काठमाडौँ — ‘हाम्रा छोराछोरीसँग आँखा भएपनि यिनीहरु अझै अन्धा छन् ।’ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको मन सगरमाथा आधार शिविरका स्थानीय शेर्पाहरुको यही भनाइले छोयो । उनी भावुक भए । ३२ वर्षअघि स्थानीय शेर्पाले सुनाएको यही वाक्यपछि हिलारी यो ठाउँका लागि केही गर्न तत्पर भए । उनले भने, ‘शेर्पा साथीहरुको पिलपिल आँखा हेर्न सकिनँ । त्यसैले मैले विद्यालय बनाउन चन्दा बटुल्न थालेँ ।’
त्यतिबेला भिक्षु र भिक्षुणीहरुले पढ्ने तेम्बोचे गुम्बा जलेको थियो । यो क्षतिबाट शेर्पा समुदायका छोराछोरीहरु प्रत्यक्ष प्रभावित भएका थिए । अनि उनीहरुले यो गुनासो हिलारीका सामु राखेका थिए । त्यतिबेला शेर्पाहरुका लागि यो गुम्बा नै अध्ययनको मुख्य स्रोत थियो । तर टुकी बालेर पढनुपर्ने बाध्यता कारण उनिहरुले अप्ठ्यारो भोगिरहेका थिए ।
शेर्पाहरुसँगको यही संवादपछि हिलारीले विदेशीसँग चन्दा उठाए विद्यालय(गुम्बा) बनाएका थिए । त्यतिबेला हिलारीले बनाएका गुम्बा र स्कुलहरु अहिले पनि यस क्षेत्रमा उज्यालो छरिरहेका छन् । हिलारी जस्तै कैयन मनकारी विदेशीले सगरमाथा आधार क्षेत्रमा आधारभूत सुविधाका धेरै कामहरु गरेका छन् । विदेशीले बनाइदिएको लघु जलविद्युत्ले यहाँ उज्यालो छरेको छ । अहिले पनि सगरमाथा आसपासका ट्रेकिङ रुटमा स्थानीय तहमै उत्पादन गरिएको बिजुलीमा निर्भर छन् । तीन दशकअघि यहाँ अमेरिकन हिमालय फाउन्डेसनले यहाँ बिजुलीको उज्यालो पुर्याएको थियो । हल्याण्डको फिलिप्स कम्पनीले नि:शुल्क उपलब्ध गराएको वल्वले उज्यालो छरेको थियो ।
बिजुली आएपछि मात्रै याकको घ्यु बालेर पुर्ख्यौली ग्रन्थ पढ्नुपर्ने बाध्यताबाट उनीहरुले मुक्ति पाएका हुन् । त्यतिबेला हल्याण्डको फिलिप्स, अमेरिकन हिमालय फाउण्डेसन, अस्ट्रियाजस्ता दातृ निकाय र संघसस्थाले बिजुली निकालेर सगरमाथाको काखलाई झिलिमिली बनाएका थिए ।
खुम्जुङका शेर्पाहरु नाम्चे साना जलविद्युत् आयोजनाले आफूहरुको सपना पूरा गरेको बताउने गर्थे । स्थानीयस्तरमा भएका साना विद्युत् आयोजनाको मर्मत सम्भार भने उनीहरुलाई धेरै महँगो पर्ने गरेको थियो । उनीहरुले उत्पादन गरेको बिजुली गुम्बा र छात्राबासमा खर्च हुने भएकाले सर्वसाधारणलाई भने मर्का परिरहेको थियो । गुम्बालाई आधुनीकीकरण गर्न र गुम्बा विद्यार्थीलाई पढाउन भने बिजुली आवश्यक थियो ।
सोलुखुम्बुमा एडमण्ड हिलारीले शिक्षा विकासका लागि गरेको प्रयास, गुम्बाप्रति शेर्पा समुदायको अटल आस्था, हिमाली जीवनशैली र शेर्पा जातीको बिजुली सपनालाई समेटेर पत्रकार नारायण वाग्लेले लेखेको समाचार कान्तिपुर दैनिकमा 'खुम्बुमा जलविद्युत्: शेर्पाहरुको मीठो सपना' शीर्षकमा २०५० साल असोज १९ गते प्रकाशित भएको थियो । त्यतिबेला वाग्लेले आफैं सगरमाथा क्षेत्रमा पुगेर तेङ्बोचे डेटलाइनमा समाचार लेखेका थिए ।
सन् २००८ जनवरी ११ मा ८८ वर्षको उमेरमा निधन भएका हिलारीले २९ मे १९५३ मा सगरमाथा चढेपछि सन् १९६४ मा हिमालयन ट्रस्ट स्थापना गरेर नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग अभियान चलाएका थिए । उनको ट्रस्टको नामबाट अहिले पनि सामाजिक काम भइरहेको छ । त्यतिबेला विद्यालय खुलाउने, गुम्बा मर्मत गर्ने र स्वास्थ्य संस्थाहरु सञ्चालनमा ट्रस्टले धेरै सहयोग गरेको थियो । त्यसैले त हिलारीलाई सोलुखुम्बुका शेर्पा समुदायले हिलारीलाई आफ्नो मुटु मान्ने गरेका छन् । उनलाई नेपाल सरकारले २००३ मानार्थ नागरिकता प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When Edmund Hillary could not see the bleary eyes of the Sherpas](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kantipur-archieve-2942025125709-1000x0.jpg&w=1001&h=0)