काठमाडौँ — त्यतिबेला विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने कुरा साहस र शौर्यको विषय थियो । अझ महिला आरोहीले सगरमाथा चढ्न सक्छन् भन्ने कुरा त धेरैका निम्ति पत्यारको विषयसमेत थिएन ।
सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहणको तीन–तीनपटक असफलता बेहोरेको घटना धेरैका निम्ति ताजै थियो । यही परिदृश्यमा पहिलो पटक १९८४ मा सगरमाथा आरोहण गरिसकेकी भारतीय महिला आरोही बेचेन्द्री पाल दोस्रो पटक सगरमाथा चढ्ने तयारी गरेर नेपाल आएकी थिइन् । बेचेन्द्री पाल नेतृत्वको २१ सदस्यीय आरोहण दलमा नेपालकी निमा शेर्पा र उपासना मल्ललाई पनि समावेश गरिएको थियो ।
नेपाल–भारतको संयुक्त आरोहण टोलीको संरक्षक थिए, तत्कालीन नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन भारतीय प्रधानमन्त्री नरसिंह राव । आरोही टोलीले त्यतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि भटेको थियो । कोइरालाले सफलताको कामना गर्दै सगरमाथाको चुचुरोमा गाड्न नेपाल–भारतको संयुक्त झण्डा प्रदान गरेका थिए ।
सगरमाथा चढ्ने टोलीको संरक्षक भारतीय प्रधानमन्त्री हुनु र नेपालका प्रधानमन्त्रीले आरोही टोलीलाई भेटेर शुभकामना दिनुले महिलाले सगरमाथा आरोहण गर्ने विषय कति महत्त्वको रहेछ भन्ने अनुमान गर्न सकिन्छ । त्यतिबेला पर्यटनमन्त्री रामहरि जोशीले आरोही टोलीलाई भेट नदिएकामा आलोचना पनि भएको थियो । पर्यटन मन्त्रीले युवराज्ञी डायनाको भ्रमणका कारण भेट गर्न नसकेको स्पष्टीकरण पर्यटन मन्त्रालयले दिएको थियो ।
तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको ४० वर्ष पुगेको अवसरमा हुन लागेको आरोहण टोलीमा तेन्जिङका नातिनी सीता गोम्बु भार्बासमेत थिइन् । टोलीमा १९ वर्षीया डिक्की डोल्मा सबैभन्दा कान्छी उमेरकी थिइन् । टोली मोटरबाट जिरी हुँदै २० दिनमा मुख्य आधार शिविरमा पुग्ने अपेक्षा राखेको थियो ।
त्यतिबेला ओखलढुंगा र सोलुखुम्बुको सदरमुकाम जोड्ने सडक निर्माण नभएका कारण काठमाडौंबाट अरनिको राजमार्ग भएर चरिकोट हुँदै जिरीबाट पैदल आधार शिविरतर्फ जानु पर्थ्यो । आधार शिविर २१, २२, २४ र २६ हजार २ सय फिटमा खडा गरिने योजना बनाइएको थियो ।
सगरमाथाको दक्षिणी मोहडाबाट हुने आरोहणका क्रममा २०५० जेठको पहिलो सातामा शिखरमा पुग्ने योजना बनाइएको थियो । आरोहण गर्न पर्यटन मन्त्रालयले सगरमाथा चढ्न लाग्ने राजस्व छुट गरेको थियो ।
नेपालकी महिला पासाङ ल्हामुलाई पनि टोलीमा समावेश गर्न प्रस्ताव गरिएको थियो । तर पासाङले नेपालका तर्फबाट आफूले टोलीको नेतृत्व गर्न पाए मात्रै समावेश हुने अडान राखेकी थिइन् ।
वसन्त ऋतुमा ४१ वटा आरोहण टोलीले सगरमाथालगायत अन्नपर्ण, धौलागिरी, पुमोरी, मकालु आरोहणको अनुमति लिएका थिए । नेपालकी पासाङ ल्हामुले भने २०५० वैशाख १० मा सगरमाथा चढेर कीर्तिमान राखेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो नेपाली महिला हुन् । उनीपछि धेरै महिलाले सगरमाथा चढिसकेका छन् ।
त्यतिबेलाका संवाददाता प्रतीक भण्डारीले लेखेको यो समाचार कान्तिपुरको २०४९ फागुन २४ को अंकमा प्राथमिकताका साथ प्रकाशित भएको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
