[अर्काइभ] गिरिजाप्रसादको मन्त्रीमण्डलमा ‘भ्रष्टाचारी’को अनुहार देखेपछि... 

गिरिजाप्रसादले मुलुकमा भ्रष्टाचार र अनियमितता रोकेर सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर प्रतिपक्षी दलहरुको समेत सहमतिमा प्रधानमन्त्री बनेका थिए ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

[Archive] After seeing the face of a 'corrupt' in Girija Prasad's cabinet...

What you should know


काठमाडौँ — चैतको अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका गिरिजाप्रसाद कोइरालाले ०५५ वैशाख ८ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए । गिरिजाप्रसादले मुलुकमा भ्रष्टाचार र अनियमितता रोकेर सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर प्रतिपक्षी दलहरुको समेत सहमतिमा प्रधानमन्त्री बनेका थिए । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएका कारण प्रतिनिधिसभामा पहिलो ठुलो दल बनेको कांग्रेससँग सरकार बनाउन पुग्ने सांसद संख्या भने थिएन । गिरिजाप्रसादले विपक्षीहरूको समर्थनमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका थिए । 

खासगरी ०५२ पछि सत्ताको खेलले आक्रान्त बनेको मुलुकलाई राजनीतिक स्थायित्वमार्फत भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने सर्तमा विपक्षीहरूले गिरिजाप्रसादलाई समर्थन गरेका थिए । त्यसैले उनले मन्त्रीपरिषद् विस्तारदेखि नै राजनीतिक स्थायित्व र सुशासन कायम गराउने बाटोमा हिँड्न जरुरी  थियो । तर जब मन्त्रीपरिषद् विस्तार भयो गिरिजाप्रसादविरुद्ध आफ्नै सांसदहरु विरोधमा उत्रिए । उनले गरेको मन्त्रीपरिषद् विस्तारको विरोध मात्र गरिएन कांग्रेसका ६० जना सांसदले ०५५ वैशाख ९ को संसद् बैठक नै बहिष्कार गरेका थिए । सत्तापक्षले नै संसद् बैठक बहिष्कार गरेको सम्भवतः त्यो ०४६ पछिको संसदीय इतिहासमा पहिलो घटना थियो । उनीहरूले गिरिजाप्रसादले भ्रष्ट अनुहारलाई मन्त्रिपरिषद् सदस्यमा नियुक्त गरेको आरोप लगाएका थिए । गिरिजाप्रसादले २७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए । मन्त्रीपरिषद्मा मन्त्री १८, राज्य मन्त्री ८ र सहायक मन्त्री १ जना समावेश गरिएको थियो । कांग्रेसका झांगिएको छत्तिसे र चौहत्तरे समूह अर्थात् गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराई पक्षका भनेर चिनिने सांसदहरुको एउटै भनाई थियो,‘नेताहरू जनतासामु एकथोक भन्छन्, त्यसको विरोधी काम गर्छन् । हामीले नेताहरुप्रति विरोध प्रकट गरेका हौं ।’ सुशासनको नारा लगाएर प्रधामनन्त्री बने पनि गिरिजाप्रसादले मन्त्रीपरिषद्को आकार ठुलो बनाएको र भ्रष्ट अनुहारलाई मन्त्री बनाएको आरोप सांसदहरुले लगाएका थिए । 

[Archive] After seeing the face of a 'corrupt' in Girija Prasad's cabinet...

 सत्तापक्षका सांसदहरु अनुपस्थित भएपछि संसद् बैठक नै प्रभावित भएको थियो । संसद् बैठकमा सत्तापक्षका सांसद ७ जना उपस्थित भएका थिए । तर मन्त्री बसेका कुर्सी भरिभराउन देखिन्थे । बैठकमा एमाले सांसद खगराज अधिकारीले व्यंग गर्दै भनेका थिए, ‘सानो मन्त्रीपरिषद् भन्दाभन्दै ठुलो बनाइएको छ तैपनि सत्तापक्षलाई चित्त बुझेको छैन ।’ एमालेले पनि मन्त्रीपरिषद्मा समावेश गरिएका अनुहारले पार्टी निराश भएको प्रतिक्रिया दिएको थियो । राज्य मन्त्री अमरराज कैनी र सहायक मन्त्री कमला पन्तले असन्तष्टि जनाउँदै शपथ नै लिएका थिएनन् । हाल कांग्रेसका ‘सिनियर लिडर’को रुपमा क्रियाशील पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, विजय कुमार गच्छदार, आनन्द ढुंगाना, विमलेन्द्र निधिलगायतका नेताहरू आजभन्दा २९ वर्ष अघि नै मन्त्री बनेका थिए । कतिपय नेताहरू ०४८ र ०५२ को सरकारमा मन्त्री भइसकेका थिए ।

[Archive] After seeing the face of a 'corrupt' in Girija Prasad's cabinet...


सत्ता पक्षका प्रमुख सचेतक ढुंगाना र सचेतक देवेन्द्रराज कँडेल मन्त्री बने पनि सदनमा कांग्रेस संसदीय दलको सचेतकको काम गर्ने व्यक्तिकोसमेत खाँचो भएको थियो । कांग्रेस छवीप्रसाद देवकोटाले व्यंगात्मक रुपमा भनेका थिए,‘विस्तारित मन्त्रीमण्डलमा सफा छवी भएको मन्त्री देखेर नेपाली जनता खुशीले गद्गद् भएका होलान् । अरु जेसुकै होस मन्त्रीहरु ‘क्लिन इमेज’कै आएका छन् । बिग्रेकाहरु पनि मन्त्रीमण्डलमा समावेश भएको चर्चा छ । बिग्रेको भएपनि मज्जाले सप्रिनु होला ।’ सत्ता र प्रतिपक्षले नयाँ मन्त्रीमण्डलप्रति देखाएको अनुदारभावले संसद् वैठकमा उपस्थित हुन मन्त्रीहरुले अप्ठेरो मान्नुपर्ने अवस्था सिर्जना भएको थियो । राप्रपाका सांसद प्रकाशचन्द्र लोहनीले सत्तापक्षका सांसदहरुको बन्द एक दिने हो कि दुईदिने भन्दै व्यंगात्मक रुपमा भनाई राखेका थिए । राप्रपा सांसद पशुपति शमशेरले संसदमा खाली कुर्सी देखाउँदै मन्त्रीहरुलाई आफ्नै पार्टीका सांसदहरुले विश्वास गरेकोमा बधाई भनेका थिए ।


कतिपय सांसदहरुले मन्त्रीमण्डलमा कसरी भ्रष्टाचारीहरु समावेश भए भन्दै चिन्ता व्यक्त गरेका थिए । एमाले सांसद हेमराज राईले आफूहरु सरकारमा भएकाबेला सदनमा मन्त्री खोज्ने गरेकोमा अहिले सांसद खोज्नु परेको व्यंग गरेका थिए । मुख्यतः सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वको सरकारमा सहभागी आफ्नै सांसदहरुले मन्त्री नबनाएको भन्दै विरोधमा लागेका थिए । गिरिजाप्रसादले सरकारी खर्च घटाउन र सुशासन कायम राख्न सांसद तथा मन्त्रीहरुलाई निर्देशन दिए पनि मन्त्रीपरिषद्मा समावेश सदस्यहरुका कारण उनको निर्देशन कार्यान्वयन हुन कठिन हुने भनाई कांग्रेस नेताहरूको थियो ।

[Archive] After seeing the face of a 'corrupt' in Girija Prasad's cabinet...

सत्तारुढ पार्टी कांग्रेसका सांसदहरुले आफ्नै नेताले गरेको निर्णयकाविरुद्ध संसद् बहिष्कार गरेको घटनालाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५५ वैशाख १० मा ‘कांग्रेस संसादद्वारा विस्तारित मन्त्रीमण्डलको विरोधमा सदन बहिष्कार’ शीर्षकमा प्रकाशन गरेको थियो । त्यसको अघिल्लो दिन वैशाख ९ मा कान्तिपुरले ‘कोइराला मन्त्रीमण्डल विस्तार’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही दिन ‘मन्त्रीमण्डलको विस्तारबाट एमाले निराश’ शीर्षकको अर्को समाचार प्रकाशन गरेको थियो । समग्रमा गिरिजाप्रसादले गरेको मन्त्रीमण्डलको विस्तारको बढी नै आलोचना भएको थियो । खासगरी पार्टी दोस्रो र तेस्रो पुस्ताका नेताहरू भ्रष्टाचारमा मुछिएको भन्दै विरोध भएको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully