आरोहण दलका सरदार च्याङ्वा शेर्पा तथा जर्मन माउन्टेन गाइड स्टेफेन ह्यासेन्कोफसहितको टोली पिसाङ हिमाल आरोहण गरेर फर्किने क्रममा हिउँ पहिरोमा परेको थियो । उक्त घटनामा जर्मन, स्विस र नेपाली गरी ११ जनाको ज्यान गएको थियो ।
What you should know
काठमाडौँ — हिमाल आरोहणमा गएकाहरू हिउँ पहिरोमा परेर ज्यानै गएको घटना हामीले अहिले पनि बारम्बार सुन्दै आएका छौं । हिमाल चढ्ने र ओर्लिने क्रममा नेपालमा बेलाबेलामा धेरै जना स्वदेशी तथा विदेशी आरोहीले ज्यान गुमाउने गरेका छन् ।
नेपालमा स–साना हिउँ चुचुरोदेखि संसारकै सर्वोच्च शिखर सगरमाथा चढ्ने विदेशी आरोहीहरू बर्सेनि सयौंको संख्यामा आउने गरेका छन् । सामान्यतया हिमाल आरोहणलाई जति सजिलो रूपमा बुझिने गरिएको छ, यथार्थमा यो निकै कठिन, जोखिम र जटिल यात्रा हो । सिकारु पर्वतारोहीका लागि त झन् जोखिम हुने गर्छ ।
संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेकामा सबैभन्दा पहिले मानव पाइला परेको हिमाल अन्नपूर्ण प्रथम हो । उक्त हिमालमा सन् १९५० जुन ३ अर्थात् २००७ जेठ १९ गते फ्रान्सेली नागरिक ३१ वर्षीय मोरिस अर्जोगले आरोहण गरेका थिए । उक्त हिमालको उचाइ ८ हजार ९१ मिटर छ ।
अन्नपूर्णमा पाइला टेकेको तीन वर्षपछि १९५३ मे २९ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा मानव पाइला टेकेका थिए । त्यसैले अन्नपूर्ण क्षेत्रलाई सबैभन्दा पुरानो आरोहणको इतिहास मानिन्छ । मनाङस्थित उक्त अन्नपूर्ण क्षेत्रमा ५० को दशकमा ११ जनाको ज्यान जाने गरी भएको आरोहण दुर्घटना त्यतिबेला नेपालकै सबैभन्दा ठूलो घटना थियो ।
अन्नपूर्ण क्षेत्रको ६ हजार ९१ पिसाङ हिमाल चढेर ओर्लिने क्रममा उक्त दुर्घटना भएको थियो । त्यतिबेला स्वदेशी तथा विदेशी ११ जनाको एकै पटक निधन भएको थियो । त्यतिबेला नेपालमा सबैभन्दा धेरै आरोहीले ज्यान गुमाएको पहिलो घटना थियो । त्यसैले २०५१ कार्तिक २७ गते भएको उक्त घटनालाई सबैभन्दा ठूलो आरोहण दुर्घटना भनिएको थियो । त्यसपछि संख्यात्मक रूपमा एकै पटक धेरै आरोहीले ज्यान गुमाएका घटना थुप्रै छन् । तर ३१ वर्षअघि भने अन्नपूर्ण क्षेत्रमा पहिलो पटक निकै ठूलो घटना भएको त्यसैलाई मानिन्थ्यो ।
आरोहण दलका सरदार च्याङ्वा शेर्पा तथा जर्मन माउन्टेन गाइड स्टेफेन ह्यासेन्कोफसहितको टोली पिसाङ हिमाल आरोहण गरेर फर्किने क्रममा हिउँ पहिरोमा परेर निधन भएको थियो । उक्त घटनामा जर्मन, स्विस र नेपाली गरी ११ जनाको ज्यान गएको थियो । ![[Archive] That terrible climbing accident 31 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-21102025102251-1000x0.jpg)
आरोहण अभियानको आयोजक इन्टरनेसनल ट्रेकर्सका अनुसार मनाङबाट फर्केको आरोहण विशेषज्ञ टोलीले हेलिकप्टरबाट हेर्दा ५ हजार २ सय मिटर उचाइमा लाश तथा सामान देखेको थियो । मौसमका कारण दुर्घटना भएको चौथो दिन मात्र हेलिकप्टरबाट घटनास्थल पत्ता लागेको थियो । आयोजकले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार आरोहणका क्रममा अचानक हिउँ पहिरोले पछिल्लो मान्छेलाई धकेलेपछि भ्रमण दलका सबै जना बाटोमा चिप्लिएको अनुमान गरिएको थियो ।
सरदार र माउन्टेन गाइडबाहेक ९ जना तीनवटा डोरीमा बाँधिएर पंक्तिबद्ध भएर ओरालो झरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो । आरोहीहरू कार्तिक २८ बिहानसम्म आधार शिविर आइपुग्नुपर्ने थियो । तर उनीहरू तोकिएको समयमा नआएपछि शिविरका कामदारहरूले अत्तालिएर नजिकैको डुंग्रे भन्ने स्थानबाट प्रहरी प्रधान कार्यालयमा खबर गरेका थिए ।
मुलुकभर मध्यावधि निर्वाचन चलिरहेकाले २९ गते उद्धारको काम हुन सकेन । ३० गते मात्र हेलिकप्टर पठाएर उद्धारको कोसिस गरिएको थियो । इन्टरनेसनल ट्रेकर्सका नरहरि भण्डारीले बादलका कारण हेलिकप्टर उडाएर घटनास्थल पत्ता लगाउन तीन दिन लागेको जानकारी दिएका थिए । उद्धार टोलीका जर्मन विशेषज्ञहरूले मौसमका कारण उद्धारमा समस्या आएको बताएका थिए ।
जर्मनीको दीएभी समिट क्लबले आरोहण टोलीलाई युरोपमा जम्मा गरेर नेपाल पठाएको थियो । त्यसैले उद्धार खर्च पनि उसैले बेहोर्ने जानकारी दिइएको थियो । क्लबका माउन्टेन गाइड स्टेफेन सेनाका लेफ्टिनेन्ट तथा अनुभवी गाइड थिए । उनलाई अति विकट मानिने लमजुङ अन्नपूर्ण पदयात्राका लागि दक्ष र तन्दुरुस्त व्यक्तिका रूपमा पठाइएको थियो ।
पिसाङ हिमाल आरोहण २४ दिनको समयमा पूरा गर्न सकिने अनुमान थियो । नेपालको इतिहासमा पदयात्राका क्रममा ११ जनाको मृत्यु भएको विषयलाई कान्तिपुर दैनिकले ‘नेपालमा सबैभन्दा ठूलो आरोहण दुर्घटना’ शीर्षकमा २०५१ मंसिर ५ गते समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That terrible climbing accident 31 years ago](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/annapurna-0552025090814-1000x01-21102025102307-1000x0.jpg&w=1001&h=0)