[अर्काइभ] यस्तो थियो फिल्म टिकटको ‘ब्ल्याक मार्केट’

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

[Archive] This was the 'black market' of film tickets

काठमाडौँ — आफूले चाहेको फिल्म हेर्न तुरुन्तै अनलाइनबाट टिकट काट्न मिल्ने सुविधा उपभोग गरिरहेका तन्नेरी पुस्तालाई कुनै समय काठमाडौंका फिल्म हल छिर्न ‘ब्ल्याक’ मा टिकट किन्नुपर्थ्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तीन दशक अघि मात्रैको कुरा त हो । फिल्म हलको टिकट काउन्टरका कर्मचारीहरु बाहिरका मान्छेसँग मिलेर हल बाहिरै टिकट ‘ब्ल्याक’मा बेच्ने चलन फस्टाएको थियो ।

कुन फिल्म कति चल्यो भन्ने कुरा पनि हल बाहिर टिकट किन्नेको भीड कति छ भन्नेका आधारमा निर्धारण हुन्थ्यो । दर्शकको घुइँचो फिल्म हलबाहिर भएपछि टिकट ‘ब्ल्याक’मा बेच्ने धन्दा झनै फस्टाउँथ्यो । 'हलको काउन्टरमा टिकट सकिएर के भो र ?' हल बाहिरका छेउ कुनामा एजेन्टहरु हलको दरभन्दा दोब्बर, तेब्बर भन्दा धेरै भाउमा टिकट बेचिरहेका हुन्थे । उपत्यकाका सबैजसो फिल्म हलबाहिर यस्तै दृश्य देखिन्थ्यो ।

त्यतिबेला अर्थात २०५० सालमा काठमाडौंका फिल्म हलकमा टिकटको मूल्य कति थियो होला ? सुन्दा पनि हामीलाई अचम्म लाग्न सक्छ । त्यतिबेला ड्रेस सर्कलको १६ रुपैयाँ, बाल्कोनीको १४ रुपैयाँ र स्पेसल टिकटको मूल्य १२ रुपैयाँ रहेको थियो । यस्तो टिकट हल बाहिर ‘ब्ल्याक’मा २५‐३० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गर्थ्यो ।

फिल्म धेरै चलेको र काउन्टरमा टिकट सकिएको अवस्थामा त ग्राहक ‘ब्ल्याक’को टिकट किन्न अझै धेरै पैसा खर्चिन बाध्य हुन्थे । कहिलेकाहीँ प्रहरीले टिकट बिक्री गर्नेहरुलाई पक्राउ गरेको पनि देखिन्थ्यो । तर प्रहरीको नियमित निगरानी नहुने भएकाले यस्तो धन्दा निर्बाध चलिरहन्थ्यो । हलको टिकट काउन्टरमा बसेका कर्मचारीको मिलेमतोमा टिकट ब्ल्याकमा बेच्नेहरुको हातमा पुग्ने यो धन्दाबाट दर्शकहरु मारमा परिरहन्थे ।

२०५० साल कात्तिक ६ गतेको कान्तिपुर दैनिकमा काठमाडौंका फिल्म हलहरुमा ‘ब्ल्याक’मा टिकट बेच्ने धन्दा कसरी चलिरहेको छ भन्नेबारे मुकुन्दकुमार बीसीले तयार गरेको फिचर प्रकाशित भएको थियो । यो समाचारले त्यतिबेलाको समाज र मनोरन्जनको सीमित विकल्पमध्येको एक रहेको सिनेमा हेर्ने उपत्यकाको संस्कृतिबारे बुझ्न सहयोग पुग्छ ।

समाचारमा ‘ब्ल्याक’मा टिकट बेच्नेहरुको कुराकानीमा आधारित भएर लेखिएको छ, उनीहरु बढी पैसा युवा–युवतीको जोडीहरुसँग लिने गर्दछन् ताकि आफ्नो प्रेमिकाको अगाडि इज्जतको डरले गर्दा बढी रकम तिरेर भएपनि लान्छन् । यो तथ्यले त्यतिबेलाको समाजमा प्रेमको बुझाइ के थियो र प्रेम सम्बन्धमा रहेका केटाहरुको मनोविज्ञान कस्तो थियो भन्ने बुझाउँछ ।

त्यतिबेला उपत्यकामा कुमारी, विश्वज्योति, जय नेपाल, रञ्जना, पाटनको अशोकलगायतका फिल्म हल सञ्चालनमा थिए । यी सबैजसो हलमा ‘ब्ल्याक’मा टिकट बिक्री हुन्थ्यो भनेर समाचारमा भनिएको छ । त्यतिबेला अहिलेजस्तो कुन फिल्म कहिलेदेखि कुन–कुन हलमा चल्दैछ र त्यो फिल्ममा को–को खेलेका छन् भन्नेजस्ता जानकारी सर्वसाधरणको सहज पहुँचमा हुन्थेनन् । त्यतिबेला कुन हलमा कुन फिल्म चलेको छ, फिल्मको हिरो को हो ? कुन समयदेखि कुन समयसम्म सो सञ्चालन हुन्छ ? कुन महिनाको कुन दिनदेखि कुन फिल्म कुन हलबाट देखाइन्छ त्यसको जानकारी लिन सहज थिएन । झन्डै ०५५ सालसम्म त रेडियो नेपालको विज्ञापन सूचना सुनेर, उपत्यकाको भित्तामा टाँसेको पोस्टर हेरेर वा कसैले सूचना दिएर मात्र सबै फिल्मको विषयमा जानकारी हुन्थ्यो ।

सन्ध्याकालीनको नामबाट हरेक दिन बेलुकी प्रकाशित हुने पत्रिकामा कुन हलमा कुन फिल्म चलेको छ त्यसको जानकारी दिइएको हुन्थ्यो । केही पत्रिकाले कुन हलमा कुन फिल्म चलेको छ भनेर सूचना पनि राख्ने गरेका थिए । हेर्न जानुअघि फिल्मका विषयमा सहजरुपमा पर्याप्त जानकारी नपाउँदा पनि ब्ल्याकमा बढी मूल्य तिरेर टिकट किन्ने बाध्यता हुन्थ्यो ।

यो समाचारमा ‘ब्ल्याक’मा टिकट बेच्नेहरु को हुन्थे भनेर पनि खुलाउने प्रयास गरिएको छ । त्यतिबेला यसरी टिकट बेच्नेहरु युवा मात्र होइन पाका उमेरकाहरु पनि हुन्थे । कतिपय त यस्ता हुन्थे जोसँग दसौंवर्षसम्म ब्ल्याकमा टिकट बेचेको अनुभव थियो । कतिपय ब्ल्याकमा टिकट बेच्ने युवाहरु धेरैजसो बिहान बेलुकी पाकेट मार्ने र लागुऔषध ओसारपसारमा लाग्ने गरेको पनि भेटिन्थ्यो । कतिपय ब्ल्याकमा टिकट बेच्ने किशोरीहरु राति यौनधन्दामा लाग्ने गरेको पनि भेटिन्थ्यो ।

ब्ल्याकमा टिकट बेच्ने धन्दामा नयाँ मान्छे प्रवेश गर्न कठिन हुन्थ्यो । संगठित समूह हुने भएकाले नयाँ अनुहार देख्ने बित्तिकै कुटपिट गरेर टिक्नै दिँदैनथे । तर निश्चित रकम उक्त समूहलाई दिएर संगठित हुन पाउने अनौपचारिक व्यवस्था गरिएको हुन्थ्यो । उनीहरुले आफनो समूहलाई बलियो बनाउन सबैभन्दा बलियो र आँटिलो व्यक्तिलाई लिडर बनाएका हुन्थे । त्यतिबेला त्यस्ता व्यक्तिलाई अहिले ‘डन’ भने जस्तै ‘दादा’ भनिन्थ्यो । उनीहरुले ‘कनेक्सन’ प्रहरीसम्म हुन्थ्यो । त्यसैले उनीहरुलाई पक्राउ गरेपनि देखावटी मात्र हुन्थ्यो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully