काठमाडौँ — संसद्का पहिलो, दोस्रो र तेस्रो दल कांग्रेस, एमाले र माओवादी राजनीतिक अभियान लिएर यतिबेला मतदाताकहाँ पुगिरहेका छन् । तर, उनीहरुले उठाएका मुद्दामा मतदाताले संशय गरिरहेका छन् । स्थानीयले विशेषगरी जनजीविकासँग जोडिएका प्रश्न नेताहरुमाथि तेर्स्याएका छन् ।
कमजोर बन्दै गएको राजनीतिक धरातल मर्मत नगरी जनजीविकासँग जोडिएका सवाललाई सम्बोधन नगरे आगामी निर्वाचनमा अहिलेकै परिणाम निकाल्न कठिन हुने अनुभव प्रमुख तीन दलका नेताले नै गर्न थालेका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापा सल्यान, रोल्पा, प्युठान र दाङमा पार्टीको सम्मेलन, अन्तक्रिया गरेर काठमाडौं फर्किएका छन् । जनताले पुराना दलमाथि संयश, प्रश्न, आलोचना गरे पनि विश्वास अझै मरिनसकेको उनले बताए ।
‘हामी पुराना दलमाथि एकदम धेरै प्रश्न र गुनासा छन्,’ उनले अनुभव सुनाए, ‘पुराना राजनीतिक दलप्रतिको नकारात्मक कुरा चिर्ने कोसिस गर्नुपर्छ । हामीमाथि प्रश्न छन्, संशय छन् भन्ने कुरा बुझ्न जरुरी छ । हाम्रो धरातल पहिलेभन्दा कम भएको स्विकार गर्नुपर्छ ।’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीविरुद्ध भ्रम छर्ने कोसिस भए पनि सरकार र पार्टीले भ्रम चिर्दै परिणाममुखी काम गरेर देखाउनुपर्ने बताउँछन् । ‘पार्टी र नेतृत्वविरुद्ध भ्रम छर्ने काम भएको छ । हामीले त्यसलाई चिर्नुपर्छ । सरकारले पनि आर्थिक वृद्धि, जनताका सेवा छिटोछरितो गर्ने काममा ध्यान दिर्नैपर्छ,’ उनले भने, 'हामीले मिसन ०८४ मा निर्णायक शक्ति निर्माणका लागि सरकार र पार्टीको तर्फबाट जनतालाई छुने मुद्दा लिएरै जानुपर्छ ।’
माओवादीको हुलाकी राजमार्गअन्तर्गत तीन साताको राजनीतिक अभिानमा मधेश पुगेका उपमहासचिव वर्षमान पुनले विगतका गल्ती सच्याउने प्रतिबद्धताका गर्दै मतदाता समक्ष गइरहेको बताए । ‘हामीले ०६४ को जनमत सदुपयोग गर्न सकेनौं । सरकार सञ्चालनमा अनुभवको कमी रह्यो । त्यसपछि पनि गठबन्धन गर्दा जनताको मुद्दा पूर्ण रुपमा राख्न सकिएन । पार्टी टुटफुट भयो,’ उनले अभियानमा जनतासमक्ष गल्ती स्वीकार गरेको सन्दर्भ सुनाए, ‘अब हामी गुमेको शक्ति आर्जन गर्न जनतातिर फर्केका छौं ।अभियानमा जनताले हामीलाई उत्साह थपेका छन् । हामीले भनेका छौं, अब प्रतिबद्धता पूरा गर्छौं ।’
कांग्रेस महामन्त्री थापा दलहरुले पुरानो ढाँचा बदलेर जनतासँग प्रत्यक्ष जोडिएका मुद्दा लिएर गाउँ जानुपर्ने अनुभव सुनाउँछन् । ‘कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा पुरानो शैलीबाट संवाद नगरी जनजीविकाका विषय उठाउने कोसिस गरेँ । सानो भए पनि त्यहाँ नयाँ कुरा भयो,’ उनले भने, 'पुराना दलले पनि अलिकति बदलिँदो परिस्थितिअनुसार नयाँ कुरा गर्ने, जनतासँग जोडिने कोसिस गर्यौं भने हाम्रो स्पेस बन्छ ।’
तीनै दलले आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको दाबी गरे पनि सर्वसाधारणले प्रश्न उठाउन छाडेका छनैनन् । कांग्रेस-एमाले गठबन्धन सरकारले साढे सात महिनाको अवधिमा मुलुकको आर्थिक अवस्थामा सुधार गरेको, सुशासन थिति बसाल्दै गरेको, सहकारी ठगीमा कारबाही गरेको, विकास निर्माणका कामलाई तीव्रता दिएको दाबी गरेको छ ।
सोमबारदेखि हुलाकी राजमार्गकेन्द्रित मेची–महाकाली अभियान सुरु गरेको माओवादीले मुख्य मुद्दाको रुपमा केपी ओली सरकारको आलोचना गर्दै आफू सुध्रिन जनतासँग आएको बताएको छ । उसले प्रतिगमनको खतराविरुद्ध खबरदारी, संविधानको रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्ने भन्दै हुलाकी राजमार्ग अभियान सुरु गरेको छ ।
यो अभियानमा माओवादीले मुख्यगरी एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई खबरदारी र विगतमा आफूले गरेको गल्तीको स्विकारोक्तिलाई मुख्य मुद्दा बनाएको छ ।
झापाको कचनकवलबाट सोमबारदेखि सुरु ‘माओवादी तराई मधेश जागरण अभियान’ नाम दिइएको यो राजनीतिक यात्रामा मुख्य आलोचनाको केन्द्र सरकार रहेको छ । जागरण अभियानमा बाँडिएको पर्चाको प्रमुख बुँदामा ‘दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने’ उल्लेख छ ।
दाहाल नेतृत्वको सरकारका बेला नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण अघि बढाएको र अनुसन्धान कांग्रेस नेतानजिक पुगेपछि कांग्रेस-एमालेले रातारात गठबन्धन बनाएको भन्दै यही मुद्दालाई उसले अघि सारेको छ ।
आफ्नो नेतृत्वको सरकारका बेला अध्यादेश ल्याए पनि माओवादीले कांग्रेस-एमालेले अध्यादेशबाट मुलुक चलाउन लागेको आरोप छ । ‘अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन,’ अभियानको उद्देश्यमा भनिएको छ, ‘दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि एवम् सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासिनताको विरोध गर्न ।’
माओवादीले मधेश तराई अभियानमा सरकारको आलोचना गर्दै हिँडेको छ । सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता–गठबन्धन निकट व्यक्तिलाई संरक्षण गरेको, सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण नबनाएको, मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले उदासीनता देखाएको उसको मुख्य मुद्दा देखिन्छ ।
‘नागरिकताविहीन हजारौं नेपालीलाई नागरिकता दिन माओवादी नेतृत्वको सरकारले कानुन निर्माणमा गरेको पहलकदमीको अपनत्व लिँदै यससम्बन्धी देखिएका व्यावहारिक कठिनाइ हटाउन ध्यानाकर्षण गराइने पनि उसको उद्देश्य छ ।
कांग्रेस-एमाले गठबन्धन सरकारले संविधान संशोधनका नाममा अधिकार खोस्न लागेको आरोप छ । ‘सरकारले संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्वको अधिकार खोस्न सक्ने खतराप्रति सचेत गराउँदै उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्न,’ अभियान क्रममा माओवादीले भनेको छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायत पार्टीको मतलाई मूल आधार बनाएर संविधान संशोधनको मुद्दा उठाउन ।’
एमालेको पुस तेस्रो साता सकिएको केन्द्रीय कमिटी बैठकले सरकार, पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भएको भन्दै त्यसको प्रतिवाद गर्न, कमजोर भएको पार्टीको धरातल सुदृढीकरण गर्न ‘जरा केन्द्रित’ तीन महिने अभियान जारी राखेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रत्येक वडामा केन्द्रीय र प्रदेश सदस्य पुगेर अभियानमा केन्द्रित भएको जानकारी दिए । उनले मतदाताले सरकारले सुशासन, जनताको सेवा, रोजगारी, विकास निर्माणका काम छिटो गर्न सुझाव दिएको बताए ।
कांग्रेस महामन्त्री गगन थापाले आफ्नो कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा भएका सभा र अन्तर्क्रियामा पार्टी निर्माण, सरकारले गति बढाउनु पर्ने धारणा राखे । उनले यही साता प्युठानमा पार्टीभित्र गुट–उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताए । पार्टीको विधानअनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिए ।
रोल्पामा उनले कार्यकर्ता जागरणको ’एक सय दिने विशेष अभियान’ अन्तर्गत रोल्पा सदरमुकाम लिबाङ पुगेका महामन्त्री थापाले आइतबार जनसभालाई सम्बोधन गर्दै हिंसात्मक राजनीतिको औचित्य नभएको भन्दै माओवादीको आलोचना गरे । त्यस्तै उनले सबै भ्रष्टाचारको छानबिन गरी दोषीलाई सजायको दायरामा ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव अघि बढाउने दाबी गरे ।
‘जसले सार्वजनिक पदमा बसेर गल्ती गरेको छ, भ्रष्टाचार गरेको छ, देश र जनतालाई ठगेको छ, उसले सजाय पाउनुपर्छ,’ महामन्त्री थापाले भने, ’त्यो एक व्यक्तिको कारण ऊ सम्बद्ध दल र सबै नेताहरूलाई पोल्ने कुरा ठिक छैन ।’
सल्यानमा शनिबार आयोजित पार्टीको सभामा थापाले कांग्रेसका नेताहरूलाई खुलस्त प्रश्न गर्न पाइने र पार्टीविरुद्ध आउने अनावश्यक आरोपको कार्यकर्ताले प्रतिवाद गर्न निर्देशन दिए ।
‘पार्टी सभापति, जिल्ला सभापति, मसँग, मेयर, पालिका अध्यक्ष, मन्त्रीसाग रिस उठेको होला । कोठाभित्र मसँग रिस पोख्नुस्, बाहिर पनि पोख्नुस्, कांग्रेसका नेतालाई प्रश्न गर्ने हक छ,’ थापाले कसैको नाम नलिई भने, ‘हामी कुनै ’बा’ को पार्टी होइन, जसले प्रश्न गर्नासाथ निकालिदिने । हामी सबै बराबर हैसियत भएको पार्टी हो ।’
कांग्रेस नेता शेखर कोइरालाले फागुन ८ मा सुर्खेत पुगेर सरकारको आलोचना गरे । उनले संसद् हुँदै अध्यादेश ल्याउनु राम्रो नभएको सुशासन र अर्थतन्त्र सुधारमा कमजोर देखिएको टिप्पणी गरे । १५ औं महाधिवेशन विधानअनुसार समयमै नगरे पार्टीको अवस्था झन् नाजुक हुने उनको भनाइ थियो । २०८२ मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा पछि धकेल्न नमिल्ने उनले बताएका थिए ।
000
'राजनीतिक धरातललाई मर्मत गरी अघि बढ्नुपर्छ'
– ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष, एमाले
एमालेको तीन महिने अभियानमा केके मुद्दा लिएर वडा तहसम्म जानुभएको छ ?
अहिले मुख्य वडाकेन्द्रित अभियान सञ्चालन गरेका छौं । पार्टी संगठनलाई जरा तहसम्म पुर्याउने गरी संगठन सुदृढीकण गर्ने अभियान यो हो । हामीले पार्टी सदस्यता विस्तार र नवीकरणमा जोड दिएका छौं । एमाले र नेतृत्वविरुद्ध व्यापक भ्रम छर्ने काम भएको छ । हामीले ती भ्रम चिर्न प्रभावकारी तरिका अपनाउनुपर्ने आवश्यकता छ । संगठन सबलीकरणमा जोड दिनुपर्छ । त्यस्तै सरकारले विकास, अनियमिता, बेथिति नियन्त्रणमा जोड दिनुपर्छ । जनताले बलियो सरकार भएका बेला आर्थिक समृद्धि, जनताको काम सहज बनाउन सुझाव दिइरहेका छन् ।
जनताले गरेका प्रश्नलाई भ्रम भन्न मिल्ला र ?
होइन, जनताले गर्ने प्रश्नलाई हामीले सहज रुपमा लिएका छौं । उनीहरुका गुनासा सम्बोधन गर्न सरकार र पार्टी गम्भीर छ । तर, विभिन्न ढंगले एमाले र नेतृत्वलाई प्रहार गर्न केन्द्रित भएको छ । हाम्राविरुद्ध देखिने नदेखिने गरी भ्रम सिर्जना गरिँदै छ । एमालेले सकारले गरेका राम्रा काम जनता समक्ष पुर्याउनुपर्छ ।
सरकार निर्माणको साढे सात महिना भइसक्यो । देखिने गरी काम भएको छ त ?
हामीले कांग्रेस-एमालेको गठबन्धन गरी राजनीतिक अस्थिरता रोक्ने काम गरेका हौं । त्यसअघि मुलुकलाई नकारात्मक दिशातिर लतारिँदै थियो । गठबन्धन गरी रोकेका छौं । सकारात्मक दिशामा अघि बढेका छौं । सरकारले राम्रो योजना अघि सारको छ । सरकारी सेवा प्रभावकारी ढंगले अघि बढाउन प्रयास गरिरहेको छ । सरकारले राम्रो कामको थालनी गरेको छ ।
कमजोर धरातलमा खुट्टा राखेर मिसन ०८४ सफल होला ?
एमालेको धरातल कमजोर छैन । हाम्रो राजनीतिक धरातललाई मर्मत गरी अघि जानुपर्छ । कतिपय विषयमा नयाँ ढंगले जानुपर्ने अवस्था छ । संगठन बलियो बनाउनुपर्नेछ । हाम्रो राजनीतिक विचार व्याख्या गर्नुपर्छ । बरु भ्रम छरेर आगो सल्काउन खोजिँदै छ । हामीसँग मुलुकलाई अघि बढाउने योजना र नयाँ विचार छ ।
त्यो नयाँ विचार के हो ?
जनताको बहुदलीयता अघि बढाउन सक्रियता देखाउनुपर्यो । जनसेवामा अगुवाइ गर्नुपर्यो । आगामी निर्वाचनमा प्रतिस्पर्धामा तयारी गर्नुपर्यो । मिसन ०८४ अभियानसँग जोडेर हरेक अभियान चलाएका छौं । समृद्ध नेपाल : सुखी नेपाली बनाउने हाम्रो मुख्य उद्देश्य हो ।
000
'हामीमाथि प्रश्न र संशय छन् भन्ने बुझ्न जरुरी छ'
– गगन थापा, महामन्त्री, कांग्रेस
हालै प्युठान, रोल्पा, सल्यान र दाङमा कार्यक्रम सकेर काठमाडौं फर्कनुभएको छ । कस्तो स्थिति पाउनुभयो ?
म पार्टीको कार्यक्रममा त्यता गएको हो । पार्टी नेता, कार्यकर्ता र समर्थकमा उत्साहक कायमै रहेको पाएँ । म अरु क्षेत्रमा जाँदा बढी आक्रोश, निराशा थियो, त्यहाँतिर कम भएको पाइयो । त्यो क्षेत्रमा युद्धको प्रभाव बढी परेकाले होला एकदम कम निराशा देखेँ । सर्वसाधारणलाई अमनचयनको स्थितिको महत्व बुझेको हुनाले जे भएको छ, त्यसमा उत्साह बढी पाएँ ।
सभामा पार्टी नेता, कार्यकर्ता, शुभेच्छुकको सहभागिता राम्रो रह्यो । यसका साथै अरु अन्तर्क्रिया पनि गरेँ । राजनीतिक दलबीच सम्बन्ध ठिकठाक ढंगले गएको छ । त्यहाँ दलहरुबीच स्वस्थ राजनीतिक सम्बन्ध छ । हार्दिकता छ ।
रोल्पामा माओवादीका साथीहरुले आयोजना गरेको भलिबल प्रतियोगितामा बोलाउनुभयो । कार्यक्रममा सहभागी भएँ । एमालेका केही साथी भेट्न आउनुभयो । यसका साथै भौतिक पूर्वाधार राम्रो बन्दै गएको देखिन्छ । कर्णाली प्रदेशको सुर्खेत, सल्यान, लुम्बिनीको दाङ, रोल्पा र प्युठानमा प्रदेश र संघको भौतिक पूर्वाधार निर्माणमा स्रोत साधन राम्रो प्रयोग भएको देखिन्छ । स्थानीय सरकारले बाटोघाटो र अन्य पूर्वाधार निर्णाणमा लागेको देखिन्छ । यद्यपि राप्ती राजमार्ग र कर्णाली राजमार्ग निर्माणमा संघको योजनामा केही ढिलासुस्ती भएको देखिन्छ । संघले गर्नुपर्ने काम भएको छैन ।
विकास गाउँ पुग्यो तर बसाइँसराइको प्रभाव कस्तो पाउनुभयो ?
त्यहाँको यात्रामा तीव्र बसाइँसराइ छ । वैदेशिक रोजगारीमा जाने संख्या बढेको देखिन्छ । वैदेशिक रोजगारीमा गएका व्यक्ति फर्केर गाउँमा लगानी गर्ने हुन्थ्यो, त्यो छैन । जसले गर्दा पहाडी जिल्लामा थप लगानी भएको छैन । पहाड रित्तिने क्रममा छन् । त्यहाँ चिन्ता र चिन्तनचाहिँ यत्रो पूर्वाधार बन्यो, गाउँ रित्तिन थाले, विकास निर्माणको लाभ कसरी लिने भन्ने चिन्ता देखिन्छ । म त्यहाँको क्याम्पसमा पनि गएँ, सबैको गुनासो विद्यार्थी छैनन् भन्ने छ । एकदम ठूलो संख्यामा विद्यार्थी घटेका छन् । यो एउटा चित्रले धेरै कुरा बोल्छ ।
स्थानीयका अपेक्षा कस्तो पाउनुभयो ?
दाङ र रोल्पामा सिमेन्ट उद्योग र स्थानीयबीच द्वन्द्व देखिन्छ । उद्योगका लागि निकालिएको ढुंगाविषयमा स्थानीय र उद्योगबीच ठूलो टकराव देखिन्छ । यसको समाधान गर्नुपर्ने देखिन्छ । रोल्पा, सल्यानमा ससाना उद्यम गर्ने युवासँग भेट भयो । उनीहरुले आफ्नै बलबुतामा काम गर्दै आएका छन् । बाटो राम्रो नहुँदा उनीहरुले उत्पादन गर्ने तरकारी लगायतमा लागत धेरै परेको छ । जसले गर्दा जुन प्रतिफल पाउनु पर्ने हो, पाएका छैनन् । जसका कारण चाँडो थाकेको देखिन्छ । हामीले पूर्वाधारमा मद्दत गरिदिए हुन्छ । म जनसभामामा धेरै समयपछि गएको हो । मेरा मनमा केही कुरा थिए । सुर्खेतदेखि सल्यानसम्म आइपुग्दा सबै उमेर समूहको साथीहरु आउनुभयो । युवाहरुको राम्रो उपस्थिति थियो । अझै पनि युवाले केही गर्छन् कि भन्ने आशा देखिन्छ । विश्वास अझै बाँकी छ । अझै जोगाउनुपर्ने छ ।
गाउँ जाँदा मुद्दा पनि फरक ढंगले लानुपर्ने आवश्यकता भएको हो ?
मैले सभामा जाँदा अरु दलबारे क्याजुअल टिप्पणी गरे पनि त्यो एकदम कम हो । त्यसपछि मैले स्थानीयसँग अन्तक्रिया गरेँ । त्यसको विषय त्यहाँको समुदायको जीवनसँग जोडिएको थियो । मैले अरु सबै खराब, हामी असल भनेको भए पूर्वाग्रही भइन्थ्यो । समुदायले समस्याको समाधान खोजेको छ । दलहरुबीच गालीगलौज धेरै भयो, अब जिम्मेवारी बोध गर्नुपर्यो भन्ने खोजेको देखियो । मेरो कोसिस पनि त्यही रहृयो ।
आम नागरिकमा पुराना दलप्रति चर्को असन्तुष्टि गुनासो देखिएन ?
पुरानो राजनीतिक दलको हैसियत सकियो भन्ने ‘एक्सट्रिम’ भनाइ छ । भर्खर उपचुनावमा हेर्यौं । पुराना मुद्दा बोक्ने दल र नयाँ पनि हेर्यौं । सँगसँगै हामी पुराना दलले हाम्रो जमिन केही भएको छैन भनेर सोच्ने कुरा पनि अर्को एक्सट्रिम तर्क हो । हामी पुरानो छौ , संरचना छ, विश्वास छ । एकदम धेरै प्रश्न छन्, गुनासा छन् ।
म पुरानो दलको कार्यकर्ता हुँ । पुरानै ढाँचामा भएको कार्यक्रममा पुरानो शैलीबाट संवाद नगरी जनजीविकाका विषय उठाउने कोसिस गरेँ । त्यो सानो भए पनि नयाँ कुरा भयो । पुराना दलले पनि अलिकति बदलिँदो परिस्थितिअनुसार नयाँ कुरा गर्ने, जनतासँग जोडिने कोसिस गर्यौं भने हाम्रो स्पेस बन्छ । हामीबाहेक कोही पनि छैन सोच्यौं भने हुँदैन । हाम्रो धरातल पहिलेभन्दा कम भएको स्विकार गर्नुपर्छ । त्यो कुरा मान्नुपर्छ । तर, जबरजस्त आन्दोलन गलत, परिवर्तनका ऐजन्डा केही होइन भनिँदै छ । नेपालमा केही भएको छैन भन्ने कुरा नौजवानहरुमा देखि, जसले यी कुरा देखेनन् भोगेनन् । उनीहरुलाई बझाउनुपर्ने काम हाम्रो पुस्ताको हो । देशमा जुन गतिमा परिवर्तन हुनुपर्ने हो, त्यो नभएपछि युवा पुस्ताले प्रश्न गरेको छ, गाली गरेको छ, आलोचना गरेको छ । नयाँ पुस्ताले यही कुरा सुनेको छ । सही कुरा उनीहरुसम्म पुगेको छैन । पुराना दलले नकारात्मक भाष्य चिर्ने कोसिस गर्नुपर्छ । हामीले के भोगेका थियौ, कसरी बदल्यौं भन्नुपर्छ । हामीमाथि प्रश्न छन्, संशय छन् भन्ने कुरा बुझ्न जरुरी छ ।
000
'जनताका मुद्दालाई ध्यानमा राखेर हिँडेका छौं'
– वर्षमान पुन, उपमहासचिव, माओवादी
तराई मधेश जागरण अभियानका मुख्य मुद्दा छन् ?
यो अभियान जनतासँग माओवादी जोडिने राजनीतिक यात्रा हो । खासगरी हुलाकी राजगमार्ग भएर तराई मधेश केन्द्रित राजनीतिक यात्राका क्रममा एउटा जिल्लामा कम्तिमा तीन सभा/अन्तक्रिया भएका छन् । हुलाकी राजमार्ग वरिपरि राजवंशी, धिमाल, मुस्लिमलगायत विभिन्न समुदायलाई भेट गरेका छौं । यो व्यवस्थाविरुद्ध भएको गतिविधिलाई खबरदारी गर्ने, यो सरकार बनेपछि मुलुकमा भ्रष्टाचार बढाएको, सुशासन अभिायन रोकेको बारे खबरदारी गरेका छौं । माओवादी ०८४ को चुनावमा एक्लै लड्छौं भनेर जागरण अभियान चलाउँदै अभियानमा निस्केका छौं ।
तराई मधेशमा माओवादीको धरातल त कमजोर छ नि, त्यहाँका जनताले विश्वास गर्ने आधार के ?
हामीले सरकारको नेतृत्व गरेको बेला भ्रष्टाचारविरोधी काम र सुशासन स्थापित गर्ने अभियान तीव्र पारेको जनतालाई थाहा छ । उनीहरुको गुनासो एउटै छ- माओवादीले पहिचान र निम्न वर्गका मुद्दा छाड्यो । हामीले विगतका कमजोरी स्वीकार गर्दै आफ्नो वर्गतिर फर्किएको बताएका छौं । अब पहिचानको मुद्दा, आदिवासी, किसान, मजदुरका समस्यामा गम्भीर छौं भनेका छौं । हामी जनताका सरोकारका मुद्दालाई ध्यानमा राखेर हिँडेका छौं ।
अभियानका क्रममा सर्वसाधारणका कस्ता गुनासा छन् ?
माओवादीले कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गरी गलत गर्यो । गठबन्धनका कारण सरकारमा भए पनि कतिपय राम्रा काम चाहेर गर्न सकिएन । अब एकताबद्ध भएर पार्टी निर्माण गरी फेरि नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।
के साँच्चै आफ्नो कमजोरी स्वीकार गरेर अभियानमा जानुभएको हो ?
हामीले ०६४ को जनमत सदुपयोग गर्न सकेनौं । सरकार सञ्चालनमा अनुभवको कमी रह्यो । त्यसपछि पनि गठबन्धन गर्दा जनताको मुद्दा राख्न कमजोर हुन गए । पार्टी टुटफुट भयो । शक्ति कमजोर भयो । अब हामी गुमेको शक्ति आर्जन गर्न जनतातिर फर्केका छौं । अभियानमा हामीलाई जनताले उत्साह थपेका छन् । भनेका छौ- अब हामीले भनेका प्रतिबद्धता पूरा गर्छौं ।
कार्यशैली सुधार गर्ने आधार के छ ?
अभियानका क्रममा हामीले समर्थकको घरमा खानेबस्ने, उनीहरुसँग अन्तर्क्रिया गर्ने, अब सच्चिएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छौ । हामी मुलुक र जनताप्रति पूरै इमानदारीसाथ लाग्ने प्रण समेत गरेका छौं । पार्टी नेतृत्वले जनतासँग यही शपथ लिँदै हिडेका छौं ।
