किसानलाई खडेरीको पीर, अनुकूलन योजना अलपत्र

फाल्गुन १२, २०८१

महेश केसी

Farmers suffering from drought, adaptation plan stalled

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–१ गुजोलढंगाकी ६७ वर्षीया गौरी गिरी केही वर्षयता मौसममा आएको परिवर्तन देखेर अचम्ममा छिन् । न समयमा वर्षा, न खेतीपाती राम्रो । बालीनालीमा नयाँनयाँ रोगकिराको संक्रमण पनि उत्तिकै बढिरहेको कुराले उनलाई चिन्तित पारेको छ ।

‘भदौमा परेको झरी फर्केर आएन । मंसिरमा रोपेको हिउँदे बाली खेतमै सुक्यो । अब के खाने ? कसरी धान्ने ?,’ घरी आकाश घरी खेततिर हेर्दै उनी दुखेसो गर्छिन् । 

यस्तो चिन्ता गौरीको मात्रै होइन । उच्च पहाडी भेगका प्रायः किसान मौसममा आएको परिवर्तन देखेर भयभीत छन् । आठबिसकोट नगरपालिका–१० कोटका किसान ७१ वर्षीय तिलकबहादुर शाही अचेल समयमा पानी नपरेर बालीनाली सप्रिन छाडेको बताउँछन् । ‘८/१० वर्षयता त समयमा पानी नै पर्दैन । हरियोपरियो केही छैन, खेतीपातीमा जलमल नपुग्दा बाली जोगाउन मुस्किल भयो,’ उनी भन्छन् । 

यतिबेला बाला लाग्न सुरु हुने बेला गहुँका बोट मुर्झाएको देखाउँदै उनले भने, ‘खुन–पसिना बगाएर लगाएको बालीको यस्तो हाल छ । अब के, कसो गर्ने होला ?’ सिजनअनुसार पहिलेजस्तै मौसमको अनुमान गर्न नसकिरहेको उनले बताए । Farmers suffering from drought, adaptation plan stalledयसको ताजा उदाहरण, यसपल्टको हिउँदमा पर्याप्त हिउँ नपर्नु र हिउँदे वर्षा नहुनु हो । जसले सर्वसाधारणको दैनिकी कठिन बन्ने र यसले खाद्यसंकट समेत निम्तिनेतर्फ संकेत गरिरहेको छ । यसपालि हिउँदमा पहाडी भेगमा पानी नपर्दा बालीनालीमा असर परेको छ । वर्षाको चक्रमा आएको यो परिवर्तनले किसानको चिन्ता बढेको छ ।

कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको कुल क्षेत्रफल १ लाख २१ हजार २ सय हेक्टर मध्ये ३५ हजार ४ सय ६० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये १६ हजार ८ सय ४१ हेक्टरमा अहिले खेतीपाती भइरहेको छ । ४ हजार ८ सय ८२ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । बाँकी जमिनको खेतीपाती आकाशेपानीकै भरमा भइरहेको छ । Farmers suffering from drought, adaptation plan stalledकृषि विकास कार्यालयका निमित्त प्रमुख भरतबहादुर बस्नेतले रुकुम पश्चिममा सिँचाइ सुविधा बढाउन बृहत् योजना र लगानीको आवश्यकता रहेको बताए । ‘हाम्रो बजेटअनुसार काम त गरिरहेका छौं । तर यतिले मात्रै पुग्ने देखिन्न । यहाँ खोलानाला र पानीका मुहान प्रशस्त छन् । नभएका ठाउँमा पनि पानी पुर्‍याउन सकिने सम्भावना छन् । तर योजना बनाएर कार्यान्वयनमा चुकिरहेको अवस्था छ,’ उनले भने, ‘सिँचाइ नहुँदा जमिन सुक्खा हुँदै गएकाले माटोको उर्वरा शक्तिमा समेत ह्रास आइरहेको छ ।’ 

हिउँदे बालीनालीका साथै विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा समेत कमी आइरहेको मुसिकोट–२ का किसान कृष्णबहादुर खड्का बताउँछन् । ‘पाखाको खेतीपाती त पानी नपरी हुने कुरा भएन । तर सिँचाइ सुविधा पुगेको तरकारी बालीमा पनि उत्पादन बर्सेनि घट्दो छ,’ उनी थप्छन्, ‘कुरा पानी अभावको मात्रै होइन रहेछ, अनेक रोककिराले पनि हाम्रो बालीमा क्षति पुर्‍याइरहेको छ ।’ 

निमित्त कार्यालय प्रमुख बस्नेतले जलवायु परिवर्तनका नकारात्मक असर बढ्दै जाँदा कृषि क्षेत्र बढी प्रभावित बनेको बताए । ‘यसको प्रत्यक्ष असर कृषिमा परेको छ । उत्पादन राम्रो नहुँदा कृषकको मनोविज्ञानमा पनि असर नपर्ने कुरै भएन । यसकारण यसले एकपछि अर्को समस्या निम्त्याइरहेको छ,’ उनले भने । Farmers suffering from drought, adaptation plan stalledसुक्खाको समय बढ्दै जाँदा पानीका मूल पनि सुक्दै जान थालेका छन् । बर्खाको पानी जम्मा गरेर राखेमा यसले केही हदसम्म पानी रिचार्ज हुने र जमिन ओसिलो बनाउन सकिने भए पनि यसतर्फ कसैको चासो देखिँदैन । जलवायु परिवर्तनका असर बढ्दै जाँदा विपन्न समुदायमा यसको सबैभन्दा ठूलो मार परेको छ । तर जलवायु परिवर्तनसँग अनुकूलन हुने उपाय उनीहरूसम्म पुग्न सकेका छैनन् । 

जिल्लाका सबै स्थानीय तहहरुले स्थानीय अनुकूल योजना (लापा) बनाएर अनुकूलनका लागि प्रयास थाले पनि बजेट अभावका कारण कार्यान्वयनमा चुनौती भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले बताए । ‘हामीले लापा बनाएर सम्बन्धित शाखामार्फत सकेको काम त गरिरहेका छौं । योजना अनुरुप पूरा काम गर्न हाम्रो बजेटले भ्याउँदैन,’ उनले भने । 

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट पनि लापामा उल्लेख गरिएका योजनाअनुसार काम गर्न प्रदेश र संघ सरकारले नै विशेष योजना बनाएर समन्वयात्मक तरिकाले अघि बढ्नुपर्ने बताउँछन् । ‘हामीले दुई वर्षअघि लापा बनाएका हौं । तर योजना मात्रै बनाएर नहुने रहेछ । हाम्रो बलबुताले यसको पूरा कार्यन्वयन हुने अवस्था छैन,’ उनले भने, ‘हामीले हाम्रा काममा लापालाई जोडेरै काम गर्ने गरेका त छौं । तर धेरै योजना भने छुट्टै गर्नुपर्ने जस्ता छन् । जुन हाम्रो बजेटले सम्पन्न हुने देखिन्न ।’ 

लापा जालवायु परिवर्तनको असरका कारण भइरहेका परिवर्तनमा अनुकूलित हुँदै दैनिक क्रियाकलाप सञ्चालन गर्ने एक योजना हो । तर यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सम्बन्धित निकायको उदासीनताले पिँधमा रहेका सर्वसाधारण र विपन्न नागरिकमा ठूलो मार पर्ने देखिन्छ । 

जलवायु परिवर्तनका यस्ता असरबाट जोगिन सर्वसाधारण स्वयंले के उपाय लगाउन सक्छन् त ? 

कृषि विकास कार्यालयका निमित्त प्रमुख बस्नेत भन्छन्, 'परम्परागत खेती प्रणालीलाई निरन्तरता दिने र रैथाने बाली लगाउनु राम्रो । खडेरी बढ्यो भनेर जग्गा बाँझै राख्नेभन्दा पनि त्यसमा कोदो, फापर, जौ, कागुनो जस्ता विभिन्न रैथाने जातका बाली लगाउन सकिन्छ । यिनलाई धेरै जलमलको आवश्यकता पर्दैन र रुखो जमिन, सुक्खा मौसममा पनि उत्पादन दिन सक्छन् ।’ Farmers suffering from drought, adaptation plan stalledपछिल्लो समय कार्बन उत्सर्जन बढ्दा प्राकृतिक र स्वाभाविक रूपले हुने हावापानीको परिवर्तनमा मानव सिर्जित क्रियाकलापको असर थपिएको उनले बताए । ‘मौसम र सरकारकै मात्र भर परेर पनि हुँदैन । के गरेमा हाम्रो खेतबारीमा उत्पादन बढाउन सकिन्छ भनेर स्वयंले सोधीखोजी गर्ने काममा किसान आफै लाग्न जरुरी छ । यसमा हामी पनि सकेको सहयोग गर्न तयार छौं,’ उनी भन्छन् । 

जलवायु परिवर्तनका प्राविधिक पक्षबारे सर्वसाधारणमा आधारभूत जानकारी गराई सम्भावित क्षति न्यूनीकरण र अनुकूलनका लागि योजना बनाएर अघि बढ्ने काममा तीनै तहका सरकारको सक्रियता जरुरी रहेको जानकारहरु बताउँछन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully