अण्डामा सिन्डिकेट, दुई/चार दिनमै फेरिइरहन्छ मूल्य 

२०७६ पुसमा मिडियम अण्डाको मूल्य प्रतिक्रेट २ सय ५५ रुपैयाँ र ठूलो अण्डा प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ थियो । २०८१ फागुन १७ मा मिडियम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ र ठूलो अण्डा प्रतिक्रेट ४ सय २५ रुपैयाँ पुगेको छ

फाल्गुन २१, २०८१

राजु चौधरी

Syndicate on eggs, prices change every two/four days

काठमाडौँ — पशुसेवा विभागले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार अण्डाको मूल्यमा दानाको योगदान ७५ प्रतिशत हुन्छ । श्रम खर्च ७ प्रतिशत, पुँजीगत (खोर खर्च) २ प्रतिशत, लगानीमा ब्याज करिब ६ प्रतिशत र चल्लाको भाउ करिब ३ प्रतिशतले मूल्य निर्धारण गरिन्छ ।

पछिल्लो समय दानाको मूल्य बढेको छैन । तर अण्डाको भाउ भने दुई/चार दिनमै तलमाथि भइराखेको छ ।  

अण्डा उत्पादक किसानले आफू अनुकूल मूल्य समायोजन गर्दा बजारमा भाउ अस्थिर छ । ‘अण्डा उत्पादन गर्ने धेरै जसो ठूला व्यवसायीले नै व्यावसायिक रुपमा लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्छन् । मूल्य पनि उनीहरुले नै तोक्ने हुन्,’ एक कुखुरापालक व्यवसायीले भने, ‘आफू अनुकूल तोकिने अण्डाको मूल्य उत्पादकदेखि बजारसम्म आइपुग्दा मनलाग्दी छ ।’ 

नेपाल लेयर्स कुखुरापालक संघको तथ्यांकले पनि फागुनदेखि हस्तापिच्छे मूल्य बढेको देखाउँछ । संघले फागुन ९ मा मिडियम साइज अण्डाको मूल्य प्रतिक्रेट ३ सय ५० रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ७० रुपैयाँ तोकेको थियो । फागुन १२ मा मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ९० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४ सय १० रुपैयाँ पुग्यो । 

२०८१ फागुन १७ देखि अण्डाको मूल्य फेरि बढ्यो । संघले मिडियम अण्डा प्रतिक्रेट ४ सय ५ रुपैयाँ र ठूला अण्डा ४ सय २५ रुपैयाँ निर्धारण गरेको छ । यो होलसेल मूल्य चितवनलाई आधार मानेर निर्धारण गरिएको हो । चितवनबाट अण्डा लोड भई डिपो/डिलरसम्म पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिक्रेट थप करिब २० रुपैयाँ थपिन्छ । त्यसपछि खुद्रा पसलमा पुग्छ । खुद्रा पसलले पनि केही मुनाफा राखेर बिक्री गर्दा सर्वसाधरणलाई महँगो परेको छ ।

अण्डामा वास्तविक किसानभन्दा बिचौलिया र ठूला उत्पादकलाई मात्रै फाइदा छ,’ ती व्यवसायीले भने, ‘एकतर्फ किसानले मूल्य पाएका छैनन्, अर्कोतर्फ उपभोक्ता मूल्य अचाक्ली छ ।’ संघका सचिव मदन पोखरेलले अण्डाको मूल्य माग र आपूर्तिकै आाधरमा निर्धारण हुने दाबी गरे । बजारमा हुने विभिन्न तहले पनि उपभोक्ता मूल्य केही बढीजस्तो देखिएको बताए । तर किसानको हकमा लागत मूल्य अझै उठ्न नसकेको उनको दाबी छ । 

पोखरेलका अनुसार एउटा अण्डा उत्पादनमा किसानको १६ रुपैयाँ ५३ पैसा खर्च हुन्छ । मिडियम साइजको अण्डामा किसानले १३ रुपैयाँ ३३ पैसा र ठूला अण्डामा १४ रुपैयाँ मात्रै पाउने गरेका छन् । तर संघले नै बजार बिगारेको किसानहरुको आरोप छ । किसानलाई थोरै मूल्य तोकेर बिचौलियालाई फाइदा हुनेगरी एउटा अण्डाको बजार मूल्य २२ रुपैयाँ ५० पैसा तोकेको छ । यसले बिचौलियालाई एउटै अण्डामा करिब ९ रुपैयाँ फाइदा पुग्ने जानकारहरु बताउँछन् । 

Syndicate on eggs, prices change every two/four days

संघले फागुन १७ देखि मिडियम अण्डाको प्रतिक्रेट मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ निर्धारण गरेपनि किसानले ४ सय रुपैयाँ मात्रै पाउँछन् । ठुला अण्डाको प्रति क्रेट ४ सय २५ रुपैयाँ भएपनि ढुवानीकर्ताले ५ रुपैयाँ कमै दिन्छन,’ एक एक अण्डा उत्पादक किसानले भने, ‘बिरोध गरे अण्डा नै उठाइदिदैन भन्ने पिर ।’ 

व्यवसायीकै अनुसार अण्डा उत्पादन भएपछि ६ तह पार गरेर मात्रै उपभोक्तासम्म पुग्छ । अण्डा मुख्यत चितवन, दाङ, मकानपुर, झापा, मोरङ, सुनसरी लगायत जिल्लामा उत्पादन हुन्छ । चितवनलाई आधारमा मानेर अण्डाको मूल्य निर्धारण गरिन्छ । उत्पादकले मूल्य तय गरेपछि त्यसमा बक्स, क्रेट र ढुवानी भाडा समेत जोडर बितरकले खुद्रालाई बिक्री गर्छन् ।  

मूल्य तोकिएपछि सप्लार्यसले किसानको फर्मबाट विभिन्न जिल्लाका डिपोमा ढुवानी गर्छ । डिपोले सब डिपोलाई अण्डा पठाउँछ । सब डिपोले किराना पसल, होटलमा बिक्री गर्छ । त्यसपछि किराना पसलले उपभोक्तालाई बिक्री गर्ने हो । 

‘ढुवानी बाहेक क्रेट, बक्स, टुटफुट सहित सबै जोड्दा उपभोक्तालाई केही महंगो भएको हो,’ सचिव पोखरेलले भने, ‘बास्तवमा २० प्रतिशतसम्म मुनाफा राख्न पाइन्छ, तर व्यवसायीले २० प्रतिशत राखेका छैनन् ।’ यसले पनि संघबाट बिचौलियाको पोषण भइरहेको पुष्टी हुने किसानहरु बताउँछन् । बजार मूल्य नियन्त्रण गर्न  उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि बजार तह निर्धारण भनेको छ । तर सरकारले अहिले सम्म बजार तह निर्धारण गरेको छैन  । त्यसको मौका व्यवसायीले आफू अनुकुल मूल्य घटबढ गर्दै आएका छन् । र, बिचौलियालाई प्रोत्साहन भइराखेको छ । २०७७ कात्तिकमा पशुसेवा विभागले गरेको अध्ययनले पनि अण्डा विक्री वितरणमा विचौलियाको प्रभुत्व रहेको औल्याएको थियो । मूल्य बढ्नुको एउटा कारण दानाको मूल्य पनि रहेको विभिगको ठहर थियो । तर मूल्य नियन्त्रणमा कुनै चासो दिएको छैन । 

Syndicate on eggs, prices change every two/four days

पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले कुखुरा, अण्डाको मूल्य बजारले नै निर्धारण गर्ने जनाए । ‘आन्तरिक प्रयोजनका लागि कहिलेकाही अध्ययन गरेका हुन्छौ, तर मूल्य तोक्ने पशु विभाग होइन । मूल्यमा विभागले हस्तक्षेप गर्देन,’ दाहालले भने, ‘वास्तबमा मूल्य निर्धारण गर्ने छुट्टै संस्था नै छैन ।’

बजारमूल्य नियन्त्रण गर्न जिम्मा पाएका बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि यसबारे मौन छ । विभागका सूचना अधिकारी डिक बहादुर कार्कीलेपनि मूल्य स्वयम व्यवसायीहरुले निर्धारण गर्ने गरेको औल्याए । ‘मूल्य अस्वभाविक बढ्दा व्यवसायीहरुलाई छलफलमा डाक्ने गरेका छौ, तर मूल्यमा हस्तक्षेप भएको छैन,’ उनले भने । 

जिम्मेबार निकायहरु मौन बस्दा बिचौलियाको मनलाग्दी भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । उपभोक्ता संरक्षण ऐनले दिएको अधिकार प्रयोग भए बिचौलिया र तह स्वत नियन्त्रण हुने उनीहरुको दाबी छ । ‘व्यवसायीलाई माग र आपूर्तिको बहाना भएको छ । सरकारकै तथ्यांकमा प्रयाप्त उत्पादन भएपनि मूल्य बढेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘विभागले हस्तक्षेप नगरे प्रधानमन्त्री कार्यालयबाट पनि हस्तक्षेप गर्न जरुरी छ ।’

सरकारले २०७७ चैतमा अण्डामा आत्मानिर्भर घोषणा गरेको थियो । नेपालमा प्रति व्यक्ति प्रति वर्ष ६१ गोटा अण्डा उपलब्धता भएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री पद्यमा अर्यालले आत्मनिर्भरको दाबी गरेका थिए । उनीहरुले एक क्षेत्रमा एक कदम अगाडी बढाउन सफल भएको दाबी गरेका थिए । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नै छन । तर व्यवसायीहरुले मनलाग्दी गरेको तिमल्सिनाको भनाइ छ ।

संघकै विवरण अनुसार ५ वर्षको अवधीमा अण्डाको मूल्य क्रेटमै १ सय ५० रुपैयाँ बढेको छ । २०७६ पुषमा मिडियम अण्डाको मूल्य प्रतिक्रेट २ सय ५५ रुपैयाँ र ठुलो अण्डा प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ थियो । २०८१ फागुन १७ मा मिडियम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ र ठुलो अण्डा प्रतिक्रेट ४ सय २५ रुपैयाँ पुगेको छ । संघले भने कोभिडयता धेरै किसान विस्थापित भएको जनाएको छ । कोभिड अगाडी साना र ठूला गरी करिब ८ सय किसानले अण्डा उत्पादन गरेका थिए । अहिले साढे २ सयको हाराहारीमा मात्रै रहेको जनाएको छ । दैनिक २८ देखी ३२ लाख गोटा उत्पादन भएको छ । माग अनुसार उत्पादन कम भएको संघको दाबी छ ।

नेपाल अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले उत्पादनमा कमी आउनुको मूख्य कारण किसानको सख्या घटेको बताए । ‘चल्ला , लेयर्स कुखुरा पालन गर्ने किसान घटेको छ । यही बेला अण्डाको माग पनि बढेको छ, त्यही भएर मूल्य बढेको हो,’ केसीले भने, ‘अहिलेकै रेटले किसानलाई अझै पुगेको छैन । लागत महँगो छ ।’

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully