शेरा दरबार : पृथ्वीनारायण शाहले बनाए, माओवादीले जलाए

पृथ्वीनारायण शाहद्वारा वि.सं. १८२२ मा शीतकालीन दरबारका रूपमा नुवाकोटमा शेरा दरबार निर्माण

पुस २४, २०८१

दीपक सापकोटा

Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoists

नुवाकोट — मध्य हिउँदको उत्कर्षले शेरा दरबार परिसरमा मानिसको त्यति चहलपहल थिएन । जनवरी– २०२५ को पहिलो बिहान तादी किनारमा चिसो बतास चलिरहेकै थियो । वनमारा, गन्धे झार र दूबोले भरिएको फराकिलो चौरका बीचबीचमा सिरु, समी, सिसौ, इपिलिपी, अशोका, उन्यु, नर्कट, अरेली काँडाका बोट–बुट्यानले जंगलको बोध गराउँथे । चौरमा भेटिएकाहरूको पनि नाक–मुख गलबन्दीले बेरिएको थियो । तर, यो चिसोमा पनि शेरा दरबारको खबरले राजनीतिक गर्मी बढेको थियो ।

तीतेपातीका झार हलक्क बढेका थिए । हिउँदको कुहिरोमय त्यो दिन मैलो आकाशमुनि नुवाकोटको शेरा दरबार चौरमा नर्कटका लामा–लामा पात र डाँठ हावामा बयली खेलिरहेका थिए । नर्कटघारीनेर उभिएर विस्तृत चौरतिर हेर्दा दरबार क्षेत्र एक निर्जन उपत्यकाझैं लाग्थ्यो । 

दरबारको प्राचीन वास्तुकलाको झल्को दिने ढल्ला–ढल्लाझैं उभिएको गाह्रोमा पीपल र सिसौको रूख उम्रिएको थियो । कुनै बेला यहाँ घोडा बाँध्ने तबेला थियो । तबेलाको गाह्रोबाट फुस्किएका पुराना इँटा भुइँमा छरिएका थिए । 

भग्न दरबारका इँटाका स–साना गाह्रा वनमारा झारले पुरिएका थिए । बडो दुःखले झाडी प्रवेश गरेपछि मात्रै दरबारका चिन्हहरू देखिन्थे । र, ती चिन्हहरूले झल्काउँथ्यो– यहाँ कुनै बेला भव्यतम् दरबार थियो । घामले डढेर खैरो भइसकेका, ओइलाएर पहेँलिएका झारपात यत्रतत्र देखिन्थे । दरबार पस्ने बाटो किनारमा अशोकका रूख लहरै उभिएका थिए । बाटोमा बुङ्बुङ्ती धूलो उडिरहन्थ्यो । तादी खोलामाथिको अग्लो झोलुंगे पुलमा ठूलठूला लठ्ठा जोल्ठिएका थिए । 

दरबारको दक्षिण (चौरको बीच) मा एउटा ठूलो समीको रूख थियो । त्यो रूखको फेदका ढुंगाहरू अबिर पोतिएर रातै थिए । छेउमै ओइलाएका फूल र अक्षता भुइँमा छरिएका थिए । त्यस रूखलाई उतिबेला ‘देवस्थल’ भनिन्थ्यो । भनिन्छ, पृथ्वीनारायण शाहको पालादेखिकै देवता–मूर्तिहरू रूखमुनि छन् ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार क्षेत्रको चौर पूरै सुनसान थियो । थोरै खेतीबाहेकको पूरै जग्गा विशाल घारीमा फेरिएको थियो ।

अहिलेको दरबार–दृश्य यस्तो छ । तर, इतिहासमा यो दरबार क्षेत्र कस्तो थियो ? वनमारा झारले पुरिएको यो दरबारमा पृथ्वीनारायण शाहको समयमा कमलको फूल फूल्थ्यो । दरबारमा एउटा कमलपोखरी थियो, जहाँ सेता–वैजनी कमलका फूल फुलिरहन्थे । इतिहास अध्ययनले भन्छ– नगरको शोभाका लागि त्यसताका कमलपोखरीहरू अनिवार्य मानिन्थ्यो । Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoists

शेरा दरबारमा वि.सं. २०३८ मा पुगेका थिए, इतिहासकार दिनेशराज पन्त । उनको स्मृतिमा जुद्धशमशेरले पुनर्निर्माण गरेको र उनैले ‘शेरा’ नाम दिएको त्यो दरबारको चित्र यस्तो छ, ‘सेतो रङको थियो दरबार । दरबार वा घर जे भन्न पनि मिल्ने त्यो सानो भवन थियो । मानिसहरू भन्थे– त्यो श्री ३ जुद्धशमशेरको सम्पत्ति हो ।’ 

नुवाकोटका कांग्रेस नेता अर्जुननरसिंह केसीको सम्झनामा त्यो शेरा दरबार सुन्दर वास्तुकलाले निर्मित थियो । ०१४ सालमा देखेको दरबारको चित्र उनको मस्तिष्कमा अंकित छ । ‘तादीको किनारबाट हिँडेर नुवाकोट सदरमुकाम जाँदा त्यो व्यवस्थित दरबार देखिन्थ्यो । खासमा त्यो एक हवेली थियो,’ केसी भन्छन्, ‘एकपटक हेलेन शाहले डिनरमा बोलाउँदा म गएको थिएँ, ०४८ सालतिर । दरबार ठूलो थिएन । त्यसलाई मान्छेहरू ‘शेराको हवेली’ भन्थे । त्यो घरभन्दा माथि र दरबारभन्दा तल अनुभव हुने भवन थियो ।’ 

०००

इतिहासकार धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठको किताब ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ मा वर्णन गरिएको दरबार–कथाले फरक संसारमा पुर्‍याउँछ । दरबारमा अनेक फूलको बगैंचा ‘कुसुमबाटी’ थियो । सायद त्यसैले यस दरबार क्षेत्रलाई ‘शेराबगैंचा’ भनियो, जहाँ भव्य आँपको पनि बगैंचा थियो । पृथ्वीनारायण शाहले कान्तिपुरमाथि विजय हात पारेपछि त्यो सहर राजधानी घोषित भयो । र, उनको मुकाम कान्तिपुरमै भयो । उनी चाहन्थे– नुवाकोटको अवस्था कहिल्यै नबिग्रोस् र सहर गुल्जार रहिरहोस् । त्यस हेतुले उनले केही विशेष प्रशासनिक नियम बनाएका थिए । ‘त्यसअनुसार नुवाकोटभरिका जनताका घरजग्गामा सरकारतर्फबाट हस्तक्षेप नगर्ने, नुवाकोट छोडी कोही अन्त बस्न गयो भने त्यसले खाइपाइ आएको घर–खेत अरु नयाँ बस्न आउनेलाई दिलाउने, घर–घडेरी पाताल हुन नदिने, बारी धेरै हुनेको काटी अरूलाई घर बनाउन दिने, सहर गुल्जार राख्ने, नुवाकोटका मानिसले अन्त झारा जानु नपर्ने आदि नियम थिए,’ नुवाकोटको ऐतिहासिक रूपरेखा किताबमा उल्लेख छ । Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoists

समय–खुड्किलोको कुनै पुरानो कालखण्डतिर चियाउने हो भने शेरा दरबारको परिदृश्य पूरै फरक देखिन्छ । त्यो गुल्जार दरबारको कथा मिथक वा किंवदन्तीजस्तै सुनिन सक्छ । 

पृथ्वीनारायण शाहले नुवाकोट जितेको लामो कालपछि शीतकालीन दरबारका रूपमा नुवाकोटमा शेरा दरबार निर्माण गरेका थिए, वि.सं. १८२२ मा । नुवाकोटको साततले दरबार ग्रीष्मकालीन दरबार थियो । इतिहास भन्छ– उनी ग्रीष्ममा नुवाकोट डाँडाको साततले दरबार र हिउँदमा तादी किनारको शेराबेसी दरबारमा बस्थे । इतिहासकारहरू लेख्छन्– जीवनको उत्तरार्द्धमा उनले ‘दिव्योपदेश’ यही तादी किनारको शेरा दरबारबाट दिएका थिए । राजा राजेन्द्रविक्रम शाह र रानी साम्राज्यलक्ष्मीदेवी वि.सं. १८९७–९८ मा नुवाकोट घुम्न जाँदा शेरा दरबारमै बास बसेका थिए ।

‘४ जना केटाहरू आए, दरबारका स्टाफलाई बाहिर निकाले र आगो लगाए । त्यो आगो एक सातासम्मै निभेन, दरबारबाट धूवाँ आइरह्यो ।'  –किशोर डंगोल

शेराबेसी दरबार भत्कियो– वि.सं. १९०३ मा । त्यसलाई वि.सं. १९९९ मा पुनर्निर्माण गरेका थिए– जुद्धशमशेरले, दरबारकै पुराना इँटा प्रयोग गरेर । द्वन्द्वका बेला माओवादीले १२ पुस, २०५९ मा त्यो तीनतले पुरानो दरबारमा आगो झोसे । आगोले दरबारका केही संरचना खरानी बनायो । आगो लाग्दा दरबारका सञ्चालक थिए– नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठ । 

०००

किंवदन्तीजस्तै छ, शेरा दरबार । त्यस दरबारका शासकहरू पनि मिथक–कथा बनेका छन् । शेरा दरबारको पछिल्लो चर्चासँगै त्यो दरबार कथा अब इतिहास–भण्डारबाट बाहिर निस्केको छ ।

नुवाकोटको शेरा दरबार र त्यसले चर्चेको जग्गा सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले भनेको छ– दरबारको १६४ रोपनी १३ आना जग्गा दुरुपयोग भएको छ । र, उसले मालपोत ऐनअनुसार सरकारका नाममा सार्ने प्रक्रिया अघि बढाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई चिठी पठाएको छ । 

सीआईबीका अनुसार शेरा दरबारको कुल क्षेत्रफल १८४ रोपनी ४ आना १ पैसा थियो । कालान्तरमा यो जग्गा अंशबन्डा भई राजपरिवार सदस्य हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको भागमा परेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ ले हदबन्दीसम्बन्धी व्यवस्था गरेपछि शेरा दरबार र त्यसले चर्चेको जग्गा सरकारका नाममा सर्नुपर्ने थियो । तर गौरीशंकर फार्मिङ स्थापना गरेर हदबन्दीभन्दा बढी रहेको १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा कृषिसम्बन्धी प्रयोजनमा रहने गरी त्यही कम्पनीका नाममा नापी गराइएको थियो । गौरीशंकर फार्मिङमा सञ्चालक र सेयरधनी हेलन र विजय राज्यलक्ष्मी शाह दुवै थिए । 

बाँकी जग्गामध्ये १२ रोपनी १३ आना १ पैसा ३ दाम हेलेन र ६ रोपनी ९ आना १ पैसा २ दाम जयन्ती शाहका नाममा नापी गरियो । तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती एवं नरशमशेरकी छोरी हेलेन जुद्धशमशेरका छोरा बहादुरशमशेरकी नातिनी हुन् । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरियो । अन्नपूर्ण फार्मिङमा विजयाराज्यलक्ष्मी शाहका नाममा रहेको सेयर २०५२ सालमा जयन्ती शाहका नाममा हस्तान्तरण भयो । त्यही वर्ष हेलेन र जयन्तीका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

अन्नपूर्ण फार्मिङको सेयरधनीका रूपमा ध्रुवलाल श्रेष्ठ र रजनी श्रेष्ठ २०६६ माघ ७ मा प्रवेश गरे । ६ जना सेयरधनी कायम भएको एक महिनापछि भुवनलाल राजभण्डारी पनि थपिए । अन्नपूर्ण फार्मिङको २०७२ चैत ५ मा भएको साधारणसभाको निर्णय र सेयर खरिदबिक्री लिखतअनुसार नयाँ सेयरधनीका रूपमा विकेश श्रेष्ठको प्रवेश भएको देखिन्छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०६५ सालमा प्रधानमन्त्री भएका बेला उनको स्वकीय सचिव थिए । उनी माओवादीका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । 

विकेशको प्रवेश भएका बेला अन्नपूर्ण फार्मिङमा अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठ मात्र सेयरधनी थिए । तर २०७२ चैत २५ को निर्णयबाट सुमन पारिक नयाँ सेयरधनी थपिएका थिए । पछि विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रहे भने ध्रुवलाल श्रेष्ठ र सुमन पारिक बाहिरिएर विकेशका छोरा मनोबल भित्रिए । सीआईबीको प्रतिवेदनअनुसार गत कात्तिकसम्म आइपुग्दा उक्त कम्पनीको सञ्चालकमा विकेश र मनोबल बाबुछोरा मात्रै छन् ।

सीआईबीको निष्कर्ष छ– विकेशले कृषि फर्म सञ्चालन गर्छु त भने तर जग्गा प्लानिङ गरी प्रयोजनविपरीत भोगचलनमा लागे । जग्गा फरक प्रयोजनमा रहेको पाइएपछि सीआईबीले सरकारमातहत ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ । ‘त्यस जग्गाका सन्दर्भमा कम्पनी खोल्ने, अन्यत्र उपयोग गर्ने कार्यमा संलग्न रहेका सरकारी अधिकारीमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखिपठाएका छौं,’ सीआईबीका प्रमुख दीपक थापाले भने । हदबन्दीको प्रयोजनविपरीत जग्गा चलाएको भएर त्यसलाई सरकारीकरण गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको छ । 

०००

शेरा दरबारमाथि उतिसारो खोजिमेली भएको छैन, तर दुई विद्वान् धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठले आफ्ना किताब र आलेखमा त्यस दरबारबारे केही खोजी गरेका छन् । यो रिपोर्टको इतिहास ती इतिहासकारकै किताबमा आधारित छ । ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ किताब र ‘श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट–माडी दरबार’ आलेखमा विद्वान्‌द्वयले त्यस दरबारको उत्थान र पतनको ग्राफ लेखेका छन् ।

 Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoistsभग्नावशेषमा परिणत भएको शेरा दरबार

आलेखमा पृथ्वीनारायणकालीन शेरा दरबारको बन्दीखानाको वर्णन छ, ‘दरबारमा भुइँमा निकै तलसम्म खनेर चारपाटे कोठाजस्तो बन्दीखाना बनाइएको थियो । यसको माथिल्लो भाग खुल्लै छाडिएको थियो । कैदीलाई पटुकाले कम्मरमा बाँधी तल पुर्‍याइन्थ्यो र त्यसैगरी तानेर माथि ल्याइन्थ्यो । बर्खामा पानी र हिउँदमा शीतबाट बचाउन छतका रूपमा पाल हालिन्थ्यो ।’ 

उहिलेको टिपोटमा नुवाकोट शेराबेशीको शेरा दरबारलाई नेपाल भाषामा ‘शेरा व्यांसी लायकु’ लेखिएको छ । लायकुलाई यसरी अर्थ्याइन्छ– लायकु अर्थात् राजकुल वा लालकुल । लालकुलबाटै लायकु शब्द व्युत्पत्ति भएको हो । त्यो कथामा कस्तो थियो त शेरा दरबार ? 

तादी किनारपट्टिको दक्षिण द्वारबाट शेरा दरबारभित्र पसेपछि पूर्वपट्टि एक निकै गहिरो इनार थियो । इनार निर्माणमा प्रयोग भएका इँटा तीनकुने आकारका र आधा भाग मात्रै पोलिएका थिए । मानिसहरूको विश्वास थियो– पानी छान्न सहज होस् भनेर इँटा आधा मात्रै पोलिएको हो र त्यो विधिले पानी स्वादिलो र सफा पार्थ्यो । कमलपोखरीको पूर्वपट्टि बैठक कक्ष थियो । त्यसलाई त्यसबेला कचहरी–घर पनि भनिन्थ्यो । 

नुवाकोट विजयपछि पृथ्वीनारायण शाह पूर्वतिर बढ्ने योजनामा थिए । त्यसबेला उनी केही समय नुवाकोट डाँडाको मल्लकालीन दरबार ‘रङ्गमहल’ मा बसे । वि.सं. १८१९ तिर उनले नुवाकोट–डाँडोमा भव्य साततले दरबार बनाउन लगाए । 

‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ मा लेखिएको छ, ‘तादी किनारको शेरा बगैंचामा पनि मल्लकालदेखि नै एउटा राजभवन थियो । वि.सं. १८२२ मा पृथ्वीनारायणले तादी किनारमा पनि भव्य दरबार बनाउन लगाए । त्यसताका उनी कीर्तिपुर विजयको योजनामा थिए । त्यसबेला उनी नुवाकोटमा थिएनन् । त्यसैले नुवाकोटमाडी दरबारको निर्माण तत्कालीन युवराजाधिराज प्रतापसिंह शाहको देखरेखमा भएको थियो । त्यसो हुनाले त्यहाँ रहेको शिलालेखमा प्रतापसिंह शाहको विशेष वर्णन छ । त्यहाँ फागुको उत्सवमा नुवाकोटका प्रजाहरूसाथ सम्मिलित भई प्रतापसिंह शाहले गाना गाएको चर्चा अभिलेखमा छ । त्यस शिलालेखमा दरबारलाई पर्खालले घेरेको वर्णन छ । शिलालेखमा रंगमहल बनाएको वर्णन पनि छ, जसलाई स्थानीय बासिन्दा ‘कचहरी घर’ पनि भन्दा रहेछन् ।’

धनवज्र र टेकबहादुरका अनुसार पृथ्वीनारायण शाहले जनतालाई दिव्योपदेश दिएको यो त्यही शेरा दरबार थियो, जहाँ उनी शीतकालमा आराम गर्थे । एकीकरण अभियानपछि पृथ्वीनारायणले नुवाकोटलाई राजधानी घोषित गरे । ठेगाना ‘मुकाम नुवाकोट’ लेखिएको उनले पठाएका पत्रहरू पाइन्छन् । हिउँदमा लेखिएका पत्रहरूमा ‘मुकाम नुवाकोट माडी’ र अरू बेलाका पत्रमा चाहिँ ‘नुवाकोट’ मात्र लेखिएको इतिहासकारले उल्लेख गरेका छन् । तादी किनारको नुवाकोटमाडी (शेरा बगैंचा इलाका) उहीबेलादेखि व्यापारको केन्द्र थियो । यहाँ मधेसका व्यापारी हिउँदमा व्यापार गर्न आइपुग्थे र यही थियो– विशेष भन्सार अड्डा । त्यसैले नुवाकोट माडी हिउँदमा विशेष आकर्षणको केन्द्र थियो । Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoists

शेरा दरबारमा माओवादीले द्वन्द्वकालमा आगो लगाएको दृश्य पनि देखे चन्द्रबहादुर राईले । र, उनैले दनदनी बलिरहेको दरबारबाट सामान–भाँडाकुँडा बाहिर निकाले । आगो लगाएपछि माओवादीले दरबार क्षेत्रमा आफ्नो झण्डा गाड्यो र कब्जा गर्‍यो । चन्द्रका अनुसार त्यसबेला दरबारको हेरचाह ज्ञानकुमार श्रेष्ठले गर्थे । 

नुवाकोटका वृद्धहरू अझै भन्छन्– पृथ्वीनारायण हिउँदमा शेराबेसी दरबारमा बस्थे । उनी एकीकरण अभियानमा जाँदा नुवाकोट राजधानीमा युवराज प्रतापसिंह शाहलाई स्थानीय प्रशासनको अभिभारा सुम्पिएका थिए । दरबार बनाउँदा उनी नुवाकोट थिएनन्, कीर्तिपुर विजय अभियानमा थिए । त्यसैले यो दरबार निर्माणको सम्पूर्ण काम प्रतापसिंह शाहले हेरेका थिए । 

धनवज्र र टेकबहादुरले लेखेअनुसार बहादुर शाहको कर्मक्षेत्र नुवाकोट थियो । त्यसैले उनी बरोबर नुवाकोटको माडी दरबारमा गइ बसिरहन्थे । नेपाल–चीन युद्ध भइ चिनियाँ फौज रसुवाको धैबुङसम्म आइपुग्दा सो आक्रमण रोक्न अत्यावश्यक प्रबन्धका लागि बहादुर शाह नुवाकोटको माडी दरबारमै बसेका थिए । बहादुर शाहले चीन–गोरखाबीचको असमझदारीमा सहजीकरण गर्न ब्रिटिस सरकारले मध्यस्थकर्ताका रूपमा पठाएका कर्क प्याट्रिकलाई त्रिशूली किनार (साँघुनेरको ठाउँ, जसलाई ढुङ्गे भनिन्छ) मा भेटेका थिए । 

०००

वनमारा झारले पुरिएको शेरा दरबारको त्यो फराकिलो चौरबाट पूर्वतिर एउटा नीलो गेट थियो । गेटभित्र रातो जस्तापाताको छानो भएको टहरो, एउटा घर र कुनै बेला सञ्चालनमा रहेको कृषि क्याम्पस पनि थियो । त्यो त्यही टहरो थियो, जुन कुनै बेला हेलेन शाहको विश्रामस्थल हुने गर्थ्यो । जीवनका केही स्वर्णिम समय उनले यही टहरोमा बिताएकी थिइन् । टहरोको प्राङ्गणमा आँपका रूख र केही फूलहरू थिए । गत साता रिपोर्टिङका क्रममा शेरा दरबारमा भेटिएका चन्द्रबहादुर राई (६०) ले आँपको रूखमुनि हेलेनले आराम गरिरहेका दृश्य पनि देखेको बताए । कुनै बेला उदास दिनमा त्यही टहरोको रातो रङको झ्यालबाट उदास टोल्हाइरहेकी हेलेन पनि देखे । चन्द्रका बुबा यही दरबारका पाले थिए, जो आँपको बाक्लो बगैंचा हेरचाह गर्थे । 

शेरा दरबारमा माओवादीले द्वन्द्वकालमा आगो लगाएको दृश्य पनि देखे चन्द्रले । र, उनैले दनदनी बलिरहेको दरबारबाट सामान–भाँडाकुँडा बाहिर निकाले । आगो लगाएपछि माओवादीले दरबार क्षेत्रमा आफ्नो झण्डा गाड्यो र कब्जा गर्‍यो । चन्द्रका अनुसार त्यसबेला दरबारको हेरचाह ज्ञानकुमार श्रेष्ठले गर्थे । 

किशोर डंगोल (५४) को घर विदुर नगरपालिका–२ मा छ । उनले देख्दा ‘शेरा दरबार सुन्दर र चिटिक्क'को थियो । किशोरका बुबालाई हेलेन शाहले काठमाडाैंस्थित होटल अन्नपूर्णमा ‘कुक’ को जागिर दिलाइदिएकी थिइन्, त्यसैले किशोर हेलेनसँग अझै आभारी छन् । Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoists

शेरा दरबार क्षेत्रमा विकेश श्रेष्ठले बनाएको घर

माओवादीले २०५९ पुस १२ मा यो दरबारमा आगो लगाएको सम्झना उस्तै आलो छ उनमा । ‘४ जना केटाहरू आए, दरबारका स्टाफलाई बाहिर निकाले र आगो लगाए’, किशोर भन्छन्, ‘त्यो आगो एक सातासम्मै निभेन, दरबारबाट धूवाँ आइरह्यो ।’ उनलाई दरबारको यो जग्गा अहिले कसका नाममा छ, त्यो ज्ञान छैन । भन्छन्, ‘यो सार्वजनिक सम्पत्ति नै हो जस्तो लाग्छ ।’ 

विकेश श्रेष्ठको ठूलो बंगला छ, दरबार परिसरमा र खेती भइरहेको केही जग्गा पनि । त्यो सम्पत्ति कुरिरहेको छ, मुगुकी रीता क्षेत्री (२७) को परिवारले । हामीले भेट्दा ‘आफ्ना मालिक विकेशको आलु गोड्ने खेताला छन्’ भन्दै थिइन् र खेतालालाई आलुकै तरकारी पकाइरहेकी थिइन् । ‘फुर्सद एकैछिन हुन्न,’ उनले भनिन् । उनी यहाँ खेती गर्न आएकी थिइन्, ७ वर्षअघि । त्यसबेला उनी बूढानीलकण्ठ बस्थिन् । उनी विकेशको जग्गामा धान, आलु, तोरी खेती गर्छिन् श्रीमान नरेशसँगै । भन्छिन्, ‘उहाँको बगरमा पनि छुट्टै खेती छ । हामीले नभ्याउँदा अरूलाई पनि खेताला लगाउँछौं । राम्रै भया छ अहिलेसम्म ।’ 

हीरालाल श्रेष्ठ (७६) को एउटा घर छ– हेलेनको टहरोअघि । शेरा दरबार क्षेत्रको १ सय ६४ रोपनी १३ आना २ दामभन्दा बाहिर १९ रोपनी ७ आनाभित्रको त्यो एक टुक्रा जग्गामा हीरालालको पनि घर छ । १९ रोपनीमा उनी धान रोप्छन्, आँपको बोट छ, बाँकी जग्गा बाँझो छ । Shera Darbar: Built by Prithvi Narayan Shah, burnt by Maoistsपुरानाे शेरा दरबार

उनको दैनिकी विशाल शेरा बगैंचा टहल्दै बित्छ । घरअघिको तादी नदी हेर्नु, फूल स्याहार्नु, झार टिप्नु उनको खास ‘काम’ हो । नुवाकोट नर्जामण्डपबाट यहाँ बसाइँ सरेका हुन् उनी १४ वर्षअघि, जो यो दरबार क्षेत्रबारे धेरै जानकार छैनन् । ‘बाघबहादुरसँग २० वर्षअघि मेरा भान्जा ध्रुवलाल श्रेष्ठ र धननारायण श्रेष्ठले किनेका हुन्, यो जग्गा उनीहरू दुइका नाममा छ । जग्गामा नारायणलाल श्रेष्ठ, दीपक रिजालसहित ७ जनाको सेयर छ, मेरो पनि छ,’ हीरालाल भन्छन्, ‘मैले सुनेको हुँ– यो हेलेन शाहको नामको जग्गा थियो । यहाँको दरबार माओवादीले जलाएको मात्रै सुनेको हुँ ।’ 

हीरालालको घरैअघि कुनै बेला खुलेर बन्द भइसकेको वाग्मती कृषि कलेजको भवन छ । हीरालालको परिवार हेलेन शाहले कुनै बेला विश्राम गर्ने लामो टहरो–घरको सामुन्ने बस्छ । हीरालालकी पत्नीले भित्र भान्साबाटै भनिन्, ‘यहीं हेलेन शाहका लागि पनि खाना पाक्थ्यो रे ।’ उनीहरू उही बेलाको पुरानै संरचनाको घर/टहरो, भान्सा प्रयोग गरी बसिरहेका भेटिए । 

सानै छँदादेखि दरबारको यो जग्गाबारे सधैं जिज्ञासु रहे– कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता राजकृष्ण श्रेष्ठ । त्यो जिज्ञासा अझै उस्तै छ, अझै उल्झनमै छन् । उनको सम्झनामा माओवादी आक्रमणपछि शेरा दरबार केही समय पिकनिक स्पटका रूपमा रह्यो, केही समय बाली विज्ञान पढाइयो– कृषि क्याम्पसमा र केही समय रिह्याब सेन्टर पनि थियो यहाँ । ‘काठमान्डुबाट छोटो दूरीमा यति विशाल फाँट छ । सबै कुराको पहुँच यहाँ सहजै हुन्छ, त्यसैले धेरै शक्ति केन्द्रको आँखा लागेको हो यो जग्गामा । जग्गा सट्टापट्टामा थुप्रैको चहलचहल देखिन्थ्यो मालपोतमा, नामसारी गर्न हाकिम पनि परिवर्तन गरिएको थियो । मालपोतमा गाईंगुईं सुनिन्थ्यो– यो जग्गा पास गर्न सीता दाहाल नै यहाँ आउनुभएको थियो,’ उनी भन्छन् । 

शेरा दरबारको चौरमा वनमारा झार होइन, कमलको फूल फूलिरहेको कमलपोखरी र कृषि–कर्ममा तल्लीन किसानलाई देख्न चाहन्छन् यहाँ भेटिएका मान्छेहरू । रसुवाकी सुष्मा न्यौपाने, जो यही दरबार परिसरमा भेटिइन्, भनिरहेकी थिइन्, ‘कति सुन्दर हुन्थ्यो यहाँ फेरि कमल फूले, यो बगैंचा फूल र फलले भरिए अनि कृषकले खेती गरिरहेको भेटिए...। तर, राजनीति र शक्तिको रस्साकसीले त्यो सपना सायद अधुरै रहला ।’

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully