मतदान हुनुभन्दा चार दिनअघि २०५१ कात्तिक २५ मा कांग्रेस र एमालेले काठमाडौं, पोखरा, विराटनगरलगायतका स्थानमा ठूला चुनावी सभा गरेका थिए ।
What you should know
काठमाडौँ — मध्यावधि निर्वाचनअन्तर्गत २०५१ कात्तिक २७ को मतदान मिति २९ गते सारिएको थियो । नेपाली कांग्रेस चरम आन्तरिक द्वन्द्वमा फसेको थियो । ५० भन्दा बढी निर्वाचन क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेदवार विपक्षीसँग भन्दा पनि आफ्नै पार्टीका विद्रोहीको सामना गरिरहेका थिए ।
निर्वाचनका लगभग अन्तिम सभा भइरहेका थिए । कांग्रेस आन्तरिक द्वन्द्व, एमालेसहितका विपक्षीको प्रहारलाई सामना गर्न रक्षात्मक रूपमा चुनाव प्रचार गरिरहेको थियो । कांग्रेसमा विद्रोही उम्मेदवारलाई कारबाही गर्ने लहर नै चलेको थियो । कांग्रेसले आफूले सत्तामा रहँदा तीन वर्षमा गरेको काम, ००७ देखि ०४६ सालसम्म प्रजातन्त्रका लागि गरेको संघर्ष र कम्युनिस्ट पार्टीले अनावश्यक आश्वासन दिएर मतदाता झुक्याउने गरेको जस्ता विषयलाई उठाउने गरेको थियो । कांग्रेसले आफूलाई प्रजातन्त्रवादी पार्टीका रूपमा चित्रण गरेर प्रचारमा उत्रिएको थियो ।
एमालेले कांग्रेसलाई भारतपरस्त भएको र सत्तामा रहँदा भ्रष्टाचारमा लिप्त भएको मुख्य एजेण्डा बनाएको थियो । एमालेले जनजीविकाका नारा अघि सारेको थियो भने गिरिजाप्रसाद कोइरालाको कार्यशैलीको मुलुकभर अभियानकै रूपमा विरोध गरेको थियो । कांग्रेसको आन्तरिक द्वन्द्वको विषयलाई जनस्तरमा पुर्याउन एमालेले २०४६ को आन्दोलनका कमाण्डर गणेशमान सिंहले बोलेको भाषणको अडियो क्यासेट बजाउने अभियान चलाएको थियो । गणेशमानले ‘भ्रष्ट र गिरिजाप्रसाद समर्थक कांग्रेस’ हराउन आह्वान नै गरेका थिए । कतिपय विद्रोही उम्मेदवारलाई उनको समर्थन थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी, संयुक्त जनमोर्चासहितका साना कम्युनिस्ट पार्टी, सद्भावनालगायतका पार्टीको तारो पनि कांग्रेस नै थियो । सद्भावनाले तराई/मधेशको विषयलाई प्रमुख एजेन्डा बनाएको थियो ।![[Archive] Mid-term elections: This is how the parties started their election campaign](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/election-1-17102025121424-1000x0.jpg)
मतदान हुनुभन्दा चार दिनअघि कांग्रेस र एमालेले मुलुकका प्रमुख सहरमा सभाहरू गरेर चुनावी एजेण्डाको प्रचार गरिरहेका थिए । त्यतिबेला पनि सैद्धान्तिक भन्दा पनि एकअर्काको आलोचनालाई प्राथमिकता दिने गरिएको थियो । तर अहिले जसरी पार्टी र व्यक्तिलाई तुच्छ, अमर्यादित र समाजले पचाउन नसक्ने शब्द सार्वजनिक मञ्च वा सञ्चार माध्यममा प्रयोग गरिन्छ, त्यतिबेला यस प्रकारको गालीगलौज कमै गरिन्थ्यो । इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल, एफएफ रेडियोजस्ता सञ्चार माध्यम थिएनन् । ‘ल्यान्ड लाइन’ टेलिफोनसमेत कतैकतै मात्र थिए । त्यतिबेला सञ्चार माध्यमका रूपमा पत्रपत्रिका, रेडियो नेपाल र नेपाल टेलिभिजन थियो । राणाकालीन समयदेखि पञ्चायत हुँदै २०४६ को आन्दोलनमा सहभागी भएका परिपक्क र सुझबुझ भएका नेताहरू क्रियाशील भएकाले गालीगलौजका शब्द भने कमै प्रयोग हुन्थे ।
मतदान हुनुभन्दा चार दिनअघि २०५१ कात्तिक २५ मा कांग्रेस र एमालेले काठमाडौं, पोखरा, विराटनगरलगायतका स्थानमा ठूला चुनावी सभा गरेका थिए । काठमाडौंमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले सभालाई सम्बोधन गर्दै कांग्रेसले प्रजातन्त्रका लागि गरेको संघर्षको चर्चा गरेका थिए । उनले कम्युनिस्टहरूले मतदातालाई सुन र जग्गा दिने आश्वासन दिएको बताएका थिए । त्यही आश्वासनका कारण आफूले चुनावमा पराजित भएको पनि उनको दाबी थियो । उनी २०४८ सालको निर्वाचनमा काठमाडौं–१ मा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र २०५० माघको उपनिर्वाचनमा भण्डारी पत्नी विद्यासँग पराजित भएका थिए । ![[Archive] Mid-term elections: This is how the parties started their election campaign](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/election-2-17102025121428-1000x0.jpg)
पोखरामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष मनमोहन अधिकारीले मध्यावधि निर्वाचन षड्यन्त्रको रूपमा आएको बताएका थिए । उनले कांग्रेस भारतपरस्त पार्टी भएको आरोप लगाएका थिए । निर्वाचनमा ‘गिरिजा आउट, एमाले इन’ हुने दाबी उनको थियो । त्यस्तै सोही दिन विराटनगरको सहिद मैदानमा आयोजित चुनावी सभामा बोल्दै एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले कांग्रेसले सत्तामा बसेर गरेको भ्रष्टाचार उजागर गर्ने घोषणा गरेका थिए । उनले एमालेको सरकार बनेपछि भ्रष्टाचारीलाई कारबाही गर्ने पनि दाबी गरेका थिए ।
प्रधानमन्त्री गिरिजाप्रसादले पनि उक्त दिन मोरङको मधुमल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिस्टहरूले तीन वर्षमा आतंक, अराजकतमार्फत अशान्ति सिर्जना गरेकाले मध्यावधि निर्वाचन गर्नुपरेको दाबी गरेका थिए ।
स्व.मदन भण्डारीको निजी घर रहेको साविक इटहरा गाउँविकास समितिमा आमसभामा जाने क्रममा एमाले कार्यकर्ताले कालोझण्डा देखाएर ढंगामुढा गरेपछि गिरिजाप्रसादले कालोझण्डाले आफूलाई रोक्न नसक्ने बताएका थिए ।
निर्वाचनकै सिलसिलामा गणेशमानले कांग्रेस हराउन लागेको चर्चा फैलिएको थियो । विशेषतः एमालेले उक्त प्रचार गरेपछि गणेशमानले खण्डन गर्दै भनेका थिए, ‘मैले कांग्रेस हराऊ भनेको होइन, केही भ्रष्ट कांग्रेस हराउन चाहिँ भनेको हुँ ।’ कांग्रेसबाट अलग भएका गणेशमानले २०५१ कात्तिक २५ मा कान्तिपुरसँगको संक्षिप्त कुराकानीका क्रममा कम्युनिष्टलाई मत दिनु भनेको मृत्यु पत्रमा सही गर्नु हो भनेका थिए । काठमाडौंमा एमालेका उम्मेदवार पद्मरत्न तुलाधारलाई गणेशमानले समर्थन गरेको चर्चा फैलिएको थियो । उनले कांग्रेसको नेतृत्वको आलोचना गरेको फाइदा एमालेलाई भएको थियो । एमाले नेताहरूले गणेशमानको हवाला दिएर कांग्रेसको गल्ती मतदातासामु पुर्याएका थिए । ![[Archive] Mid-term elections: This is how the parties started their election campaign](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/election-3-17102025121432-1000x0.jpg)
कांग्रेसको आन्तरिक कलहका कारण उत्पन्न परिस्थितिले मुलुक मध्यावधि निर्वाचनमा भएको, गणेशमानले कांग्रेस छाडेको र कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध मुलुकभर विद्रोही उम्मेदवार खडा भएको पृष्ठभूमिमा मध्यावधि निर्वाचन हुन लागेको थियो । निर्वाचनमा दलहरूले अघि सारेका एजेन्डा, नेताहरूले गर्ने भाषण, मुलुकभर भएको चुनावी गतिविधिलाई समेटेर पत्रकारहरू तारानाथ दाहाल, शंकर खरेल, इन्द्र काफ्ले तथा विभिन्न जिल्लाका संवाददाताहरूले तयार गरेको समाचार कान्तिपुर दैनिकले नेपाली ‘कांग्रेसको पक्षमा देशभरि लहर, नेका बाहेक अरुले सरकार बनाउन नसक्ने दृढता, पञ्चशीलका आधारमा एमालेले सबैसँग मित्रता राख्ने, मैले एमालेलाई मत दिन आह्वान गरेको छैन’ शीर्षकमा एकै दिन २०५१ कात्तिक २६ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Mid-term elections: This is how the parties started their election campaign](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/election2312022043313-1665323331-17102025121955-1000x0.jpg&w=1001&h=0)