काठमाडौँ — कलेजको ‘ब्रेक’मा साथीहरूसँग खाजा खाने बेलामा सृष्टि (नाम परिवर्तन) आफू कक्षा १२ पढ्दाको समय सम्झिइन् – ‘चिट गरेको थाहा पाउँदा पनि उसलाई छोड्न मन लागेको थिएन ।’ स्नातक तहको चौथो वर्षमा अध्यनरत २२ वर्षीया सृष्टिले कुरैकुरामा आफ्नो पुरानो सम्बन्धको अनुभव सुनाइन् ।
कक्षा १० पढ्दादेखि चिनेको साथीसँग सृष्टि प्रेम सम्बन्धमा रहिन् । कक्षा १२ मा आइपुग्दा प्रेमीको अन्यसँग पनि सम्बन्धमा रहेको उनले थाह पाइन् । सुरुमा त उनलाई २–३ वर्षदेखि चिनेको मान्छेले ‘चिट’ गर्यो भन्ने विश्वास गर्नै गाह्रो भयो । पछि यो सबै जान्दाजान्दै पनि सृष्टिले प्रेमीलाई छोड्न सकिनन् । ‘तिमीले चिट गर्यौं, ब्रेकअप दिन्छु भन्दा, रोईकराइ गरेर, सरी भन्थ्यो । अब गल्ती नगर्ने वाचा पनि गर्थ्यो तर बारम्बार गल्ती दोहोर्याउँथ्यो र उसैगरी सरी भन्थ्यो,’ उनले विगत सुनाइन् ।
सृष्टिलाई बारम्बार प्रेमीले इमोसनल्ली ‘म्यानिपुलेट’ गर्ने, माया गर्छु भन्ने गर्थ्यो । जुन सही नभएको बुझ्न उनलाई महिनौँ लाग्यो । यो घटनाले उनलाई मानसिक रूपमा पनि तनाव बढायो । उनी सम्झिन्छिन्, ‘उसले गरेको गलत थियो भनेर बुझ्न पनि मलाई धेरै समय लाग्यो । आफूलाई धेरै गाह्रो भएपछि मात्र उसलाई छाड्ने निर्णय लिन सकेँ ।’
त्यस्तै कक्षा १२ मा अध्ययनरत १९ वर्षीया एक किशोरी आफूलाई हैरान पार्ने प्रेमीलाई केही गरेर सुधार गर्न सकिन्छ कि भन्ने चिन्तामा छिन् । न उनी प्रेमीलाई छोड्न सक्छिन् न उसले आफूमाथि हरदम निगरानी र शङ्का गर्ने बानीलाई नै छुटाउन सक्छिन् ।
२१ वर्षीय किशोरसँग एक वर्षयता प्रेमसम्बन्धमा रहेकी उनलाई प्रेमीको एउटा कुरा मन पर्दैन । त्यो हो, उनका हरेक गतिविधिको विवरण प्रेमीलाई दिनुपर्ने । सबै गतिविधि प्रष्ट बताउँदा पनि प्रेमीले शङ्का गर्न छोड्दैन । उनले सुनाइन्, ‘कहिलेकहीँ त उसले मेरो मोबाइलको गुगल ट्र्याककै विवरण समेत हात पारेको हुन्छ । अनि त्यहाँ किन गएको ?, के कामले गएको ? भनेर सारा सोधिखोजी गरेर शङ्का गर्छ ।’
यति धेरै शङ्का गर्ने, बेलाबखत म्यासेन्जर र ह्वाट्सएपको च्याट विवरण पनि हेरिराख्ने प्रेमीलाई उनी न छोड्न सक्छिन् न उनलाई यो गतिविधि मन परेको छैन भनेर बताउन नै । उनले भनिन्, ‘उसको यही बानी मन पर्दैन । तर भन्न पनि सक्दिनँ । छोड्छ कि भन्ने पीर लाग्छ ।’
प्रहरीको साइबर ब्युरोमा कार्यरत एक अनुसन्धान अधिकारीका अनुसार उनीकहाँ आउने कैयन केसमध्ये केही यस्तै टक्सिक रिलेसनपछि उत्पन्न अपराधसँग सम्बन्धित हुन्छन् । ती अधिकारीले सुनाए, ‘किशोरीहरू न प्रेमी छोड्न सक्छन् न उसले गरिरहेको निगरानी एक किसिमको अपराध नै हो भनेर यसविरुद्ध लड्न नै सक्छन् । समस्या परेपछि मात्रै उनीहरू प्रहरी कहाँ बुझ्न आउँछन् ।’
उनै प्रहरीले हालै आफू कहाँ आएकी एक किशोरीको घटना पनि सुनाए । २१ वर्षीय एक किशोरीको पूर्व प्रेमीले उनको सामाजिक सञ्जालहरूको पासवर्ड हात पारेछन् । त्यहीँबाट उनको चरित्र बदनाम गरिदिन्छु भन्दै धम्काउने गरेको रहेछ । किशोरीले आफूलाई मानसिक तनाव दिएको बताउँदै प्रहरीमा पुगेकी थिइन् । प्रहरीका अनुसार ती किशोरी यही कारण ६ महिनादेखि तनाव बोकेर बाँचिरहेकी छन् ।
यी केही दृष्टान्त मात्र हुन् । जानेरै वा नजानेर टक्सिक रिलेसनमा हुने थुप्रै अन्य युवकयुवती छन् । किन कोही टक्सिक रिलेसनमा बस्छन् वा टक्सिक रिलेसनमा छु भन्ने थाहा पाउँदैनन् ? यसबारे धेरै अध्ययन नभएको विज्ञहरू बताउँछन् ।
मनोविद् करुणा कुँवरको अनुसार रिलेसन टक्सिक हुने कारण बुझ्न सुरुदेखि नै रिलेसन कसरी सुरुआत भयो बुझ्न आवश्यक छ । सुरुसुरुमा कुनै पनि सम्बन्धमा एक अर्कालाई समय दिने, तारिफ गर्ने, धेरै ‘अटेन्सन’ दिने हुन्छ जसबाट ‘अट्याचमेन्ट’ बनेको हुन्छ । किशोरकिशोरी वा युवाहरूको कुरा गर्ने हो भने कत्तिको पहिलो सम्बन्ध भइरहेको हुन्छ । साधै सम्बन्ध यसै गरी चल्छ भन्ने लाग्न सक्छ । धेरै समय सँगै बिताएको भएर पनि लत बसेको हुन्छ । तर कुनै पनि सम्बन्धमा त्यो सधैँ कायम हुँदैन अन्य कुरामा पनि फोकस बढ्छ जस्तै पढाइ, करियर, जसले सम्बन्धमा सम्मान र विश्वास घट्दै जान्छ र टक्सिक हुन थाल्छ ।
‘किशोर किशोरीहरूलाई सुरुमा यस्तो बानी व्यवहार सधैँ हुन्छ भन्ने लाग्न सक्छ । केही नराम्रो भएको रहेछ भने पनि सुरुमा थाहा हुँदैन । लामो समयको सोचेर निर्णय लिएको हुँदैन’, कुँवर भन्छिन्, ‘तर हिंसा भएपछि ठिक हुन्छ विस्तारै भन्ने लाग्छ र अनेक राम्रो आशा राखेर सम्बन्धमा बसिरहन्छन् । धेरै समयको सम्बन्ध भएपछि छोड्न पनि गाह्रो हुन्छ ।’
आफ्नो पार्टनर परिवर्तन हुन्छ वा परिवर्तन गराउँछु भन्ने आशाले पनि धेरै व्यक्ति सहेर बस्ने कुँवरले बताइन् । आफू सुध्रिने, आइन्दा गल्ती नगर्ने वाचा गर्ने, फेरि पनि उही समस्या दोहोराउने जस्ता समस्या भयो भने आशा गरिरहेको पार्टनरलाई मानसिक रूपमा पनि हानी हुन्छ । धेरै जना महिलाहरू यसको सिकार भएको पाइन्छ । यद्यपि यो महिला पुरुष दुवैमा देखिन्छ ।
त्यस्तै टक्सिक रिलेसनमा बस्ने, निक्लिन नसक्ने कुराहरू आफ्नो बाल्यकालको अवस्था र अनुभवबाट पनि असर गर्ने क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठ बताउँछिन् ।
उनको अनुसार कुनै पनि रिलेसन टक्सिक हुने, त्यसबाट निक्लिन नसक्ने वा गाह्रो हुने कुराको जरा बाल्यकालसम्म जोडिन्छ । ‘आफ्नो परिवारमा के छ ? अभिभावकहरू बीचको सम्बन्ध कस्तो छ, भन्ने कुराहरूले हरेकको जीवनमा असर गर्छ । मान्छे सजिलै आकर्षित हुने पनि फेमिलियर कुराहरूमा हो’, उनी भन्छिन्, ‘यदि घरमा राम्रो छैन भने, आफूसँग नराम्रो हुनु पनि स्वाभाविक लाग्छ । सबैलाई यस्तै समस्या हुने हो भनेर सामान्यीकरण गराइन्छ ।’
यस्तो बानी व्यवहारको अर्को कारण पनि आफूलाई घरमा कस्तो व्यवहार गरिँदै छ भन्नेमा निर्भर हुने श्रेष्ठले बताइन् । ‘एउटा बच्चाले सानोमा आफ्नो अभिभावकले, तिमीले गर्दा म खुसी भइना जस्ता अभिव्यक्ति सुनेको भए उसलाई मैले गर्दा अरूलाई गाह्रो हुनु हुँदैन भन्ने भाव विकास हुन्छ । त्यसैले मान्छेलाई रिझाउने व्यवहार देखाउन थाल्छ ।’
यसैमा अन्य न्युरोलोजिकल कुराहरू पनि जोडिने श्रेष्ठको तर्क छ । एउटै मान्छेले एक पटक राम्रो पनि अनुभूति गराउने र नराम्रो पनि फिल गराइरहेको हुन्छ । निकै नराम्रो फिल भएपछि उसैले राम्रो पनि फिल गरायो भने त्यो एकदम रिवार्डिङ् हुन्छ । त्यही रिवार्डको अनुभूतिले ब्रेनमा डोपामिनदेखि अन्य राम्रो अनुभव गराउने हर्मन रिलिज हुन्छ । यही कारण नराम्रा कुराहरू पनि बिर्साइदिन्छ ।
उस्तै तर्क गर्छिन् मानव अधिकारकर्मी मोहना अन्सारी । पारिवारिक कुराहरूले मानिसको सम्बन्धमा पनि असर गर्ने उनी बताउँछिन् । ‘दिन दिनभरि झगडा गर्ने र मिल्ने, माया देखाउने तर हानी हुने गरी घृणा पनि देखाउने जस्ता घटना प्रायको घर परिवारमा देखिन्छ’, उनी भन्छिन्, ‘फेरि यही कुरालाई कम्प्लेन गर्दा गम्भीर तरिकामा पनि कसैले लिइरहेको हुँदैन । हिंसा पनि सहिरहेको हुन्छ । हिंसा भएपनि ठिकै भन्ने बुझिएको छ । जसले गर्दा अहिलेको जेनेरेसनमा पनि टक्सिक भए पनि यस्तै त हो नि भनेर सामान्यीकरण गरिएको छ ।’
त्यस्तै महिलाहरूलाई हेर्ने दृष्टिकोणका कारण पनि यस्तो हुने अन्सारी बताउँछिन् । केही नराम्रो भयो भने महिलालाई आरोप लगाइने प्रचलन समाजमा छ । आफूले काउन्सिलिङ गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘महिलाहरूले सशक्त महसुस गरेका छैनन् त्यस कारण पनि उनीहरू आफूलाई डिफेन्ड गर्न सक्दैनन् ।’
सम्बन्ध टक्सिक भएको कसरी थाह पाउने ?
धेरैलाई सम्बन्ध टक्सिक भएको पनि थाहा नहुने मनोविद् कुँवरको भनाइ छ । सम्बन्धमा हुनु अघि आफू कस्तो थिए । आफ्नो दिनचर्या कस्तो थियो । करियर, पढाइमा फोकस थियो कि थिएन । राम्रा कुराहरू गर्न प्रोत्साहन भइरहेको छ कि घटिरहेको छ ? यस्ता कुराहरूले सम्बन्ध टक्सिक भए नभएको थाहा पाउन सकिन्छ । कोहीसँग बस्दा राम्रो अनुभव हुन्छ वा आनन्द आउँछ भने त्यो सम्बन्ध स्वास्थ्य छ भनेर बुझ्न सकिन्छ । यदि तनाव महसुस भइरहेको छ । मनमा अनेकन् कुराहरू खेलिरहेको छ । आफू पनि गलिरहेको जस्तो महसुस हुन्छ भने त्यो राम्रो होइन । यस्तो अवस्था आएको छ भने आफूलाई विगत सम्झनु पर्ने कुँवरले बताइन् । भन्छिन्, ‘कहीँ म्यानुपुलेसन धेरै हुन्छ । स्वतन्त्र पनि महसुस हुँदैन । आफ्नो वृत्तिविकास पनि हानी गरेको छ भने त्यही नै सबैभन्दा ठूलो र बुझ्नुपर्ने लक्षण हो ।’
त्यस्तै आफूलाई माया गर्न अर्थात् ‘सेल्फ लभ’ सिक्यो भने पनि रिलेसन टक्सिक भएको बुझ्न सकिने श्रेष्ठ बताउँछिन् । पार्टनरले ख्याल राखेको हो वा निगरानी गरेको हो, त्यो बुझ्न आफूलाई माया गर्न जान्नुपर्ने उनी बताउँछिन् । श्रेष्ठ भन्छिन्, ‘आफूले आफूलाई कसरी ट्रिट गरिन्छ अरूले पनि आफूलाई त्यस्तै गर्ने हो । त्यसैले आफ्नो भ्यालु आफैले गर्न पनि आवश्यक छ ।’
घर परिवार र साथीहरूले किशोर किशोरीका कुरालाई सुनेर उनीहरूका कुरालाई सहयोग गर्नुपर्ने अन्सारीले बताइन् । भन्छिन्, ‘आजभोलि धेरै जनामा देखिएको यो समस्या समाधानमा धेरै जनाको सहयोग आवश्यक छ । समस्या गम्भीर होइन भनेर उडाउने प्रवृत्ति छ जुन गलत हो ।’
