पार्टीको आन्तरिक द्वन्द्वले कांग्रेसले नेपालमा पहिलो पटक वामपन्थी पार्टीलाई सत्ताको नेतृत्व गर्ने अवसर दिएको थियो । मध्यावधि निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गरेको थियो ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभामा बहुमत सदस्य हुँदाहुँदै आफ्नै पार्टीका ३६ जना सांसदले सरकारको नीति तथा कार्यक्रम असफल बनाएको झोंकमा संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा होमिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेसको पराजयको जिम्मेवारी आफैंले लिएका थिए ।
पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाएको कांग्रेस आफ्नै कारणले सत्ताबाट सडकमा पुगेको थियो । पार्टीभित्र गम्भीर असहमति भए पनि जबरजस्ती मध्यावधि निर्वाचनमा गएका प्रधानमन्त्री कोइरालाले अन्ततः हारको जिम्मेवारी आफैंले लिनुपरेको थियो ।
उनले प्रधानमन्त्री निवास बालुवाटारमा २०५१ मंसिर ५ मा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘ताजा जनादेश मैले नै खोजेको हो । कांग्रेस पराजित हुनुको कारण अब पार्टीभित्रै खोज्नुपर्छ । पराजयको पूर्ण रूपमा जिम्मेवारी मेरै हो ।’ पार्टीमा चरम द्वन्द्व मात्र होइन, जनआन्दोलन २०४६ को कमाण्डर गणेशमान सिंहले कांग्रेस नै छाडेका थिए ।
गणेशमानले प्रधानमन्त्रीको कार्यशैलीप्रति गम्भीर असहमति राख्दै आएका थिए । उनले कतिपय निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार हराउनसमेत आह्वान गरेका थिए । उनको चाहना अनुसार नेता जगन्नाथ आचार्यको अगुवाइमा ‘भ्रष्ट कांग्रेस’ हराऊ अभियान नै चलाइएको थियो । ५० भन्दा बढी निर्वाचन क्षेत्रमा विद्रोही उम्मेदवार खडा भएको अवस्थामा कांग्रेसका हस्ती भनिएका नेताहरू पनि फराकिलो मतान्तरले पराजित भएका थिए ।
पार्टीको आन्तरिक द्वन्द्वले कांग्रेसले नेपालमा पहिलो पटक वामपन्थी पार्टीलाई सत्ताको नेतृत्व गर्ने अवसर दिएको थियो । मध्यावधि निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गरेको थियो । २०५१ कात्तिक २९ मा भएको २ सय ५ निर्वाचन क्षेत्रमध्ये १ सय ९९ स्थानको नतिजा प्रकाशित हुँदा कांग्रेसले ८०, एमालेले ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल मजदुर किसान पार्टीले ४, नेपाल सद्भावना पार्टीले ३ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको घोषणा भएको थियो ।![[Archive] Koirala urges resignation, taking responsibility for Congress defeat](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-8-6-24102025024432-1000x0.jpg)
सोलुखुम्बु, धनुषा, कालिकोट र डोल्पामा मतगणना जारी रहेका बेला प्रधानमन्त्री कोइरालाले कांग्रेस हारको जिम्मेवारी आफैंले लिएर राजा वीरेन्द्रलाई संविधान अनुसार नयाँ सरकारको गठन प्रक्रिया सुरु गरेर आफूलाई पदमुक्त गर्न अनौपचारिक आग्रह गरेका थिए । उनले पत्रकार सम्मेलन गरेकै दिन राजालाई भेटेर आफ्नो प्रधानमन्त्रीकालमा श्री ५ को सरकारलाई विशिष्ट र आत्मीय सहयोग प्राप्त भएकामा आभार तथा कृतज्ञता पनि प्रकट गरेका थिए ।
सत्ताबाट बाहिरिनै लाग्दा पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्रीलाई कस्तो कस्तो अप्ठ्यारा आइलाग्छ, राम्ररी जानकारी भएको दाबी गर्दै जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न संकेत गरेको बताएका थिए ।
संविधानको दायराभित्र रहेर सबैले काम गरेमा प्रजातन्त्र सुदृढ हुने दावी गर्दै उनले मध्यावधि निर्वाचनको मत परिणाम कांग्रेसका लागि अप्रत्यासित भएको बताएका थिए । उनले विज्ञप्ति प्रकाशित गरेर कांग्रेस सत्ताबाट बाहिर गए पनि पाँच दशकसम्म प्रजातन्त्रका लागि संघर्ष गरेको स्मरण गराएका थिए । उनले संसदीय प्रजातन्त्रको अभ्यास, विकेन्द्रित शासन पद्धति, ग्रामीणमुखी विकास, सामाजिक न्याय र उदार अर्थतन्त्र विकासमा सबै राजनीतिक दल अघि बढ्ने बाटो तयार भएको बताएका थिए । कोइरालाको नेतृत्वपमा साढे तीन वर्ष सरकार सञ्चालन भएको थियो । तर उनको प्रमुख प्रतिपक्षी एमालेसँग सुरुका दिनदेखि नै सम्बन्ध राम्रो थिएन ।
मध्यावधि निर्वाचनको परिणाम, कांग्रेसको पराजय र प्रधानमन्त्री कोइरालाको विचारलाई समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ मंसिर ६ मा ‘नेकाको पराजयका लागि म पूर्ण रूपमा जिम्मेवार छु’ शीर्षकमा प्रकाशित गरेको थियो । समाचारमा कोइरालाको भनाइलाई प्राथमिकता दिइएको थियो । कांग्रेस पार्टीमा अहिले पनि गिरिजप्रसादले गरेको गल्तीमध्ये मध्यावधि निर्वाचनलाई पनि लिने गरिन्छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Koirala urges resignation, taking responsibility for Congress defeat](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/girija-24102025024556-1000x0.jpg&w=1001&h=0)