[अर्काइभ] सय दिनमै सरकार ढाल्न खोजेको भन्दै सूर्यबहादुर थापाले गरेको त्यो मध्यावधि सिफारिस... 

संसद‍्मा राप्रपाबिना एमाले र कांग्रेसले सरकार बनाउन सक्ने अवस्था थिएन । तर राप्रपा सांसदहरूले जुनसुकै बेला चन्द र थापा समूह फेरिरहन्थे । चन्द सरकार ढाल्न सहयोगी बनेका राप्रपा सांसदहरू सय दिन नपुग्दै थापा सरकार ढाल्ने समूहमा जोडिइसकेका थिए ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

[Archive] That mid-term recommendation made by Surya Bahadur Thapa, saying he was trying to topple the government in 100 days...

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा प्रधानमन्त्री बनेको ९३ दिन पुगेको थियो । प्रधानमन्त्री थापाको सरकार ढाल्न राप्रपाका सांसद र मन्त्रीहरूले चलखेल सुरु गरिसकेका थिए । राप्रपा संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्दलाई हटाएर २०५४ असोजमा थापा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेको सय दिन नपुग्दै राप्रपाकै सांसद तथा मन्त्रीहरूले थापा हटाउन भित्रभित्रै चलखेल सुरु गरेका थिए । 

मन्त्रिपरिषदमा बसेर भित्रभित्रै सरकार ढाल्ने अभियानमा लाग्ने राप्रपाका मन्त्रीहरूको चरित्र अस्थिरताको मूल कारण बन्दै गएको थियो । संसद‍्मा राप्रपाबिना एमाले र कांग्रेसले सरकार बनाउन सक्ने अवस्था थिएन । तर राप्रपा सांसदहरूले जुनसुकै बेला चन्द र थापा समूह फेरिरहन्थे । चन्द सरकार ढाल्न सहयोगी बनेका राप्रपा सांसदहरू सय दिन नपुग्दै थापा सरकार ढाल्ने समूहमा जोडिइसकेका थिए । 

आफ्ना सांसदहरूको प्रवृत्ति देखेर २०५४ असोजमा प्रधानमन्त्रीको हैसियतमा संसदमा अविश्वासको सामना गर्ने क्रममा चन्दले भनेका थिए, ‘जहाज डुब्ने बेला सबैभन्दा पहिला मुसाहरू पानीमा हाम फाल्छन्, तैपनि तिनीहरू बाँच्दैनन् । ती मुसाहरूले अर्को जहाज चढ्ने मौका पाए भने त्यसमा फेरि प्वाल पारेर पानी पस्ने बनाउँछन् र जहाज डुबाउँछन् ।’ त्यतिबेला चन्दको उक्त भनाइ पार्टी अध्यक्ष थापा, मन्त्री कमल थापासहितका सांसदहरूप्रति लक्षित थियो । चन्दले उक्त भनाइ प्रतिनिधिसभामा निकै गम्भीर भएर राखेका थिए । 

 नभन्दै उनको भनाइ प्रधानमन्त्री भएको सय दिन नपुग्दै थापामाथि पनि लागू भएको थियो । जसरी चन्दको मन्त्रिपरिषदमा बसेर थापाको पक्षमा लागेर सरकार ढालेका थिए, त्यसरी नै पुनः थापा हटाउन तिनै सांसदहरू सक्रिय भएका थिए । राप्रपाका सांसदहरू एमालेसँग मिलेर आफ्नो सरकार ढाल्न खोजेको बुझेपछि प्रधानमन्त्री थापाले २०५४ पुस २४ मा संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराउन राजालाई सिफारिस गरेका थिए । त्यसै दिन प्रधानमन्त्री थापाविरुद्ध अविश्वास प्रस्तावका सम्बन्धमा छलफल गर्न संसदको विशेष बैठक बोलाउन एमालेसहितका नेताहरूले राजालाई समावेदन गरेका थिए । २०५१ मंसिरमा भएको मध्यावधिपछि तीन वर्ष १ महिनाको अवधिमा चार जना प्रधानमन्त्री भइसकेका थिए । तर पनि स्थिर सरकार बन्न सकेको थिएन । [Archive] That mid-term recommendation made by Surya Bahadur Thapa, saying he was trying to topple the government in 100 days...

प्रधानमन्त्री थापाले ०५५ जेठ १५ मा संसदीय निर्वाचन गराउन राजालाई सिफारिस गरेका थिए । मनमोहन अधिकारीको नेतृत्वमा रहेको नौ महिने सरकार ढालेको रिस फेर्न एमालेले कांग्रेसलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने प्रयास निरन्तर गरिरहेको थियो । ०५२ भदौमा प्रधानमन्त्री बनेका देउवाविरुद्ध करिव १९ महिनामा दुई पटक अविश्वास प्रस्ताव राखेको थियो । एमालेको अविश्वास प्रस्ताव सफल नभए पनि देउवाले बहुमत देखाउन नसक्दा ०५३ फागुनमा सरकार ढलेको थियो ।

प्रतिनिधिसभामा कांग्रेसकै दुई जना सांसद अनुपस्थित भएपछि देउवा अल्पमतमा परेका थिए । त्यसमा कांग्रेसको आन्तरिक कलह बढी जिम्मेवार थियो भने सिंगो एमाले र राप्रपाका केही सांसद देउवाविरुद्ध लागेका थिए । देउवालाई हटाएपछि चन्द प्रधानमन्त्री बनेका थिए । तर उनलाई हटाउन कांग्रेसको नेतृत्वमा राप्रपाको थापा समूह लागेको थियो । चन्दलाई ८ महिनामा प्रधानमन्त्रीबाट हटाइएको थियो । त्यसपछि थापा प्रधानमन्त्री बनेका थिए । थापा प्रधानमन्त्री बनेलगत्तै एमालेको अगुवाइमा राप्रपाका सांसदहरू फेरि सरकार ढाल्ने खेलमा सक्रिय भएका थिए । [Archive] That mid-term recommendation made by Surya Bahadur Thapa, saying he was trying to topple the government in 100 days...

सरकार बनाउने र ढाल्ने क्रममा राप्रपा सांसदहरू जता लाग्दा आफूलाई बढी फाइदा हुन्छ, त्यतै लाग्ने गर्थे । संसदमा रहेको राप्रपाको २० सिटमध्ये १७ जनालाई मन्त्री बनाउँदा कुनै पनि प्रधानमन्त्री भर पर्ने अवस्थामा थिएनन् । सांसदलाई मन्त्री, सहायक मन्त्रीलाई राज्यमन्त्री, राज्यमन्त्रीलाई क्याविनेट मन्त्री चाहिने चरित्रले राप्रपा सांसदहरू घेरिएका थिए । कतिपय मन्त्रीहरूले आर्थिक रूपमा राम्रो मन्त्रालय नदिएमा सरकार ढाल्ने चेतावनी दिएको समाचार आइरहन्थ्यो । सरकार जोगाउन सांसद खरिद बिक्री, विदेश भ्रमण, सुरा–सुन्दरीको व्यवस्थापनजस्ता घटना सतहमा आएका थिए । जुन विषय जनस्तरसम्म पुग्दा संसदीय व्यवस्थाप्रति नै एकप्रकारको वितृष्णा फैलिएको थियो ।

राप्रपा फुटाउने खेल

सत्ता स्वार्थको गतिविधि बढ्दै गएपछि राप्रपा फुटाउनेसम्मको योजना अघि सारिएको थियो । प्रधानमन्त्री हटाउन सक्रिय रहेको राप्रपाको एउटा समूह अविश्वास प्रस्तावमाथिको मतदान हुनुअगावै संसदीय दल विभाजन गराउने खेलमा लागेको थियो । नयाँ दल गठन गरेर अघि बढ्ने तयारी गरिएको थियो । मन्त्री थापाले भने राप्रपाभित्र जुन विसंगति देखिएको छ, त्यसको अन्त्य भएको दाबी गरेका थिए । 

एमालेको समावेदन दरबारमा 

एमालेले आफ्ना ८७ र राप्रपाका ९ जना गरी ९६ सांसदको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन आह्वान गर्न राजालाई समावेदन गरेको थियो । प्रधानमन्त्री थापामाथि विश्वास छैन भन्ने विषयमा छलफल गराउन समावेदन गरेको जानकारी राजालाई दिएका थिए । एमाले स्थायी कमिटी सदस्य झलनाथ खनाल, राधाकृष्ण मैनाली, अमृतकुमार बोहरा, राप्रपा नेता चन्द समावेदन गर्न दरबार गएका थिए ।

प्रधानमन्त्री थापाले भने समावेदन गर्नुअगावै संसद विघटन र मध्यावधिको सिफारिस गरेका थिए । समावेदनमा राप्रपाका चन्द, पद्मसुन्दर लावती, रामकृष्ण आचार्य, फत्तेसिंह थारु, राजीव पराजुली, महेन्द्र राय, प्रेमबहादुर भण्डारी, खोबारी रायले हस्ताक्षर गरेका थिए । एमाले नेता खनालले राप्रपाका १२ जना सांसद अविश्वास प्रस्तावको पक्षमा रहेको दाबी गरेका थिए । संसद् विघटन, मध्यावधि निर्वाचन र समावेदनको विषयमा निर्णय गर्न राजाले परामर्श सुरु गरेका थिए । 

सरकार बनेको सय दिन नपुग्दै संसद् विघटनको सिफारिस र अविश्वास प्रस्तावको घटनामा केन्द्रित रहेर पत्रकार हरिबहादुर थापाले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ पुस २५ मा ‘प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि सिफारिस’ शीर्षकमा प्रकाशन गरेको थियो । सोही दिन एमालेले विशेष अधिवेशन बोलाउन राजालाई समावेदन गरेको विषयमा तयार गरेको समाचार पनि कान्तिपुरले ‘संसदको विशेष अधिवेशन बोलाउन समावेदन’ शीर्षकमा प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully