प्रिय जगजित, म पनि नशामै छु !

स्पष्ट वक्ता जगजितले प्रेम प्रस्ताव पनि राखे चित्रालाई। तर, चित्राले इन्कार गरिन्। मान्दै मानिनन्। अलिकति उदासी अनि अलि धेरै 'उम्मीद'का साथ जगजितले 'प्यासा'मा हेमन्त कुमारले गाएको गीत गाएर चित्रालाई फकाउने कोसिस गरे । यति गर्दा पनि चित्राबाट 'हुन्छ' भन्ने जवाफ नआएपछि हक्की स्वभावका जगजित देबोकहाँ पुगे प्रस्ताव लिएर- 'म तिम्री पत्नीसँग विवाह गर्न चाहन्छु!'

माघ २६, २०८१

श्रीजु सरल

Dear Jagjit, I am also drunk!

काठमाडौँ — 'द लेटेस्ट' बाट सुरु गरूँ । सन् १९८२ को एल्बम हो यो । सुदर्शन फाकिरका शब्दमा उनी गाउँछन्-ढल गया आफताब ऐ साकीला पिला दे शराब ऐ साकीआज पिने दे, और पिने देकल करेंगे हिसाब ऐ साकी ।के जगजित सिंह उनैले गाएको यही गजलको पात्र जति नै शराबी थिए होलान् त ? आउनुस्, आज उनको जीवनलाई केहीबेर पल्टाएर हेरौँ । 

सन् १९४१ फेब्रुअरी ८ का दिन जन्मिएका जगमोहन सिंह ऊर्फ जगजित सिंहलाई उनका फ्यानहरूले गजलका राजा नै मान्छन् । भनिन्छ, जब जगजितले गजल गाउन सुरु गरे, तब गजलले संसार देख्यो अनि संसारले गजल चिन्यो । उनले त्यस्तो के विशेष गरे त, जसले गर्दा यो गजलको संगीतयात्रामा यस्तो मोड आयो ? उनकै शब्दलाई सापटी लिएर भन्ने हो भने उनले गजललाई नजिस्क्याईकनै नयाँ लेपन लगाइदिए । शास्त्रीय वाद्यवादन मात्र प्रयोग भइरहेको गजलको दुनियाँमा उनले गितार, बेस गितार, स्याक्सोफोन, रिदम मेसिनलगायतका आधुनिक प्रविधि भित्र्याइदिएका हुन् ।

उनलाई लाग्थ्यो आफ्नो समयको नयाँ पुस्तालाई गजल भन्ने थाहै छैन । गजलभित्रको साहित्यिक गुणलाई नयाँ पुस्तासम्म पु‍र्‍याउन पनि उनले गजलमा ती-ती प्रविधि भित्र्याए, जुन नयाँ पुस्ताले चाखलाग्दो नजरले हेरिरहेको थियो । गजलको संगीततर्फ नयाँ नयाँ प्रविधि भित्र्याउन माहिर उनले गजलको लेखनतर्फ भने प्राविधिक भाषामा कैँची चलाउन थाले । उनलाई लाग्थ्यो- आममानिससम्म गजलको रस बसोस् । त्यसैले, गजलमा पनि सक्दो आमभाषाको प्रयोग गर्न थाले । भाषामा मात्र होइन, उनका गजलहरूमा, नज्महरू या फेरि गीतहरूमै किन नहोस्, विषयवस्तु पनि अति आम हुने गर्छन् । सुन्ने हरकोहीलाई लाग्छ कि यो त मेरै कथा पो हो । मलाई लाग्छ, यो एउटा उत्तम उदाहरण हुन सक्छ- 

ये दौलत भी ले लो, ये शोहरत भी ले लो

भले छिन लो मुझसे मेरी जवानी

मगर मुझको लौटा दो बचपन का सावन

वो कागज कि कश्ती, वो बारिश कि पानी  ।

मुहल्ले कि सबसे पुरानी निशानी

वो बुढिया जिसे बच्चे कहते थे नानी

वो नानी कि बातों मे परियों का डेरा

वो चहेरे कि झुरियों मे सदियों का फेरा  ।

भुलाए नहीं भूल सकता है कोई

वो छोटी सी रातें, वो लम्बी कहानी  ...  ।

बचपनको कुरा निस्किहाल्यो । साँच्चै, जगजित बचपनमा लुकीचोरी फिल्म हेर्न जान्थे । आमाले केही चिजबिज किन्न पैसा दिएर पसल पठाउँदा उभ्रेको पैसा उनी आफैं राख्ने गर्थे र मौका मिल्यो कि सिनेमाघर छिरिहाल्थे । कतिपटक त उनलाई उनका बुवाले हलभित्रै भेटेर कान पक्डेर घर फर्काएर ल्याउँथे । फिल्म हेर्दा छोरो बिग्रिन्छ कि भन्ने चिन्ता लाग्थ्यो उनका बुवालाई । बुवा चाहन्थे कि छोरो ठूलो भएर इन्जिनियर बनोस् । केही त 'बडिया' गरोस्! नाम राखोस् । उनलाई पनि बुवाको कुरा सही लाग्थ्यो । उदितनारायणको यो गीतले भनेजस्तै-

पापा कहेते है बडा नाम करेगा

बेटा हमारा ऐसा काम करेगा  ।

कास ! यो गीत पनि उनैले गाएका हुन्थे त अझै सान्दर्भिक भएर आउँथ्यो होला । खैर, केही ठूलो नाम राख्ने उनको पनि इच्छा थियो । त्यो 'केही ठूलो' सुरु सुरुमा त 'इन्जिनियरिङ गर्नु' थियो र अझै ठूलो हुँदै जाँदा 'आईएएस अफिसर बन्नु' हुन थाल्यो । सानैदेखि शास्त्रीय संगीत पनि सिक्थे उनी । तर, उनलाई लाग्थ्यो- 'बन्न त आईएएस अफिसर नै बन्ने हो, संगीत त मेरो सौख मात्रै हो ।' तर, सानैदेखि उनी यति सुरमा र यति मीठो गाउँथे कि कलेजका भाइस चान्सलरले समेत उनलाई आईएएस भन्दा संगीतलाई अघि बढाउन सल्लाह दिन्थे ।

ख्याल ख्यालमै पार्टी र कीर्तनहरूतिर गीत र भजन गाउँदागाउँदै उनलाई एक दिन संगीतप्रतिको मोहले गम्भीर मोडमा ल्याइपुर्‍यायो । त्यसपछि उनी घरमा कसैलाई नभनेरै, सुटुक्क आइपुगे बम्बई! संगीतलाई आफ्नो सौख मात्र सोची बसेका उनी त्यसपछि मात्र झल्यास्स भए- 'अरे! म त लुकी लुकी फिल्म हेर्न पनि गीतकै कारण पो जाने गर्दोरहेछु!' हुन पनि, मानिसलाई अधिकांश समय आज गरिरहेका कुरा, किन गर्दैछु आजै स्पष्ट हुँदैन । बरु, अलि पर पुगेर पछाडि फर्केर हेर्दा मात्र त्यसको कारण र महत्त्व थाहा लाग्ने गर्छ ।

संगीतमै केही गर्छु भन्ने हुटहुटी बोकेर सुटुक्क बम्बई आइसकेपछि मात्र थाहा भयो जगजितलाई पनि, संगीत त उनको जीवनको एउटा अह‍म् हिस्सा नै पो भइसकेको रहेछ ।Dear Jagjit, I am also drunk!

बम्बई आएपछि जगजितले पछाडि फर्केर हेरेनन् । भारतबाट शाहरुख खान र नेपालबाट राजेश हमाल पनि उनका गीति एल्बमका अनुहार छन् । लता मङ्गेशकरसँग पनि उनले संयुक्त एल्बम निकाले । तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीका कवितासमेत गाएका उनलाई सुरुमै काम मिल्न भने गाह्रो भएकै हो  ।

संगीतभन्दा अगाडि संघर्ष नै आउने रहेछ कि ? अथवा यसो भनूँ, संगीत पो उनलाई जन्मले नै दिएको थियो, संघर्ष त जीवनको नियम हो, जसले धैर्य माग्छ, लगाव र निरन्तरता माग्छ र जन्मले दिएकै उपहार पनि जीवनमा उपभोग गर्न मानौँ किन्नुपर्छ- संघर्षले । संघर्षका दिनमा जगजित विज्ञापनका जिंगल गाउँथे । जिंगल गाउने सिलसिलामै उनको भेट भयो चित्रा सिंहसँग, जो त्यतिबेला चित्रा सिंह भइसकेकी थिइनन् ।

देबोप्रसाद दत्तकी पत्नी उनी त्यसबेला चित्रा दत्त थिइन् । यो सन् १९६७ को कुरा हो । चित्रा विवाहित भईकन पनि त्यतिबेला एक्लै बस्थिन् । देबोसँग उनको मतभेद सुरु भइसकेको थियो । चित्रा र जगजित साथसाथ जिंगल गाउन थालिसकेका थिए । तर, चित्रालाई जगजितको आवाज कत्ति पनि मन परेन । पातलो आवाज भएकी चित्रालाई जगजितको मोटो आवाजले आकर्षित गरेन । झनै जगजितले गाउने गजल त चित्रालाई फिटिक्कै चित्त बुझेन । उनलाई त तलत मेहमूदका गजल मन पर्थे । त्यो थाहा पाएपछि जगजितले मेहमुदकै गजल गाएर चित्रालाई खुसी पार्न खोजे ।

चित्रालाई रिझाउने चक्करमा कतिबेला उनी प्रेममा पनि पो परिसकेछन्! स्पष्टवक्ता जगजितले प्रेम प्रस्ताव पनि राखे चित्रालाई । तर, चित्राले इन्कार गरिन् । मान्दै मानिनन् । अलिकति उदासी अनि अलि धेरै 'उम्मीद'का साथ जगजितले  'प्यासा'मा हेमन्त कुमारले गाएको गीत गाएर चित्रालाई फकाउने कोसिस गरे- 

जाने वो कैसे लोग थे जिनके प्यारको प्यार मिला

हम ने तो जब कलियां मांगी काटोंका हार मिला ... ।

यति गर्दा पनि चित्राबाट 'हुन्छ' भन्ने जवाफ नआएपछि हक्की स्वभावका जगजित देबोकहाँ पुगे प्रस्ताव लिएर- 'म तिम्री पत्नीसँग विवाह गर्न चाहन्छु!' 

त्यसपछि, बल्ल सन् १९६९ मा जगजित र चित्राबीच विवाह भयो । देबोले उनलाई चित्रा मात्र होइन, छोरी मोनिका पनि दिई पठाए । जगजितलाई चित्रा राम्रै फापिन् । अब दुवैले साथसाथ गाउन थालेका थिए, जिंगल होइन गजल । यो गजल जोडीलाई दर्शकबाट यति प्रेम मिल्यो कि हिजोसम्म घराना संगीत भनेर चिनिने गजल अब देशभर मात्र पनि नभएर विदेशसम्म पनि गुञ्जिन थाल्यो । यो जोडी गजल लिएर देश-विदेश घुम्न थाल्यो । जगजितको प्रेम र कला एकसाथ झाँगिँदो थियो ।

आखिर, बात निकलेगी तो फिर दूर तलक जायेगी!

सन् १९७६ को एल्बम 'द अन्फर्गेटेबल्स्' को यसै गीतले भनेजस्तै जगजितको जिन्दगीको मीठो दौर निकै दूरसम्मै पुग्यो । उनको जिन्दगीमा एउटा रोमाञ्चक मोड चलिरहेको थियो! उनैले गाएको यो अर्को रोमान्टिक गजलजस्तै!

कल चौधवीं कि रात थी, शबभर रहा चर्चा तेरा

कुछ ने कहाँ ए चाँद है, कुछ ने कहाँ चेहरा तेरा  ।

हम भी वहीँ मौजूद थें, हम से भी सब पूछा किए

हम हँस दिए, हम चुप रहें, मञ्जुर था पर्दा तेरा   ।

चित्रालाई गजल गाउन सिकाउने जगजित नै थिए । सुरुमा गजल विधालाई अफ्ठ्यारो र अनौठो मानिरहेकी चित्राले बिस्तारै गजललाई यति हलुकोसँग गाउन थालिन् कि जगजितको मोटो आवाजको छेउमा उनको पातलो आवाजलाई कत्ति पनि कम ठानेनन् श्रोताहरूले । जगजितलाई गजलको राजा बनाइरहँदा गजलकी रानीको ताज चित्राकै शिरमा राखिदिए । कतै यस्तै प्रसङ्ग सम्झिएर त होइन जगजितले गाएका- मेरे जैसे बन जाओगे, जब इश्क तुमे होजायेगा!Dear Jagjit, I am also drunk!

जे होस् दुवैबिच गाढा प्रेम थियो । त्यही गाढापन सायद, संगीत र गायकीमा ठोकिएर छरिन्थ्यो र पुग्थ्यो उनका फ्यानहरूसम्म । जगजितले गाउन रोजेका गजलका शब्दहरूलाई, तिनका भावलाई केलाएर हेर्ने हो भने प्रेमभित्रै पनि एउटा गहिरो पीडा लुकेको पाइन्छ । जुन पीडालाई एक किसिमको सुखद बान्की यसरी दिइएको हुन्छ-

अगर हम कहें और वो मुस्कुरादें

हम उनके लिए जिन्दगानी लुटा दें

हर एक मोड पर हम गमों को सजा दें

चलो जिन्दगीको मोहब्बत बना दें  ।

प्रेममै पनि जीवन लुटाउने र आफूलाई हराउने कुरा उनका गजलहरूमा दोहोरिरहने प्रसङ्गहरू हुन् । अझै अर्को लाइनमा उनी गाउँछन्-

सजा दें, सिला दें, बना दें, मिटा दें

मगर वो कोई फौसला तो सुना दें

त्यसो त यी शब्द सुदर्शन फाकीरका हुन् तर, रोजाइ जगजितको । साहिद कबिरका पनि त्यस्तै शब्द उनको रोजाइमा परेका छन् ।

गमका खजाना, तेरा भी है, मेरा भी

ये नजराना, तेरा भी है, मेरा भी  ।

अपनी गमको गीत बनाके गा लेना

राग पुराना, तेरा भी है, मेरा भी  ।

तु मुझको और में तुझको समझाऊँ क्या

दिल दिवाना, तेरा भी है, मेरा भी ...  ।

जगजितका रोजाइहरू हेर्दा लाग्छ, कतै प्रेम र पीडालाई उनी एकअर्काको पर्याय त ठान्दैन थिए? कतै 'गम' नै उनको फेवरेट शब्द त थिएन? या कतै उनी आत्मपीडामा पो रमाउँथे कि? जे होस् अबको मोडले उनलाई गजलका शब्दहरूमा मात्र होइन, जीवनमै पनि गहिरो पीडा दिनेवाला थियो । यस्तो पीडा जो जिन्दगीभर टाँस्सिइरह्यो उनको साँझमा, बिहानमा, दैनिकी र हरेक क्षणहरूमा । 

Dear Jagjit, I am also drunk!

सन् १९९० को कुरा हो, उनले गाएको एउटा गीत उनको जीवनको यथार्थ बनेर आइदियो । उनले कलिलै उमेरका आफ्नो एक मात्र सन्तान गुमाए- विवेक । जो मात्र २० वर्षका थिए कार दुर्घटनामा परेर यो संसार छोड्दा । तर, विवेकले छोडेर जानुभन्दा ८ वर्षअघि नै जगजितले आनन्द बाक्सीका शब्दमा उस्तै पीडा गाइसकेका थिए-

चिठी न कोई सन्देश, 

जाने वो कौन सा देश 

जहाँ तुम चले गए

इस दिल पे लगाके ठेस, 

जाने वो कौन सा देश 

जहाँ तुम चले गए  ।

एक आह भरी होगी, 

हमने ना सुनी होगी

जाते जाते तुमने, 

आवाज तो दी होगी

हर वक्त यही है गम, 

उस वक्त कहाँ थें हम 

कहाँ तुम चले गए ...  ।

साँच्चै, मानिस मरेपछि कहाँ जान्छ होला है? 

यस्तै अनेक प्रश्नमा जगजित पनि पक्कै घोत्लिए होलान् । नघोत्लिउन् पनि कसरी? मात्र २० वर्षको कलिलो उमेर, त्यहीमाथि एक्लो सन्तान । एक वर्षभरि उनले नयाँ कुनै गीत, गजल गाएनन् । त्यसपछि गाएका गीत, गजलमा पीडा अझै टड्कारो भएर आउन थाले । यो खुसीको कुरा हो या होइन तर, पीडा भुलाउन उनले मदिराको साहारा लिएनन् ।

यद्यपि, उनले नशा गरे, शराब पिए । उनका लागि गायन नै नशा थियो र पीडा नै शराब । आखिर यो, जुध्न सक्ने पीडा थिएन । मानौँ, त्यही कारण पनि उनले पीडालाई अपनाइदिए । बाँकी जिन्दगी पीडामै रमाइदिए । यसै सिलसिलामा सन् १९९८ मा उनी खुलेर पोखिए । खुलेर छचल्किए । शब्दमा जावेद अख्तरले साथ दिए, संगीत आफै रचे अनि तयार भयो एल्बम- सिलसिले । 

जाते जाते वो मुझे अच्छी निशानी दे गये

उम्रभर दोहोराउंगा ऐसी कहानी दे गये  ।

उस से में कुछ पा सकूँ ऐसी कहाँ उम्मीद थी  ।

गम भी वो सायद बढाए मेहरबानी दे गये  ।

खैर में प्यासा रहाँ पर उसने इतना तो किया

मेरे पलकों कि कतारों को वो पानी दे गये ... ।

सिलसिलेभित्रै अर्को एउटा यस्तो गीत छ जसले, भन्न सकिन्छ, जगजितको पीडालाई निकै पिँधमा पुगेर उबाउन सकेको छ, लामो डोरी बाँधिएको बाल्टीले गहिरो इनारबाट पानी निकालेजस्तै । 

में भूल जाऊँ तुमें

अब यही मनासिब है

मगर भुलना भी चाहूँ तो

किस तरहा भुलाऊँ?

के तुम फिर भी हकीकत हो कोई ख्वाब नहीं !

'चिठी न कोई सन्देश', जगजितको यथार्थसँग मिल्नु एउटा स्पष्ट संयोग थियो तर, यस गीतका शब्दहरू लाग्छ जावेदले पनि जगजितबाटै टिपेका हुन् । लाग्छ, संवेदना र शब्दहरू जगजितबाटै टिपेर जावेदले त खाली एउटा धागोमा तिनलाई उन्ने काम मात्रै गरिदिएका हुन् । यही गीतको अगाडि जावेद लेख्छन् -

मुझे है याद वो सब

जो कभी हुवा ही नहीं

अगर ये हाल है दिलका तो कोई समझाए

तुमें भुलाना भी चाहुँ तो किस तरहा भुलाऊँ?

के तुम फिर भी हकीकत हो कोई ख्वाब नहीं !

साथी जावेदसँग पक्कै जगजितले बाँडेका हुनुपर्छ ती सपना, जुन उनले छोरो विवेकका लागि देखेका थिए । ती सपना जसले कहिल्यै विपना हुने अवसर नै पाएनन् । २० वर्षदेखि एउटै घरको एउटै ढोकामा ठोकिइरहेको कोही आफ्नो जब अचानक देखिन छोड्छ, ठोकिन छोड्छ, सधैँका लागि गायब भइदिन्छ तब कोही किन नसोच्दो हो-

... उस दरीचे मे भी अब कोई नहीं और हम भी

सर झुकाए हुए चुपचाप गुजर जाते है ...  ।

जुँगाको रेखी राम्रोसँग बस्न नपाउँदै सधैँको लागि परलोकिएको छोरोलाई सम्झिएर कुन बाबुको मन यसरी नभाँचिदो हो-

... नर्म अल्फाज, भली बातें, मोहज्जब लहजे

पहली बारिश ही मे ये रंग उतर जाते है ... 

अपनाउने सिलसिलामा जगजितले पीडालाई यसरी अपनाए कि पीडालाई पनि यतिबेलासम्म आइपुग्दा त मानौँ उनलाई छोडेर जाने कल्पनाले बिझाउन थालेको होस् । जावेद पनि कुनै बिन्दूमा सायद पक्का भए कि अब उनले पीडालाई होइन बरु पीडा स्वयंले उनलाई अपनाउन थालिसकेको थियो । 

दर्द अपनाता है, पराए कौन !

कौन सुनता है और सुनाए कौन ?

र, यतिबेलासम्म पीडासँग जगजितको दोस्ती भइसकेको छ ।  देखादेख मात्र नभएर मानौँ अब जगजित र पीडाबिच दिनहुँ चिया-चुरोट चल्छ । पीडालाई ओल्टाई, पल्टाई, कोल्टाई मानौँ उनले छामेर, पढेर, खोतलेर हेरिसके । अब पीडा उनका लागि आवेग लिएर आउँदैन । दुईबिच एउटा सामान्यपना छाइसकेको छ । यद्यपि, साथीसँग कहिले हाँसो, कहिले आँसु त बाँडिन्छ नै । 

कौन दोहोराए पुरानी बातें

गम अभी सोया है, जगाए कौन?

अब सुकुन है तो भुलने मे है

लेकेन उस शख्स को भुलाए कौन!

आज फिर दिल है कुछ उदास उदास

देखिये आज याद आए कौन?

जे होस्, गजलको प्यालामा पीडा भरेरै सही जगजितले बाचुञ्जेल नशा गरिरहे र संसारलाई पनि शराब पिलाइरहे । उनले भनेका पनि त हुन्- 'में नशे मे हुँ!'' तर, उनी यहाँनेर अलिकति चुकेकै हुन् । भलै उनले आफूलाई नशामा देख्लान् तर, संसारले त नशा नै उनी स्वयंलाई देख्छ । त्यो संसारको एउटा सानो हिस्सा मपनि हुँ । प्रिय जगजित, स्कुल छँदै 'होठों से छु लो तुम' सुनेदेखि नै, म पनि नशामै छु ।

अँ साच्चै, ह्याप्पी बर्थडे!

श्रीजु

Link copied successfully