[अर्काइभ] २९ वर्षअघिको विश्वकपमा विराटनगरको त्यो प्रसंग 

सन् १९९८ को विश्वकपका प्रबल दावेदार राष्ट्रहरू जर्मनी र अर्जेन्टिनालाई भनिन्थ्यो । तर ती देशहरू क्वाटर फाइलनबाटै बाहिरिएका थिए ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

[Archive] That Incident from Biratnagar at the World Cup 29 Years Ago

What you should know

काठमाडौं — अहिले विश्वकप फुटबल प्रतियोगिता जारी छ । आजभन्दा ठिक २९ वर्षअघि अर्थात जुलाई १९९८ मा यसरी नै विश्वकप फुटबल प्रतियोगिता भइरहेको थियो । १९९८ को विश्वकपका प्रबल दावेदारका रुपमा जर्मनी र अर्जेन्टिनालाई हेरिएको थियो । तर ती देशहरू क्वाटर फाइलनबाटै बाहिरिएका थिए ।

उक्त दुई देशको पराजयले नेपालको विराटनगरका धनाढ्यहरूले भने लाखौं रुपैयाँ घाटा बेहोरेको चर्चा थियो । किनकि त्यतिबेला विराटनगरको ट्राफिक चोकको अतिथि सदनमा बाजी लगाउनेहरूको घुइँचो लाग्ने गरेको थियो । त्यतिबेला विश्वकप फुटबल, क्रिकेट र टेष्ट क्रिकेट मात्र होइन राजनीतिक परिस्थिति र सत्ता परिवर्तनको बारेमा समेत लाखौं बाजी थाप्ने गरेका चर्चा थियो । 

फुटबलमा बाजी थाप्नुलाई स्वभाविक मानिन्थ्यो । मौकामा चौका हान्ने भन्दै राखिएका यस्ता बाजीमा लाखौं रुपैयाँको हारजित हुने गरेको थियो । त्यो बेलाको विश्वकपमा प्रतिपर्स्धी टिममध्ये केही कमजोर ठानिएका टिमहरूको आश्चर्यजनक विजयले बाजी थाप्ने साना व्यापारीले राम्रै फाइदा लिन सफल भएका थिए । क्वाटर फाइनलमा विश्वकप बिजेता रहिसकेका अर्जेन्टिना र जर्मनी क्रमशः हल्याण्ड र क्रोएसियासँग पराजित भएका थिए । जितको अनुमान गरिएका टिमको पराजयले बाजी राख्नेहरू आश्चर्यमा परेका थिए । 

क्वाटर फाइनलमा जर्मनी र अर्जेन्टिनाको पक्षमा बाजी थाप्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सभापति अरुणकुमार राठीले ८० हजार रुपैयाँ हारेका थिए । झण्डै तीन दशकअघिको उक्त रकम निकै ठूलो मानिन्थ्यो । जर्मनीलाई सन् १९९१ मा युगोस्लाभियाबाट विभाजित राष्ट्र क्रोएसियाले ०–३ गोल अन्तरले पराजित गरेको थियो । उक्त परिणामले त्यतिबेलाको प्रतियोगिता कसले जित्छ अनुमान गर्न नसक्ने अवस्था बनेको थियो । बाजी थाप्ने व्यापारीहरू भन्थे, ‘इटली, जर्मनी, अर्जेन्टिना जस्ता राष्ट्रहरूको पराजयले गर्दा ब्राजिलले विश्वकप जित्छ भनेर बाजी थाप्न हामी अनकनाउन थालेका छौं ।’ त्यहाँका झण्डै एक सय व्यापारीले बाजी थाप्ने गरेका थिए ।

बाजीले फुटबल प्रतियोगिताको रौनकलाई बढाएको थियो । फ्रान्समा भएको जर्मनी, क्रोएसिया र हल्याण्डबीचको क्वाटर फाइनलमा विराटनगरका व्यापारीबीच ३० लाखभन्दा बढीको हारजित भएको अनुमान गरिएको थियो । उक्त रकम त्योबेला धेरै ठूलो मानिन्थ्यो । उनीहरू कुन टिमले जित्छ, कति गोल अन्तर हुन्छ र गोल कसले गर्छ भन्ने सवालमा समेत बाजी राख्ने गर्थे । क्वाटर फाइनलमा जर्मनी, अर्जेन्टिना र इटलीको पक्षमा बाजी राख्नेहरू धेरै थिए । व्यापारीहरूका अनुसार जर्मनी, इटली र अर्जेन्टिना पराजित भयो भने बाजी थाप्ने प्रतिद्धन्द्धीलाई १० हजार रुपैंयाँ दिनुपर्ने तर विजयी भयो भने प्रतिद्धन्द्धीले २ हजार रुपैंयाँ दिनुपर्ने हिसाबले बाजी राखिएको थियो । [Archive] That Incident from Biratnagar at the World Cup 29 Years Ago

धेरै व्यापारी ब्राजिलको पक्षमा देखिएका थिए । व्यापारीहरूले ब्राजिल सेमिफाइनलमा विजयी हुने दाबीसहित २० हजारविरुद्ध ३ हजारका दरले बाजी राखेका थिए । कम रकमले बढी रकमको बाजी जित्ने दाउमा रहेको व्यापारीहरू क्रोएसिया, फ्रान्स र हल्याण्डको पक्षमा उभिएका थिए । विश्वकपमा विराटनगरका धनाढ्य समूह सबैजसो खेलमा बाजी थाप्न आतूर देखिन्थे । विश्वकप समापन नहुन्जेल विराटनगरमा लाखौं रुपैयाँको बाजी हारजित हुने देखिन्थ्यो । 

२९ वर्षअघि  अर्थात सन् १९९८ जुलाईमा भएको विश्व कपमा सहभागी राष्ट्रहरूको पक्षविपक्षमा उभिएर बाजी थापेको प्रसंगलाई आधार बनाएर पत्रकार शंकर खरेलले विराटनगरबाट तयार गरेको समाचार कान्तिपुर दैनिकले २३ असार २०५५ मा ‘विश्व कपको जय/पराजयमा लाखौंको हार/जित’ शीर्षकमा प्रकाशन गरेको थियो । कान्तिपुरले जर्मनी र क्रोएसियाबीच २० असार ०५५ मा भएको क्वाटर फाइनल खेलको फोटो पहिलो पृष्ठमा प्रकाशन गरेको थियो । -प्रस्तुति : ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully