विश्व बैंकले ८ अर्ब ७५ करोड ऋण दिने समझदारी भएको थियो । तर मुलुककै आन्तरिक समस्या सशक्त रूपमा उठेपछि बैंकसँग सम्झौता हुन सकेको थिएन ।
What you should know
काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनअघि मुलुकमा करिब २ सय २८ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । २०४८ मा बनेको सरकारले विद्युत् उत्पादनमा स्वदेशी र विदेशी निजी लगानी भित्र्याउन सकिने नीति २०४९ ल्याएको थियो ।
यसै पृष्ठभूमिमा विश्व बैंक र सरकारबीच सन् १९९३ (विसं २०५०) मा भएको समझदारीबमोजिम पहिलो चरणमा २०१ र दोस्रो चरणमा २०१ गरी ४०२ मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय सरकारले गरेको थियो । तर प्रमुख प्रतिपक्षी दल एमालेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाले विश्व बैंकको ससर्त ऋण नेपालको हितमा नरहेको भन्दै विरोध जनाएपछि कार्यान्वयनमा निकै ठूलो चुनौती देखिएको थियो । समझदारी भएको लामो समय बित्दा पनि अरुण आयोजना अघि बढाउने विषय पेचिलो बन्दै गएको थियो । यो विवाद राष्ट्रिय मुद्दाको रूपमा चर्चामा थियो ।
विशेषतः विश्व बैंकसँग ऋण लिने कि नलिने विषय टुंगो नलाग्दा अरुणकको भविष्य पनि अन्योलमा थियो । प्रतिनिधिसभामा एमाले प्रमुख प्रतिक्षमा हुँदा अरुणप्रतिको धारणा सकारात्मक थिएन । राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूसमेत अरुणले नेपाललाई घाटा पुर्याउने र विश्व बैंकको ऋण लिन नहुने ‘लविइङ’ गरिरहेका थिए । पश्चिमा देशहरूमा गैरसरकारी संस्थाहरूको प्रभाव धेरै हुने भएकाले अरुणका बारेमा सहज रूपमा निर्णय हुन सकेको थिएन । नेपाली गैरसकारी संस्थाहरूले उठाएको मुद्दामा एमालेको पनि समर्थन देखिन्थ्यो । मुख्य ऋणदाता विश्व बैंकले राखेका कतिपय सर्त मुलुकका लागि मान्य नहुने धारणा एमालेको थियो ।
विश्व बैंकले ८ अर्ब ७५ करोड ऋण दिने समझदारी भएको थियो । तर मुलुककै आन्तरिक समस्या सशक्त रूपमा उठेपछि बैंकसँग सम्झौता हुन सकेको थिएन । विश्व बैंक, एसियाली विकास बैंक, जापानलगायतको सहयोगमा ३८ अर्बको लागतमा निर्माण हुने ४ सय २ मेगावाटको अरुण बनाउँदा मुलुकले धेरै अधिकार गुमाउने, प्राकृतिक स्रोत विदेशीको हातमा जाने, प्रतिमेगावाट विद्युत् उत्पादन दर महंगो हुने र सडक बनाउँदा वातावरण बिग्रने तर्क अघि सारिएको थियो ।
विरोधका स्वर बढ्दै गएपछि विश्व बैंकको ऋण र अरुणका बारेमा थप अध्ययन गर्न २०५१ जेठमा नागरिकको तहबाट भन्दै ५० वटा संघसंस्थासमेतको समर्थनमा ‘जनस्तरीय आयोग’ बनेको थियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश वासुदेव शर्माको अध्यक्षतमा गठित समिकिा सदस्यहरूमा वामपन्थी नेता पद्मरत्न तुलाधार, अर्थशास्त्री गोविन्दप्रसाद लोहनी, डा. पार्थिवेश्वर तिमिल्सिना तथा प्राध्यापक श्यामबहादुर शेर्पा सदस्य रहेका थिए । उनीहरूले तयार गरेको प्रतिवेदन २०५१ मंसिर २२ गते नेपालस्थित विश्व बैंकको निरीक्षण नियोगलाई बुझाइएको थियो । ![[Archive] Arun Project and the 'people's' Sharma Commission report](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-8-23-30102025114422-1000x0.jpg)
प्रतिपक्षमा हुँदा बनेको उक्त आयोगले प्रतिवेदन दिने समयमा एमालेमा पुगिसकेको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री थिए । आयोगका सदस्य तुलाधार पनि मन्त्री भइसकेका थिए । अरुणको विवादका बारेमा विश्व बैंकको बोर्ड अफ डाइरेक्टरमा सल्लाह र सिफारिस गर्न २०५१ कात्तिकमा तीन सदस्यीय स्वतन्त्र उच्चस्तरीय निरीक्षण नियोग बनाइएको थियो । नियोग बैंकले नै बनाएको हो ।
नेपालमा जनस्तरमा बनेको आयोगले दिएको प्रतिवेदनलाई नियोगले बैंकको बोर्डलाई बुझाउने जानकारी दिएको थियो । बैंकले गठन गरेको नियोगका सदस्य पनि नेपालमै भएका बेला जनस्तरीय आयोगले प्रतिवेदन बुझाएको हो । नियोगका रिचर्ड विसेलले बैंकले दिएको समयसीमालाई ख्याल गरेर १० दिनभित्रै अर्थात् २०५१ पुसको पहिलो साताभित्रै प्रतिवेदन बुझाउने जानकारी दिएका थिए । रिचर्डले आयोगले दिएको सुझावलाई पनि समावेश गरेर प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएका थिए । न्यायाधीश शर्माको आयोगले अरुणका विषयमा सदनमा छलफल हुनुपर्ने र सरकारले नै थप अध्ययन गर्नुपर्ने सुझाव दिएको थियो ।
आयोगले अरुण अघि बढाउने/नबढाउने अथवा कसरी अघि बढ्ने भन्ने ठोस सुझाव भने दिएको थिएन । एमालेले आफू प्रतिपक्षमा रहँदा संसदमा छलफल गर्नुपर्ने माग राख्दै आएको थियो । शर्मा आयोगले पनि सोही लाइनमा प्रतिवेदन तयार गरेको थियो । एनजीओहरूले आयोजनास्थल पुग्न संखुवासभामा १ सय १७ किमि सडक बनाउँदा वातावरणमा ठूलो असर पर्ने चर्को आवाज उठाइरहेका थिए । तर जनस्तरको आयोगले सडक र वातावरणको विषयमा बोलेको थिएन । खासगरी गैरसरकारी संस्थाहरूले बोल्दै आएका विषयलाई आयोगले पनि समावेश गरेको थियो ।
आयोगले आयोजनाको जोखिमको जिम्मेवारी तथा लगानी आयोजना निर्माण भइसकेपछि प्राप्त हुने मुनाफाबाटै उठाउनुपर्ने सर्त अघि सारेको थियो । उक्त सर्तलाई एनजीओ र आईएनजीओले उठाउँदै आएका थिए । २०५१ जेठको अन्तिम सातादेखि अमेरिकाको वासिङ्टनमा नेपालले विश्व बैंकसँग ९ दिनसम्म वार्ता गरेपछि ऋण सहयोग प्राप्त हुने सैद्धान्तिक सहमति भएको थियो ।
तर ऋण दिने/लिने अन्तिम सम्झौता भने मंसिरसम्म भएको थिएन । त्यसमा पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरेका कारण एमाले नतृत्वमा सरकार बनेपछि अरुण आयोजनाका विषयमा गठित जनस्तरीय आयोगले दिएको प्रतिवेदन, विश्व बैंकको ऋण तथा मुलुकको आन्तरिक द्वन्द्वमा केन्द्रित रहेर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘अरुण तेस्रो जनस्तरीय आयोगद्वारा विश्व बैंकसमक्ष प्रतिवेदन पेस’ शीर्षकमा २०५१ मंसिर २३ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Arun Project and the 'people's' Sharma Commission report](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/arun-3rd-1652024040636-watermarked-0512025121628-watermarked-30102025114607-1000x0.jpg&w=1001&h=0)