[अर्काइभ] रोग र भोकले आक्रान्त हुम्ली भन्थे - ‘औषधि होइन, चामल देऊ’   

अचेल भने हुम्लीले किनेर पनि खान नपाएको समाचार प्रायः सुनिन छाडेको छ । तर उतिबेलाको हुम्लीले खाद्यान्न अभावमा भरपेट खान नपाएको कथाहरु भने कहालीलाग्दो इतिहास जस्तै पढ्न पाइन्छ ।

असार २०, २०८३

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — तीन दशकअघि विकट र पिछडिएको जिल्लाको सूचीमा हुम्ला, जुम्लालगायत अग्रस्थान पर्थे । अहिले धरै गाउँमा मोटर गुडेका छन् । त्यतिबेला ती जिल्लाका सदरमुकामसमेत सडक सञ्जालमा जोडिएको थिएन । भोक र रोगले मृत्यवरण गर्नुपर्ने पीडा हुम्ला, जुम्लाका त्यो बेलाको पुस्ताले भोग्दै आएको थियो । सरकारले उपलब्ध गराउने खाद्यान्न किन्न पनि पाइँदैनथ्यो । पाँच किलो चामल र गहुँ पाउन तीन घण्टा हिँड्नुपर्थ्यो, रातै बिताएर लाइनमा बस्नुपर्थ्यो । सरकारले उपलब्ध गराएको भए पनि ठेकेदारहरुले विभिन्न बहानामा समयमा ढुवानी गर्दैनथे । त्यसको मार सर्वसाधारणमा पर्थ्यो । 

अचेल भने हुम्लीले किनेर पनि खान नपाएको समाचार प्रायः सुनिन छाडेको छ । तर उतिबेलाको हुम्लीले खाद्यान्न अभावमा भरपेट खान नपाएको कथाहरु भने कहालीलाग्दो इतिहास जस्तै पढ्न पाइन्छ । त्यतिबेलाका सञ्चारमाध्यमले हुम्लाको गरिबीका धेरै कथा उजागर गरेका थिए । ज्वरो र रुघाखोकीका बिरामीले सिटामोलसमेत खान नपाएको घटना सामान्य जस्तै लाग्ने गर्थ्यो । झाडापखालका बिरामीले जीवनजलसमेत नपाएको समाचार लगातार आउने गर्थ्यो । जनप्रतिनिधि र नेताहरु हुम्ला, जुम्लाकै कुरा गरेर नेपालका गरिबहरुको कथा सुनाउँथे । त्यतिबेला हुम्लामा भोग र रोगले अकालमा ज्यान गुमाएका कथाहरु अनगिन्ती भेटिन्थे । त्यही कथाअन्तर्गत २०५५ को हिउँदमा हुम्लीले भोगेको पीडा विकट बस्तीको कष्टकर जीवनको गतिलो उदाहरण बनेको थियो । त्यतिबेला खडेरी, रोग र भोगले एक महिनामै जिल्लाभर १ सय ७० जनाले ज्यान गुमाएका थिए । रोग लागेर र खान नपाएर यति ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परे पनि सरकारले उनीहरुको जीवन बचाउन सकेको थिएन । त्यो समयमा श्वास–प्रश्वास र झाडापखालाबाट सर्ने रोगले आक्रान्त हुम्लीले किनेर खाने अन्नसमेत पाएका थिएनन् ।


०५४ कात्तिकबाट सुरु भएको खडेरीले उत्पादन ठप्प थियो । सदरमुकामको अतिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । उक्त तापक्रम बितेको तीन दशकमा सबैभन्दा धेरै भएको अनुभव स्थानीयले सुनाउने गरेका थिए । स्वास्थ्यकर्मीहरुले परावैजनी किरण (अल्टाभायोलेट रेज) मौसमको ज्यादै सुख्खापन, उखरमाउलो गर्मी र वातावरणका कारण सरुवा रोग फैलिएको जानकारी स्वास्थ्यकर्मीहरुले दिएका थिए । भोगसँगै रोगसँग जुधिरहेका गरिब बासिन्दाहरुले कारुणिक द्दृश्य गाउँगाउँमा देखिन्थ्यो । त्यतिबेला हुम्लाको निरीक्षणमा पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशक केदानाथ शर्माले प्रतिक्रिया दिएका थिए,‘पेटभरि खान पाए पो बिरामीहरु औषधि खाएपछि तंग्रिन सक्छन् ।’ एउटै भर्‍याङबाट पुरै गाउँ उक्लिन सकिने घनाबस्तीहरुमा प्रायः हरेक पिँढी, बार्दली र छतमा झिंगा भन्किएको देखिन्थ्यो । त्यही स्थानमा बिरामी सुतिरहेका भेटिन्थे । गाउँलेले खाद्यान्न किन्न नसकिने र खाएको औषधि पनि नलाग्ने बताउने गर्थे । गाउँको स्वास्थ्य चौकीले दिएको औषधिले रोग निको नहुने र खानका लागि घरमा अन्न पनि नभएको भन्दै गाउँले दुखेसो पोख्थे । त्यहाँ किनेर खाने अन्न पनि पाइँदैनथ्यो । कतिपयको किन्न सक्ने हैसियत पनि थिएन । डिपोमा बास बसेर ५ किलो गहुँ ल्याएको कथा सुनाउँदै दुई किलो बाटैमा खाएको घटना धेरैले स्मरण गर्थे ।   

स्थानीय शोभा बोहराले खाद्यान्न ओसारिरहेको हेलिकोप्टर आकाशमा देखाउँदै भनेकी थिइन्,‘पौसा हुन्यालाई पो अन्न ल्याउँछ् ।’ उनको भनाइले के बुझ्न सकिन्थ्यो भने डीपोमा खाद्यान्न भए पनि खरिद गर्ने हैसियत नभएका नागरिक धेरै थिए । त्यसैले सरकारले खाद्यान्न उपलब्ध गराए पनि गरिबी कारण ‘आकाशको फल...’ भने जस्तै भएको थियो । गाउँमा भोक र रोगको पीडा सुनाउनेहरु घरैपिच्छे भेटिन्थे । स्थानीय गेँडु बोहराले मासी रगत जान थालेपछि ४ दिनदेखि केही नखाएको दुखेसो गर्दै भनेकी थिइन्, ‘इन्जेक्सन दिने डाक्टर नभएकाले सन्चो भएन ।’ 


तिते फापरको रोटी रुच्दै–रुच्दैन र डिपोमा अन्न किन्न आउँभने पैसा पनि नभएको बोहराले बताएकी थिइन् । उनको पीडा उदाहरण मात्र थियो । रिपोर्टिङका लागि घटनास्थल पुगेका कान्तिपुर संवाददाताहरुसँग हुम्ली सबैजसोले भनेका थिए, ‘हामीलाई औषधि होइन, चामल देऊ ।’ 

जिल्लाको साविक २७ वटै गाउँविकास समितिमा स्वास्थ्य केन्द्र थिए । तर स्वास्थ्यकर्मी थिएनन् । रोग फैलिएको गाउँ ठेहे केन्द्रमा ७ जनाको दरबन्दी रहेकोमा ६ महिनासम्म दुई जना पियन मात्र उपस्थित थिए । स्थानीय भन्थे, ‘दुई जना स्वास्थ्यकर्मी थपिएका थिए । उनीहरु आउनुअगावै रोग गाउँभर फैलिएको थियो ।’ गाउँका कतिपय बिरामीलाई बोकाएर सदरमुकाम लैजाने गरिएको थियो । तर धेरै टाढा भएकाले जोकोही सदरमुकाम नै जान सक्दैनथे । रोग फैलिएको ठेहे गाविसका उपाध्यक्ष परिमल भण्डारीले ८ वर्षीया छोरी बचाउन नसकेको कहानी सुनाएका थिए । औषधि लिन तीन घण्टा टाढा गएका उपाध्यक्ष भण्डार फर्कंदा छोरीको मृत्यु भएको थियो । औषधि ल्याउँदाल्याउँदै छोरीको मृत्यु भएको लामो कहानी उनले सुनाएका थिए । ‘गाउँको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी भएको भए मेरी छोरी मर्ने थिइनँ,' उनले भनेका थिए । 

त्यतिबेला जिल्लाका स्वास्थ्य केन्द्रमा पठाइएका औषधिहरु पनि बाटोमा लाँदालाँदै म्याद सकिएका हुन्थे । फिल्डमा पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशक शर्माले जवाफ दिएका थिए, ‘ढुवानीमा हुने ढिलाई र कर्मचारी अभावले म्याद नाघेको औषधि आइपुगेको हो ।’ 


हुम्लाका सांसद जयपति रोकाय विगत सम्झेर भन्छन्,–‘हिजो र आज निकै ठूलो अन्तर भएको छ । सदरमुकामलगायतका पालिका जोड्ने सडक बनेका छन् । धेरै गाउँमा सडक जोडिएका छन् । पैसा हुनेले किनेर खान नपाइने विगतको अवस्था छैन ।’ अहिले हुम्लामा खाद्यान्न गाउँगाउँगा गाडीले लैजाने गरेको उनले बताए । केही स्थान अझै विकट जस्तै रहेको उनले बताए । जे भए पनि तीन दशक अघिको जस्तो दयनीय अवस्थाबाट नागरिक विस्तारै सुविधा नजिक पुगेको भनाइ उनको छ । 

रोग र भोकले गाँजेको मात्र होइन किनेर खानसमेत नपाउने अवस्थाबाट गुज्रेका हुम्लावासीको पीडालाई पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘हुम्लामा १ सय ७० को मृत्यु, पर्याप्त खाद्यान्न नपुगेसम्म रोगव्याधि नरोकिने’ शीर्षकमा २०५५ जेठ १३ मा प्रकाशन गरेको थियो । कान्तिपुरले त्यो बेला जहाजबाट खाद्यान्न ढुवानी गरेको र खाद्य डिपोमा दुई हजार हुम्ली २० किलो गहुँ र चामल पाउने आशामा दुई किमि लामो लाइन बसेको तस्बीर प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully