[अर्काइभ] साढे तीन वर्षमा कांग्रेसलाई पुनः सरकारको नेतृत्व गर्ने अवसर, गिरिजाप्रसाद प्रधानमन्त्री नियुक्त 

सरकारमा सहभागी हुने/नहुने विषयमा प्रतिपक्षी दलहरुमा सहमति हुन नसकेपछि राजाले २०५४ चैत ३० मा संसद्‌मा सबैभन्दा ठूलो दलका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

[Archive] Congress gets chance to lead government again in three and a half years, Girija Prasad appointed Prime Minister

What you should know

काठमाडौँ — दलगत गुटबन्दी यसरी झांगिदै गएको थियो कि अन्ततः प्रतिनिधिसभाका सबैभन्दा ठूलो दल एमाले विभाजन भएर प्रतिपक्षमा पुग्यो । तेस्रो स्थानमा रहेको पूर्व पञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द अलग भएका थिए । प्रतिपक्षी दलहरु विभाजन भएपछि कांग्रेस संसद्‌मा पहिलो दल बनेको थियो । प्रमुख प्रतिपक्षीबाट पहिलो दल बनेपछि साढे तीन वर्षको अवधिमा कांग्रेसलाई पुनः सरकारको नेतृत्व गर्ने अवसर मिलेको थियो । 

सरकारमा सहभागी हुने/नहुने विषयमा प्रतिपक्षी दलहरुमा सहमति हुन नसकेपछि राजाले २०५४ चैत ३० मा संसद्‌मा सबैभन्दा ठूलो दलका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेस संसदीय दलका नेता कोइराला दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनी पहिलो पटक ०४८ जेठमा कांग्रेसको बहुमतको सरकारको प्रभानमन्त्री बनेका थिए । यस पटक भने उनले अन्य दलहरुले विश्वासको मत दिने आश्वासनको भरमा अल्पमतको सरकारको नेतृत्व गरेका थिए । कांग्रेसका दुई जना सांसद अनुपस्थित भएपछि ०५३ फागुनमा शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीबाट हटेपछि उनलाई कांग्रेस संसदीय दलबाट पनि हटाएर गिरिजाप्रसादलाई सर्वसम्मत रुपमा चयन गरिएको थियो । 

[Archive] Congress gets chance to lead government again in three and a half years, Girija Prasad appointed Prime Minister

संसद्‌मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा राजाले गिरिजाप्रसादलाई दोस्रो पटक प्रधानमन्त्री नियुक्त गरेका थिए । सूर्यबहादुर थापा र कांग्रेसले आधा/आधा समय प्रधानमन्त्री हुने समझदारी भए पनि राप्रपा विभाजित भएपछि नयाँ परिस्थिति बनेको थियो । गिरिजाप्रसादलाई एमालेले समर्थन गर्ने वचन दिएको थियो भने नयाँ गठन भएको मालेले भने कांग्रेससँग विभिन्न शर्त अघि सारेको थियो । 

कांग्रेस महामन्त्री तारानाथ रानाभाटले अरु पार्टीले विश्वासको मत दिने विश्वास गरेरै कांग्रेसको अल्पमतको सरकार बनाउने हिम्मत गरेको बताएका थिए । कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले सबैलाई विश्वासमा लिएर अघि बढ्ने बताएका थिए । उनले कांग्रेस सबैको विश्वास रहेको दाबी गरेका थिए । 

एमालेले विश्वासको मत दिने

एमालेले भने कांग्रेसको अल्पमतको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । पार्टी विभाजनपछि पहिलोबाट दोस्रो ठूलो दल बनेको एमाले मूल्य र मान्यताको राजनीतिका लागि अल्पमतको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । एमाले केन्द्रीय सदस्य प्रदीप नेपालले विश्वासको मत दिने कुरा धेरै पहिले गरेको भन्दै पार्टीको निर्णयलाई जानकारी गराएका थिए । 

नवगठित नेकपा मालेले भने कांग्रेसलाई मत दिनका लागि सन् १९५० मा भारतसँग भएको सन्धिसम्बन्धी पुनरावलोकन, सीमा विवाद समाधान, कालीपानीबाट भारतीय सेना हटाउने जस्ता माग राखेको थियो । साथै गृह र अर्थमध्ये एउटा मन्त्रालय आफूले पाउनुपर्ने माग मालेका नेताहरुले राखेका थिए । मालेले राखेको अधिकांश माग पूरा गर्न असमर्थता रहेको जानकारी दिएपछि प्रधानमन्त्री गिरिजाप्रसादलाई मत दिने/नदिने निर्णय हुन सकेको थिएन । एमाले नेताहरुले मालेसँग मिलेर सरकार बनाएमा शत्रुता कायम हुन सक्ने चेतवानी कांग्रेसलाई दिएका थिए । 

[Archive] Congress gets chance to lead government again in three and a half years, Girija Prasad appointed Prime Minister

राजाले गिरिजाप्रसाद कोइरालालाई अल्पमतको प्रधानमन्त्री नियुक्त गरेको सन्दर्भ जोडेर पत्रकारद्वय हरिबहादुर थापा र गुणराज लुइँटेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले ०५४ चैत ३१ मा ‘कांग्रेसको अल्पमतको सरकारलाई एमालेले विश्वासको मत’ दिने शीर्षकमा प्रकाशन भएको थियो । साथै चैत ३० मा ‘प्रधानमन्त्रीमा कोइराला नियुक्त’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । छोटो अवधिमा सरकारको नेतृत्व फेरिरहेकाले राजनीतिक अवस्था अस्थिर थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully