पछिल्लो ५ वर्षमा कर्णाली प्रदेशका ५ हजार ९ सय ५८ दम्पतीले सम्बन्धविच्छेद गरेका छन्
सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–९ बस्दै आएकी नविना बिष्टले (नाम परिवर्तन) को कालीकोटकै विनोद सिम्खडासँग २०७९ मंसिरमा विवाह गरिन् । उनको वैवाहिक सम्बन्ध दुई वर्ष पनि टिक्न पाएन । नविना र विनोदको जोडीले छोटो प्रेम सम्बन्धलाई दुवै पक्षका अभिभावकको अनुमतिमा मागी विवाह गरेका थिए ।
विवाहको २ वर्ष नबित्दै विनोदले सम्बन्धविच्छेदका दबाब दिन थालेको र यातना सहन नसकेर नविना अन्तत सम्बन्धविच्छेद गर्न बाध्य भइन् । १९ वर्षको उमेरमा विवाह गरेकी उनले २१ वर्षमै सम्बन्धविच्छेद गर्न पुगिन् । ‘बिहे हुनासाथ पेटमा बच्चा रह्यो, घर समाज र माइतीको इज्जत सम्झेर जसोतसो बसेँ तर, उनको दबाब सहन सकिनँ,’ उनले भनिन्, ‘बिहे गर्ने उमेरमा घर न घाटको भइयो ।’ पढाइ छाडेर विवाह बन्धनमा बाँधिएकी उनले अहिले श्रीमान्ले छोड्यो भनेर समाजका कुरा काट्ने गरेको सुनाइन् । उनकी आमा लालसरी बिष्ट भन्छिन्, ‘मेरो छोरीको जीवनमा खेलबाड भयो, कापीकलम समात्ने उमेरमा उसलाई आफ्नो र छोराको जिम्मेवारी थपिएको छ, छोरा र श्रीमतीलाई मासिक खर्च पठाउँछु भने पनि सम्पर्कविहीन छन् ।’
यस्तै गुर्भाकोट–१२ बस्ने २४ वर्षीया प्रतिमा केसी (नाम परिर्वतन) को २०७५ सालमा बिहे भयो । गाउँकै एक युवकसँग बिहे गरेकी उनी दुई छोराछोरी हुर्काएर बसेकी छन् । १८ वर्षकै उमेरमा बिहे गरेकी उनको २०८० माघमा सम्बन्धविच्छेद भयो । ‘कलिलै उमेरमा विवाह गरियो सबै कुरा छोडेर श्रीमान रोजे, तर अहिले एक्लै बस्नु परेको छ,’ प्रतिमाको दुःखेसो छ, ‘सानै उमेरमा आमा बने, एकातिर शारीरिक अवस्था कमजोर बन्यो, अर्कोतिर श्रीमान्ले दिएको मानसिक तनाव ।’ श्रीमान्को पीडा सहन नसकेर सम्बन्धविच्छेदको बाटो रोज्नुपरेको उनी बताउँछिन् । सम्बन्धविच्छेद गरेर छोरा पढाउने रकम उपलब्ध गराउने भनेका ती युवक अहिले प्रतिमाको सम्पर्कमा छैनन् । उनी सन्तान लिएर माइतीको सहारामा पुगेकी छिन् । सुर्खेत जिल्ला अदालतको तथ्यांकमा पछिल्लो ५ वर्षयता ३ हजार ८१ मुद्दामध्ये २ हजार ३ सय ७६ वटा मुद्दाको सम्बन्धविच्छेद भएका छन् । अदालतमा आएका अधिकांश मुद्दामा बालविवाह र घरेलु हिंसा खप्न नसकेर सम्बन्ध टुंग्याउने बाटो राजेको पाइन्छ ।
कर्णाली प्रदेशमा सुर्खेत, रुकुमपश्चिम, सल्यान, जाजरकोट र दैलेखमा श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद बढी भएको पाइएको छ भने हुम्लामा सबैभन्दा न्यून छ । सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार निर्मलाकुमारी खड्का नयाँ मुलुकी संहिता लागू भएपछि उजुरीको चाप बढेको बताउँछिन् ।
२०७५ भदौ १ देखि नयाँ मुलुकी (देवानी र फौजदारी) संहिता लागू भएको थियो । उक्त कानुनले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न बाटो खुलेको छ । स्रेस्तेदार खड्का भन्छिन्, ‘पहिला पुरुषले सहजै सम्बन्धविच्छेद गर्न पाउँदैनथे, गर्न परे पनि वर्षौं लाग्थ्यो । अहिले श्रीमान् श्रीमती मिलेर आए २ दिन भित्रमा सम्बन्धविच्छेद हुन्छ ।’
जिल्ला अदालत सुर्खेतका अनुसार ५ वर्षमा सम्बन्धविच्छेद भएका २ हजार ३ सय ७६ मध्ये ८५ प्रतिशत महिलाले उजुरी दिएका हुन् । स्रेस्तेदार खड्काका अनुसार महिला आर्थिक रुपले आत्मनिर्भर हुनु र घरेलु हिंसालगायतबाट उन्मुक्ति पाउन सम्बन्धविच्छेदको निर्णयमा पुग्ने गरेको पाइन्छ । बहुविवाह, अनमेल, प्रेम विवाह र समान अस्तित्व नस्वीकार्ने प्रवृतिका कारण पनि उजुरी गर्नेको संख्या बढेको उनले बताइन् । महिलाले दिएको उजुरी हेर्ने हो श्रीमान्ले घरपरिवारप्रतिको जिम्मेवारी बहन नगर्ने, परस्त्रीसँग उठबस गर्ने जस्ता कारण मुख्य छन् भने पुरुषले दिएका उजुरीमा श्रीमती माइतीमै बस्ने, निःसन्तान र परपुरुषसँगको हेलमेललाई कारण दर्शाइएको पाइन्छ ।
अधिवक्ता दुर्गा सापकोटा घरेलु हिंसाको साटो पछिल्ला वर्ष सिधै अंशसहितको सम्बन्धविच्छेदको उजुरी आउन थालेको बताउँछन् । ‘पहिला कुटपिट, अंश जग्गाजमिनका मुद्दा आउने गर्थे तर अहिले बिहे गरेको एक वर्षमै चित्त बुझेन भनेर सम्बन्धविच्छेद गर्न आउने संख्या धेरै छ,’ उनी भन्छन्, ‘नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेद गर्न निकै सजिलो बनाएको छ ।’
बाबुआमाको सम्बन्धविच्छेद हुँदा बालबालिका सडकमा आउने, लागूपदार्थको कुलतमा फस्ने, बालविवाह गर्ने, पारिवारिक विचलन बढ्दै जाने, हत्या र आत्महत्याका घटना बढ्नेजस्ता दुष्परिणाम देखापरेको उनी बताउँछन् । सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका अनिल ढकाल आमाबुवा बीचको बेमेलले छोराछोरी गलत बाटोमा लागेको बताउँछन् । ‘बुवाआमाको सम्बन्ध राम्रो नहुँदा धेरै बालबालिकाको मानसिक सन्तुलनमा असर परेको छ,’ उनले भने, ‘सडकमा भेटिने अधिकांश बालबालिकाको भनाइ एउटै हुन्छ आमा बुवाको सम्बन्ध बिच्छेद र त्यसपछि द्रोसो बिहेको तनाव ।’
१७ वर्षको उमेरमा बिहेगरेकी दैलेखको भगवतीमाई गाउँपालिका–६ की मिना सिहं (नाम परिर्वतन) ले २४ वर्ष पुग्दा सम्बन्धविच्छेद गरिन् । उनको ४ वर्षको छोरा छ । श्रीमान् सेनाका जागिरे थिए । सम्बन्धविच्छेदको कारण खुलाउँदै उनी भन्छिन्, ‘मलाई बिहे गर्दा केही जागिर थिएन मैले धेरै संघर्ष गरेँ तर अहिले जागिर पाएपछि मलाई तसँग बस्ने मन छैन भित्रकै केटीसँग मेरो मायाप्रेम छ भन्छन् ।’ सम्बन्धविच्छेदका लागि श्रीमान्ले धेरै यातना दिएको उनी बताउँछिन् । सम्बन्धविच्छेदपछि उनले गाउँको बाँझो जमिनमात्र पाइन् । छोरा र आफूलाई सहयोग गर्ने आश्वासन दिए पनि सम्बन्धविच्छेदपछि बेवास्ता गर्दा उनी माइतीमै बस्दै आएकी छिन् ।
दैलेख जिल्ला अदालतको ५ वर्षको तथ्यांकमा ५ सय ३६ दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । आठबीस नगरपालिकाका उपप्रमुख कल्पना थापाले महिलाहरू आत्मनिर्भरसँगै हिंसा पनि बुझ्दै गएकाले उजुरीको संख्या बढेको बताउँछिन् । उनको भनाईमा श्रीमान्ले गाली गर्नु, बेवास्ता गर्नुलाई दैनिकी मान्ने महिलाको चेतनामा परिवर्तन भएर स्वतन्त्र ढंगले बाँच्न चाहेकाले सम्बन्धविच्छेदका मुद्दा धेरै अदालत पुगेका हुन् । रुकुम पश्चिम जिल्ला अदालतका स्रेस्तेदार मन्दिरा शाही सम्बन्धविच्छेद बढ्नुको मुख्य कारण वैदेशिक रोजगार र बालविवाह रहेको बताउँछिन् । ‘यहाँबाट अधिकांश महिला–पुरुष अमेरिका र विभिन्न मुलुकमा रोजगारीका लागि जान्छन् । फर्कँदा धेरैले सम्बन्धविच्छेद गर्छन्,’ उनले भनिन् । सानै उमेरमा बिहे गरेका कतिपय आमासँग नागरिकता समेत हुँदैन । जिल्ला अदालतमा आउने ८० प्रतिशत महिलासँग नागरिकता नहुने पाइएको उनले बताइन् । ‘सानो उमेरमा बिहे गर्ने र श्रीमानले वास्ता गर्न छोडेपछि नागरिकता समेत बनाउन पाउँदैनन्,’ उनले भनिन्, ‘आमाबुवा दुवै गुमाएका धेरै छन् जो नागरिकता बनाउनबाट वञ्चित छन्, एकल भएपछि छोराछोरी पालनपोषण समस्या भएको भन्दै अलपत्र परेको देखिन्छ ।’
बहुविवाहको उजुरीपछि माइतीको शरण
यस्तै बहुविवाहमा उजुरी गर्ने अधिकांश महिला माइतीको शरणमा पुग्ने गर्छन् । दुल्लु नगरपालिका–१३ मालिकाकी २३ वर्षीया विना कुमालका २६ वर्षका श्रीमान् सुरेन्द्र कुमालले दोस्रो बिहे गरे । सुरेन्द्रले विनासँग बिहेगरेको ८ वर्षमा दुल्लुकै १९ वर्षीया सपना विकलाई दोस्रो पत्नीका रूपमा भित्र्याए । ‘काखमा साना छोरी छन्, छोरीहरुलाई बुवाको आवश्यक पर्ने बेलामा अर्को श्रीमती भित्र्याए,’ उनले भनिन्, ‘दोस्रो श्रीमती बिहे गरे पनि हामीलाई हेर्छ होला भनेको श्रीमती लिएर सम्पर्कमै नरहेपछि बहुविवाहको उजुरी दिन बाध्य भएँ ।’ घरपरिवारले श्रीमान्विरुद्ध उजुरी दिएको भन्दै बस्न नदिएपछि उनी माइतीमा बस्दै आएकी छिन् । अदालतको पछिल्लो तथ्यांक हेर्ने हो भने पढाइ छोडेर बालविवाह गर्ने आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारण बहुविवाह र सम्बन्धविच्छेद गर्नेको संख्या बढेको पाइन्छ ।
अधिवक्ता सुरेन्द्र अधिकारीे सम्बन्धविच्छेदका उजुरी दिने क्रममा पुरुष पनि सक्रिय रहेको बताउँछन् । ‘मैले हेरेका मुद्दामा अधिकांश बालविवाहका कारण सम्बन्धविच्छेद गरेको देखेको छु,’ उनले भने, ‘सम्बन्धविच्छेद पछि छोराछोरीलाई श्रीमान्ले नहेरेको कारण फेरि अदालतमा धाउनेको संख्या पनि उत्तिकै बढेको छ ।’ सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै यसैगरी जाने हो भने मनमुटाव हुनेबित्तिकै अदालत पुग्नेको संख्यामा पनि कमी नहुने उनको बुझाइ छ । ५ वर्षयता कर्णालीका १० वटा जिल्ला अदालतमा सम्बन्धविच्छेदका ७ हजार ३ सय ७ मुद्दामा हालसम्म ५ हजार ९ सय ५८ फछर्यौट भएका छन् । तीमध्ये महिलाले दिएको ५ हजार ४३ र पुरुषले १ हजार ६ सय ३० उजुरीमा सम्बन्धविच्छेद भएको हो । अधिकांश उजुरीका प्रकार हेर्ने हो भने आधुनिक जीवनशैली र स्वतन्त्रता खोज्ने प्रवृत्ति, विश्वासको कमी, संस्कृति र सामाजिक परिर्वतन, आत्मसम्मानप्रति जागरुकता हुँदा सम्बन्धविच्छेद बढेको हो ।
रुकुम पश्चिम जिल्ला अदालतका स्रेष्तेदार शाहीले कानुनी सचेतनापछि उजुरी दिनेको संख्या धेरै रहेको बताइन् । उनले भनिन्, ‘शारीरिक, मानसिक वा भावानात्मक दुर्व्यवहारले सम्बन्ध टिकाइराख्न गाहृो हुने भएपछि मानिस एक्लै बस्न मन पराउँछन्।’
