काठमाडौँ — एमाले राजनीतिक अभियान लिएर यतिबेला मतदाताकहाँ पुगिरहेको छ । तर, उसले उठाएका मुद्दामा मतदाताले संशय गरिरहेका छन् । स्थानीयले विशेषगरी जनजीविकासँग जोडिएका प्रश्न नेताहरुमाथि तेर्स्याएका छन् ।
यही सन्दर्भमा एमाले वरिष्ठ उपाध्यक्ष – ईश्वर पोखरेलसँग गरिएको कुराकानी :
एमालेको तीन महिने अभियानमा केके मुद्दा लिएर वडा तहसम्म जानुभएको छ ?
अहिले मुख्य वडाकेन्द्रित अभियान सञ्चालन गरेका छौं । पार्टी संगठनलाई जरा तहसम्म पुर्याउने गरी संगठन सुदृढीकण गर्ने अभियान यो हो । हामीले पार्टी सदस्यता विस्तार र नवीकरणमा जोड दिएका छौं । एमाले र नेतृत्वविरुद्ध व्यापक भ्रम छर्ने काम भएको छ । हामीले ती भ्रम चिर्न प्रभावकारी तरिका अपनाउनुपर्ने आवश्यकता छ । संगठन सबलीकरणमा जोड दिनुपर्छ । त्यस्तै सरकारले विकास, अनियमिता, बेथिति नियन्त्रणमा जोड दिनुपर्छ । जनताले बलियो सरकार भएका बेला आर्थिक समृद्धि, जनताको काम सहज बनाउन सुझाव दिइरहेका छन् ।
जनताले गरेका प्रश्नलाई भ्रम भन्न मिल्ला र ?
होइन, जनताले गर्ने प्रश्नलाई हामीले सहज रुपमा लिएका छौं । उनीहरुका गुनासा सम्बोधन गर्न सरकार र पार्टी गम्भीर छ । तर, विभिन्न ढंगले एमाले र नेतृत्वलाई प्रहार गर्न केन्द्रित भएको छ । हाम्राविरुद्ध देखिने नदेखिने गरी भ्रम सिर्जना गरिँदै छ । एमालेले सकारले गरेका राम्रा काम जनता समक्ष पुर्याउनुपर्छ ।
सरकार निर्माणको साढे सात महिना भइसक्यो । देखिने गरी काम भएको छ त ?
हामीले कांग्रेस-एमालेको गठबन्धन गरी राजनीतिक अस्थिरता रोक्ने काम गरेका हौं । त्यसअघि मुलुकलाई नकारात्मक दिशातिर लतारिँदै थियो । गठबन्धन गरी रोकेका छौं । सकारात्मक दिशामा अघि बढेका छौं । सरकारले राम्रो योजना अघि सारको छ । सरकारी सेवा प्रभावकारी ढंगले अघि बढाउन प्रयास गरिरहेको छ । सरकारले राम्रो कामको थालनी गरेको छ ।
कमजोर धरातलमा खुट्टा राखेर मिसन ०८४ सफल होला ?
एमालेको धरातल कमजोर छैन । हाम्रो राजनीतिक धरातललाई मर्मत गरी अघि जानुपर्छ । कतिपय विषयमा नयाँ ढंगले जानुपर्ने अवस्था छ । संगठन बलियो बनाउनुपर्नेछ । हाम्रो राजनीतिक विचार व्याख्या गर्नुपर्छ । बरु भ्रम छरेर आगो सल्काउन खोजिँदै छ । हामीसँग मुलुकलाई अघि बढाउने योजना र नयाँ विचार छ ।
त्यो नयाँ विचार के हो ?
जनताको बहुदलीयता अघि बढाउन सक्रियता देखाउनुपर्यो । जनसेवामा अगुवाइ गर्नुपर्यो । आगामी निर्वाचनमा प्रतिस्पर्धामा तयारी गर्नुपर्यो । मिसन ०८४ अभियानसँग जोडेर हरेक अभियान चलाएका छौं । समृद्ध नेपाल : सुखी नेपाली बनाउने हाम्रो मुख्य उद्देश्य हो ।
सम्बन्धित समाचार- प्रमुख दलको अभियान : 'कमजाेर धरातल', ठूला आश्वासन
