[अर्काइभ]विद्युत् उत्पादनमा निजी लगानी भित्र्याउन शैलजाले गरेको ३० वर्षअघिको त्यो निर्णय

शैलजा अचार्यले निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद गर्ने ऐतिहासिक निर्णय गरी निजी लगानीकर्तालाई आकर्षित गरेकी थिइन्, जसको प्रभाव आज देखिएको छ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

[Archive]The decision made by Shailaja 30 years ago to bring in private investment in power generation

What you should know

काठमाडौं — पञ्चायतको अन्त्यसम्ममा अर्थात् २०४७ सम्म मुलुकमा कुल विद्युत् उत्पादन करिब सवा २०० मेगावाट हराहारी थियो । मुख्य सहरबाहेक धेरै ग्रामीण भेग टुकी बत्तीको उज्यालोमा निर्भर थियो । सरकारले मात्र विद्युत् उत्पादन गर्ने आर्थिक क्षमता थिएन ।

त्यसैले ०४६ को परिवर्तनपछि ०४८ मा बनेको कांग्रेस नेतृत्वको सरकारले विद्युत् आयोजनामा निजी क्षेत्रको लगानी भित्र्याउने रणनीति तय गरेको थियो । विद्युत्‌मा लगानी बढाउन सरकारले निजीकरण ऐन नै ल्याएको थियो । त्यही सिलसिलामा ०४८ मा नयाँ जलविद्युत विकास नीति ल्याइयो । यसमा टेकेर विद्युत् ऐन २०४९ आयो । विद्युत् नियमावली २०५० पनि बनेको थियो । तर निजी क्षेत्र आकर्षित हुन सकेको थिएन । नर्वे र अमेरिकाले खिम्ती र भोटेकोशी विद्युत् आयोजनामा लगानी गरे पनि स्वदेशी लगानीकर्ता आकर्षित हुन सकेका थिएनन् ।

सरकारलाई स्वदेशी निजी क्षेत्रले विद्युत् विकासमा लगानी गर्न सक्छन् भन्ने विश्वास थिएन । निजी क्षेत्रले पनि बिजुली उत्पादन गर्न सक्छ र ? भन्ने प्रश्न सरकारले नै गरिरहेको थियो । जलविद्युत् क्षेत्रका प्रवर्द्धक कृष्णप्रसाद भण्डारी झन्डै ३० वर्ष अघिको घटना सुनाउँछन- ‘सुरुमा सुरुमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निजी क्षेत्रले पनि विद्युत् आयोजना बनाउन सक्छ भनेर प्रश्न गर्नुभएको थियो । हामीले उहाँलाई निकै सम्झाएपछि ‘कन्भिन्स’ हुनुभएको थियो । उहाँ ५ मेगावाटसम्मको पीपीए सुरु गराउनुभएको थियो ।’ 

२०५५ वैशाख २ मा जलस्रोतमन्त्री बनेकी शैलजा अचार्यको साढे आठ महिनाको कार्यकालमा स्वदेशी निजी लगानी भित्र्याउने महत्त्वपूर्ण निर्णय भएको थियो । अहिले जसरी निजी विद्युत् उत्पादनको क्षेत्रको अरबौँ लगानी भएको छ त्यसको जग राख्ने निर्णय शैलजाले गरेकी थिइन् ।

त्यसकै परिणाम अहिले निजी क्षेत्रले उत्पादन गरेको विद्युत् मुलुकभर फैलिएको लगानीकर्ताहरू बताउँछन् । शैलजाले मन्त्री भएकै दिन ‘सानो नै सुन्दर’ भन्ने नारा अघि सारेकी थिइन् । त्यही नारालाई व्यवहारमा कार्यान्वयन गर्न उनले निजी क्षेत्रबाट उत्पादित १ मेगावाटसम्मको विद्युत् नेपाल विद्युत् प्राधिकरणले तत्कालै खरिद गर्ने निर्णय गरेकी थिइन् । त्यस्तै सन् २००३ अर्थात् ०५९ पुससम्ममा १ देखि १० मेगावाटसम्मका विद्युत् आयोजनाबाट ५० मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेकी थिइन् । यसबाट निजी क्षेत्र उत्साहित भएर विद्युत् उत्पादनमा लगानी गर्ने अपेक्षा सरकारले गरेको थियो । भण्डारीकै भनाइमा पनि विद्युत् आयोजनाको लाइसेन्स लिने क्रम पनि त्यसपछि बढेको थियो । 

प्राधिकरणको अध्यक्षको हैसियतमा शैलजाले प्राधिकरणको सम्पत्तिको दुरुपयोग रोक्ने प्रयास गरेकी थिइन् । उनले ग्रामीण विद्युतीकरणलाई सिंचाईसँग आवद्ध गरी करिब ९ हजार ट्युबेल र ४० वटा साना ट्युबेल सञ्चालनका लागि प्राधिकरणले विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकी थिइन् । प्राधिकरणले टेण्डरबाट गरिने सबै कार्यक्रमहरूको टेण्डर मुल्यांकन र परामर्शदाता छनौटको विस्तृत मुल्यांकनको आधार पारदर्शी गराउने निर्णय उनले गरेकी थिइन् । प्राधिकरणले गर्ने अनावश्यक खर्च घटाउन उनले गरेको प्रयासको त्यतिबेला निकै प्रसंशा भएको थियो ।

प्राधिकरणको सवारी साधन अन्य व्यक्तिले प्रयोग गरेको भए फिर्ता गराउने निर्णय त्यतिबेला निकै चर्चामा थियो । त्यतिबेला प्राधिकरणको सवारी साधानको व्यापक दुरुपयोग भएको र मुलुकमा उच्च तहका राजनीतिक र प्रशासनिक व्यक्तिहरुले गाडीको दुरुपयोग गरेका थिए । ‘तपाईंसँग गाडी छैन भने प्राधिकरण जानुस्’ भन्ने मान्यताको विकास भएको थियो । मन्त्री शैलजाले अनाधिकृत रुपमा प्रयोग गरेका गाडी फिर्ता गर्ने निर्णय गरेपछि धेरै मन्त्री, सांसद र राजनीतिक नेताहरूलाई समेतलाई उनले अप्ठयारोमा पारेकी थिइन् । किनकि त्यतिबेला उनीहरूले प्राधिकरणको गाडी प्रयोग गर्थे । उनले आफ्नै अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले दसौं तह र सोभन्दा माथिका पदाधिकारीका लागि गाडी खरिद गर्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् । उपभोक्तालाई राहत दिनेगरी विद्युत् महसुलमा पुनरावलोकन गर्न उनले समिति गठन गरेकी थिइन् । 

प्राधिकरणको गाडीको व्यापक दुरुपयोग

 [Archive]The decision made by Shailaja 30 years ago to bring in private investment in power generation

त्यतिबेला प्राधिकरणले आफ्ना गाडीहरू कति संख्यामा छन् र कसले चढेको छ यकिन गर्न सक्ने अवस्था थिएन । शैलजाको अध्यक्षतामा भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले मन्त्री, सांसद र राजनीतिक व्यक्तिहरूले चढेको १३ वटा गाडीको विवरण प्रस्तुत गरेका थिए । अन्य गाडीका बारेमा प्राधिकरणनै अनभिज्ञ थियो ।

प्राधिकरण प्रशासन विभाग प्रमुख प्रेमराज गौतमले कान्तिपुरसँग भनेका थिए,‘गाडी फर्काउने कुरा हाम्रो हातमा हुँदैन । जलस्रोत मन्त्रालयले गृहलाई भनेर ट्राफिकमार्फत पक्रेर ल्याउने हो ।’ सांसदहरूले चालक प्राधिकरणकै लैजाने, मर्मत र इन्धन खर्चको बील पनि पेस गर्ने गरेका थिए । आर्थिक वर्ष ०५२/०५३ मा १ करोड २० लाख रुपैयाँ इन्धन बापत आयल निगमलाई तिरेको थियो ।  प्राधिकरणले आफ्नो गाडीका विषयमा कहिल्यै चासो नराखेको र कसले कुन गाडी प्रयोग गरेका छन् त्यसको पनि बेवास्ता गरेको प्राधिकरण कल्याण परिषद्का अध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिएका थिए ।

कान्तिपुरसँगको कुराकानीमा प्राधिकरण कर्मचारी संघका महासचिव विश्वनाथ शर्माले पछिल्लो केही महिनामा मात्र मन्त्री, सांसद र उच्च तहका कर्मचारीले १५ वटा गाडी लगिसकेको जानकारी दिएका थिए । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सार्वजनिक लेखा समितिका पूर्वसभापति हृदयेश त्रिपाठी, पूर्वमन्त्री तथा राज्यमन्त्रीहरू खोवारी राय, शान्तिशमशेर राणा, हेमबहादुर मल्ल, सर्वेन्द्रनाथ शुक्ला, शिवराज सुवेदीलगायतले प्राधिकरणको गाडी चढेका थिए ।

पूर्वजलस्रोत मन्त्री पशुपति शमशेर राणाले आफू मन्त्री भएका बेला सचिवालयका लागि लगेको ५ वटा गाडी फिर्ता गरिएको थिएन । सार्वजनिक लेखा समितिका पूर्वसभापति  त्रिपाठीले आफूले भन्सार सुविधामा किनेको निजी गाडी प्राधिकरण अन्तर्गतकै कालीगण्डकी परियोजनालाई भाडामा दिएर मासिक ७० हजार रुपैयाँ लिने गरेको प्राधिकरणका कर्मचारीले जानकारी दिएका थिए । त्रिपाठीले भने त्यतिबेला प्राधिकरणको ९४८ नम्बरको पजेरो गाडी प्रयोग गरेका थिए । परिस्थिति यस्तो थियो कि प्राधिकरणको गाडी दुरुपयोगको चरमस्थिति रोक्न आफूहरूले नसक्ने जानकारी प्राधिकरण कल्याण परिषद्का अध्यक्ष श्रेष्ठले दिएका थिए ।

यही पृष्ठभूमिमा प्राधिकरणको सवारी साधन सत्ता, शक्ति पहुँच हुनेहरूले कसरी दुरुपयोग गरिरहेका छन् त्यसमा आधारित भएर तयार गरेको समाचार कान्तिपुरले ‘तपाईंसँग गाडी छैन ? प्राधिकरण जानूस्’ शीर्षकको समाचार ०५९ वैशाख २३ मा प्रकाशन गरेको थियो । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् प्राधिकरणले खरिद गर्ने निर्णयलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘१ मेगावाटभन्दा कम क्षमताका आयोजनाका विद्युत् तत्काल खरिद गरिने’ शीर्षकमा २०५५ वैशाख २१ मा प्रकाशन गरेको थियो । -प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully