२०५१ पछि संसद्मा साढे तीन वर्षमा देखिएका विकृति र सरकार परिवर्तन भइरहने घटनाले संसदीय व्यवस्थाप्रतिको माओवादीको नकारात्मक धारणालाई बल पुर्याइरहेको थियो ।
What you should know
काठमाडौं — १ फागुन २०५२ बाट सुरु भएको माओवादीको सशस्त्र विद्रोह मध्यपश्चिमबाट बिस्तारै अन्यत्र फैलन थालेको थियो । हिंसाका घटना रोकिएका थिएनन् । २०५१ पछि संसद्मा साढे तीन वर्षमा देखिएका विकृति र सरकार परिवर्तन भइरहने घटनाले संसदीय व्यवस्थाप्रतिको माओवादीको नकारात्मक धारणालाई बल पुर्याइरहेको थियो ।
रोल्पा, रुकुम, प्युठान, जाजरकोट, कालिकोटलगायतका जिल्लामा सबैभन्दा धेरै प्रभाव रहेको भनिएको सशस्त्र विद्रोहको विस्तार २ वर्ष ८ महिनामा फुसको आगो झैं फैलिँदै गएको थियो । सरकारले भने माओवादी विद्रोहलाई आतंकारी गतिविधिको रुपमा नियन्त्रणको प्रयास गरिरहेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १२ कात्तिक २०५५ मा विराटनगरमा नेपाल तरुण दलको कार्यक्रममा माओवादी विद्रोहलाई आतंककारी गतिविधिको संज्ञा दिँदै जसरी पनि नियन्त्रणमा लिने चेतावनी दिए । उनले माओको नाम बेचेर मुलुकको विभिन्न भागमा आतंक फैलाउनेहरू आतंकारी भएको धारणा राखे । यसले सरकार माओवादीप्रति कठोर रहेको सन्देश दिएको थियो । सरकार माओवादीप्रति जति कठोर देखिँदै गएको थियो माओवादीले पनि आफूलाई बलियो बनाउने प्रयास गरेको पाइन्थ्यो । माओवादीले साविक ७५ जिल्लामा प्रभाव विस्तारको प्रयास गरिरहेको थियो ।
यही सिलसिलामा चौथो विस्तारित बैठकको निर्णयअनुसार उनीहरूले ‘जनयुद्ध’ लाई आधार इलाका निर्माण चरणका रुपमा घोषणा गरेका थिए । माओवादीले उक्त घोषणासँगै ९ कात्तिक २०५५ रातिबाट अभियान नै सुरु गरेका थिए । उनीहरूले पर्चा छर्ने, भित्ते लेखन गर्ने, राँके जुलुस निकाल्ने जस्ता गतिविधि सुरु गरेका थिए । अभियान सुरु गरेको दुई दिनमा उनीहरूले सदरमुकाम तथा विभिन्न जिल्लाका प्रहरी चौकीमाथि आक्रमण गरेका थिए । उनीहरूले रोल्पा, रुकुम, जाजगरकोट, काभ्रेपलाञ्चोक, लमजुङ, सल्यान, प्युठानलगायतका जिल्लाको विभिन्न स्थानमा आक्रमण गरेका थिए ।
यसक्रममा २ दिनमा माओवादी र प्रहरी ७ जना मारिएका थिए । केही समय शान्त जस्तै रहेको माओवादीले बैठक नै बसेर आधार इलाका तयार गर्ने अभियान चलाउँदा प्रहरीमाथि आधुनिक हतियार प्रयोग गरेर आक्रमण गरेको सरकारी दाबी थियो । माओवादीले ९ कात्तिक २०५५ मा रोल्पाको फालेवाङ प्रहरी चौकीमाथि लगातार आक्रमण गर्दा प्रहरी जवान बालकृष्ण महतोको मृत्यु भएको थियो । उनीहरूले रुकुम सदरमुका मुसिकोटको नेपाल बैंकबाट सुरक्षागार्डको बन्दुक तथा ३७ लाखभन्दा बढी रकम लुटेका थिए । भिडन्तको क्रममा जाजरकोटमा एक जना माओवादी मारिएका थिए भने रोल्पाको सदरमुकाम लिवाङमा प्रहरीमाथि गोली चलाइएको थियो ।![[Archive] When the Maoists Announced the Establishment of a Base Area...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-kartik-13-2772026110408-1000x0.jpg)
प्रहरीको जवाफी प्रहारबाट एक जना माओवादी मारिएको र एक जना सर्वसाधारण घाइते भएको सुरक्षा निकायले पुष्टि गरेको थियो । माओवादीले काभ्रेपलाञ्चोकको फलाँटे चौकीमा गरेको आक्रमणमा प्रहरी जवान धनबहादुर मोक्तानको मृत्यु भएको थियो । उक्त चौकीबाट माओवादीले मोक्तानको हत्या गरेर ४ थान बन्दुक, २ सय थान गोली र एउटा पेस्तोल लुटेका थिए ।
लमजुङको दुराडाँडा र देवतापानी गाउँमा प्रहरी र माओवादीबीच भएको भीडन्तमा माओवादीका क्षेत्र नम्बर १ का कमाण्डर एकबहादुर विश्वकर्माको मृत्यु भएको थियो । उक्त स्थानमा नयाँ अनुहारका मान्छे केही दिनदेखि नै बस्दै आएको जानकारी स्थानीयले दिएका थिए । मत्यु भएका कमाण्डर विश्वकर्मा नै देवपानी क्षेत्रमा बसेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । माओवादीले एक वर्षअघि पनि दुराडाँडाको नेपाल बैंकको उपशाखा कार्यालय लुटपाट गर्ने असफल प्रयास गरेका थिए । उक्त प्रयास असफल भएपछि कांग्रेसका स्थानीय नेताकार्यकर्तालाई दोस्रो पटक आक्रमण गर्ने चेतवानी दिँदै आएका थिए । उक्त घटनामा प्रहरीले माओवादीका दुई जना कार्यकर्ता पक्राउ गरेका थिए । ![[Archive] When the Maoists Announced the Establishment of a Base Area...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-kartik-11-2772026110437-1000x0.jpg)
अभियानकै क्रममा उनीहरूले रुकुम, रोल्पा, जाजरकोट, सल्यान र प्युठानका विभिन्न स्थानमा राँके जुलुस निकालेका थिए । रोल्पाको सङवाङ जंगलमा दिउँसै भएको भिडन्तमा एक जना माओवादीको मृत्यु भएको थियो । उक्त स्थानमा १८ जना प्रहरी थिए । प्रहरीले उक्त स्थानबाट बन्दुक, गोली, आधुनिक सञ्चारयन्त्र(वाकीटकी) तथा बम बनाउने सामान बरामद गरेको थियो । माओवादीले तनहुँको मालपोत कार्यालयमा बम विष्फोट गराएका थिए भने घिरिङको देउराली जंगलमा राति भएको भिडन्तमा दुई जना माओवादीको मृत्यु भएको थियो । भिडन्तमा माओवादीले ३ राउण्ड र प्रहरीले १८ राउण्ड गोली चलाएको थियो ।
माओवादीले ‘जनयुद्ध’का क्रममा आफ्नो सुरक्षित इलाका तयार गर्ने अभियानका सिलसिलामा प्रहरीमाथि बढाएको आक्रमण तथा उनीहरूलाई नियन्त्रण गर्न सरकारले चलाएको कारबाहीलाई सन्दर्भ बनाएर कान्तिपुर दैनिकले जिल्ला संवाददाताहरूको सहयोगमा तयार गरेको समाचार ११ र १३ कात्तिक २०५५ मा ‘माओवादी आधार इलाका निर्माण चरण’ को प्रारम्भः माओवादी प्रहरी भिडन्तमा ७ को मृत्यु’ तथा ‘जुनसुकै तवरबाट भए पनि माओवादी क्रियाकलापलाई नियन्त्रणमा लिनेछु : प्रधानमन्त्री’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । -प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When the Maoists Announced the Establishment of a Base Area...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/-1922026060026-1000x0.jpg&w=1001&h=0)