काठमाडौँ — मुस्ताङ अब रहस्य र कौतुकताको विषय रहेन । हिजोआज सयौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक तल्लो र माथिल्लो मुस्ताङसम्मै पुग्छन् । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथको दर्शन गर्न जाने धार्मिक पर्यटकको पनि उस्तै लस्कर देख्न सकिन्छ । पर्यटकको लस्कर अनि गाडीको ताँती मुस्ताङका निम्ति पनि नौलो कुरा भएन । यहाँको दामोदरकुण्ड, कागबेनी, ऐतिहासिक गुम्बाले पर्यटकलाई लोभ्याइरहेका छन् ।
मुस्ताङको आकर्षण धार्मिक आस्थामा मात्रै सीमित छैन । प्रकृतिको अनुपम छटा अनि मुस्ताङ आसापासबाट देखिने नीलगिरि, भृकुटी, गुर्जासहित ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमशिखरसहितका हिमाली दृश्यले मुस्ताङलाई विशेष बनाएको छ । यहाँको प्राकृतिक सौन्दर्यता विशेष छ । छहरा, मुक्तिनाथ, घाँसा र उपल्लो मुस्ताङबाट देखिने हिमश्रृृंखलाको वर्णन त अद्वितीय नै छ । तर मुस्ताङको यो सौर्न्दयबारे लामो समय सिंगो विश्व जानकार थिएन । जानकारी हुनेहरु पनि यहाँसम्म सजिलै पुग्न सक्दैनथे ।
२०६५ सालताका सडकको ट्रयाक खोलेपछि गाडी चढेर मुस्ताङ पुग्न सकिने अवस्था सिर्जना भयो । त्यसअघि त मुक्तिनाथ पुग्नका निम्ति पैदल यात्रा वा घोड सवार नै विकल्प थियो । २०४६ को परिवर्तनपछि सरकारले पञ्च वर्षीय योजना नै बनाएर मुस्ताङमा सडक पुर्याउने लक्ष्य राखेको थियो । तर बजेटको अपर्याप्तता र काममा भएको ढिलासुस्तीका कारण प्रजातन्त्र स्थापना पछिका ३६ वर्षमा पनि यो सडकले पूर्णता पाउन सकेको छैन ।
७० को दशकपछि बाढी, पहिरोले सडक अवरुद्ध गर्ने बेला बाहेक गाडीबाटै सहजै रुपमा जोमसोम हुँदै मुक्तिनाथ र त्यहाँभन्दा माथि रहेको कोरोला नाकासम्मै गाडीमा पुग्न सकिन्छ । अहिले म्याग्दीको बेनीदेखि जोमसोम, कागबेनी हुँदै मुक्तिनाथसम्मको सडकको धेरै भाग कालोपत्र गरिएको छ । उपल्लो मुस्ताङको कोरोला नाका पुग्न कच्ची बाटो तयार भएको छ । मुस्ताङको स्याउ एकैदिनमा गाडी चढेर काठमाडौं पुग्न सक्ने भएको छ । सडक सुविधाले पनि मुस्ताङको सौर्न्दय नियाल्न रुचि हुनेलाई सहज भएको छ ।
तर तीन दशक अघिको चित्र यस्तो थिएन । सडक यातायातले नछोएका कारण मुक्तिनाथ पुग्न तीनदेखि चार दिन हिँड्नुपर्थ्यो । मुस्ताङको स्याउ हवाइजहाजबाट काठमाडौं लगिन्थ्यो । चर्को हवाइ भाडाका कारण मुस्ताङको स्याउ बजारमा पुग्थ्यो । तर त्यसको भाउ महँगो पर्थ्यो । सुलभ बजारको अभावमा मुस्ताङको स्याउ बोटबाटै झरेर कुहिन्थ्यो । एकाध स्थानीयले स्याउबाट रक्सी बनाउन डिस्टिलरी स्थापना गरेका थिए । तर त्यसको बजार पनि सानो थियो । मुस्ताङ बाँकी विश्वबाट बिलकुलै अलग थियो । आफ्नै प्रथा र परम्पराले मुस्ताङी जनता धनी थिए । गरिबलाई व्यवसाय सञ्चालन गर्न ढुकुटी प्रथा चलाइएको थियो ।
पचासको दशकसम्म सञ्चार, सडक र बिजुलीबाट बञ्चित मुस्ताङमा अहिले कोरोलासम्म बिजुलीको लाइन तान्न सुरु भएको छ । २०५२/०५३ बाट स्थानीयकै सक्रियतामा सडक निर्माण सुरु गरिएको मुस्ताङमा अहिले भित्री सडक पनि निर्माण भएका छन् ।
मुस्ताङको सौर्न्दय र रहस्य समेटेर ३२ वर्षअघि २०५० भदौ १५ गते 'हिमालपारीको जिल्लाको स्थायी खबर' शीर्षकमा कान्तिपुरमा भित्री पृष्ठमा समाचार प्रकाशित भएको थियो । पत्रकार विष्णु घिमिरेले तयार गरेको उक्त समाचारमा मुस्ताङमा त्यतिबेला ९ वटा माध्यमिक विद्यालयसहित ६० वटा विद्यालय सञ्चालित भएको उल्लेख छ । यो समाचारमा त्यतिबेलाको मुस्ताङको जनजीवनदेखि भौतिक अवस्थाको चित्र उतारिएको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] What was Mustang like three decades ago?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kantipur-archieve-1842025102702-1000x0.jpg&w=1001&h=0)