[अर्काइभ] दलीय भागबन्डाको विकृत अभ्यासः ४७ सदस्यीय त्यो मन्त्रिपरिषद् 

सूर्यबहादुर थापाले कांग्रेस, आफ्नो पार्टी राप्रपा, सद्भावना पार्टी र स्वतन्त्र सांसद मिलाएर प्रधानमन्त्री बनेको लगभग २ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४७ सदस्यीय बनाएका थिए । नेपालको इतिहासमा बनेका ठूलो आकारको मन्त्रिपरिषद्मध्ये यो पनि एउटा थियो ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

[Archive] Distorted practice of party allocation: The 47-member cabinet

What you should know

काठमाडौं — सरकार गिराउने, टिकाउने र जतिसक्दो धेरैभन्दा धेरै सांसदहरूलाई मन्त्री बनाएर प्रधानमन्त्री भइरहने खेलले २०५२ भदौदेखि देखि ०५४ असोजसम्म निरन्तरता पाइनैरह्‌यो । ०५१ को मध्यावधि निर्वाचनपछि ३ वर्षमा ४ जना प्रधानमन्त्री बनिसकेका थिए । 

प्रधानमन्त्रीमा टिक्ने र टिकाउने नाममा भएका असंसदीय खेलको विकृत रुपमा छताछुल्ल थियो । तर, रोकिनेभन्दा पनि बढ्दै जाने परिस्थिति बनेको थियो । विकृतिकै अर्को सृंखलाको रुपमा आफ्नै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्दलाई अविश्वास प्रस्तावबाट हटाएर अध्यक्ष सूर्यबहादुर थापा ०५४ असोज २१ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमालेलाई हटाएर कांग्रेस, कांग्रेसलाई हटाएर चन्द र चन्दलाई हटाएर त्यही पार्टीका सूर्यबहादुर प्रधानमन्त्री बनेका थिए । सूर्यबहादुर प्रधानमन्त्री त नियुक्त भए तर दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन् । त्यसको कारण एउटै थियो, ‘दलगत भागबन्डा मिलाउन नसक्नु ।’ मन्त्रीका आकांक्षी धेरै भएकाले दलहरूले आन्तरिक रुपमा मन्त्रीको संख्या टुंग्याउन सकेका थिएनन् । सांसदहरूलाई खुशी पार्न नसके सरकार ढल्ने अवस्था थियो । चन्दले प्रधानमन्त्रीबाट हट्नेबेला भनेका थिए, ‘मुसा सांसदले आफ्नै डुंगा प्वाल पारेर डुबाउन सक्छन् ।’ त्यो प्रवृत्ति जहिले पनि उजागर हुनसक्ने भविष्यबाणी उनले गरेका थिए ।

त्यसैले सूर्यबहादुरलाई खासखास सांसदलाई मन्त्री दिनुपर्ने बाध्यता थियो । नदिए सरकार ढाल्ने चेतावनी आउने गर्थ्यो । जानकारहरूका अनुसार त्यतिबेला मन्त्रीहरूलाई आफूले रोजेको मन्त्रालय चाहिने, सहायकलाई राज्य र राज्यलाई क्याबिनेट मन्त्री चाहिने ‘बार्गेनिङ’ हुने गर्थ्यो । कांग्रेसको समर्थनमा राप्रपा अध्यक्ष सूर्यबहादुरले नेतृत्व गरेको सरकार पनि सांसदहरूलाई अनेक जालझेलमा पारेर, लोभ र लालचा देखाएर बनेको थियो । कांग्रेस र राप्रपाभित्रको दलगत द्धन्द्व व्यवस्थापन तथा सरकारलाई समर्थन गर्दाका बखत सांसदहरूलाई दिएको आश्वासन व्यवस्थापन गर्न नसक्दा मन्त्रीमण्डल विस्तार हुन २ महिना लागेको थियो । [Archive] Distorted practice of party allocation: The 47-member cabinet

सूर्यबहादुरले कांग्रेस, आफ्नो पार्टी राप्रपा, सद्भावना पार्टी र स्वतन्त्र सांसद मिलाएर प्रधानमन्त्री बनेको लगभग २ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४७ सदस्यीय बनाएका थिए । नेपालको इतिहासमा बनेका ठूलो आकारको मन्त्रिपरिषद्मध्ये यो पनि एउटा थियो । यसअघि शेरबहादुर देउवाले ०५२ भदौ २७ मा गठन गरेको मन्त्रीपरिषद्‌मा ५१ जना थिए । त्यतिबेला २७ जना मन्त्री, १६ जना राज्यमन्त्री र ८ जना सहायकमन्त्री थिए । माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा २०६८ भदौं १२ मा ४९ सदस्यीय मन्त्रीमण्डल बनाएको थियो । देउवाकै प्रधानमन्त्रीकालमा २०७४ जेठ २४ मा गठित मन्त्रीपरिषद् विस्तार गर्दै लगेर असोज ३१ सम्म पुग्दा  ६४ जना पुर्‍याइएको थियो । 

सांसदहरूको ढुलमुले चरित्र र आन्तरिक द्धन्द्व 

२०५१ देखि २०५४ सम्मको संसदीय इतिहसमा सबैभन्दा ठूलो समस्या सरकार निर्माणमा निर्णायक मानिने राप्रपाका सांसदहरूको ढुलमुले चरित्र थियो । २०५४ असोज २१ प्रधानमन्त्री बनेका सूर्यबहादुरकोपालमा पनि राप्रपा र स्वतन्त्र सांसदहरूको ढुलमुले चरित्र झन् बढेर गएको थियो ।

कांग्रेसभित्र पार्टी सभापति गिरिजाप्रसाद कोइराला र पूर्वसभापति कृष्णप्रसाद भट्टराई समूहमा विभाजित सांसदहरूलाई मिलाउनु त्यतिकै चुनौतिपूर्ण थियो । संसद्‌मा भएको मतदानमा कांग्रेसका दुई जना सांसद अनुपस्थित भएर शेरबहादुर देउवा सरकार ढलेको घटनाले आन्तरिक कलह कुन हदसम्म थियो अनुमान गर्न सकिन्थ्यो ।

स्वतन्त्र सांसद सबैलाई मन्त्री नबनाए सरकार बनाउने संख्या पुग्दैनथ्यो । त्यसैले सूर्यबहादुरले २०५४ मंसिर १८ मा विस्तार गरेको मन्त्रीपरिषद्‌मा स्वतन्त्र भएर जितेका तर कांग्रेस प्रवेश गरेका पाँचै जना सांसदलाई मन्त्री बनाएका थिए । स्वतन्त्रसमेत कांग्रेसका २८ जना मन्त्री, सहायकमन्त्री र राज्यमन्त्री बनेका थिए । संसद्‌मा राप्रपाको सिट २० थियो । एक जना उपसभामुख थिए । बाँकी १९ जना सांसद थिए । ति मध्ये प्रधानमन्त्रीसमेत १७ जनालाई मन्त्रीपरिषद्‌मा समावेश गरिएको थियो । राप्रपाका २ जना सांसद मात्र बाहिर थिए । मन्त्रीपरिषद्‌मा ५ जना त विनाविभागीय मन्त्री थिए । मन्त्रीपरिषद्‌मा १५ जना राज्यमन्त्री र ५ जना सहायकमन्त्री थिए । कांग्रेसका मात्र राज्यमन्त्री १३ जना थिए । कांग्रेसबाट खुमबहादुर खड्का, प्रकाशमान सिंह, महन्त ठाकुर, विजयकुमार गच्छदार, सिद्धराज ओझालगायतका मन्त्री बनेका थिए । प्रधानमन्त्रीलाई जहिल्यै सरकार जोगाउने चिन्ता हुन्थ्यो । किनकी सांसदहरू कुनबेला कसको समर्थनमा जान्छन् पत्तै हुँदैनथ्यो । 

कृष्णप्रसादको राजीनामा[Archive] Distorted practice of party allocation: The 47-member cabinet

मन्त्रीपरिषद् र केन्द्रीय समिति पुनर्गठनका विषयमा असन्तुष्टि जनाएर कांग्रेस पूर्वसभापति कृष्णप्रसाद भट्टराइले राजीनामा दिएका थिए । उनले सभापति कोइरालाको धारणा र कार्यशैलीप्रति असहमति जनाउँदै केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएका थिए । उनले महामन्त्रीहरू तारानाथ रानाभाट र बासु रिसाललाई राजीनामा बुझाएका थिए । उनले कोइरालालाई सम्बोधन गरेर ०५४ मंसिर १८ मा बुझाएको राजीनामामा लेखेका थिए, ‘धेरै अगाडिदेखि नै तपाईंको धारणा र सोहीअनुसारको कार्यप्रणालीबारे मैले असहमति सार्वजनिक र व्यक्तिगत रुपमा प्रकट गर्दै आएको हुँ । अहिले ति झन् बढेका छन्, घटेका छैनन् । यस परिप्रेक्षमा केन्द्रीय कार्यसमितिमा मूकदर्शक भएर बसिरहनु मैले अनुपयुक्त ठानी त्यस सम्मानीय समितिबाट यो पत्र लेखी तपाईंको सेवामा नम्र राजीनामा पठाउँदैछु ।’ 

उनले आफ्नो राजीनामा स्वीकृत गर्न आग्रह गरेका थिए । पार्टीका संस्थापक महामन्त्री र १८ वर्ष पार्टी सभापति रहेका भट्टराईको राजीनामाले पार्टीमा एक प्रकारको हलचल ल्याएको थियो । मन्त्रीपरिषद्‌मा समावेश गराउने मन्त्रीका विषयमा कोइरालाले आफूसँग सल्लाह नगरेको गुनासो पनि उनको रहेको स्रोतहरुले बताएका थिए । जे काम गरे पनि कोइरालाले आफूखुशी गर्न थालेपछि भट्टराई असन्तुष्ट भएका थिए । सत्तासमीकरणदेखि महत्वपूर्ण विषयहरूमा कुनै सल्लाह नगरेको भट्टराई पक्षको भनाई थियो । कोइरालाले मन्त्रीपरिषद् गठन भएकै दिन पार्टी केन्द्रीय समितिका १३ जना मनोनित गरेका थिए । भट्टराईले राजीनामा दिएपछि कोइरालाले आन्तरिक छलफल सुरु गरेका थिए । त्यसका लागि इलाम गएका कोइराला काठमाडौं फर्केका थिए ।

पार्टी विभाजन हुने त होइन भन्ने शंका सुरु भएपछि यसलाई रोक्न उनी काठमाडौं फर्केका थिए । कोइरालाले मन्त्रीपरिषद् पुनर्गठन र केन्द्रीय समितिमा गरिने मनोनयनका बारेमा सल्लाह नगरेको भट्टराई निकटहरूले बताएका थिए । २ महिना लामो विवादपछि सूर्यबहादुरको नेतृत्वमा पुनर्गठन भएको जम्बो मन्त्रीपरिषद्, कृष्णप्रसादले केन्द्रीय समितिबाट दिएको राजीनामालगायतका विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ मंसिर १९ मा ‘थापा मन्त्रीमण्डलको पुनर्गठन’, ‘भट्टराईद्वारा कांग्रेस केन्द्रीय समितिबाट राजीनामा’ शीर्षकमा छुट्टाछुट्टै समाचार प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully