'जनताका मुद्दालाई ध्यानमा राखेर हिँडेका छौं'

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

'We have walked keeping in mind the issues of the people'

काठमाडौँ — माओवादी राजनीतिक अभियान लिएर यतिबेला मतदाताकहाँ पुगिरहेको छ । तर, उसले उठाएका मुद्दामा मतदाताले संशय गरिरहेका छन् । स्थानीयले विशेषगरी जनजीविकासँग जोडिएका प्रश्न नेताहरुमाथि तेर्स्याएका छन् ।

यसै सन्दर्भमा माओवादी उपमहासचिव वर्षमान पुनसँग गरिएको कुराकानी :

तराई मधेश जागरण अभियानका मुख्य मुद्दा छन् ?

यो अभियान जनतासँग माओवादी जोडिने राजनीतिक यात्रा हो । खासगरी हुलाकी राजगमार्ग भएर तराई मधेश केन्द्रित राजनीतिक यात्राका क्रममा एउटा जिल्लामा कम्तिमा तीन सभा/अन्तक्रिया भएका छन् । हुलाकी राजमार्ग वरिपरि राजवंशी, धिमाल, मुस्लिमलगायत विभिन्न समुदायलाई भेट गरेका छौं । यो व्यवस्थाविरुद्ध भएको गतिविधिलाई खबरदारी गर्ने, यो सरकार बनेपछि मुलुकमा भ्रष्टाचार बढाएको, सुशासन अभिायन रोकेको बारे खबरदारी गरेका छौं । माओवादी ०८४ को चुनावमा एक्लै लड्छौं भनेर जागरण अभियान चलाउँदै अभियानमा निस्केका छौं ।

तराई मधेशमा माओवादीको धरातल त कमजोर छ नि, त्यहाँका जनताले विश्वास गर्ने आधार के ?

हामीले सरकारको नेतृत्व गरेको बेला भ्रष्टाचारविरोधी काम र सुशासन स्थापित गर्ने अभियान तीव्र पारेको जनतालाई थाहा छ । उनीहरुको गुनासो एउटै छ- माओवादीले पहिचान र निम्न वर्गका मुद्दा छाड्यो । हामीले विगतका कमजोरी स्वीकार गर्दै आफ्नो वर्गतिर फर्किएको बताएका छौं । अब पहिचानको मुद्दा, आदिवासी, किसान, मजदुरका समस्यामा गम्भीर छौं भनेका छौं । हामी जनताका सरोकारका मुद्दालाई ध्यानमा राखेर हिँडेका छौं ।

अभियानका क्रममा सर्वसाधारणका कस्ता गुनासा छन् ?

माओवादीले कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गरी गलत गर्‍यो । गठबन्धनका कारण सरकारमा भए पनि कतिपय राम्रा काम चाहेर गर्न सकिएन । अब एकताबद्ध भएर पार्टी निर्माण गरी फेरि नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।

के साँच्चै आफ्नो कमजोरी स्वीकार गरेर अभियानमा जानुभएको हो ?

हामीले ०६४ को जनमत सदुपयोग गर्न सकेनौं । सरकार सञ्चालनमा अनुभवको कमी रह्यो । त्यसपछि पनि गठबन्धन गर्दा जनताको मुद्दा राख्न कमजोर हुन गए । पार्टी टुटफुट भयो । शक्ति कमजोर भयो । अब हामी गुमेको शक्ति आर्जन गर्न जनतातिर फर्केका छौं । अभियानमा हामीलाई जनताले उत्साह थपेका छन् । भनेका छौ- अब हामीले भनेका प्रतिबद्धता पूरा गर्छौं ।

कार्यशैली सुधार गर्ने आधार के छ ?

अभियानका क्रममा हामीले समर्थकको घरमा खानेबस्ने, उनीहरुसँग अन्तर्क्रिया गर्ने, अब सच्चिएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छौ । हामी मुलुक र जनताप्रति पूरै इमानदारीसाथ लाग्ने प्रण समेत गरेका छौं । पार्टी नेतृत्वले जनतासँग यही शपथ लिँदै हिडेका छौं ।

सम्बन्धित समाचार- प्रमुख दलको अभियान : 'कमजाेर धरातल', ठूला आश्वासन

कान्तिपुर

Link copied successfully