वन्यजन्तुको आक्रमण : साढे ११ वर्षमा चितवन निकुञ्ज आसपास १२७ जनाको मृत्यु

गैंडाले लियो धेरैको ज्यान, बाघ र जंगली हात्तीबाट पनि उस्तै त्रास 

फाल्गुन २४, २०८१

रमेशकुमार पौडेल

Wild animal attacks: 127 people died around Chitwan Park in 11 and a half years

चितवन — गैंडा, हात्ती, मयुर चर्ने हरियाली वन छनारायणीको पानीजस्तो सङ्लो चोखो मन छनेपालको सेन्टरमा जिल्ला चितवनमैसँग बस कान्छी जीवन बिताउन

प्रसिद्ध लोकगायक चितवनवासी मिलन लामाले गाएको यो गीतले चितवनको प्राकृति सौन्दर्यको वर्णन गरेको छ । वन जंगल र ठूला नदीले घेरिएको चितवन वास्तवमा निकै सुन्दर छ । यहाँ रहेको विश्व विख्यात चितवन राष्ट्रिय निकुञ्जमा गैंडा, हात्ती, बाघ मयुर डुल्छन् । जसलाई हेर्न देश विदेशका लाखौं पर्यटक आउँछन् । पर्यटनका कारण चितवनको आर्थिक हैसियत उकासिएको छ । चितवनमा जीवन बिताउन गाह्रो छैन ।

चितवनको यो सुखद पाटो हो । 

तर, निकुञ्जसँगै जोडिएको अर्को पाटो पनि छ । जुन दुखद छ । 

निकुञ्जका वन्यजन्तुले आक्रमण गर्दा स्थानीय घाइते हुनुका साथै ज्यान नै गुमाइरहेका छन् । चितवन निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, पाटेबाघको मुख्य बासस्थल हो । नेपालमा सबैभन्दा धेरै बाघ र गैंडा चितवन राष्ट्रिय निकुञ्जमा नै पाइन्छन् । जंगली हात्ती पनि यहाँ छन् । यी ठूला जंगली जनावरले बर्सेनि स्थानीयको ज्यान लिइरहेका छन् ।

चितवन निकुञ्जमा डुल्ने भाले जंगली हात्ती बस्ती वरपर आउने गर्छन् । घरपालुवा पोथी हात्तीमा आकर्षित यी हात्तीले बालीनाली र स्थानीयले घरमा स्याहारेको अन्न र भान्सामा राखेको नुनसमेत छाड्दैनन् । निकुञ्ज वरपर डुल्ने एउटा जंगली भाले हात्तीलाई स्थानीयले ‘गोविन्दे’ नामकरण गरेका छन् । सौराहा आडको खोरसोर हात्ती प्रजनन केन्द्रमा असोज १७ मा यो हात्तीले केन्द्रका कर्मचारी ४० वर्षीय जदु सिंहको ज्यान लियो । 

चितवन निकुञ्जमा सबैभन्दा धेरै एकसिंगे गैंडा पाइन्छ । कुनै बेला चोरी सिकारीका कारण घट्दो अवस्थामा रहेको एकसिंगे गैंडाको संख्या पछिल्लो दशकमा वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र मात्रै होइन गैंडाले निकुञ्ज आडको मध्यवर्ती वन, खेत र घर गाउँमै स्थानीयलाई आक्रमण गर्छ । गएको पुस १६ गते वनबाट बस्ती छिरेको एउटा गैंडा बिच्किँदा त्यसले रत्ननगर–१६ की ७० वर्षीय कृष्णकुमारी थापालाई आक्रमण गर्‍यो । 

गम्भीर घाइते कृष्णकुमारीको उपचारको क्रममा ज्यान गयो । सो घटनामा अन्य पाँचजना घाइते भएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनेपछि बाघले धेरै नै मान्छे मार्छ भन्ने सन्देश गएको छ । नेपालमा सबैभन्दा बढी बाघ पाइने चितवन निकुञ्ज आसपास बाघले दिने दु:खपीडा एकनासको अलि छैन । बाघ आक्रमणबाट कुनै वर्ष अत्यधिक र कुनै वर्ष शून्य मृत्यु पनि छ ।

निकुञ्जको विवरणअनुसार २०८० साउन २१ मा खैरहनी नगरपालिका–१२ को केराबारीमा बाघले आक्रमण गर्दा ३५ वर्षीय अनिल तामाङको निधन भयो । सोही वर्षको मंसिर ८ मा घरका लागि खर काट्न मकवानपुर मनहरी गाउँपालिका–६ जोगीतालको खरबारीमा गएका चितवन राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरिप्रसाद पौडेल र १८ वर्षका पुष्पराज तमाङले बाघको आक्रमणमा परेर ज्यान गुमाए ।Wild animal attacks: 127 people died around Chitwan Park in 11 and a half years

यी प्रतिनिधिमूलक घटनाले देखाउँछ कि निकुञ्जभित्र या सामुदायिक वन क्षेत्रमा मात्रै नभएर घर आँगन, खेतबारी र कार्यक्षेत्र वरपर पनि स्थानीयहरु वन्यजन्तुबाट सुरक्षित छैनन् । राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका बेला निकुञ्जभित्र बाहिर चोरी सिकार मौलाएको थियो । ७० को दशकसँगै निकुञ्जको सुरक्षा मजबुत हुँदै गयो, अन्य क्रियाकलापले पनि वन्यजन्तुका लागि अनुकूल बन्दै गए । 

१० वर्षयता हुने गणना या अनुगमनमा बाघ र गैंडाका संख्या निरन्तर बढेको देखिन्छ । चितवन निकुञ्जले प्रकाशन गर्ने आर्थिक वर्ष ०७०/७१ यताका वार्षिक प्रतिवेदनका विवरण लेखाजोखा गर्दा सो आर्थिक वर्षयता चालु आर्थिक वर्षको फागुन १८ सम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा वन्यजन्तुका कारण १२७ को ज्यान गएको देखिन्छ ।

गैंडाले लियो धेरैको ज्यान

साढे ११ वर्षको अवधिमा १२७ जनाको ज्यान जाँदा सबैभन्दा धेरै मृत्यु गैंडाका कारणले भएको छ । यो अवधिमा गैंडाका कारण ५२ जनाले ज्यान गुमाए । गैंडापछि बाघका कारण ४० र जंगली हात्तीका कारण २८ जनाको मृत्यु भएको निकुञ्जको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा मगर गोहीले तीन, बँदेलले तीन र गौरी गाई (गौर) ले एकजनाको ज्यान लिएको छ । 

निकुञ्जको चार जिल्लामा फैलिएको मध्यवर्ती क्षेत्र साथै बीचको पाँच वर्ष दुई जिल्लाका राष्ट्रिय वनमा र निकुञ्जभित्रै भएका एकाध घटनामा कुल मृत्यु भएका १२७ मध्ये पुरुष ९१ र महिला ३६ जना रहेका छन् । 

निकुञ्जका जनावर  मध्यवर्ती क्षेत्रमा आएर स्थानीयलाई आक्रमण गर्दा सरकारले राहत दिन्छ । निकुञ्जले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनमा परिवारलाई राहत दिएका मृतकको विवरण उल्लेख छ । निकुञ्जभित्र मृत्यु भएको तर राहत नपाउने एकाध घटना पनि यी प्रतिवेदनमा छन् । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (बर्दघाट सुस्तापूर्व), पर्सा र मकवानपुर जिल्लाका १२ पालिका छन् । 

मध्यवर्ती क्षेत्रभन्दा बाहिर चितवन र नवलपरासीको राष्ट्रिय वन क्षेत्रभित्र भएका घटनाको २०७६ सालदेखि २०८० सम्मको राहत पनि चितवन निकुञ्जमार्फत वितरण भएको छ । ती विवरण पनि यसमा सामेल छन् । निकुञ्जकै जनावर ओहोरदोहोर गर्ने चितवन र नवलपरासीको वन क्षेत्रमा त्यो अवधिमा मृत्यु भएका १३ जनाको परिवारलाई चितवन निकुञ्ज कार्यालयमार्फत वितरण भएको छ । 

Wild animal attacks: 127 people died around Chitwan Park in 11 and a half years

निकुञ्जले २०५५ सालयता मध्यवर्ती क्षेत्रमा निधन भएका मृतकका परिवारलाई राहत दिँदै आएको छ । सबैभन्दा धेरै ०७८/७९ मा १९ जना मृतकका परिवारलाई राहत उपलब्ध गराएको विवरण छ । यो वर्ष बाघका करण सबैभन्दा धेरै ११ जनाको मृत्यु भएको देखिन्छ । 

त्यसैगरी गैंडाका कारण सबैभन्दा धेरै ०७३/७४ मा ७ जनाको मृत्यु भएको देखिन्छ । अन्य वर्षमा दुई, चार, पाँच र ६ जनाले ज्यान गुमाएका छन् । यो आर्थिक वर्षमा भने गैंडाबाट भएका घटना धेरै छन् । निकुञ्जका सुचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षको फागुन १८ सम्म मृत्यु भएका ९ मध्ये ७ जनालाई गैंडाले मारेको छ ।

०५५/५६ यता ०६९/७० सम्मको १५ वर्षको अवधिमा १४४ जनाले ज्यान गएको थियो । ०५५/५६ यता ११ वर्षको अवधि ०६५/६६ सम्म मृत्यु हुनेको संख्या १०० थियो । ७० को दशकभन्दा पहिला निकुञ्जमा जनावर पनि कम थिए । 

‘मृत्यु र घाइते हुने घटना धेरै नै छन् । पहिला जनावर कम हुँदा पनि घटना हुने गर्थे । विभिन्न उपाय लगाएका कारण जनावरको संख्या बढेको अनुपातमा मृत्यु नै हुने घटना भने बढ्न दिएका छैनौं,' चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगनाले भने, 'तर हाम्रो प्रयास अझै बढाउन आवश्यक छ ।’ 

चितवन निकुञ्जमा २५ वर्षअघि ५४४ गैंडा थिए । त्यसपछि गैंडाको संख्या घट्दै ३७२, ४०८ हुँदै २०७१ सालको गणनापछि ६०५ र पाँच वर्षअघिको गणनामा ६९४ पुगेको हो । नेपालभर ७५२ गैंडा छन् । त्यसै गरी २०७९ साउनमा सार्वजनिक गणनाअनुसार देशभर ३५५ बाघ रहेकामा चितवनमा १२८ थिए । बाघको संख्या पनि १६ वर्षअघि ९१ थियो । त्यसपछि १२० र ९३ हुँदै १२८ पुगेको छ ।

'संख्या बढ्दैमा घटना बढ्ने होइन' 

पछिल्ला वर्ष बाघ र गैंडाको संख्या चितवन निकुञ्जमा उल्लेख्य बढेको छ । ‘कुनै बेला भयावहजस्तो देखिएको बाघबाट हुने मानव मृत्युको घटना त्यसपछि क्रमशः घट्दै गएको छ । जबकि बाघको संख्या बढेको छ,’ बाघ, चितुवा र मानवका सम्बन्धका बारेमा विद्यावारिधि गरेका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले भने । सुरक्षाका प्रबन्धहरु अपनाउँदै सचेतना बढाए घटना कम हुने उनको भनाइ छ ।

उनको अध्ययनले कुल संख्यामध्ये पाँच प्रतिशत हाराहारीका बाघले मात्रै मानव बस्तीमा समस्या ल्याउन सक्ने देखाएको छ । ‘त्यस्ता बाघका बारेमा समयमै जानकारी लिन सके राम्रो हुन्छ । समस्या ल्याउन सक्ने बाघ पहिचान गरेर अनुगमन राम्रोसँग गर्ने हो भने दुर्घटना रोकिन्छन्,’ लामिछानेले सुनाए । 

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त यस्ता बाघ पहिचान गर्ने र आवश्यक परेको खण्डमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको बताउँछन् । खोरमा राखिएका यस्ता बाघ चितवनमा ७ वटा छन् । खोरको अभाव भएपछि थप एउटालाई पर्सा निकुञ्जमा पठाइको छ । वर्षमा बाघका कारण ११ जनाको मृत्यु भएको ठाउँमा त्यसपछि पाँच, चार र यो वर्षको ६ महिनामा एक जनाको मृत्यु भएको पन्तले बताए ।

‘५० र ६० को दशकमा पनि बाघका कारण मृत्यु हुन्थ्यो । त्यसबेला बाघ अहिलेको जस्तो संख्यामा थिएनन् । त्यसैले संख्याले भन्दा पनि सचेतना र व्यवस्थापनले प्रभाव पार्छ,' विज्ञ लामिछाने भन्छन् । बाघको संख्या बढेसँगै पहिला बाघ नदेखिने निकुञ्जबाहिरका वन क्षेत्रमा पनि बाघ बस्ने थालेका छन् । तर स्थानीयले त्यहाँ बाघ बस्छ भन्ने हेक्का नराख्दा जम्काभेट हुने र दुर्घटना बढ्ने खतरा रहने विज्ञको भनाइ छ ।

‘यो खतराबारे स्थानीयलाई सचेत र सजग गराउन आवश्यक छ । वन जाँदा सावधानी अपनाउनुपर्छ,’ लामिछानेले भने । गैंडा बस्ती आउने क्रम पनि उत्तिकै छ । 

निकुञ्जले दिएको जानकारी अनुसार निकुञ्ज आसपासका १२७ ठाउँबाट गैंडा बाहिर निस्केर बस्तीमा पस्ने गर्छन् । निकुञ्जको घाँसे मैदान राम्रो नहुँदा चरनको अभावमा गैंडा गाउँ छिर्ने, मान्छेको चाप रहने सामुदायिक वनमा बस्न थालेको छ ।

निकुञ्जभित्र कुनै बेला २० प्रतिशत हाराहारीमा घाँसे मैदान थियो । त्यो घटेर पाँच प्रतिशतसम्म भयो । बीचमा विभिन्न प्रयासका कारण १० प्रतिशतसम्म पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त बताउँछन् । घाँसे मैदान सुधार र व्यवस्थापनको काम हरेक वर्ष गर्नुपर्छ । तर घाँसे मैदान र घोल पोखरीका लागि उपलब्ध हुने बजेट भने पछिल्ला वर्ष निकै कम भएको छ ।

०७३/७४ सम्म घाँसे मैदान व्यवस्थापनका लागि खासै बजेट आउँदैन थियो । ०७६/७७ मा पुरानो घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणका लागि भनेर सवा ३ करोड रुपैयाँ आयो । तर रकम हृवात्तै घट्दै गएर चालु आर्थिक वर्षका लागि ३७ लाखा मात्र बजेट छ । त्यो पनि घट्ने सम्भावना देखिन्छ । निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान व्यवस्थापन गर्नुपर्नेमा ५ सय हेक्टरको हाराहारीमा हुने गरेको छ ।

‘निकुञ्जका बाघ, गैंडा, हात्ती कसरी हुन्छ, निकुञ्जभित्रै राख्नुपर्छ भन्ने आवाज छ । यसका लागि बासस्थल व्यवस्थापन गर्नुपर्छ । तर हाम्रो स्रोतसाधन सीमित छ। बासस्थल सुधारको काम हुँदै नभएको होइन तर जति गर्नुपर्ने हो त्यति गर्न भने सकेका छैनौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले भने । जंगली हात्तीको व्यवस्थापन पनि निकुञ्जका लागि चुनौतीपूर्ण हुँदै गएको उनले बताए ।

हात्तीकै विषयमा विद्यावारिधि गरेका र हाल बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत रहेका अशोक राम चितवन क्षेत्रमा जंगली हात्तीका चारवटा जति झुन्ड रहेको बताउँछन् । एउटा झुन्डमा आठवटादेखि २५ वटासम्म हात्ती हुन्छन् । हात्तीलाई दिनमा दुई सय किलो घाँस र दुई सय लिटर पानी चाहिन्छ । त्यसैले घाँस र पानीको खोजीमा हात्ती लामो लामो यात्रा गर्छन् । एकपटक हिँडेको बाटो लामो समयसम्म भुल्दैनन् ।

‘तर चितवनमा झुन्डका हात्तीले समस्या निम्त्याइहालेको छैन । झुन्डबाट खेदिएका भाले हात्तीका कारण आएको हो । भाले हात्तीमा वर्षमा तीन पटकसम्म माद चढ्छ र एकपटक चढेको माद तीन महिनासम्म रहन्छ । माद चढेको हात्ती पोथी हात्तीसँग संसर्ग गर्न निकै उत्तेजित र आक्रामक हुन्छ,’ हात्ती विज्ञ रामले भने । यस्ता हात्ती मानव बस्तीमा आएर खाद्यान्न पनि खाने गर्छन् । जसका कारण मान्छेले गलत व्यवहार गर्दा दुर्घटना हुने उनको भनाइ छ ।

‘निकुञ्जभित्र मात्रै नभएर निकुञ्जसँग जोडिएको वन क्षेत्रको पनि संरक्षण गर्दै हात्तीका लागि बासस्थल व्यवस्थापन गर्न आवश्यक छ । साथै बस्ती आउने हात्तीलाई थप आक्रामक नबनाउन स्थानीयलाई हात्तीसँग कस्तो व्यवहार गर्ने भनेर सचेत बनाउनुपर्छ,’ अशोक रामको सुझाव छ । नियमित अनुगमन र स्थानीयलाई सजग गराउनु हात्तीबाट पनि जोगिने उपाए हो भन्छन् उनी ।

सुरक्षित तारबार र पर्खालमा जोड

भरतपुर पहिटानीका रामलाल महतो २०४९ सालमा तत्कालीन पहिटानी गाउँ विकास समितिको अध्यक्ष थिए । उनी २०५४ सालदेखि दुईपटक चितवन निकुञ्जको पटिहानी मध्यसंवर्ती उपभोक्ता समितिको अध्यक्ष पनि भए । २०७४ सालमा उनी बागमती प्रदेशसभाको सदस्य चुनिए । निकुञ्ज आडका बासिन्दा उनी जनप्रतिनिधिदेखि संरक्षणकार्यमा पनि लागेका छन् । 

‘संरक्षणमा कामै नभएको होइन, मान्छे पनि मरिरहेका छन् । यो रोकिने उपाए नयाँ परिवेशमा नयाँ तरिकाले सोच्नुपर्छ,’ उनी भन्छन् । मध्यवर्ती सुरु हुँदा घाइतेले उपचार खर्च मुस्किलले १० हजार रुपैयाँ पाउने गरेको उनले बताए । मृतकका परिवारले २५ हजार रुपैयाँ राहत बुझ्थे । अहिले उपचार पुर्णरुपमा हुने व्यवस्था भएको छ । राहत पनि १० लाख रुपैयाँ पाउन थालेका छन् ।

‘राहत रकम यसरी बढ्दो रहेछ । त्यसै गरी व्यवस्थापन पनि गर्नुपर्‍यो । संख्या बढेसँगै बासस्थल सुधार भएझैं लाग्दैन । बासस्थल सुधार गरेर जनावरलाई भित्रै राख्नुपर्‍यो,' उनले भने, 'सुरक्षित तारबार र पर्खाल लगाएर रोक्नुपर्छ ।' मध्यवर्तीले अब कुनै पनि विकास निर्माणका कामको साटो वन्यजन्तु गाउँ आउन रोक्ने पूर्वाधारमा लगानी गर्नुपर्ने महतोको आग्रह छ ।

चितवन निकुञ्जका २२ उपभोक्ता समिति र १२ पालिकामध्ये चार उपभोक्ता समिति रहेको माडी नगरपालिकामा १२७ मध्ये २९ जनाको जंगली जनावरबाट मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका क्षेत्रमा रहेका पाँचवटा उपभोक्ता समिति र राष्ट्रिय वन क्षेत्रमा साढे ११ वर्षको अवधिमा ३५ जनाको ज्यान गएको देखिन्छ । चितवनको आधा जनसंख्या र भूगोल ओगट्ने घना आबादी क्षेत्रको भरतपुरको तुलनामा माडीको भूगोल र जनसंख्या निकै कम छ । तर घटना लगभग भरतपुरकै हाराहारीमा हुने गरेका कारण माडी जोखिम क्षेत्र हो भन्छन् मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगना । 

तर तारबार, कंक्रिट वाल र वन्यजन्तुबाट जोगिने अनेक प्रबन्धहरु गर्दै आएका कारण पछिल्ला वर्ष घटना कम हुँदै गएको माडीको पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष तथा मध्यवर्तीको माडी बगई सेक्टरका प्रमुख नारायण सापकोटा बासु बताउँछन् । ‘अचेल मान्छे नै वन कम जान्छन् । जनावरलाई पनि सम्भव भएसम्म रोक्न खोजेका छौं । तर पर्याप्त छैन । कहिले घटना बढ्छ तर पहिलाको भन्दा कम भएझैं छ,’ उनले भने ।

चितवन निकुञ्जले पर्यटन शुल्कबाट गर्ने आम्दानीमध्येको ३० देखि ५० प्रतिशत बजेट मध्यवर्ती क्षेत्रमा जाने नीति छ । तर पछिल्ला वर्ष मध्यवर्तीमा जाने बजेट पनि कटौती हुँदै गएका कारण प्रभावकारी तरिकाले काम हुन नसकेको मध्यवर्तीका अध्यक्ष ढुंगानाले बताए । 

पछिल्ला वर्ष बजेट सीमित हुँदै गएका कारण वन्यजन्तु व्यवस्थापनका विषयमा स्थानीय सरकार, प्रदेश सरकारले पनि ध्यान दिन आवश्यक रहेको निकुञ्ज प्रमुख गणेश पन्तले बताए । ‘यो निकुञ्जको काम हो र बढीमा वन मन्त्रालयको जिम्मेवारी हो भनेर सोच्ने हो भने आउँदा दिनका प्रभावकारी काम नहुन पनि सक्छ,' उनी भन्छन्, 'अब सबैले सोचेर मिलेर काम गर्न आवश्यक छ ।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully