[अर्काइभ] मुस्ताङको स्याउ ढुवानी गर्न पाइलटलाई एक बोरा कोसेली

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

[Archive] A sack of apples to the pilot to transport to the Mustang

काठमाडौँ — सडक सञ्जालको विकास र विस्तार भइसक्दा पनि अझै मुस्ताङमा उत्पादन भएको स्याउ अहिले पनि काठमाडौंलगायतका मुख्य बजारमा पुर्‍याउने व्यवस्थित प्रणाली बनिसकेको छैन । स्वदेशी स्याउको उत्पादन बढे पनि र यसको ढुवानीमा स्थानीय स्तरबाटै कैयौं प्रयत्न भए पनि अहिले बजारमा चीन र भारतबाट आयात गरिएका स्याउकै जगजगी छ । झन ३२ वर्षअघि त कस्तो अवस्था थियो होला ?

२०५० को दशकमा स्याउ ढुवानी गर्न मुस्ताङका किसानले उठाएको कष्टको कथा अहिले धेरैका निम्ति कथाजस्तो लाग्न सक्छ । त्यतिबेला सडक यातायात थिएन । जहाज वा भरियाबाहेकका ढुवानीका विकल्प थिएनन् । तर यी दुवै विकल्प असाध्यै खर्चिला थिए । ढुवानी महँगो पर्ने भएकैले मुस्ताङमा फलेका स्याउ कुहिएर खेर जाने गरेको समाचार त्यतिबेला कुनै नौलो समाचार थिएन । कतिपयले थोरैथोरै भए पनि स्याउलाई चाना पारेर सुकुटी बनाएर राख्थे । तर यही स्याउको सुकुटीको बजार पनि अभाव थियो ।

त्यतिबेला जहाज चार्टर गरेर स्याउ पोखरा लैजान प्रतिकिलो १० देखि १२ रुपैयाँ तिर्नुपर्थ्यो । त्यसरी ढुवानी गर्न पनि जहाजका पाइलटलाई कोसेलीबापत एक बोरा स्याउ दिनुपर्थ्यो । पाइलट खुसी नभए स्याउन नबोक्ने भएकाले स्थानीय बासिन्दा कोसेली दिन बाध्य थिए ।

मुस्ताङमा ३ देखि ८ रुपैंयाँ मुल्य पर्ने स्याउ भरियाले बोकेर पोखरा लैजान ४ देखि ७ दिन लाग्ने गर्थ्यो । भरियामार्फत स्याउ ल्याउँदा यसको मूल्य पोखरामा प्रतिकेजी २० देखि ३० रुपैयाँ पर्नेगर्थ्यो । त्यतिबेला हवाईजहाज सहज नभएका कारण दैनिक २५ देखि ३५ भारी स्याउ भरियामार्फत पोखरा पुर्‍याउने गरिन्थ्यो ।

मुस्ताङबाट स्याउ बोक्ने भारियाहरू धेरैजसो भने धादिङका हुन्थे । स्याउ ढुवानी गर्न भरियाहरू भदौदेखि माघसम्म मुस्ताङ र पोखरा आउजाउ गर्थे । मुस्ताङको स्याउ बोक्ने चर्चित भरिया चाइना तामाङ भदौदेखि माघसम्म २० देखि २५ हजार कमाइ हुने बताउँथे । तर भरियाले ढुवानी गर्दा स्याउ बाटैमा कुहिने र बजार पुर्‍याउने समय पनि धेरै लाग्ने गुनासो व्यवसायीले गर्थे । किसानबाट किनेको स्याउ व्यवसायीमार्फत बजार पुर्‍याइन्थ्यो । उत्पादकले बेमौसममा बेचेर स्याउको उचित मूल्य पाउन मुस्ताङमा कोल्डस्टोरको माग पनि हुनेगर्थ्यो । स्थानीयले कोल्डस्टोरको माग गरेपछि त्यसको स्थापना हुन सकेको थिएन ।

स्थानीयको मागअनुसार जहाज चार्टर गरेर भन्दा पनि नियमित उडानबाट स्याउ पोखरा पुर्‍याउँदा ढुवानीमा प्रतिकिलो ७ रुपैयाँ तोकियो । चार्टरको ढुवानी भाडाभन्दा कम रकम भुक्तानी गर्नुपर्ने भए पनि स्याउ ठूलो परिमाणमा पोखरा पुग्ने र छोटो समयमा काठमाडौं पुग्ने व्यवस्था मिलाइएको थियो । त्यसैले मुस्ताङको स्याउ सहज रूपमा काठमाडौं पुग्ने अपेक्षा राखिएको थियो । यही सन्दर्भलाई समेटेर कान्तिपुर दैनिकले २०५० साल कात्तिक २४ गते 'मुस्ताङको स्याउ काठमाडौंमा ताजै पाइन्छ' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully