मालेले ०५४ फागुन २९ मा नेकपा मालेको अध्यक्षमा सहाना प्रधान र महासचिवमा वामदेव गौतमसहितको केन्द्रीय समिति चयन गरिएको थियो ।
What you should know
काठमाडौँ — ४० प्रतिशतभन्दा बढी सांसदको समर्थनमा नेकपा माले पार्टीको संसदीय दलको मान्यता पाएपछि एमाले २०५४ फागुन २२ मा विधिवत् रूपमा विभाजन भएको थियो । मालेले ०५४ फागुन २९ मा नेकपा मालेको अध्यक्षमा सहाना प्रधान र महासचिवमा वामदेव गौतमसहितको केन्द्रीय समिति चयन गरिएको थियो । तत्कालीन अवस्थामा संसद्मा सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएकाले यसको प्रभाव मुलुकभर परेको थियो । भ्रातृ संस्थाहरु विभाजित थिए भने शुभचिन्तक र समर्थकहरू अलमलमा थिए । एमाले–माले दुवैले पार्टी विभाजन ठिक र बेठिकको मुद्दा लिएर कार्यकर्तालाई आफ्नो पक्षमा उभ्याउने अभियान चलाएका थिए । दुवै पक्षले मुलुकभर भेला र भेटघाट कार्यक्रमहरू आयोजना गरेर नेताहरू दौडधुपमा लागेका थिए । तर दुवै पक्षमा नेताहरूमाथि आक्रमण गर्ने, कालोमोसो दल्ने तथा सभा सम्मेलनहरुमा ढुंगामुडा गर्ने जस्ता घटना ठाउँ ठाउँमा भइरहेको थियो । नेताहरूले एकले अर्कालाई गालीगलौज गरिरहेका थिए । पार्टी विभाजनमा एउटाले अर्कोलाई दोष लगाउने क्रममा व्यक्त अराजनीतिक बिचारहरूले आपसी द्वन्द्वलाई प्रशय दिइरहेको थियो । मालेका नेताहरूले एमाले छिट्टै पत्ता साफ हुने बताइरहेका थिए । एमाले नेताहरूले मालेका नेताहरूलाई राजावादी, दक्षिणपन्थी भड्काउला लागेको, भ्रष्ट चरित्र भएको दोष लगाएका थिए ।
एमाले महासचिव माधव कुमार नेपालले मालेका महासचिव गौतम, नेताहरू सीपी र राधाकृष्ण मैनालीमाथि गम्भीर आरोप लगाएका थिए । ०५४ चैत १५ मा स्याङ्जामा आयोजित कार्यकर्ता प्रशिक्षणमा सीपीले राजा महेन्द्रको प्रशंसा गरेको भन्दै उनी ०४६ को आन्दोलनको विरोधी भएको बताएका थिए । सीपीले ०३३ को राजाको शान्ति क्षेत्रको घोषणाको समर्थन गरेको र ०१७ को घटनापछि राजा महेन्द्रलाई कुशल राजनेता मानेको आरोप नेपालले लगाएका थिए । उनले गौतमको राष्ट्रवादलाई नक्कली राष्ट्रवादको संज्ञा दिएका थिए । नेपालले सीपी, राधाकृष्ण र गौतममाथि तस्कर र माफियाको सहयोगमा अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका थिए । एमाले नेताहरूले मालेका नेताहरूमाथि मुलुकभर यस्तै आरोप लगाउने गरेका थिए । एमालेले माले र त्यसका विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरेका थिए । एमाले नेताहरूले ‘वामदेव र सीपीविरुद्ध लडाइँ चलाइरहनुपर्छ’ जस्ता अभिव्यक्ति दिएका थिए ।
नेताहरूको जीउज्यान नै खतरामा
पार्टी विभाजनपछि नेताहको भौतिक सुरक्षामा चुनौती थपिएको थियो । एकले अर्कालाई भौतिक रूपमा आक्रमण गर्ने योजना बनाएका थिए । चैत १५ का नवलपरासीको कावासोतीमा माले महासचिव गौतममाथि एमाले कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । महासचिव गौतमको ढाड र टाउकोमा चोट लागेको थियो । एमालेका कार्यकर्ता कालो झण्डासहित ठुलो संख्यामा उपस्थित भएर ‘वामदेव चोर, देश छोड, ‘सूर्यको मत फिर्ता दे,’ ‘भ्रष्ट सांसद राजीनामा दे’ भन्दै नारा लगाएका थिए । पार्टीले राखेको कार्यक्रममा गौतमलाई बोल्न नदिन एमाले कार्यकर्ताले बाहिरबाट टिन ठटाएका थिए भने माइको तार नै काट्ने कोसिस गरेका थिए । तर गौतमले उक्त कार्यक्रममा १० मिनेट बोलेका थिए ।
गौतमले एमाले कार्यकर्ता असहिष्णु भएको भन्दै आलोचना गरेका थिए । उनले आफूले चाहेमा महासचिव नेपाल र केपी ओलीलाई ५० जिल्लामा खुट्टा टेक्न नदिने बताएका थिए । गौतमले एमाले कार्यकर्तामाथि इंगित गर्दै भनेका थिए,‘अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववादको पैसा खाएर नारा लगाउँदैमा नेपाली राष्ट्रवाद गिर्न सक्दैन ।’ उनले एमाले कार्यकर्तामा फरक विचारलाई सुन्न सक्ने धैर्यता नभएको आरोप लगाएका थिए । उनले मालेको ६३ वटा जिल्ला कमिटी बनेका र ४५ हजार कार्यकर्ता भएको दाबी गरेका थिए । कार्यक्रममा उनले एमाले नेताहरूलाई राष्ट्रघाती भन्दै उनले एक वर्षपछि एमाले नेपालबाटै पत्ता साफ भएर जाने उद्घोष गरेका थिए ।
कार्यक्रम सकेर फर्कने क्रममा उनीमाथि ढुंगामुडा हुँदा प्रहरी निरीक्षक धिरजप्रताव सिंह, तीन जना प्रहरी, मालको कार्यकर्ता र केही पत्रकारसमेतलाई लागेको थियो । घटनामा प्रहरीले लाठी चार्ज गरेको थियो ।
एमाले नेताहरूमाथि आक्रमण
मालेका कार्यकर्ताले ठाउँ ठाउँमा एमाले नेता कार्यकर्तामाथि आक्रमण गरेका थिए । चैत १७ मा बुटवलमा आयोजित कार्यक्रममा एमाले नेताहरू प्रदीप ज्ञवाली र मोदनाथ प्रश्रितमाथि आक्रमण गरेर घाइते बनाइएको थियो । मालेका विद्यार्थी नेता रुपनारायण श्रेष्ठको नेतृत्वमा भएको आक्रमणमा नेता ज्ञवाली र प्रश्रित घाइते भएका थिए । एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप नेपालले विज्ञप्ति प्रकाशित गरेर मार्ने नियतले आक्रमण गरेको बताएका थिए । विज्ञप्ति अनुसार प्रश्रितको आँखामा धुलो हालिएको थियो । त्यस्तै झ्यालको सिसाको टुक्राले गर्दनमा रेट्नेको प्रयास गरेको, चेन, छड र बेन्चको खुट्टा प्रहार गरेको नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
बुटवलमै नगर कमिटीले आयोजना गरेको बुद्धिजीवीहरूको अन्तरक्रिया कार्यक्रममा मालेका कार्यकर्ताले आक्रमण गरेर प्रश्रितको अनुहारमा मोबिल दलेर पिटेका थिए । ज्ञवालीमाथि भौतिक आक्रमण गरिएको थियो । आक्रमणकारीहरू भने घटनास्थलबाट भ्यान चढेर भागेका थिए । विद्यार्थी नेता रूपनारायणलाई नेपालगन्जको राष्ट्रिय महाधिवेशनमा अनुशासन उल्लंघन गरेको अभियोगमा पार्टी सदस्यता नै निलम्बन गरिएको थियो । उनी गौतम पक्षमा खुलेर लागेका थिए ।
सत्ताको खेल सुरुवात
एमालेको विभाजनले सरकार परिवर्तनको प्रयास पुनः जागृत भएको थियो । विशेषतः एमाले कमजोर भएपछि प्रधानमन्त्री सूर्यबहादुर थापालाई हटाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउने खेल अघि बढेको थियो । प्रधानमन्त्री थापाले सहज रूपमा सत्ता हस्तान्तरण गर्नुपर्ने विषय एमाले फुट्नु अगावै उठेको थियो । एमाले फुटेपछि कांग्रेस नै ठुलो दल भएको थियो । राप्रपा र एमालेको फुटले सत्ताका लागि दलहरूले आफ्नो पार्टी नै विभाजन गरेको नकारात्मक सन्देश जनस्तरमा गइरहेको थियो ।
आफू कमजोर भएपछि सत्तामा जान सवै दलले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई आफूहरूको समर्थन कांग्रेसलाई रहेको बताएका थिए । त्यति बेला कोइरालाले आफू प्रधानमन्त्री बन्ने तरखर गरेका थिए । त्यसका लागि थापाले सहज रूपमा सत्ता हस्तान्तरण गर्नुपर्ने भनाई कांग्रेसको थियो । माले र एमालेबिचको झगडामा केन्द्रित भएर कान्तिपुर दैनिकले लगातार सातासम्म समाचार प्रकाशित गरेको थियो । कान्तिपुरले ०५४ चैत १६ मा एमाले महासचिवमाथि ढुङ्गा प्रहार शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यस्तै ‘मालेमा दरबारपरस्त चिन्तन हाबी छ’, ‘मालेका कार्यकर्ताद्धारा एमाले नेताद्धय ज्ञवाली र पश्रितविरुद्ध आक्रमण’ शीर्षकमा चैत १८ मा समाचार प्रकाशन गरिएको थियो ।
प्रस्तुति: ऋषिराम पौड्याल
![[Archive] As party divisions leave leaders insecure...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)