्ने र मसिना बाच्छाबाच्की हुर्काएर थप प्रवर्द्धन हुनसक्ने पशु सेवा कार्यालयको बुझाइ छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्ख्यौली पेसाका रूपमा यसलाई प्रवर्द्धन गर्दै आएका छन् ।
तीन हजारदेखि पाँच हजार मिटरसम्म उचाइलाई याक चौंरीको चरन क्षेत्रको रुपमा लिइन्छ । बाघ, भालु, ब्वाँसो, हिउँचितुवा लगायतका वन्यजन्तुले हरेक वर्ष क्षति पुर्याउने गरेको छ । लम्पी स्किनले तीन हजार हाराहारी क्षति पुर्याएको पशुसेवा कार्यालयको तथ्यांकमा छ ।
