[अर्काइभ] ३२ वर्षअघि एमाले सरकार ढाल्न ल्याइएको त्यो अविश्वास प्रस्ताव

सरकार सञ्चालनका क्रममा मुलुकलाई सबै हिसाबले अधोगतितिर लैजान खोजेको भन्दै अविश्वास प्रस्तावमा कांग्रेसका ७७ जनासहित प्रतिपक्षी दलका सांसदले हस्ताक्षर गरेका थिए ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That no-confidence motion brought to topple the UML government 32 years ago

What you should know

काठमाडौँ — २०५१ कात्तिक २९ मा मध्यावधि निर्वाचन भएको थियो । यही निर्वाचनबाट २०५१ मंसिर मा एमालेको अल्पमतको सरकार बनेको थियो ।

नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको साढे छ महिना मात्रै बितेको थियो । आन्तरिक कलहले आफ्नै सरकार ढालेको नेपाली कांग्रेस मध्यावधि निर्वाचन परिणामले प्रमुख प्रतिपक्ष दलको रुपमा खुम्चिएको थियो । संसद्‍मा सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा अल्पमतको सरकारलाई विश्वासको मत दिएका कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र स्वतन्त्र सांसदहरु एमाले सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिन्थे । 

एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकार गठन भएको तीन-चार महिनापछि नै प्रतिपक्षी दलहरुको असन्तुष्टि सतहमा देखिन थालेको थियो । समय क्रममा २०४६ को आन्दोलनबाट फ्याँकिएका पञ्चहरुलाई समेत साथ लिएर कांग्रेस आफैं सरकार बनाउने तरखरमा जुट्यो । २०४८ को संसदीय निर्वाचनमा पञ्चहरुले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुइ सिट  जितेको थियो । तर मध्यावधि निर्वाचनमा २० सिट जितेकाले सरकार गठनका लागि राप्रपा निर्णायक शक्तिको रुपमा स्थापित भएको थियो । सरकारमा जाने लोभमा कांग्रेस र राप्रपा नजिकिँदै गए ।

त्यही पृष्ठभूमिमा प्रतिपक्षी दलहरुले अल्पमतको सरकारविरुद्ध प्रतिनिधिसभामा प्रधानमन्त्री मनमोहनविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर बहुमतको सरकार बनाउने जाहेरी राजदरबारमा पनि दर्ता भयो । कांग्रेससहितका प्रतिपक्षी दलले अधिकारी नेतृत्वमा रहेको सरकारले संविधान मिचेको, देशको राजनीतिक, आर्थिक र सामाजिक संरचना खलबल्याई राष्ट्रलाई राजनीतिक अस्थिरता र सामाजिक बिखण्डनतिर धकेल्ने प्रयत्न गरेको आरोप लगाएर अविश्वास प्रस्ताव दर्ता गराए ।

संसद्‍बाट सरकार बन्ने सम्भावना रहेको अवस्थामा प्रधानमन्त्रीले मध्यावधिको धम्की दिएको भन्दै प्रतिपक्षी दलहरुले २०४७ को संविधानको धारा ४२(१) अनुसार बहुमतको सरकार बन्ने विकल्प पेस गरेका थिए । मध्यावधिको धम्की दिएर प्रधानमन्त्रीले संसद्‍लाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै अविश्वास प्रस्तावमा प्रधानमन्त्री र सरकारले पटक–पटक कानुनी राज्यको अवधारणाको उपेक्षा गरेको, आधारभूत मानव अधिकार, कानुनी राज्य, वालिग मताधिकार, संसदीय शासन प्रणाली र संवैधानिक राजतन्त्रको मर्यादा एवं न्यायपालिकाको गरिमालाई पाइलैपिच्छे कुल्चेको आरोप लगाइएको थियो । 

सरकार सञ्चालनका क्रममा मुलुकलाई सबै हिसाबले अधोगतितिर लैजान खोजेको भन्दै अविश्वास प्रस्तावमा कांग्रेसका ७७ जनासहित प्रतिपक्षी दलका सांसदहरुले हस्ताक्षर गरेका थिए । कांग्रेस संसदीय दलका नेता देउवा, राप्रपाका लोकेन्द्रबहादुर चन्द, सद्भावनाका गजेन्द्रनारायण सिंहसहितका नेताहरु आफैं उपस्थिति भएर संयुक्त सरकार गठनका लागि दरबारमा जाहेरी दर्ता गराएका थिए । बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री अधिकारी साढे छ महिनामै अप्ठेरोमा परेका थिए । 

सरकार गठन भएको केही समयदेखि नै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका थिए । २०४६ को आन्दोलनका कमाण्डर गणेशमान सिंहले राष्ट्रिय सरकारको गठन हुनुपर्ने धारणा अघि सारेका थिए । राज्यका संरचनाहरुमाथि दलीय हस्तक्षेप बढाएको र संवैधानिक प्रावधानहरु मिचेको आरोप एमालेमाथि लाग्ने गरेको थियो । अल्पमतको सरकार भएकाले विपक्षीहरुले जतिबेला पनि हटाउन सक्ने त्रास अधिकारीलाई थियो । त्यसैले अधिकारीले आफ्नो सरकार ढाल्न खोजेमा मध्यावधि निर्वाचनमा जाने चेतावनी दिने गरेका थिए ।

एमालेले सरकारमा रहेका बेला आफूले लोकप्रिय कार्यक्रम ल्याएर जनप्रिय भएको दाबी गर्ने गरेको थियो । अनि सरकारको लोकप्रियताबाट डराएर अविश्वास प्रस्ताव ल्याएको बुझाइ एमालेवृत्तमा थियो ।  

कम्युनिस्ट नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएर प्रमुख प्रतिपक्षसहितका दलहरुले संसदमा अविश्वास प्रस्ताव दर्ता गरेको र राजदरबार सचिवालयमा संसद्‍बाटै बहुमतको सरकार बनाउन सक्ने जाहेरी दिएको सन्दर्भमा केन्द्रित रहेर कान्तिपुर दैनिकले २०५२ जेठ २९ गते नेकाद्धारा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, बहुमतको वैकाल्पिक सरकारका लागि जाहेरी शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully