काठमाडौँ — तिब्बतसँगको सेवा व्यापारमा नेपालका हिमाली बस्ती कति निर्भर थिए भनेर बुझ्नका निम्ति पचासको दशकतिर पुग्नुपर्छ । त्यतिबेला नेपाल–तिब्बत सीमा क्षेत्रमा वस्तु सट्टापट्टा गर्ने (बार्टर सिस्टम) प्रचलन संस्कृतिकै एक अंगजस्तो थियो । सडकले नछोएका हिमाली बस्तीका दुःख बेग्लै थिए । त्यसैले पनि उनीहरुको तिब्बतसँगको निर्भरता बढ्दो थियो ।
सोलुखुम्बुका तत्कालीन नाम्चे तथा खुम्जुङ गाविसका स्थानीय कसरी तिब्बतसँगको व्यापारमा निर्भर छन् भनेर कान्तिपुरमा प्रकाशित पुरानो रिपोर्टिङ पढ्दा उतिबेलामा हिमाली समाजको दुःख र निर्भरताबारे बुझ्न सकिन्छ ।
तिब्बतसँग जोडिएका नाकाहरु पश्चिमको तिंकरदेखि कोरला, रसुवा, कोदारी हुँदै सोलुखुम्बुसम्मका सीमा क्षेत्रका बासिन्दाले हिउँले बनेको खोँच, हिमाल र अग्ला डाँडा पार गर्दै ज्यानै माया मारेर तिब्बत छिर्ने परम्परा थियो । तर अहिले त यी सबै कुरा स्मृतिजस्ता भइसके । किनभने तिब्बति क्षेत्रमा अहिले विकासका पूर्वाधारमा उल्लेख्य बदलाव आइसकेको छ । तिब्बततर्फको धेरै नाकालाई चीन सरकारले बजारका रुपमा विकास गरिसकेको छ । चीनतर्फ भएको विकासले सामान साटेर गुजारा चलाउने परम्परा बदल्यो भने नेपालतिर पनि कैयौं सीमा क्षेत्रसम्म सडक सञ्जाल पुगेकाले सामान सट्टापट्टा गर्नैपर्ने बाध्यता बिस्तारै बदलिँदै गयो ।
पचासको दशकमा सोलुखुम्बुको तिब्बती सीमा अर्थात् नाङ्पाला नाकामा बस्तु सट्टापट्टाको अभ्यास बाक्लै हुन्थ्यो । सरकारले चौंरी तथा याक विकास फर्मका लागि ७० को दशकसम्म पनि सोही नाकाबाट चौंरी र याक ल्याउने गरेको स्थानीयले बताउँछन् । तिब्बतविरुद्धको गतिविधि भएको शंकामा तिब्बत सरकारले यो नाकालाई बन्दजस्तै गरेको थियो । भूकम्पपछि त झन् यो नाका पूर्ण रूपमै बन्द भयो ।
यो नाकामार्फत हुने द्विदेशीय गतिविधिलाई नियाल्ने हो भने नेपाल–तिब्बत कारोबार कसरी सट्टापट्टाबाट व्यापारमा बदलिँदै गयो भनेर बुझ्न सकिन्छ । पचासको दशकदेखि यो नाकामा पैसामा कारोबार हुन थालेको देखिन्छ । त्यतिबेला भोटेकोशी र दूधकोशीको तीनवटा साँघु तरेर तिब्बती बजार पुग्न एक साता लाग्थ्यो । राँगा भैंसीको छाला, आलुको चाना, जोक्यो (याक), रङ, नस (सुँघ्ने वस्तु) लगायतका वस्तु खच्चडलाई बोकाएर लैजाने गरिन्थ्यो । बाटोमा बास बस्न सबैले एकएक वटा पाल बोक्ने गर्थे । फर्कने बेलामा नुन, चिया, ऊन, भेडाच्यांग्राको फिला, उवाको पिठो, साबुन, लत्ताकपडा आदि ल्याउने गरिन्थ्यो ।
उताका मान्छे पनि त्यसैगरी नेपाल आउँथे । यताबाट उता जाने समय भने फरक हुन्थ्यो । नेपालीहरु बर्सातमा तिब्बत जाने गर्थे । तिब्बतीहरु भने कात्तिकदेखि फागुनसम्म नेपाल आउँथे । तिब्बतसँग सीमा जोडिएको सोलुखुम्बुको साबिक नाम्चे र खुम्जुङ गाउँविकास समितिका बासिन्दाको तीन दशकअघिको दैनिक यसरी नै चलेको थियो ।
५,७७६ मिटर अग्लो नाका पार गरेर तिब्बती र नेपाली आउजाउ नगरे बाँच्ने आधार नै थिएन । त्यतिबेला सरकारले सगरमाथा क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि खासै वास्ता गरेको थिएन । अहिलेजस्तो सडक सञ्जाल र निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टर र जहाज थिएन । लुक्लामा राखिएको डिपोबाट हिमाली गाउँका खाद्यान्न पुर्याउन झन्डै एक साता लाग्ने भएकाले तिब्बत नै सहज थियो ।
तिब्बत जान नाङ्पाला नाका पुग्ने क्रममा थामे र चुलेजस्ता बस्ती छन् भने नाम्चेबाट उत्तरतिर खुमजुङ, खुन्डे, फोर्चेलगातका बस्ती छन् । त्यस भेगका बासिन्दा तिब्बत गएर आफ्नो सामान बेच्ने र तिब्बती नेपाली आएर सामान बेच्ने गर्थे, जसको आधारमा हिमाली भेगका बासिन्दाको दैनिकी चलेको थियो । सीमा क्षेत्र थिङ्री, सेर्तो, वर्क, नेजुङ, फेरुक, लिङ्स्यार, लिङ्नु, तोङ्वा लगायतका गाउँबाट तिब्बती नेपाल आउने गरेका थिए । पर्यटकीय क्षेत्र भएकाले हिमाली भेगमा खाद्यान्न महँगो हुने भएकाले तिब्बतबाट ल्याएका सामान बिक्रीमा समस्या भने थिएन । स्थानीयले तिब्बतबाट ४ सय रुपैयाँमा खरिद गरेको च्याङ्ग्रा भेडाको फिला नेपाल ल्याएर ६ सयमा बेच्ने गरेका थिए ।
सगरमाथा आधार शिविर क्षेत्रमा खाद्यान्नको मात्र होइन पिउने पानीको समेत अभाव थियो । त्यसैले पचासको दशकमा प्रतिटिन पानी २० रुपैयाँमा बेच्ने गरिएको थियो । सेङ्बोचेका होटलले प्रतिटिन पानी २० रुपैयाँमा किन्ने गरेका थिए । दूधकोशी छेउमा रहेको लारेम्बा भन्ने स्थानको कुवाबाट पानी ओसार्न दुई घण्टा लाग्ने गर्थ्यो । खुम्जुङका झण्डै डेढ सय घरधुरीका बासिन्दाले बर्सातको पानी ट्याङ्कीमा जम्मा गरिँदै आएको थियो । खासगरी हिउँदमा हिउँले पानीको मुहान र पाइपभित्रको पानी नै जम्ने गरेको थियो । यस्तोबेला पानीको निकै हाहाकार हुने हुन्थ्यो ।
झण्डै ३२ वर्षअघि सगरमाथा आसपासका बासिन्दाको जीवनशैली र तिब्बतसँगको सम्बन्धमा केन्द्रित रहेर पत्रकार नारायण वाग्लेले गरेको फिल्ड रिपोर्टिङका आधारमा सोलुको तेङ्बोचे डेटलाइनमा लेखेको समाचार कान्तिपुर दैनिकले २०५० असोज १७ गते प्रकाशित गरेको थियो । अहिले भने यहाँका स्थानीयले उतिबेलाको जस्तो दुःख र अभाव खेप्नु पर्दैन । किनकि सोलुको सदरमुकाम सल्लेरी हुँदै लुक्लाको नजिकै सर्केसम्म गाडी पुगेको छ । सुर्केबाट बढीमा दुई घण्टामा पैदल लुक्ला पुग्न सकिन्छ । निजी क्षेत्रको हेलिकोप्टर र विमानको संख्या बढेको छ । खच्चड र याकले पनि भारी बोकेर सामान माथिल्लो भेगसम्मै पुर्याउने गरेका छन् ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] From there the skin of the tiger, from there the skin of the buffalo](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/archieve-news-2842025012841-1000x0.jpg&w=1001&h=0)