हिउँ छल्न अन्नपातको जोहो तर हिमपात नै भएन
ताप्लेजुङ — अत्यधिक चिसो भएपछि तराईमा सरकारले आगो बाल्ने व्यवस्थासम्म गरिदिन्छ । तर, हिउँदमा झण्डै तीन महिना माइनस डिग्रीमा बसिरहेका हिमाली बस्तीका बासिन्दाले भने आफ्नै बलमा जिउनु पर्छ । चिसोबाट जोगिन ताप्लेजुङको घुन्सा, खम्बाछेनका बासिन्दा तुलनात्मक रूपमा छिटो घाम लाग्ने फलेमा र याङमाका चेनेमा र तोक्पेगोलाका पापुङ झर्छन् ।
फले र चेनेमा पनि हरेक रात तापक्रम माइनस हुने अनुमान छ । त्यसका लागि यहाँका बासिन्दाले ओढ्ने–ओछ्याउनेको राम्रो बन्दोबस्त मिलाउनु पर्छ । बिहान–बेलुका र घाम नलागे दिउँसोका लागि पनि घर न्यानो बनाउन आगो बाल्न दाउराको जोहो मज्जैले गर्नुपर्छ ।
साह्रै चिसो भए राति उठेर पनि आगो बाल्नु पर्छ । तीन महिनाका लागि खाद्यान्नको पूर्वतयारी हुन्छ । हिउँ पर्न थालेपछि घर भित्रै थुनिएर बस्नुपर्ने हुनसक्ने भएकाले मानसिक रूपमा तयार बन्नुपर्छ । विडम्बना, यसपाली पुस सकिने बेलासम्म हिउँ परेको छैन । चिसो भने असाध्यै छ ।
फक्ताङलुङ गाउँपालिका–६ फलेका मिङमा शेर्पाले तीन महिनाका लागि पुग्ने गरी तापेथोकबाट चौंरी र खच्चडमा बोकाएर दाल–चामल, नुन–तेल, मरमसलाको बन्दोबस्त मिलाएका छन् । दुहुना चौंरीका लागि घरको मुनिबाट घाँस र खोलेको व्यवस्थापन गरेका छन् । पानी तताएर दिन त्यसमा मिसाउने नुन र भुस तयारी छ । थारो चौंरी र याकलाई ठूला खर्क र टारतिर खेदिसकेका छन् । हिउँ पर्ने सिजन भएकाले मिङमाको ध्यान आफू, परिवार र चौपायाको सुरक्षामा केन्द्रित छ । स्थानीय बासिन्दा मंसिरदेखि नै हिउँद छल्ने तयारीमा बसे पनि अहिलेसम्म हिउँ भने परेको छैन । ‘केही दिनअघि एक/दुई चोटी अलिअलि सेतोसेतो भयो, खै के भयो हिउँ पर्न सकेको छैन,’ मिङमाले भने । हिउँ र चिसोबाट जोगिन घुन्सा, खम्बाछेनका बासिन्दा उनको आसपासका घरमा आएर बसेका छन् ।
यहाँ अहिले पनि चिसो अत्यधिक छ । घाम नलाग्दासम्म बाहिर निस्कन कठिन हुन्छ । बिहान–बेलुका आगो तापेर बस्नुको विकल्प छैन । मुहानमा पानी जम्न थालेको छ । ‘यतिबेला टम्म हिउँ पर्दिए राम्रो हुने थियो,’ मिङमाले थपे, ‘हिउँ परेपछि उति सारो हावा चल्दैन, त्यसले गर्दा न्यानो पनि हुन्छ । जमिन मज्जाले भिज्छ र घाँस पलाउने सुरसार सुरु हुन्छ ।’
मौसमी चक्रमा आएको परिवर्तनले हिमाली क्षेत्रका बासिन्दालाई पिरोलेको पनि छ । उनीहरू न हिउँ पर्दैन भनेर दिगो योजना बनाएर ढुक्कले काम गर्न सक्छन्, न पुरानो मौसमी चक्र अनुसार नै चल्न पाएका छन् ।
फले स्थान घुन्सादेखि एक घण्टाको पैदलमा छ । घुन्सा, खम्बाछेनका मानिस यहाँ सर्नुको कारण यो ठाउँ पारिलो छ । छोटा दिनमा पनि यहाँ बिहान ११ बजेतिर घाम आउँछ र बेलुका ४ बजेसम्म रहन्छ । त्यसले नै राहत दिने गरेको छ ।
हिमाली क्षेत्रका बासिन्दाको मुख्य पेशा पशुपालन हो । यहाँ कसैले चौंरी, याक दुई/तीन दर्जनसम्म पालेका छन् भने कम हुनेका १०/१५ वटासम्म रहेको फलेकी फुछिरिङ शेर्पा बताउँछिन् । चौंरी, याकबाहेक बाख्रा, च्याङ्ग्रा, कुखुरा पनि पाल्ने गरेका छन् । चिसोमा तिनलाई पनि सुरक्षित गरेर आफू सुरक्षित हुनु मान्छेको कर्तव्य हो । मान्छेका लागि न्यानो रहन, चौपायलाई सुरक्षित राख्न दाउरा सबैभन्दा बढी उपयोगी हुने गरेको छ । जंगलका रुखको मात्रै नभएर स्थानीयले चौपायाको गोबरलाई पनि बाल्नका लागि प्रयोग गर्न सुकाएर राख्ने गरेका छन् ।
छिटो बल्ने सिक्रा (मसिना) दाउरादेखि लामो समय तातो रहने गोबरको प्रयोग गर्छन् । प्रत्येक घरले मंसिरदेखि फागुनसम्म पुग्ने गरी अन्नपातको जोहो गर्नैपर्ने फुछिरिङ बताउँछिन् । ‘हिउँ पर्न थालेपछि बाटो बन्द भएर ओसार्न सकिदैन,’ उनले भनिन्, ‘कहिले त निकैदिन घरभित्रै बस्नुपर्ने हुन्छ, बाहिर हिँडडुल गर्न कठिन हुन्छ, त्यसैले तयारी भएर बस्नुपर्छ ।’
समुद्री सहतदेखि ३१ सय मिटर उचाइँमा बसेका स्थानीयले घर बनाउँदै दाउरा राख्ने ठाउँको परिकल्पना गरेका हुन्छन् । चौपायको गोठ र खोर न्यानो हुनेगरी बनाएका हुन्छन् । तापक्रम मापन गर्ने उपकरण नभएको यी क्षेत्रमा पानी जाम हुन थालेपछि स्थानीयले तापक्रम माइनस हुन थालेको आँकलन गर्छन् । मुहान तथा पाइपमा चिसोले पानी जमेपछि त्यहाँ तातोपानी लगेर खन्याउँछन् । त्यसले पनि नभए बल प्रयोग गरेर जाम खुलाएर पानी वहने बनाउनुपर्ने उनीहरु सुनाउँछन् ।
हिउँ पर्न थालेपछि त्यही हिउँलाई उठाएर ठूलो भाडामा तताएर पानी बनाउँछन् । फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार ओलाङचुङगोला र घुन्सामा दुई वर्षअघि घुन्सा फाउण्डेसनकी अध्यक्ष याङजुङ शेर्पाले तापक्रम नाप्ने मेसिन उपलब्ध गराएकी थिइन् । त्यसले देखाएको तापक्रम अनुसार मंसिरदेखि फागुन लाग्दासम्मनै प्रायः तापक्रम माइनस देखिएको थियो । माइनस १७ डिग्रीसम्म मापन गरेको छेतेनको दाबी छ । राम्रो ब्याट्री लगाए पनि डाउन भइहाल्ने भएकाले मेसिनलाई नियमित राख्न नसकिएको छेतेनले बताए ।
६/७ वर्ष अगाडि जस्तो चाँडो हिउँ नपरे पनि चिसो भने उस्तै भइरहेको हिमाली क्षेत्रका बासिन्दाको दाबी छ । सामान्यतया ताप्लेजुङका ३ हजार मिटर माथिका बासिन्दाले हिउँको प्रतीक्षा र चिसोको सामना गर्नु परेको छ । घुन्सा, फले, ग्याब्ला, याङमा, गोला, तोप्केगोलाका करिब ४५ बढी परिवार यसको साक्षीको रूपमा रहेका छन् ।
‘सरकारले चिसोमा तराईमा दाउरा किनिदिने, आगो बाल्ने व्यवस्था मिलाइदिने, न्यानो कपडा वितरण गर्ने जस्ता गतिविधि गरे पनि माइनस तापक्रम हुने हिमाली गाउँमा चिसोको सामना आफैंले गर्नुपर्ने डण्डु बताउँछन् । ओलाङचुङगोलाका नुपु शेर्पा चिसो उस्तै समयमा सुरु भएर अन्त हुने तर हिउँ पर्ने क्रम परिवर्तन हुँदा पशुपालन र पानीको समस्या भएको बताउँछन् । बेलामा हिउँ परिदिए पगालेर प्रयोग गर्न मिल्ने उनले बताए ।
चिसोमा यहाँका विद्यालय तीन महिना बन्द हुन्छन् । बर्खायामको असार साउनमा भने यहाँ पढाइ भइरहन्छ । एक दशकसम्म घुन्सा आधारभूत विद्यालयको नेतृत्व गरेका लीला चक्र गुरुङ आफूले मंसिरमै हिउँले डुबेको बस्ती पनि भोगेको र माघसम्म हिउँनै नपरेको पनि देखेको बताउँछन् । ‘हामीले कात्तिकमै हिउँमाथि राखेर पनि पढायौं,’ गुरुङले भने,‘पुस–माघमा हिउँ नपरेर फागुन–चैतमा हिउँको रास कुल्चदै स्कुल गएर पनि पढायौं ।’ दुई वर्ष अघिमात्रै अवकाश भएका उनले हिउँ नपरे पनि यहाँ मंसिर अन्तिमदेखि चिसोले टिक्नै नसक्ने अवस्था हुने गरेको बताउँछन् । ‘फागुन–चैतमा घामले जित्दो रहेछ र टिक्न सकिने रहेछ,’ उनले थपे, ‘हिउँ नपरे पनि मंसिरदेखि माघसम्म त बस्न कठिन हुन्छ ।’
हिउँदको बेला यस्ता बस्तीबाट बाहिर जान नपाएर उपचारका लागि पनि कठिनाई हुने गरेको छ । अहेब/अनमिले सामान्य उपचार दिनेबाहेक हिउँदमा जटिल बिरामीलाई समस्या हुने गरेको स्थानीय बताउँछन् ।
अन्य बेला खेतीपाती, खर्कतिर, व्यापारका सिलसिलामा रहने स्थानीय यतिबेला परिवारसँग मज्जा बस्न पाइने गरेको बताउँछन् । ‘चिसोको लाभ पनि छ,’ मिङमाले भने, ‘हामी यता प्रायः पशुपालन गर्नेहरु छौं, धेरै गोठमा बस्नुपर्छ तर परिवारसँग घरमा बस्न पाउने बेला चाँही यो मात्रै हो ।’ ८–१० वर्षअघिसम्म आकाशमा बादल लागेर बर्सन थाल्दा पानी नझरेर हिउँ मात्रै झर्ने भए पनि पछिल्ला वर्ष पानी नै पर्न थालेको मिङमा बताउँछन् । पहिला मंसिर अन्तिम, पुसदेखि सुरु हुने हिमपात फागुन/चैतसम्मै रहन्थ्यो । फागुनमा तातो सुरु हुन थालेपछि स्थानीयले हिउँको पर्बाह नगरी काममा फर्कन्थे,’ मिङमा भन्छन्, ‘खै मौसमी चक्र हो की जलवायु परिवर्तन हो, हामी हिमालमा बस्ने मान्छेलाई बुझिनसक्नु पो बनायो ।’
