पूर्वमाओवादी जुटाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रस्तावमा चन्दबाहेक अरु उदासीन
काठमाडौँ — 'राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ' भन्ने दर्शनलाई अँगाल्दै २०५२ फागुन १ बाट माओवादीले सुरु गरेको थियो, सशस्त्र संघर्ष ।
त्यसअघि पार्टीको नाम थियो- नेकपा एकता केन्द्र ।
संघर्ष सुरु गर्नुअघि बसेको केन्द्रीय समिति बैठकले एकता केन्द्रको नाम परिवर्तन गरी चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओको नामबाट पार्टीको राख्यो- नेपाल कम्युनिस्ट पार्टी माओवादी ।
सशस्त्र संघर्षका बेला एकताबद्ध भएको माओवादीमा २०६३ को शान्ति प्रक्रियापछि भने विभाजनको शृंखला सुरु भयो ।
सशस्त्र युद्धका बेला १० वर्षसम्म माओवादीभित्र अन्तरसंघर्ष भए पनि पार्टी एकताबद्ध नै थियो । अहिले मूल माओवादी छिन्नभिन्न हुँदै १० भँगालामा विभाजित छ ।
२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राखियो ।
२०४५ सालदेखि पुष्पकमल दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रुपमा २०६९ विभाजन भयो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असमति जनाउँदै विद्रोह गरे । मार्क्सवादी सौन्दर्यशास्त्री वैद्यले दर्जनौं असमतिबीच पनि दाहालको नेतृत्व मान्दै आएका थिए ।
वैद्यको नेतृत्वमा २०४३ मा काठमाडौंको प्रहरी बिटमा आक्रमण भयो, पोस्टर टाँसियो । यस घटनामा धेरै कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी चर्को यातना दिएपछि वैद्यले महामन्त्रीबाट राजीनामा दिई नेतृत्व दाहाललाई सुम्पेका थिए ।
त्यसयता वैद्यले दाहाललाई पार्टी प्रमुख मान्दै आएकामा २०६९ असारमा माओवादी सेनाका लडाकु समायोजनमा असहमति जनाउँदै अर्को माओवादी गठन गरे ।
त्यो नै मूल माओवादीको सबभन्दा ठूलो विभाजन थियो ।
माओवादीबाट वैद्य, रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्द, पम्फा भुसाल लगायत करिब ३० प्रतिशत केन्द्रीय सदस्यले विद्रोह गरी क्रान्तिकारी माओवादी गठन गरे । अध्यक्ष दाहाल र तत्कालीन उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजनमा सम्झौता गरेको ‘दक्षिणपन्थी’ कार्यदिशा लिएको भन्दै जनविद्रोहको बाटोमा अघि जाने निर्णय गरेका थिए ।
अध्यक्ष दाहालले आफू कमजोर स्थितिमा पुगेका बेला पूर्व माओवादीहरु मिल्नुपर्ने बताउँदै आएका छन् । माओवादीको सशस्त्र युद्धबारे अन्य दलले प्रश्न उठाएका बेला पूर्वमाओवादी एक थलोमा उभिएर प्रतिवाद गरे पनि मिल्न भने कठिन छ । त्यसको मुख्यकारण वैचारिकभन्दा व्यक्तिगत टकराव देखिन्छ ।
२०७९ को निर्वाचनको मुखमा दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईबीच एकता गर्ने अनौपचारिक सहमति भयो । त्यही सहमतिअनुसार दाहाललाई गोरखा-२ मा उम्मेदवार बनाएर विजयी पनि बनाए । जब दाहाल गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । नयाँ शक्तिका नेताहरु माओवादीको चुनाव चिह्नमा उठेर दुई प्रतिनिधिसभा र दुई प्रदेशसभामा निर्वाचित समेत भएका थिए ।
तर निर्वाचन परिणाम आइसकेपछि दाहाल र भट्टराईबीच व्यक्तिगत टकराव सुरु भयो । भट्टराईले नै अघि सारेको समाजवादी मोर्चा बनाउने प्रस्तावलाई दाहालले आफ्नो बनाएर नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसहित मोर्चा घोषणा गरे । दाहाल र भट्टराईबीचको पार्टी एकता गर्ने समझदारी भंग भयो । पछिल्लो समय दाहालका सबभन्दा बढी आलोचकका रुपमा भट्टराई देखिएका छन् । दुई नेताबीच ‘दुस्मनी’ यति बढेको छ कि संवादसमेत हुन सकेको छैन ।
दक्षिणपन्थी संसदीय धार लिएको भन्दै माओवादीबाट विद्रोह गरी बनेको क्रान्तिकारी माओवादीभित्र पनि अन्तरसंघर्ष सुरु भयो । महासचिव वैद्य र वरिष्ठ नेता नेत्रविक्रम चन्दबीच जनविद्रोह गर्नेबारे विवाद सुरु भयो । वैद्यले जनविद्रोहका लागि तयारी नपुगेको बताएपछि नेत्रविक्रम चन्दबीच अन्तरसंघर्ष चुलियो र पार्टी विभाजन हुन पुग्यो । त्यसपछि २०७१ मंसिरमा वैद्य र चन्द अलग भए । चन्दले एकीकृत क्रान्ति गर्ने भन्दै नयाँ पार्टी गठन गरी केही समय सशस्त्र गतिविधिसमेत गरे ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले चन्दको नेकपालाई आतंककारी सूचीमा राखेर सुरक्षा कारबाहीसमेत अघि बढाएको थियो । त्यसपछि चन्दले आफ्नो पार्टीलाई शान्तिपूर्ण राजनीतिक दिशामा अघि बढाउने निर्णय गरी २०७७ फागुनमा सरकारसँग तीन बुँदे सहमति गरे । त्यसपछि उनी आगामी निर्वाचनलाई लक्षित गरी कृषि उत्पादनसँग जोडेर राजनीतिक गतिविधि गरिरहेका छन् ।
चन्द अलग हुनुअघि वैद्यबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, महासचिव देव गुरुङ पनि २०७३ जेठमा अलग भएका थिए । हाल थापा एमाले उपाध्यक्ष छन् भने रायमाझी निलम्बित सचिव हुन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि जेलमा छन् । भुसाल माओवादी उपाध्यक्ष र गुरुङ माओवादी महासचिव छन् ।
एमाले र माओवादीबीच २०७५ जेठमा एकता भएर नेकपा गठन भयो । त्यसको तीन वर्षपछि सर्वोच्च अदालतले मुद्दा फैसला गर्दै एमाले र माओवादी अलग हुने आदेश दियो । थापा, रायमाझी र लेखराज भट्ट (सचिव) एमालेमै रहे भने भुसाल र गुरुङ माओवादीतिरै लागे ।
क्रान्तिकारी माओवादीमा रहेका धमेन्द्र बास्तोला र वैद्यबीच ‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने’ भन्ने विवाद भएपछि २०८१ साउनमा वैद्य नेतृत्वको उक्त पार्टी विभाजन भयो ।
एकीकृत क्रान्ति भन्दै सशस्त्र गतिविधि गरेका नेकपा महासचिव चन्द र हेमन्तप्रकाश ओलीबीच पनि अन्तरसंघर्ष चर्कियो । २०७९ वैशाखमा ओली नेकपाबाट अलगिए । नेकपा बहुमत गठन गरेका उनले हाल वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता गरेका छन् ।
मूल माओवादीबाट धेरै भंगाला फाटेका छन् । माओवादी केन्द्रमा पुष्पकमल दाहाल अध्यक्ष, क्रान्तिकारी माओवादीमा मोहन वैद्य महासचिव, नेपाल कम्युनिस्ट पार्टीमा नेत्रविक्रम चन्द महासचिव, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा बाबुराम भट्टराई अध्यक्ष छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, नेपाल समाजवादी पार्टीमा गंगानारायण श्रेष्ठ सहअध्यक्ष, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव र तेस्रो जनआन्दोलन नेपालमा गोपाल किराँती संयोजक छन् ।
कम्युनिस्ट ध्रुवीकरण कति सहज ?
पुस अन्तिम साता सकिएको माओवादी केन्द्र केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनले पूर्वमाओवादीको एकतालाई जोड दिएको छ ।
‘वैज्ञानिक समाजवादको वैचारिक राजनीतिक कार्यदिशामा समान धारणा राख्ने विभिन्न कम्युनिस्ट र समाजवादी पार्टीसँग पार्टी एकताको पहल बढाउनुपर्छ । विगतका केही वर्षका अनुभवले विचार, राजनीति, संगठनात्मक विधि पद्धति, स्कुलिङको पृष्ठभूमिमाथि पर्याप्त बहस नगरी समान धारणा, भावना र स्पिरिट पैदा नगरी एकता गर्नु गलत हुने शिक्षा दिएको छ,’ अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमा भनिएको छ, ‘यस दृष्टिबाट हेर्दा पार्टीले एकताका निमित्त सबैभन्दा बढी जोड माओवादी क्रान्तिकारी पक्षहरुबीच घनीभूत पहल गर्नुपर्छ । आजको ठोस सन्दर्भमा चन्द नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा (बहुमत), आम जनता पार्टीबीच एकताको गम्भीर पहल गर्नुपर्छ । साथै, अन्य क्रान्तिकारी घटकसँग पनि एकताको सम्भावनाबारे खोजी गर्नुपर्छ ।’
माओवादीले पार्टी एकताका लागि महासचिव देव गुरुङलाई संयोजक तोकेको छ । ‘पार्टी एकताको उपरोक्त प्रयोजनका लागि एक उच्चस्तरीय वार्ता टोली गठन गरी अविलम्ब पहल लिइनेछ । पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकता बारे यो नीति त्यस हदसम्म मात्र प्रभावकारी र परिणाममुखी हुनेछ, जुन हदसमम हामीले आफ्नै पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै लैजानेछौं,’ प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, चन्दले नेतृत्व गरेको नेकपाको केन्द्रीय समितिले पनि कम्युनिस्ट पार्टीबीच एकतामा जोड दिएको छ । केन्द्रीय समितिले पारित गरेको प्रतिवेदनमा कम्युनिस्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने प्रतिवेदनमा उल्लेख छ । माओवादी केन्द्र र नेकपाबीच लामो समयदेखि एकताका लागि छलफल चले पनि निष्कर्षमा पुग्न सकेको छैन । एकताको विषय माओवादी केन्द्रको निर्णयमा पनि भर पर्ने पार्टीको ठहर छ ।
‘हामी एकताको पक्षमा हो तर माओवादी केन्द्रले कस्तो धारणा बनाउँछ भन्ने विषय मुख्य छ । हामीले एकताको विषय उठाउँदा जहिले पनि क्रान्तिकारी पार्टी, यसको विचार, उद्देश्य, संगठनलाई केन्द्रमा राख्दै आएका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘केवल एकताको एकहोरो नारा मात्र दिने तर विचार, उद्देश्य र संगठन जस्ता विषयमा स्पष्टता ल्याउन वास्ता नगर्ने या ध्यान नदिने तरिकाले हुँदैन ।’
विश्लेषक एवं माओवादी केन्द्रका सचिव राम कार्कीले माओवादीमा दुई लाइन संघर्षलाई दबाउन खोज्दा पार्टी विभाजनतिर गएको बताए । ‘कम्युनिस्ट पार्टीमा दुई लाइन संघर्षले पार्टी जोगाउँछ, वैचारिक संघर्ष भयो भने पार्टी फुट्दैन,’ उनले भने, ‘हामीकहाँ सैद्धान्तिक, वैचारिक बहस खासै खुलेर भएर होला । अन्तरसंघर्ष चर्किपछि विभाजनतिर पुगेको देखिन्छ ।’
मुख्य गरी मोहन वैद्य पक्ष अलग हुनुमा माओवादीले संसदीय प्रणालीलाई अंगाल्नुको मुख्य कारण रहेको उनको बुझाइ छ । ‘माओवादी संसदीय व्यवस्थाविरुद्ध लड्न गएको हो । मुख्य नेतृत्वले अलिकति परिमार्जित संसदीय व्यवस्थामा सहवरण गरे,’ उनले वैद्यको पार्टी फुट्नुको कारण खुलाए, ‘वैद्यजीले पुरानो शास्त्रीय विचार ल्याउनु भयो । सबै कुराको नवीकरण हुन्छ, समयको नवीकरण हुँदैन । किरणजी ०५२ तिर जान खोज्नुभयो । गडबडी त्यही भयो ।’
बाबुराम भट्टराई नयाँ विचार प्रतिपादन गर्न हिँडे पनि असफल भएको कार्की बताउँछन् । ‘बाबुरामजी नयाँ विचार दिन्छु भनेर अलग हुनुभएको हो । मार्क्सवादको आधारभूत कुरा समातेर नयाँ विचार दिन सकिन्थ्यो । त्यसबाहिर गएर नयाँ विचार बन्दैन,’ उनले भने, 'हाल उहाँ कता गइरहेको हो ? बुझ्न कठिन छ ।’
चुनाव लड्ने नीति लिएका माओवादीहरु मिलेर जाने सम्भावना भने रहेको उनले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गुजुरेल माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी संसदीय प्रणालीमा गएका हुनाले एकताको सम्भावना नभएको बताउँछन् । ‘अब प्रचण्डहरु माओवादी रहेनन्, उनीहरु संसदीय गीत गाउँदै हिँडेका छन्,’ उनले भने, ‘उनीहरुसँग एकता सम्भव छैन ।’
क्रान्तिकारी माओवादीको महाधिवेशनले पुनः वैद्यलाई महसचिव चयन गरेको छ । महाधिवेशनले वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने निर्णय गरेको छ । ‘जनसंघर्ष तथा जनप्रतिरोध संघर्षका बीचबाट सर्वहारा वर्गको नेतृत्व तथा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्छ,’ वैद्यको महाधिवेशनमा पारित दस्ताबेजमा भनिएको छ, ‘त्यसरी नयाँ जनवादी राज्यसत्ता स्थापनाको बाटोमा अघि बढ्नुपर्नेछ ।’
पूर्वमाओवादी नेता गोपाल किराँतीले तेस्रो जनआन्दोलनका लागि अभियान सुरु गरेका छन् । नेकपा बहुमतले भने वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति राष्ट्रिय सम्मेलनबाट पारित गरेको स्थायी समिति सदस्य दीपक चलाउनेले जानकारी दिए ।
०००
कुराकानी
'माओवादी विघटनको मुख्य दोष प्रचण्डलाई जान्छ'
मणि थापा, एमाले नेता/पूर्वमाओवादी
युद्ध हाँक्ने त्यसबेलाको ठूलो माओवादी शक्ति यतिधेरै चिरामा विभाजन हुनुको कारण के हो ?
माओवादीले जुन उद्देश्यका लागि जनयुद्ध लडेको थियो, त्यसबाट ऊ भड्कियो । धेरै प्रश्न उठे । ती प्रश्नको जवाफमा यही बाटोबाट उद्देश्य प्राप्त हुन्छ भन्ने लाग्यो । केहीलाई त्यो विश्वास लागेन । नयाँ प्रश्नको उत्तर दिने कोसिस आआफ्नो तरिकाले भयो । माओवादीको मुख्य नेतृत्वले जे भनेर जनयुद्ध लडेको थियो, त्यसपछि अरु भड्काउहरु आएका हुन् । कांग्रेस, एमालेसँग भएको १२ बुँदे र चुनबाङ बैठकले जनयुद्ध छोड्ने निर्णय गर्यो । मूल नेतृत्व संविधानसभा, अन्तरिम सरकार र गोलमेच छाडेर संसद् पुनस्थापनाको बाटोमा आयो । त्यसपछि माओवादीमा वैचारिक हिसाबले असंगति देखियो । त्यहाँबाट खास भड्काउ सुरु भयो । त्यसबेलादेखि विचार, नेतृत्वमा प्रश्न उठ्यो । शान्ति प्रक्रियाअन्तर्गत जनमुक्ति सेनालाई नेपाली सेनामा मिलाउँदाखेरि झन् ठूलो भड्काउ आयो ।
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच नेतृत्वभन्दा वैचारिक बहसका कारण विभाजन भएको मान्न सकिन्छ ?
मुख्य नेतृत्वबीच वैचारिक विवाद उत्कर्षमा पुगेपछि पहिलो पटक माओवादी विभाजन भयो । जनयुद्धकालमा पार्टीभित्र भड्काउ आउनुमा मुख्य जिम्मेवार प्रचण्ड नै हुनुहुन्छ । शान्ति प्रक्रियामा आउन प्रचण्डले अस्वीकार गरेको भए सम्भव थिएन । उपलब्धिको जस पनि उहाँलाई जान्छ । माओवादी विघटनको मुख्य दोष पनि उहाँलाई नै जान्छ ।
वैद्यले सत्तामोह त्यागेर जनविद्रोह नीति लिए पनि फेरि पार्टी विभाजन भएर नेत्रविक्रम चन्द अलग हुनुको कारणचाहिँ के थियो ?
मूल पार्टीमा विभाजन आइसकेपछि, आन्दोलनमा फुट भएपछि विभाजन रोक्न सकिँदैन । अब पनि विघटनलाई रोक्न सकिँदैन । गठन र विघटन दुवै भइरहन्छ । अब पुरानै रुपमा माओवादीको पुनर्गठन हुँदैन । कम्युनिस्ट पार्टीभित्र नेतृत्वबीच टकराव भइरहन्छ । त्यसको प्रभाव माओवादीमा पनि पर्यो । पछिल्लो समय हेर्दा विभाजन हुनुमा विचारभन्दा व्यक्तिगत इगो र विचारभन्दा व्यक्तिगत टकराव बढी देखिन्छ । एकले अर्कालाई निषेध गर्ने तहमा पुगेकाले माओवादीमा पहिलो, दोस्रो र तस्रो वरीयताका नेताहरु एक ठाउँमा बस्न नसक्ने अवस्था आयो । एउटै पार्टीमा रहँदा एकले अर्कोलाई गरेको हेलाहोचोको कुरा विभाजन हुँदा मुख्य भएर आयो ।
पूर्वमाओवादी शक्ति मिल्ने सम्भवाना कति छ ?
पूर्वमाओवादीहरु उही रुपमा मिल्न पनि सक्छन् । तर, माओवादी मिल्ने, फुट्ने क्रम भने चलिरहन्छ ।
