[अर्काइभ] गिरिजाप्रसादले योगप्रसादलाई फिर्ता बोलाएपछि गणेशमान रुष्ट

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

[Archive] Ganeshman angry after Girijaprasad recalled Yogaprasad

काठमाडौँ — २०४८ सालको संसदीय निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला र सर्वोच्च नेता गणेशमान सिंहबीचको मनमुटावले नेपाली कांग्रेसभित्रको गुटबन्दी निकै झाँगिएको थियो । गणेशमानलाई पार्टीका सभापति कृष्णप्रसाद भट्टराईले साथ दिएका थिए ।

गुटबन्दीको एउटा उदाहरण आफैंले नियुक्ति गरेर पठाएका अमेरिकाका राजदूत योगप्रसाद उपाध्यायलाई फिर्ता बोलाएको घटनाले निकै चर्चा पाएको थियो । प्रधानमन्त्री कोइराला अमेरिकाको न्युयोर्क गएका बेला उपाध्यायले कूटनीतिक मर्यादा पालना नगरेको बहाना बनाएर फिर्ता बोलाइएको घटनाले कांग्रेसभित्रको मनमुटाव सतहमा आएको थियो ।

गिरिजाप्रसादको आदेश पालन नगर्न गणेशमानले नै उपाध्यायलाई दबाब दिएपछि पार्टीमा झन् ठूलो विवाद देखियो । कोइराला न्युयोर्क गएका बेला सभापति भट्टराई पनि अमेरिकाको वासिङ्टन गएका थिए । एकै समयमा दुवै नेता आएपछि स्वागत गर्न कता जाने भन्ने उपाध्यायलाई अप्ठेरो परेको थियो । जान त उपाध्याय कोइरालालाई स्वागत गर्न गएका थिए । तर अमेरिकाबाट फर्केपछि कोइरालाले अफिसियल रुपमा ‘अकूटनीतिक’ भन्ने शब्द प्रयोग गरेर फिर्ता बोलाउने निर्णय गरेका थिए । त्यसको प्रतिवाद गर्दै सर्वोच्च नेता गणेशमानले कांग्रेस पार्टीले नै कोइरालालाई प्रधानमन्त्री र उपाध्यायलाई राजदूत बनाएको तर्क अघि सारेको भनाइ सार्वजनिक भएको थियो ।

गणेशमानले उपाध्यायलाई राजदूतबाट फिर्ता नहुन भनेका थिए । २०४६ को परिवर्तनपछि अन्तरिम सरकारका गृहमन्त्रीसमेत भएका पार्टीका नेता उपाध्यायलाई कोइरालाले किन फिर्ता बोलएको हो कारण भने सार्वजनिक भएको थिएन । 

उपाध्यायले सभापति भट्टराईको स्वागतका लागि आफ्नी श्रीमती पठाएर आफू कोइरालाको स्वागतमा गएका थिए । त्यतिबेला कोइरालाले उपाध्यायलाई सभापति भट्टराईको स्वागतमा गएको भए हुन्थ्यो भनेका थिए । कोइरालाले उपाध्यायलाई भनेका थिए, ‘मलाई लिन जयराज आचार्य आएपछि भइहाल्थ्यो । भट्टराई हाम्रो सभापति हुनुहुन्छ । उतै जानुपर्थ्यो ।’

आफूलाई फिर्ता बोलाएपछि उपाध्यायले एक कूटनीतिज्ञसँग कोइरालाले आफूलाई भनेको सन्दर्भ जोडेर उल्लिखित वाक्य सुनाएका थिए । जयराज अचार्य भने त्यतिबेला नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघमा राजदूत थिए । उनी १९९१ देखि १९९४ सम्म राजदूत भएका थिए ।

केही महिनाअघि संसदको अधिवेशन अन्त्य भएको अवसरमा तत्कालीन राजा वीरेन्द्रको सम्मानमा सिंहदरबारमा आयोजित चियापानमा प्रधानमन्त्रीलाई कुर्सी नमिलाएकामा सभामुख दमननाथ ढुंगानाको आलोचना भएको थियो । योगप्रसादको हकमा पनि दमनले जस्तै आलोचना खेप्नुपर्ने अवस्था आएको थियो । एकाथरीले संसदको जस्तै कुर्सी काण्ड राजदूतमा दोहोरिने चर्चा सुरु भएको थियो ।

खासमा अमेरिकामा के भएका कारण कोइरालाले उपाध्यायलाई फिर्ता बोलाए त्यसको यथार्थ बाहिर आएको थिएन । तर योगप्रसाद कृष्णप्रसादको पक्षमा खुलेर लागेका कारण कोइरालाले मन नपराएको धेरैको बुझाइ थियो । योगप्रसादले अन्तरिमकालका प्रधानमन्त्री भट्टराईको निकट रहेर काम गरेका कारण पनि कोइरालाले विश्वास गरेका थिएनन् । अमेरिकामा रहेका कांग्रेस समर्थक र शुभचिन्तकहरुले पनि योगप्रसादले गरेको व्यवहारको विषयमा छिनोफानो नभए नेपालका प्रधमनन्त्री पदको मर्यादा अमेरिका लगायतका देशमा नरहने बताउन थालेका थिए ।

कांग्रेसको आन्तरिक मनमुटाव र राजदूत उपाध्यायको फिर्ताको विषयलाई कान्तिपुर दैनिकले २०५० कात्तिक १८ गते राजदूत उपाध्यायले कुनै हालतमा राजीनामा नदिने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully