[अर्काइभ] प्रधानमन्त्रीले पासपोर्टबिनै विदेश भ्रमण गरेको त्यो घटना‍‍‍... 

असंलग्न शिखर सम्मेलनबाट फर्किँदै गर्दा डर्बान विमानस्थलमा प्रधानमन्त्रीसहित २२ जनाको पासपोर्ट शिष्टाचार अधिकारीको झोलाबाट चोरी भएको थियो

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

[Archive] The incident where the Prime Minister traveled abroad without a passport...

What you should know

काठमाडौं — १९ भदौ २०५५ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मन्त्री र सरकारी उच्च अधिकारीहरूको टोली दक्षिण अफ्रिकाको डर्बानबाट दुबई हुँदै नेपाल आउँदै थियो । उक्त टोली असंलग्न आन्दोलनको बाह्रौं शिखर सम्मेलनमा भाग लिन गएको थियो । भ्रमण दलका सबैको पासपोर्ट शिष्टाचार अधिकारी राजाराम बर्तौलाले राखेका थिए ।

बर्तौलाले डर्बान विमास्थलमा उडानसम्बन्धी फाराम भर्ने क्रममा पासपोर्ट राखेको हाते ब्याग आफू नजिकै राखेका थिए । तर केहीबेरमा पासपोर्ट राखेको ब्याग गायब भयो । यसपछि सबैतिर ब्यागको खोजी भयो तर फेला परेन । पासपोर्ट भएको ब्याग कसैले चोरी गरिसकेको थियो । उक्त ब्यागमा प्रधानमन्त्रीसहित भ्रमण दलका २२ जनाको पासपोर्ट थियो ।

अब बिनापासपोर्ट विभिन्न मुलुकको विमानस्थल हुँदै कसरी नेपाल फर्कने ? भ्रमण दललाई ठूलै समस्या आइपरेको थियो । परराष्ट्रका कर्मचारीहरूले पासपोर्ट हराएको बारे प्रधानमन्त्री कोइरालालाई जानकारी गराए । घटना सुनेर कोइराला अचम्मित भए । पासपोर्ट डर्बानबाट जोहानेसबर्ग उड्ने बेलामा हराएको थियो । पासपोर्ट त हरायो अब कसरी नेपाल फर्कने ? कोइरालाले कर्मचारीलाई कसरी हरायो त भनेर सोधे । उनले होटलमै त छाडिएन भनेर सोधे । कर्मचारीले भने विमानस्थलमा आँखै अगाडि ब्याग चोरी भएको जानकारी दिए ।  घटनाको विवरण सुनेर कोइराला रिसाएनन् । तर मुलुकको प्रधानमन्त्री, मन्त्री र उच्च तहका कर्मचारीको प्रतिनिधि मण्डल भएकै पासपोर्ट नभएको विषयले नकारात्मक सन्देश जाला भन्ने डर पैदा भएको थियो ।

ब्यागमा प्रधानमन्त्रीसहित उनकी छोरी सुजाता कोइराला, अर्थमन्त्री डा. रामशरण महत, सांसदहरू हिरण्यलाल श्रेष्ठ, हिरादत्त भट्ट, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि नरेन्द्रविक्रम शाह, इजिप्ट तथा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत गोपीनाथ दवाडी, परराष्ट्र सचिव मुरारीराज शर्मा, कार्यवाहक शिष्टाचार महापाल वनमालीप्रसाद लाकौल, प्रधानमन्त्रीका निजी चिकित्सक मधु घिमिरे, परराष्ट्र मन्त्रालयका उपसचिव मोहनकृष्ण श्रेष्ठ र शिष्टाचार अधिकारी बर्तौलाको पासपोर्ट रहेको थियो । भ्रमण दलमै सामेल विष्णुराज आचार्य र नरेन्द्रराज पोखरेलको भने पासपोर्ट हराएको थिएन । उनीहरूले त्यतिबेला ट्राभल चेक सटही गर्न पासपोर्ट आफैंसँग राखेका कारण चोरी हुनबाट जोगिएको थियो ।

पासपोर्ट हराएको १५ मिनेटमा दक्षिण अफ्रिकाको रेडियो र टेलिभिजनबाट प्रसार–प्रचार गरिएको थियो । तर फेला पर्न सकेन । त्यसपछि परराष्ट्र सचिव शर्माले घटनाको विवरण उल्लेख गरेर नेपाल फर्कने अनुमतिका लागि अफ्रिकाको सम्बन्धित निकायमा अनुरोधपत्र दिएका थिए । उनको पत्रको आधारमा अफ्रिकी प्रहरीले पासपोर्ट हराएको प्रतिवेदन दिएको थियो ।[Archive] The incident where the Prime Minister traveled abroad without a passport...

त्यसकै आधारमा डर्बान विमास्थलबाटै पासपोर्ट हराएको बारे भ्रमण गर्ने मुलुक र फर्कने बाटोमा पर्ने देशलाई टेलिफोनबाट जानकारी गराइएको थियो । दक्षिण अफ्रिकामा जहाँ डुले पनि पाइने स्वीकृति दिइएको थियो । तर संयुक्त अरब इमिरेट्सको व्यापारिक सहर दुबईमा भने विमानस्थलमा मात्र बस्न पाउने स्वीकृति थियो । कतारले भने आफ्नै निम्तो भएकाले छुट दिएको थियो । कतारको होटलले ट्राभल चेक सटहीसमेत गरिदिएको थियो । अन्यत्र भने चेक साट्न नसकेर टोलीका सदस्यहरूले आफूहरूको खल्तीमा भएको फुटकर पैसाबाट खर्च चलाएका थिए । 

पासपोर्ट नभएका कारण दुबईमा प्रधानमन्त्रीबाहेक भ्रमण दलका सदस्यहरूले ४ घन्टासम्म विमानस्थलमै बस्नुपरेको थियो । त्यहाँ प्रधानमन्त्रीलाई भने शिष्टाचारले होटलमा लगेर राखेका थिए । बाटोमा पर्ने भ्रमण देशका शिष्टाचार अधिकारीहरूले पासपोर्ट कसरी हरायो भन्दै समकक्षीसँग सोध्ने गरेका थिए । नेपालका अधिकारीहरूले पासपोर्ट हराएको घटना विवरण दोहोर्‍याइरहनु परेको थियो । भ्रमण दलका सदस्यहरू पराराष्ट्र मन्त्रालयले डर्बानमा प्रयोग गरेको लेटरप्याडको आधारमा नेपाल आइपुगेका थिए ।

भ्रमण टोली दुबई हुँदै कतार पुगेको थियो । कराँची हुँदै काठमाडौं आइपुगेको थियो । टोलीमा सहभागी अधिकारीहरूले प्रधानमन्त्री नभएको भए निकै अप्ठयारो पर्ने बताएका थिए । विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीकै पासपोर्ट हराएको घटनाको विवरणमा आधारित विषयलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुरले २४ भदाै २०५५ भदौमा ‘जब प्रधानमन्त्रीको पासपोर्ट चोरियो’ शीर्षकमा प्रकाशन गरेको थियो । त्यस्तै दिन कान्तिपुरले ‘असंलग्न शिखर सम्मेलन अत्यन्त सफलः प्रधानमन्त्री’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । [Archive] The incident where the Prime Minister traveled abroad without a passport...

पासपोर्ट हराए पनि परराष्ट्रको लेटरप्याडका आधारमा प्रधानमन्त्री कोइरालाले कतारको भ्रमण गरेका थिए । कोइरालाले कतारका प्रधानमन्त्री शेख अबदुल्ला बिन खलिफा अलथानीसँग भेट गरेका थिए । भेटका अवसरमा नेपालमा कतारको लगानी भित्र्याउने र नेपालीलाई रोजगारी दिलाउन सरकारी निकायबाटै कामदार पठाउने सन्दर्भमा छलफल भएको थियो । २३ भदाै २०५५ मा काठमाडौं आइपुगेका प्रधानमन्त्रीले कतार र नेपालबीच सरकारी स्तरमा हुने सम्झौताले नेपाली कामदारले कतारकै कानुनअनुसार सुविधा पाउने जानकारी गराएका थिए । त्यतिबेला सरकारले प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा वर्षमा २ सय कमदारलाई वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको थियो ।

आजभन्दा करिब २८ वर्षअघि नेपालीहरू १ लाखको संख्यामा वैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको थियो । नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानीका क्रममा कोइरालाले तत्कालीन राजा वीरेन्द्रकोतर्फबाट नेपाल भ्रमणका लागि अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेलालाई निम्तो दिएको जानकारी गराएका थिए । सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग भेटेका थिए । भेटका क्रममा द्धिपक्षीय सहयोग, जलस्रोत र कालापानीको विषयमा छलफल गरेको प्रधानमन्त्री कोइरालाले जानकारी दिएका थिए ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully