रोल्पाको तिलास्थित ‘जनयुद्ध संग्रहालय’ बेहाल अवस्थामा
रोल्पा — पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिका–७ तिला गैरीगाउँमा रहेको तत्कालीन माओवादी लडाकुको शिविर (क्यान्टोनमेन्ट)भित्र लडाकु बसेका लस्करै घर छन् । त्यसभित्र माओवादी लडाकुले प्रयोग गरेका भान्सा, शौचालय, खेल मैदान लगायत संरचना पनि राखिएका छन् । तिलाको डाँडामा तलदेखि माथिसम्मै ती संरचना पुराना र भत्कनै थालेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन गर्नुअघिसम्म ती क्यान्टोनमेन्टमा तत्कालीन लडाकुहरू बसेका थिए । महिला र पुरुष लडाकुहरू चिसो छल्दै ती डाँडाहरूमा बसे र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन साथ दिए । मुख्य शिविर–लडाकुको पाँचौं मुख्यालय रहेको नुवागाउँको दहवनसँग नजिकै रहेको उक्त क्यान्टोनमेन्टमा रहेका लडाकुमध्ये अधिकांश घर फर्किर्ए भने थोरैले मात्रै सेना समायोजनमा भाग लिए ।
तत्कालीन माओवादी लडाकुलाई शान्तिपूर्ण बाटोमा ल्याउन सरकार र माओवादीबीच भएको सम्झौताबमोजिम मुलुकभरमा स्थापना गरिएका सबै २८ वटा क्यान्टोनमेन्टमध्ये तिलाको क्यान्टोनमेन्ट एउटा थियो । दहवनमा मुख्यालय रहेको लडाकुका रोल्पामा तिला, दहवन र उँघासहित दाङको संक्राममा सहायक क्यान्टोनमेन्ट थिए ।
दहवन मुख्यालय रहेको लडाकुको पाँचौं डिभिजनका एक कमान्डर शुकबहादुर रोकामगरले दहवन र डिभिजनबारे स्मरण गरे, ‘हामीलाई शान्ति प्रक्रियामा सघाउ पुर्याउन भनेर चिसो सिरेटो चल्ने दहवनको डाँडोमा बसालियो । हामीले चिसो सहँदै वर्षौं बस्यौं । अन्ततः शान्ति प्रक्रिया पनि समाप्त भयो ।’
अधिकांशले माओवादीभित्र विभिन्न गुट सिर्जना भएका कारण सेना समायोजनमा सहभागी हुन चाहेनन् । त्यसैले अधिकांशले लडाकु पद त्यागेर नागरिकसरह समाजमा पुनःस्थापित हुने मौका पाए । तीमध्ये थोरै मात्रै आफ्नो घर फर्के भने धेरै बसाइँ सरेर अन्यत्र झरे वा वैदेशिक रोजगारीसम्म पुगे । रोल्पाको जेलबाङमा घर भएका कमान्डर रोका भने दुईपटक उपराष्ट्रपति बनेका तत्कालीन लडाकुका उच्च कमान्डर नन्दबहादुर पुनको सचिवालयमा जागिरे बने । डिभिजनका दुई सहायक कमाण्डरमध्ये एक रोल्पा कुरेली घर भएका राजबहादुर बुढा राजनीतिमा सक्रिय बने । उनी रोल्पा जिल्ला समन्वय समिति प्रमुख बने । हाल उनी पार्टीका केन्द्रीय सदस्य छन् । अर्का सहायक कमान्डर, रोल्पाकै मिरुल घर भएका रामलाल रोका भने तत्कालीन वैद्य समूहमा आबद्ध हुँदै हाल स्वतन्त्र अवस्थामा छन् । 
लडाकु बसेका क्यान्टोनमेन्टहरूको अवस्था कस्तो छ ? के हाल छ, त्यहाँ बनाइएका संरचनाको ? साथै जनयुद्धको स्मृति गर्दै धमाधम संरचना मात्रै बनाउने होड कहाँबाट भित्रियो ? यस्ता थुप्रै प्रश्न सबैका सामु छन् ।
यतिबेला संरचना र क्यान्टोनमेन्ट स्थल अलपत्र मात्रै होइन, माओवादी नेताले पनि वास्ता गर्दैनन् । सुरुमा क्यान्टोनमेन्टको संरक्षण गरेर पर्यटकीय स्थल बनाउने होड चल्यो । तर पछि भने सबैले बिर्सन पुगे । सत्तामा पुगेपछि माओवादी नेताले नै क्यान्टोनमेन्टलाई देख्न र विकास गर्न भुलेका हुन् । क्यान्टोनमेन्ट बनाउने क्रममा राज्यले करोडौं रकम लगानी गरेको थियो । तर पछि उनीहरूले नै बेवास्ता गरेपछि हाल अधिकांश क्यान्टोनमेन्ट भग्न अवस्थामा छन् । तिलाको क्यान्टोनमेन्ट पनि भुलिएको अवस्थामा छ । स्थानीयले भने यसलाई पर्यटकीय क्षेत्र बनाउने आशा सँगालेका छन् ।
कार्यकर्ता र जनताको आशा
हाल तिलामा राज्यको लगानीमा एउटा भवन बनाइएको छ । तारबारले क्यान्टोनमेन्ट क्षेत्रलाई घेरिएको छ । त्यसबाहेक पुराना संरचनाको संरक्षण गरिएको छैन । माओवादीका पूर्वविद्यार्थी अर्जुन डाँगी भन्छन्, ‘लडाकु बसेको संरचनालाई जस्ताको तस्तै संरक्षण गर्न सके आन्तरिक पर्यटनको विकास हुने प्रबल सम्भावना छ । त्यसका लागि राज्यले योजना बनाउनु आवश्यक छ ।’ उनले माओवादी लडाकु बसेका घर, उनीहरूले प्रयोग गरेका अन्य संरचना र तालिमस्थल, खेल मैदान लगायतको बेवास्ता गरिएको बताए ।
राज्यले क्यान्टोनमेन्टलाई संग्रहालय बनाउने भनेर लगानी गरे पनि ठोस योजना नहुँदा क्यान्टोनमेन्टको महत्त्व कम भएको उनले बताए । क्यान्टोनमेन्टलाई भुलेर नेता र कार्यकर्ताले राज्यको बजेट कमाइखाने मेसो बनाएको प्रति उनको आपत्ति छ । पुरानो भुल्दै जाने र नयाँ बनाउने नाममा कमाउने कार्यकर्ताको बानीले यस क्षेत्रको विकास हुन नसक्ने उनको दाबी छ ।
बुद्धिजीवी एवं स्थानीय शिक्षक गंगा चिन्तित बुढामगरले पनि क्यान्टोनमेन्टभित्रको संरचनालाई जोगाउनुको सट्टा नयाँ थप्ने र बजेट सक्ने कामको प्रतिस्पर्धा भएको जिकिर गर्छन् । उनले नेता र कार्यकर्ताको तौरतरिका देखेपछि सामाजिक संजालमा लेखे, ‘तिलाको संग्रहालयको काम छिटो हुन सकोस्, असफल बनाउनु हुँदैन । असहयोग गर्ने दल वा व्यक्तिलाई स्थानीयले बहिष्कार गर्न सक्नुपर्छ । ।’ उनको धारणाजस्तै स्थानीयका बीच यो विषयमा छलफल पनि चल्यो ।
लामो समयदेखि होटल संचालन गरेर तिलाको नाम चलाएका स्थानीय हरिलाल जीसीले पनि तिलालाई चिनारीका रूपमा थप चिनाउन सकिने र त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए । बजेट विनियोजन भए पनि सही सदुपयोग र समयमै काम हुने वा नहुनेमा धेरैको चिन्ता छ । त्यसैले त्यस चिन्ताको पक्षमा राजनीतिक दलका नेताको भूमिका हुनेमा अधिकांशको विश्वास छ ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा त्यहाँ संग्रहालय बनाइएको छ । निजी र सार्वजनिक जग्गा गरी करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको तत्कालीन क्यान्टोनमेन्ट क्षेत्रको संरक्षण गरेर पर्यटकीय महत्त्व बढाउन सके यहाँको विकासमा नयाँ आयाम हुन सक्छ । उक्त शिविरलाई तत्कालीन ‘जनयुद्ध’ को झल्को दिने गरी संग्रहालय निर्माण गरिएको सरकारको दाबी छ । गाउँपालिकाको पहलमा प्रदेश र संघीय सरकारले बजेट विनियोजन गरेपछि संग्रहालय बनाइएको त्रिवेणी गाउँपालिकाका पूर्वअध्यक्ष शान्तकुमार वलीले बताए । उनका अनुसार पहिलो वर्ष पर्खाल, दोस्रो वर्ष भवन र तेस्रो वर्ष तारबार, शिविर मर्मत र पदमार्ग निर्माण गर्ने लगायतका योजना अघि सारिएको थियो । त्यसयता नियमित रकम प्रदेश र संघीय सरकारले प्रदान गर्दै आएका छन् ।
तिलास्थित जनयुद्ध संग्रहालय संचालन समिति सदस्य कृष्णकुमार नेपालीले समितिलाई जिम्मेवारी दिएर विकासका लागि नखटाइएको बताए । ‘प्रदेश सरकारले हामीलाई सदस्य नियुक्त गरेको जानकारी अनौपचारिक रूपमा पाएका थियौं,’ उनले भने, ‘तर कामको जिम्मेवारी पाइएन ।’
नेपालीसहित स्थानीय मानबहादुर पुन र लालसरी घर्तीमगरलाई २०७९ मा संग्रहालय संरक्षण र संचालन समितिको सदस्य बनाइएको थियो । समितिको संयोजक भने जिल्ला समन्वय समितिका प्रमुख हुने प्रावधान छ । तर समितिले खासै गतिविधि संचालन गर्न सकेको छैन ।
तिलामा चरण–चरणमा गरी सरकारले अहिलेसम्म तीन करोड बढी रकम खर्च गरिसकेको छ । चालू वर्षमा करिब एक करोड रकम रहेको स्थानीयले जनाएका छन् । उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरेको स्थानीय शिक्षक बुढामगरले बताए । उनका अनुसार चिटिक्क परेका पुराना संरचनाको संरक्षण गरेमा थप आकर्षण बढ्नेछ । तिलामा रहेको शिविर स्थललाई दुरुस्तै सुरक्षित पारेर पर्यटकीय महत्त्वसमेत बनाउने योजना अघि सारिएमा मात्रै संघ र प्रदेश सरकारले पठाएको बजेटको सही सदुपयोग भएको मानिने शिक्षक बुढामगरले बताए । 
लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले सशस्त्र द्वन्द्वकालीन समयलाई झल्काउने गरी तिला क्षेत्रको संरक्षण गर्न पहिलोपटक बजेट विनियोजन गरेका थिए । जनयुद्ध संग्रहालय निर्माण गरेर ऐतिहासिक समयको झल्को दिने आफ्नो पूर्वयोजना रहेको उनले सुनाए ।
शिविरका बेला लडाकु बसाल्न सरकारी लगानीमै चिटिक्क परेका साना ५७ वटा घर–टहरा बनाइएको थियो । अहिले तीमध्ये धेरैजसो घर भत्केको अवस्थामा छन् । तैपनि भौतिक संरचनाको सुरक्षार्थ तिलामा सशस्त्र प्रहरी बलको एक टुकडी राखिएको छ । स्थानीयले जंगल र चौरसमेतको उक्त क्षेत्रलाई ‘गुरिल्ला ट्रेकिङ क्षेत्र’ घोषित गरेर पर्यटकीय आकर्षण बढाउने योजना बनाएका छन् । त्यसै क्षेत्रमा पदमार्ग सञ्चालन गर्न सके राम्रो हुने रोल्पाको पर्यटन प्रवर्द्धनमा लागेका युवा पर्यटन व्यवसायी बाल्कुराम पुनले बताए ।
त्रिवेणी–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले तिलालाई ऐतिहासिक स्थानका रूपमा बनाउन संग्रहालयले थप टेवा दिने बताए । उनले स्थानीयको जीवनस्तर बदलिने गरेर योजना बनाउनेतर्फ सोच्नुपर्ने बताए । उक्त संग्रहालय दाङदेखि होलेरी, घर्तीगाउँ, थबाङ र हुँदै पूर्वी रुकुम पुर्याइने सहिद मार्गको मुख्य सडकमै पर्छ । पुराना संरचनालाई जोगाएर नै युद्ध पर्यटनको महत्त्व बढाउने स्थानीय महिला उद्यमी लालसरी घर्तीमगरले बताइन् । राज्यको करोडौं बजेटबाट जनयुद्ध स्मृतिमा विभिन्न संरचना बनाउने चलन व्यापक भए पनि मानवीय विकासमा भने कम चासो दिइएको अवस्था छ । 
रोल्पाबाटै माओवादीको तत्कालीन सशस्त्र द्वन्द्वको सुरुवात भएकाले विभिन्न क्षेत्रको विकास गरेर सशस्त्रकालीन समय झल्काउने गरी ‘गुरिल्ला ट्रेकिङ क्षेत्र’ बनाउन सकिने योजना अघि सारिएको छ । विभिन्न स्थानको विकास, संरक्षण र संरचना निर्माण गरेर पर्यटकीय विकासको सम्भावना खोज्न स्थानीय तहले मुख्य भूमिका खेल्न सक्छन् ।
मुख्यगरी थबाङ र जलजला लगायतको क्षेत्र समेटेर यसअघि नै पर्यटकीय योजना ल्याइएको थियो । जनयुद्धको स्मरणका लागि संग्रहालय भवन बनाउन र पदमार्ग निर्माणमा ध्यान दिइएको छ । माओवादी द्वन्द्व थालिएको पहिलो दिन २०५२ फागुन १ मा लडाकुको आक्रमणबाट ध्वस्त पारिएको होलेरीस्थित प्रहरी चौकी रहेको स्थानलाई गाउँपालिकाले युद्ध स्मारक बनाएर संरक्षण गरेको छ ।
