संसद्मा सांसदले निर्वाह गर्ने भूमिका पहिले र अहिलेको अन्तर के हुन सक्ला ? जिज्ञासा स्वभाविक हुन सक्छ ।
What you should know
काठमाडौं — उतिबेला अर्थात २९ वर्षअघिको संसद् । संसद्मा के विषय उठ्थे ? सांसदहरूले बोल्ने विषय के हुन्थ्यो ? कसरी चल्थ्यो संसद् ? के त्यति बेलाको र अहिलेको संसद्मा उठ्ने एजेण्डा र शैलीमा फरक होला ? संसद् सञ्चालन र संसदीय व्यवस्थाप्रति जिज्ञासा राख्ने अध्येयताका लागि मात्र होइन सर्वसाधारणले पनि चासो राखेको पाइन्छ । संसद्मा सांसदले निर्वाह गर्ने भूमिका पहिले र अहिलेको अन्तर के हुन सक्ला ? जिज्ञासा स्वभाविक हुन सक्छ ।
यद्यपि, सांसदहरुको अनुहार, राजनीतिक दल र समय फरक भएपनि झण्डै तीन दशकको संसदीय अभ्यासबाट खारिएको हाम्रो संसदमा अहिले र ५० को दशकमा उठेका मुद्धा लगभग मिल्दाजुल्दा भेटिन्छन् । उतिबेलादेखिनै भ्रष्टाचार र तस्करीको विषय अहिलेसम्म पनि साझा जस्तै देखिन्छ । अहिले जसरी संसदमा भ्रष्टाचार र अनियमितताका विषयमा छलफल भइरहेको छ उतिबेलाको संसदमा पनि यो विषय सँधैजसो गुन्जने गरेको थियो । सांसद र मन्त्रीहरुले नेपाली पोशाक नलगाएको विषयमा तत्कालिन सभामुख रामचन्द्र पौडेलले रुलिङ नै गरेका थिए ।
अहिले जसरी प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली पोशाक नलगाएको विषयमा चर्चा हुने गरेको छ त्यतिबेला त संसद भित्रै पोशाकको कुरा उठाएर सभामुखले सांसदहरुलाई रुलिङ गरेर संसदलाई हेप्ने भन्दै प्रश्न गरेका थिए । ०५४ चैत २४ को संसद वैठकमा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको सन्दर्भ उठाएर विपक्षी सांसदहरुले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा र अर्थमन्त्री रविन्द्रनाथ शर्माको राजीनामासमेत मागेका थिए । अहिले सुन र भन्सारबाट हुने तस्करी तथा राजनीतिक व्यक्तिहरुको संलग्नताको विषय झन् धेरै उठ्ने गरेको छ । अहिले सांसदहरुले पाउने सुविधाका विषयमा जसरी कुरा उठ्ने गरेको छ । उतिबेला भन्सार छुटमा खरिद गरेको पजेरो र सांसदले लिएको औषधि उपचार खर्चको विषय चर्चामा थियो ।
०५४ चैत २४ को संसद् बैठकमा बोल्दै कांग्रेसका सांसद भीमबहादुर तामाङले तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले आफ्नो मन्त्रालयमा भ्रष्टाचार भएको बताएर नैतिकता देखाएको प्रसंग जोडेका थिए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीले भ्रष्टाचार हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन्छ भन्ने तर कारबाही गर्न नसक्ने भन्दै आलोचना गरेका थिए । संसद् बैठकमा एमाले सांसद भीम रावल र भानुभक्त जैशीले प्रधानमन्त्री र अर्थमन्त्री तस्करी नियन्त्रण गर्न असफल भएको बताएका थिए । कांग्रेसका सांसद दिपकजंग शाहले आफ्नो घर र गाडीमा माओवादीले तोडफोड गरे पनि प्रधानमन्त्री र गृहमन्त्रीले सोधखोज नगरेको भन्दै गुनासो पोखेका थिए ।
प्रतिनिधिसभामा विशेष समयमा बोल्दै कांग्रेस सांसद शाहले भनेका थिए,‘कुनै सुन तस्करको घरमा यस्तो घटना भएको भए रातारात के पो हुने थियो । सुन र एयरपोर्टको विषयमा सोधखोजमा व्यस्त रहनेहरूलाई मेरो बारेमा सोधपुछ गर्न समय नहुनु स्वभाविक हो ।’ सांसद शाहले आफ्नै पार्टीका गृहमन्त्री खुमबहादुर खड्काप्रति लक्षित गरेर आक्रोस पोखेका थिए । त्योबेला सरकारी संरक्षणमा मुख्यतः त्रिभुवन विभानस्थलबाट सुन भित्र्याएको चर्चाले बजार पाएको थियो । गृहमन्त्री खड्कामाथि प्रहरीकै संरक्षणमा सुन भित्र्याएको आरोप लागेको थियो । कान्तिपुरले ०५४ चैत २० मा ‘गृहमन्त्री खड्काको जीवनमा एक दिन’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारमा गृहमन्त्री खड्काले त्रिभुवन विमानस्थलबाट संवेदनशील मार्ग भएर नेपाल भित्रने पहेँलो धातुसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्टिकरण दिएको प्रसंग जोडिएको थियो । नेपाल टेलिभिजनमा ०५४ चैत १८ मा दिएको अन्तर्वार्तामा गृहमन्त्री खड्काले पहेँलो धातुको विषयमा पटक पटक स्पष्टिकरण दिने प्रयास गरेका थिए । त्यतिबेला प्रधानमन्त्री थापा चुपचाप बसेको र अर्थमन्त्री र गृहमन्त्रीले सुन ल्याउन सघाएको ‘मिडियाबाजी’ भएको थियो । त्यसकै आधारमा कांग्रेस सांसद शाहले व्यंगात्मक रुपमा आफ्नै पार्टीका गृहमन्त्रीलाई घोचपेच गरेका थिए ।
आपसमै आलोचना
संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच आलोचना हुनुपर्नेमा सत्तापक्षका सांसदहरूबीच नै एउटाले अर्कोको आलोचना गरेको पाइन्थ्यो । दृश्य कस्तो देखिन्थ्यो भने सत्तापक्ष–सत्तापक्ष र प्रतिपक्ष–प्रतिपक्षबीच आरोप–प्रत्यारोप चल्ने गरेको थियो ।
सत्तापक्षका सांसदहरू अर्थमन्त्री र प्रधानमन्त्रीमाथि खनिएका थिए भने प्रतिपक्षका सांसदहरू एमाले र मालेबीच एकअर्कामा आलोचना गरिरहेका थिए । एमाले सांसद रघुजी पन्तले मालेका महासचिव गौतमको आलोचना गरेका थिए । जवाफमा मालेका सिद्धिलाल सिंहले भनेका थिए, ‘एमाले नेताहरुको विश्वसनीयता कम भएको छ तर गौतमको विश्वसनीयता कम भएको छैन ।’ प्रतिपक्षबीच नै प्रश्नोत्तर हुन थालेपछि एमाले सांसद विरोध खतिवडाले अचम्म मान्दै भनेका थिए, ‘प्रजातन्त्र कुन मोडमा आइपुगेको हो बझ्न सकिएन, अघिल्लो अधिवेशनमा यस्तो रुप देखिएको थिएन । सत्तापक्ष–सत्तापक्ष र प्रतिपक्ष–प्रतिपक्षबीच आपसमा विवाद र नियमापत्ति झल्कने गरेको थिएन ।’
संसद्मा दौरा सुरुवालको चर्चा
सभामुख पौडेलले सांसदहरुलाई भनेका थिए,‘अरु शक्ति केन्द्र जाँदा दौरा–सुरुवाल र टोपीमा छाँटकाँट मिलाएर जान्छौं । हामी अरु शक्ति केन्द्रलाई ठूलो मान्छौँ कि यो संसद्लाई ?’ ०५४ चैत २४ को संसद् बैठकमा दुईजना मन्त्री र आधा दर्जन सांसदलाई लक्षित गर्दै सभामुख पौडेलले दौरा–सुरुवाल लगाउन रुलिङ नै गरेका थिए । प्रतिपक्षी दलमा सांसद रघुजीले मन्त्रीलाई नियम लाग्दैन भन्ने प्रश्न गर्दै सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए । ‘दुतावासको निम्तामासमेत राष्ट्रिय पोशाक र सुटमा आउनुपर्ने नियम हुन्छ । तर, संसद्मा सांसदद्वारा पारित नियमावलीको मन्त्री र सांसदबाटै उल्लंघन भइरहेको छ,’ रघुजीले भनेका थिए ।
संसद्मा सद्भावना पार्टीका अध्यक्ष एवं स्थानीय विकासमन्त्री गजेन्द्रनारायण सिंह र वन तथा भू–संरक्षण मन्त्री हृदयेश त्रिपाठीले कुर्ता, सलवार र धोतीमा संसद्मा आएपछि दौरा–सुरुवालको प्रसंग उठेको थियो । सांसद रघुजीको कुरा सुनेपछि मन्त्री त्रिपाठीले उठेर बोल्न खोजेका थिए । तर, सभामुख पौडेलले रोकेर प्रश्न गरेका थिए,‘तपाईंलाई नियम लाग्छ कि लाग्दैन ?’
सभामुखले राष्ट्रिय पोशाक अनिवार्य गर्ने नियमावली तपाईंहरूले नै पारित गरेको होइन भन्दै प्रश्न गरेका थिए । सांसद प्रदीप गिरीले बन्दको दिन दौरा–सुरुवाल नलगाउने छुट दिनुपर्ने बताएका थिए । तर, उनी आफैले भने त्यो दिन सेतो दौरा सुरुवाल लगाएका थिए । उनले भनेका थिए, ‘सांसद भनेर चिनिँदा बन्दको दिन घेरिने डर भएकाले एक दिनका लागि छुट दिनुपर्ला ।’ तर, सभामुख पौडेलले भने सांसदहरूमाथि विभिन्न प्रश्न उठिरहेको भन्दै बन्दको दिन होइन ३६५ दिन नै लगाउनुपर्छ ।’ सभामुखको भनाइमा सांसदहरूले टेबुल ठोकेका थिए । दौरा सुरुवाल नलगाउने सांसदहरू पछाडि सिटमा खम्बाले छेकिने गरी बसेका थिए । ![[Archive] Parliament at that time: Discussion of national costumes and corruption](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/page1kpr-chait-posak-1462026045715-1000x0.jpg)
उतिबेला संसद्मा उठने गरेका विषय, एमाले फुटका कारण संसद्मै देखिएको मनमुटाव र भ्रष्टाचारका घटनाहरूका विषयलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ चैत २५ मा ‘भ्रष्टाचार–तस्करी नियन्त्रण नभएकोमा चिन्ता’, ‘राष्ट्रिय पोशाकबारे सभामुखद्वारा पुनः रुलिङ’ शीर्षकमा प्रकाशन गरेको थियो । त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउन सरकार नै लागेको विषय निकै उठेको थियो । -प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Parliament at that time: Discussion of national costumes and corruption](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/page1kpr-chait-23-cartoon-1462026045538-1000x0.jpg&w=1001&h=0)