कम्युनिस्ट पार्टी र नेताहरुमाथि निरंकुशको आरोप लागिरहेका बेला एमाले उपमहासचिव वामदेव गौतमले विरोधीजति सबैलाई एउटै खाल्डोमा पुर्ने विचार सार्वजानिक गरेपछि त्यसले राजनीतिक वृत्तमा हलचल ल्याएको थियो ।
What you should know
काठमाडौँ — ‘कम्युनिस्टहरु प्रजातन्त्रवादी होइनन् । उनीहरु विरोधीको आलोचना सहन सक्दैनन् । चुनावी प्रतिस्पर्धामा पनि विश्वास राख्दैनन् । मौका पाउनेबित्तिकै निरंकुश हुन्छन् । राज्य नियन्त्रित अर्थ व्यवस्थामा विश्वास राख्छन् ।’
उल्लेखित भनाइ अहिले पनि बेलाबेलामा सुनिने गर्छ । सोभियत संघ विघटन र पूर्वी युरोपमा भएको परिवर्तनले सन् ९० को दशकमा कम्युनिस्ट शासनको आलोचकहरुको स्वर झन् चर्को भएको अवस्था थियो । त्यतिबेला बहुलवादमा विश्वास राख्नेहरु थप उत्साहित थिए । त्यसको प्रभाव नेपालमा पनि परेको थियो ।
कम्युनिस्ट पार्टी र नेताहरुमाथि निरंकुशको आरोप लागिरहेका बेला एमाले उपमहासचिव वामदेव गौतमले विरोधीजति सबैलाई एउटै खाल्डोमा पुर्ने विचार सार्वजानिक गरेपछि त्यसले राजनीतिक वृत्तमा हलचल ल्याएको थियो । २०५२ असार १४ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमहासचिव गौतमले भाषणका क्रममा उक्त भनाइ सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । उनले त्यतिबेला साम्राज्यवादी र प्रतिक्रियावादी मिलेर आए भने एउटै खाल्डोमा पुरिदिने अभिव्यक्ति दिएका थिए । बोल्ने क्रममा गौतमले भनेका थिए, ‘रुसका कम्युनिस्ट पार्टीका नेता जुगानोभ राष्ट्रपतिको उम्मेदवार पनि बन्दैछन्, दिल्लीमा उनले मलाई सोधे कसरी विजय भयौं ? मैले भने हामीले अझैं अनौठा काम गर्दैछौं । उनले सोधे साम्राज्यवादी र प्रतिक्रियावादी आए भने के गर्छौ ? मैले भने एउटै खाल्डो खनेर पुरिदिन्छौं । छुट्टाछुट्टै आए भने धेरै खाल्डो खन्नु पर्छ । सँगै आए एउटै खने पुग्यो ।’ उनले एक प्रसंगमा भनेका थिए, ‘राजा, राप्रपा र कांग्रेसले यो कुरा बुझुन्, नबुझे ठक्कर खाएपछि बुझ्छन् ।’
एमाले नेतृत्वको मनमोहन अधिकारी सरकारले मध्यावधिको निर्वाचन घोषणा गरेका बेला गौतमको यो भनाइ राष्ट्रिय सभा बैठकमा प्रवेश पाएको थियो । प्रतिनिधिसभा विघटन भएका बेला राष्ट्रिय सभाको बैठकमा गौतमको भनाइ छलफलको विषय बनेको थियो । २०५२ असार १६ मा नेपाली कांग्रेसका सांसद महेश आचार्य प्रस्तावक रहेको मानव अधिकार आयोग विधेयक २०५२ माथिको राष्ट्रिय सभामा भएको छलफलमा गौतमको अभिव्यक्तिप्रति असहमति जनाउँदै विपक्षीहरुले आलोचना गरेका थिए । सांसद महेशले सबैलाई एउटै खाल्डोमा पुर्छु भन्ने पार्टी (एमाले)ले कसरी मानवअधिकारको पालना गर्न सक्छ भन्ने प्रश्न गरेका थिए । उनले सरकार एमाले पार्टीको संकीर्ण स्वार्थ पूर्ति गर्न उद्यत् भएको पृष्ठभूमिमा आफूले उक्त विधेयक प्रस्तुत गरेको बताएका थिए । उनले निर्वाचन भनेको जनताले आफ्नो राय सम्प्रेषण गर्न पाउने अवसर भएको तर्क गर्दै पूर्वअर्थराज्यमन्त्री महेशले भनेका थिए, ‘एमाले नेताहरु विदेशमा गएर निर्वाध पुँजीवादको कुरा गर्नुहुन्छ, यहाँ फर्केर संसारले त्यागेको लेलिनवादको कुरा गर्नुहुन्छ ।’
उनले एकदिन रेशमी रुमाल लिएर राजाको मूर्ति पुछ्न जाने एमाले नेताहरुले अर्को दिन राजालाई नै धम्क्याउने अराजनीतिक चरित्र देखाउने गरेको आरोप लगाएका थिए । कुनै सैद्धान्तिक अडान नभएको वर्ण–शंकर जस्तो पार्टीको रुपमा विकासित एमालेले जनताको अधिकार कसरी गर्न सक्छ भन्दै उनले प्रश्न गरेका थिए । उपप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभामा मानवअधिकार परराष्ट्र नीति हुन नसक्ने बताएका थिए । उनले संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित परराष्ट्र नीति अबलम्वन गर्ने धारणा पनि राखेका थिए । तर प्रतिपक्षीहरुले भने उनको धारणा परस्पर विरोधी भएको तर्क गरेका थिए ।
कांग्रेस संसाद नरहरि आचार्यले सत्तारुढ पार्टीका एक आधिकारिक नेताले विपक्षीलाई एउटै खाल्डामा पुर्ने जिकिर गरेकाले यस्तो अभिव्यक्तिले निर्वाचनमा मुठभेड निम्तिने संकेत गरेको बताएका थिए । अर्का सांसद विदुर पौडेलले एमालेका आधिकारिक व्यक्तिले विपक्षीलाई खाल्डामा पुर्ने भयावह र निन्दनीय धम्की दिएकोमा आलोचना गरेका थिए । उनले भनेका थिए,‘यो भनाइले हिंसाका प्रतिमूर्ति र हिंसाविरोधी समूहबीच मुठभेड हुने बताएका थिए । सत्तामा बस्नेले गाई काट्न पाउनु मानवअधिकार हो भनेर गरेको वकालतको पनि मानवअधिकार विधेयकले प्रस्ट पार्ने धारणा उनले राखेका थिए । केही महिना अघि एमालेको सूर्य चिन्हबाट चुनाव जितेका पद्मरत्न तुलाधरले गाइ काट्न पाउनुपर्ने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । यही सन्दर्भ जोडेर सांसद पौडेलले उक्त अभिव्यक्ति दिएका थिए । गाइ काट्ने विषयलाई लिएर त्यतिबेला एमालेले मिलेर बसेको समाजलाई भड्काउन खोजेको आरोप लागेको थियो । यसलाई पार्टी ले नै प्रष्ट्याउनुपर्ने अवस्था आएको थियो ।
एमालेप्रति मोहनचन्द्रको आक्रोश
मोहनचन्द्र अधिकारी २०२८ को झापा आन्दोलनका सशक्त अगुवा हुन् । पञ्चायतविरुद्धको आन्दोलनको क्रममा लामो समय जेल बसेकाले उनलाई नेपालको नेल्सन मण्डेला भनिन्थ्यो । एमालेले उनलाई राष्ट्रियसभाको सदस्य बनाएको थियो । तर उनी एमाले परित्याग गरेर स्वतन्त्र रहेको घोषणा गरेका थिए । उनै अधिकारी एमालेको विरोधमा निकै आक्रामक देखिन्थे । पश्चिम बंगालको नक्सलवाडीबाट सुरु भएको सर्वहारावर्गको विद्रोह झापासम्म फैलिएको थियो । त्यही क्रममा व्यवस्थाको विरोध गर्ने क्रममा ‘सामन्तको टाउको काट्ने’ आन्दोलन चलाएर व्यक्ति हत्या गरेको भन्दै अहिले पनि त्यसको आलोचना हुने गरेको छ । त्यही आन्दोलनका अगुवा मोहनचन्द्रले २०४६ को परिवर्तनको ६ वर्षमै एमालेप्रति निकै आक्रामक देखिएका थिए ।
मोहनचन्द्रले २०५२ असार १६ मा राष्ट्रियसभामा बोल्दै एमालेले बन्दुक उठाउने धम्की दिएर जनतालाई आतंकित बनाएको बताएका थिए । एमालेका उपमहासचिव वामदेव गौतमले सार्वजनिक सञ्चार माध्यममार्फत गौतमले धम्की दिएको प्रसंग जोड्दै उनीहरुले सँधैका लागि सत्ता हडप्न चाहेको बताएका थिए । उनले भनेका थिए, ‘एमालेले बन्दुको भाषा बोलेको छ । जिम्मेवार पार्टी भन्नेले आफूसँग भिड्न आउनेलाई जे पनि गर्न तयार छौं भन्नुको तात्पर्य के हो ?’ गौतमले तीन दिन अघि असार १४ मा काठमाडौंमा आयोजित कार्यक्रममा भनेका थिए,‘राजा र कांग्रेसले अप्ठेरो बनाउन खोजेमा एमाले बम भएर पड्कन तयार छ । परिर्तन कसरी ल्याउने हो परिस्थितिजन्य कुरा हो । रुस र चीनले परिवर्तनका लागि हतियार उठाएको थियो ।’ उनले राजा र कांग्रेसप्रति इंगित गर्दै तिमी नामेट पार्नेगरी जान्छौ भने हामी भष्म हुनेगरी अगाडी बढ्ने धारणा राखेका थिए । सोही सन्दर्भ उठाएर मोहनचन्द्रले एमालेप्रति कटाक्ष गरेका थिए । एमाले नेताहरुले विदेशमा गएर आफू परिवर्तन भएको एउटा कुरा गर्ने तर नेपाल फर्केपछि जनताको मत बटुल्न बहुदलीय जनवादको अर्को कुरा गर्नुहन्छ भन्दै मोहनचन्द्रले प्रधानमन्त्री मनमोहनलाई मानव अधिकारको ज्ञान नभएको आरोप लगाएका थिए । उनले मान्छेले मान्छेलाई गर्ने शोषणविरुद्ध जानुपर्ने अवस्थामा उल्टै मन्त्रीहरु समाजमा असहिष्णुता बढाउनेतिर लागेको भन्दै क्षोभ प्रकट गरेका थिए ।
सांसदमा जीवन जलको पुरिया !
२०५२ असार १६ को राष्ट्रियसभा बैठकमा मानव अधिकार सम्बन्धी विधेयकमाथि छलफल चलिरहेको थियो । सभाका अध्यक्ष बेनीबहादुर कार्कीले नेपाल सद्भावना पार्टी समर्थित सांसद रामेश्वर राय यादवलाई बोल्ने अनुमति दिएका थिए । अनुमति पाएपछि यादव सिटबाट उठेर आफ्नो स्वास्थ्य ठिक नभएको, विधेयक पनि नपढेको भन्दै बोल्न असमर्थ रहेको बताएका थिए । उनलाई किन नबोलेको भन्दै पत्रकारको दीर्घाबाट हातको पाराले सांकेतिक प्रश्न गरिएको थियो । प्रश्न आएपछि उनले सिटबाटै आफ्नो एउटा हातले पेटतिर लक्षित गर्दै अर्को हातले खल्तीबाट झिकेर एउटा बस्तु देखाएका थिए, त्यो थियो, ‘एक पुरिया जीवन जल ।’
मध्यावधि निर्वाचनको तयारी भइरहेकाबेला एमाले नेता वामदेवको अभिव्यक्ति, एमालेप्रति प्रमुख प्रतिपक्षी कांग्रेस र वामपन्थी नेता मोहनचन्दले लगाएको आरोप र राष्ट्रियसभा बैठकको गतिविधिलाई सन्दर्भ बनाएर तयार गरिएको समाचार कान्तिपुर दैनिकले २०५२ असार २५ मा वामपन्थी नेता अधिकारद्वारा एमाले सरकारको कडा विरोध शीर्षकमा प्रकाशित गरेको थियो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभा बैठकमा मानव अधिकार र नेपाल स्वास्थ्य व्यवसायी परिषद् विधेयक छलफलका लागि प्रस्तुत भएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After Bamdev threatened to drive his opponents into the same pit...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/bamdev-gautam-10122017010911-1000x0-10102018034450-1000x0-2622020083330-1000x0-1912025022143-1000x0.jpg&w=1001&h=0)