कछुवा वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गतको सूचीमा रहेकाले सिकार गर्न वा ओसारपसार गर्न बन्देज छ ।
What you should know
काठमाडौँ — नेपालबाट अनेक मालबस्तु तिब्बत चोरी निकासी हुने गरेका थिए । यस्तो चोरीनिकासी अहिले पनि बेलाबेलामा हुने गरेको सुनिन्छ । तर तीन दशक पहिले तिब्बतमा कछुवाको चोरी निकासीको प्रयास भएको घटना भने नेपालकै लागि नौलो थियो ।
२०५१ असोज १ गते नवलपरासीबाट अरनिको सडक भएर तातोपानी लैजाने क्रममा जब १ सय २८ वटा कछुवा भक्तपुर प्रशासनले समात्यो, त्यसपछि यसको रहस्य खुलेको हो । नारायणी नदीमा समातिएका ती कछुवा तस्करी धन्दा चलाइरहेका व्यापारीले बोरामा राखेर तातोपानी नाका हुँदै तिब्बत लैजाने प्रयास गरेका थिए । प्रशासनले कछुवा राखेका ट्रकहरू फेला पारेको थियो । तिब्बत लैजान लागेका कछुवा समातिएको सम्भवतः यो पहिलो घटना थियो ।
चीनमा प्रसिद्ध ‘टर्टल सुप’ बनाउन कछुवाको उच्च माग रहेकाले राम्रो मूल्य पाउने अपेक्षामा तस्करी हुने गरेको सम्बन्धित व्यवसायीले बताएका थिए । उक्त कछुवा जिल्ला वन कार्यालय भक्तपुरले ८१ वटा मरेको र ४७ वटा जीवित सदर चिडियाखाना जावलाखेललाई बुझाएको थियो । चिडियाखानाका तत्कालीन कार्यकारी निर्देशक डा. तीर्थमान मास्केका अनुसार बरामद गरेका कछुवा तीन दिनमा थप ११ वटा मरेका थिए । कछुवासहित चोरी निकासीमा संलग्न भएको अरोपमा जीतबहादुर गिरीलाई जिप्रकाको जिम्मा लगाइएको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारीले कछुवा तस्करलाई छुटाउन दबाब आएको जानकारी दिएका थिए । कछुवा पाल्नका लागि बनेपा लैजान खोजेको बहाना बनाएर छाडिदिन दबाब आएको प्रजिअ देवराज रेग्मीले जानकारी दिएका थिए । उनका अनुसार दबाब आउन थालेपछि कछुवालाई हतार–हतार वन कार्यालय बुझाइएको थियो ।![[Archive] Nepal's Turtle Tibet's 'Turtle Soup'](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-6-25-13102025111623-1000x0.jpg)
दुर्लभ जन्तुमा पर्ने कछुवाका तस्करीलाई वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाही चलाइएको थियो । तर त्यतिबेला कछुवालाई ऐनले दुर्लभ वन्यजन्तु मानेको थिएन । भारतले भने दुर्लभ जन्तुको सूचीमा राखेर संरक्षण गरिरहेको थियो । नेपालले दुर्लभ वन्यजन्तुको व्यापार नियन्त्रणसम्बन्धी महासन्धिमा हस्ताक्षर गरे पनि कानुनको प्रभावकारिता थिएन ।
डा. मास्केका अनुसार त्यतिबेला नेपालमा ७ जातका कछुवा पाइने गरेका थिए । तस्करी हुन लागेका कछुवा भने ४ जातका थिए । त्यतिबेला कछुवा विशेषतः नेपालको नारायणी, कोशी र कर्णाली नदीमा पाइने गर्थ्यो । नेपालमा कछुवाको विषयमा अध्ययन भएको थिएन । माछा र चिप्ले किरा खाएर बाँच्ने कछुवाको संख्या नदीको बाँध, स्थानीयको सिकार र प्रदूषणले घट्दै गएको मास्केले जानकारी दिएका थिए । बढी तापक्रममा रहने कछुवा काठमाडौंमा बाँच्न कठिन हुने मास्केले बताएका थिए । उनले नेपालमा कछुवा दुर्लभ भइसकेको बताएका थिए । उनले कछुवाको संख्या बढाउन बहुप्रजनन कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क गरेका थिए ।
३१ वर्षअघि कछुवाको तिब्बत तस्करी, नेपालमा कछुवाको अवस्था, कानुनी व्यवस्था आदि विषयमा केन्द्रित भएर पत्रकार नारायण वाग्लेले तयार गरेको सामग्रीलाई कान्तिपुर दैनिकले २०५१ असोज २५ गते ‘कोदारी पुग्न नभ्याएका यी कछुवाहरू’ शीर्षकमा प्रकाशित गरेको थियो । कछुवाका ज्ञाता प्राध्यापक करनबहादुर शाहका अनुसार हाल नेपालमा कम्तीमा १७ प्रजातिका कछुवा पाइने गरिएको छ । अध्ययनका क्रममा नयाँनयाँ प्रजातिका कछुवा फेला परिरहेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा कछुवा संरक्षण परियोजना सञ्चालन गरिएको छ । मुलुकका विभिन्न भागमा कछुवाको संख्या बढिरहेको उनले बताए । कछुवा वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गतको सूचीमा रहेकाले सिकार गर्न वा ओसारपसार गर्न बन्देज छ । प्राध्यापक शाहका अनुसार चीनमा कछुवा पालन गर्ने र उच्च तहका भोजहरूमा समेत मासुका रुपमा प्रयोग गर्ने चलन छ । उनीहरूले कछुवाको मासुलाई राम्रो परिकारका रुपमा लिने गरेका छन् । तस्करहरूले भारत, बंगलादेशलगायतका मुलुकबाट ल्याएका कछुवा बोरामा राखेर तातोपानी नाकाको बाटो भएर तिब्बत लैजाने गरेको अनुभव उनले सुनाए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Nepal's Turtle Tibet's 'Turtle Soup'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/turtle-2352023024316-13102025111538-1000x0.jpg&w=1001&h=0)