पार्टी सभापति गिरिजाप्रसादले २० असोज २०५५ मा केन्द्रीय सदस्य सुशील कोइरालालाई पार्टीको उपसभापति मानोतित गरेपछि द्वन्द्व झन् चर्केको थियो । सुशीलको मनोनयनले कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा रुष्ट भएका थिए ।
What you should know
काठमाडौं — कांग्रेसको आन्तरिक कलह बीपी कोइरालाको समयदेखि नै निरन्तर चलिनै रहेको छ । पञ्चायतविरुद्धको संघर्षपछि प्राप्त प्रजातन्त्रपछि २०४८ सालमा कांग्रेसले एकलौटी सरकार बनाएको थियो । सरकार बनेपछि पनि कांग्रेसमा आन्तरिक द्वन्द्व कायमै थियो । पुस २०८२ मा भएको विशेष महाधिवेशनपछि यो द्वन्द्वले झन् नयाँ रुप लिएको छ । उतिबेलादेखि अहिलेसम्म पनि आन्तरिक कलह साम्य हुने भन्दा झन् चर्केर गएको छ । संसदीय निर्वाचनमा एउटाले अर्कोलाई हराउने मात्र होइन आन्तरिक विवादले पार्टी नै विभाजन गरेको कांग्रेसको इतिहास छ ।
आन्तरिक द्वन्द्व कै कारण २०४८ र २०५० सालमा गिरिजाप्रसाद कोइरालामाथि संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई हराएको आरोप लागेको थियो । मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएपछि ३ मंसिर २०५० को उपनिर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काठमाडौं–१ का कांग्रेस उम्मेदवार कृष्णप्रसादविरुद्ध १७ मिनेटको अडियो वक्तव्य सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गरेका थिए । उक्त वक्तव्यको आशय प्रष्ट रुपमा कृष्णप्रसादलाई पराजित गराउनु थियो । २०४८ सालको निर्वाचनपछि गणेशमानसँग त झन् गिरिजाप्रसादको सम्बन्ध कहिल्यै राम्रो भएन ।
फागुन २०५३ मा शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन गिरिजाप्रसाद र उनको टिमले भूमिका निर्वाह गरेको आरोप लागेको चर्चा थियो । त्यो बेला देउवालाई संसदीय दलबाट हटाएर गिरिजाप्रसाद आफैं नेता बनेका थिए । यसले देउवा र कोइरालाबीचको खाडल झन् फराकिलो बनेको थियो । ३० चैत २०५४ मा गिरिजाप्रसाद दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यो बेलासम्म देउवाले आफूलाई पार्टीभित्रको फरक समूहको नेताको रुपमा प्रस्तुत गर्न थालिसकेका थिए ।![[Archive] The accusation of ‘nepotism’ Krishna Prasad leveled against Girija Prasad](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asoj-22-2272026102321-1000x0.jpg)
पार्टी सभापति र प्रधानमन्त्री एउटै भएकाले धेरैजसो निर्णयहरू गिरिजाप्रसादले केन्द्रीय कार्यसमितिलाई बेवास्ता गरेर सानो घेरामा बसेर गरेको असन्तुष्टि सबैभन्दा धेरै थियो । गिरिजाप्रसादले गरेको कयैन निर्णयमा कृष्णप्रसादको असहमति थियो । तर पार्टी विभाजन हुन सक्ने वा कमजोर बन्ने डरले कतिपय ‘इस्यु’मा कृष्णप्रसाद आफैं झुकेर प्रस्तुत भएका धेरै उदाहरण थिए । गणेशमानले पनि गिरिजाप्रसादलाई ठिक बाटो हिँडाउन नसकेको भन्दै कृष्णप्रसादप्रति पनि असन्तुष्टि पोख्ने गरेका थिए । एकातिर गणेशमान रिसाउने अर्कातिर गिरिजाप्रसादले आफूखुसी निर्णय गर्दै जाने कृष्णप्रसाद दोहोरो मारमा थिए ।
यही सिलसिला चलिरहेका बेला पार्टी सभापति गिरिजाप्रसादले २० असोज २०५५ मा केन्द्रीय सदस्य सुशील कोइरालालाई पार्टीको उपसभापति मानोतित गरेपछि द्वन्द्व झन् चर्केको थियो । सुशीलको मनोनयनले कृष्णप्रसाद र देउवा रुष्ट भएका थिए । गिरिजाप्रसादले मन्त्रीमण्डल बनाउँदा पार्टीमा सन्तुलन कायम नगरेको आरोप लागिरहेका बेला सुशीलको मनोनयनले असन्तुष्टिको आगोमा घ्यु थपेजस्तो भएको थियो । त्यसैले देउवाले असन्तुष्टि जनाउँदै व्याङ्गयात्मक शैलीमा भनेका थिए, ‘सुशीललाई महामन्त्रीबाट किन हटाइयो ? मलाई थाहा छैन । अहिले उपसभातिमा किन ल्याइयो त्यो पनि मलाई थाहा छैन ।’ सुशीलको नियुक्तिले गिरिजाप्रसादले आफ्नो उत्तराधिकारी चयन गरेको चर्चा समेत सुरु भएको थियो । सुशील लामो समयदेखि संघर्षपूर्ण इतिहास बोकेका नेता भएकाले उपसभापतिमा नियुक्त हुनु स्वभााविक भएको प्रतिक्रिया पनि सुरु भएको थियो ।
कांग्रेसभित्रका जानकारहरूले भने गिरिजाप्रसादले अब कांग्रेसमा दोस्रो पुस्ताको नेता सुशील भएको सन्देश दिएको भनाइ राखेका थिए । कृष्णप्रसादले मेलमिलाप दिवसको सम्झनामा आयोजना गरेको कार्यक्रममा आगन्तुकलाई स्वागत गर्ने नेताहरूमा देउवा र रामचन्द्र पौडेललाई राखेका थिए । भनिन्छ, त्यो घटनामा कृष्णप्रसादले देउवा र पौडेललाई अघि बढाउन खोजेको सन्देशको रुपमा धेरैले बुझेका थिए । त्यसकै ‘काउन्टर’को रुपमा गिरिजाप्रसादले दोस्रो पुस्ताका नेता अब सुशील हो भन्ने सन्देश दिन खोजेको विश्लेषण पनि भएको थियो । सुशीलले भने मालेलाई सरकारमा सामेल गराएको विषयमा असन्तुष्टि पोख्दै आएका थिए । गिरिजाप्रसादेले उक्त असन्तुष्टि कम गराउन खोजेको भनाइ पनि त्यतिबेला सार्वजनिक भएको थियो ।
गिरिजाप्रसादले सुशीललाई उपसभापति बनाएकोमा कृष्णप्रसादले असन्तुष्टि जनाएका थिए । उनले उपसभापति नियुक्तिलाई पार्टीमा ‘पारिवारिक प्रभुत्व’ स्पष्ट देखिएको प्रतिक्रिया दिएका थिए । सुशीलको नियुक्तिले कांग्रेसमा राजनीतिक सन्तुलन धरमर हुने अनुमान गरिका बेला कृष्णप्रसादको उक्त प्रतिक्रियाले पार्टीमा हलचल भएको थियो । स्वर्गीय गणेशमानले कोइरालालाई परिवारवादको आरोप लगाउने गरेका थिए । कृष्णप्रसादले गणेशमानकै ‘लाइन’मा पहिलो पटक यस्तो प्रतिक्रिया दिएका थिए ।
कृष्णप्रसादले कान्तिपुसँगको कुराकानीमा भनेका थिए, ‘कोइरालाले आफ्नो भाइ सुशीललाई पार्टीको उपसभापतिमा मनोनयन गर्नुभएको छ । यस कार्यले मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेसमा पारिवारिक प्रभुत्व प्रष्ट रुपले देखा परेको छ ।’ यसअघि पनि परिवारका अन्य सदस्यलाई पार्टीको विभिन्न पदमा नियुक्त गरेको प्रसङ्ग कोट्याउँदै कृष्णप्रसादले भान्जी शैलजा आचार्यलाई केन्द्रीय सदस्य र उपप्रधानमन्त्री तथा भाउजु नोना कोइरालालाई केन्द्रीय सदस्यमा मनोनयन गरेकोमा असन्तुष्टि जनाएका थिए ।
लामो समय मौन रहेका उनले गिरिजाप्रसादको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका थिए । उनले गिरिजाप्रसादको एक्लै निर्णय गर्ने शैलीप्रति बढी असन्तुष्टि देखाएका थिए । ‘मेरो प्रतिकूल टिप्पणीको उद्देश्य मुलुकमा प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा सुशील, शैलजा र नोनाले भोग्नुभएको कष्ट होच्याउनु कदापी होइन्,’ कृष्णप्रसादले भनेका थिए । उनले गिरिजाप्रसादले अप्रिय निर्णयहरूलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन नगरेको प्रति आफ्नो सबैभन्दा बढी असन्तुष्टि रहेको बताएका थिए ।
मंसिर २०५४ मा नेपालगन्जमा भएको महासमिति बैठकमा कृष्णप्रसादसँगको मतभेदको निकास खोज्न गिरिजाप्रसादले सबै केन्द्रीय सदस्यको राजीनामा मागेका थिए । तर त्यसपछि केन्द्रीय समितिमा मनोनयन गरिएका सदस्यहरूको विषयमा कृष्णप्रसाद सन्तुष्ट थिएनन् । असन्तुष्टिका कारण कृष्णप्रसादले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । पार्टीमा असन्तुष्टिको स्वर बढेपछि माघ २०५४ मा कृष्णप्रसाद र गिरिजाप्रसादले गोदावरी सम्झौता गरेका थिए ।
सम्झौतामा पार्टीको निर्णयहरू कृष्णप्रसादको सहमतिमा गर्ने भनिएको थियो । जसमा पार्टीको केन्द्रीय सदस्यहरूको मनोनयन, सरकारमा जाने मन्त्रीहरू र भातृसंगठन सबैको मनोनयन सल्लाहमा गर्ने सहमति गरिएको थियो । तर उक्त सहमति पनि कार्यान्वयन नभएपछि कृष्णप्रसादको असन्तुष्टि बढेर गिरिजाप्रसादलाई ‘परिवारवाद’को गम्भीर आरोप लगाएका थिए ।
कांग्रेसको आन्तरिक कलह र कृष्णप्रसादले गिरिजाप्रसादमाथि लगाएको आरोपमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २२ असोज २०५५ मा ‘कांग्रेस उपसभापतिको नियुक्तिबारे भट्टराईको तीव्र प्रतिक्रियाः पार्टीमा पारिवारिक प्रभुत्व देखापरेको छ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यस्तै कांग्रेसको द्वन्द्वमै केन्द्रित भएर कान्तिपुरले ‘पार्टी सभापतिको नियुक्तिले पार्टीमा तीव्र प्रतिक्रिया’ शीर्षकमा अघिल्लो दिन अर्थात २१ असोजमा समाचार प्रकाशन गरेको थियो । –प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The accusation of ‘nepotism’ Krishna Prasad leveled against Girija Prasad](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/krishna-prasad-bhattrai-08-2592025033552-1000x0-1842026071748-1000x0.jpg&w=1001&h=0)