डेटा सेन्टर काठमाडौंमा मात्र सीमित हुनुहुन्न

पोखरा र चितवनजस्ता ठूला सहर वा जहाँ विद्युत् गृह वा हाइड्रोपावर नजिक छन्, ती स्थानमा डेटा सेन्टर विस्तार गर्दा राम्रो हुन्छ ।

असार २२, २०८३

सजना बराल

Data centers should not be limited to Kathmandu.

What you should know

काठमाडौँ — वर्तमान सरकारले आफ्नो प्रतिबद्धता, नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत सूचना प्रविधि र डिजिटाइजेसनलाई प्राथमिकता दिँदै डेटा सेन्टर विस्तार र डिजिटल हब निर्माणको लक्ष्य राखेको छ । यसमा निजी क्षेत्र पनि उत्साहित देखिएको छ । यसै सन्दर्भमा नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालसँग दूरसञ्चार सेवा विस्तार, सामाजिक सञ्जाल नियमनका प्राविधिक जटिलता, ग्राहकको बदलिँदो व्यवहारलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

नयाँ सरकार आएपछि इन्टरनेट सेवा प्रदायक र समस्त दूरसञ्चार क्षेत्रप्रतिको रवैया कस्तो पाउनुभएको छ ? तपाईंहरूको कत्तिको कुराकानी हुन्छ ?

अहिलेलाई संक्षिप्त संवाद मात्र भएको छ । उहाँहरूको प्राथमिकता सूचना प्रविधिको विकासमा देखिन्छ र इन्टरनेट क्षेत्र यसका लागि महत्त्वपूर्ण छ भन्ने उहाँहरूले बुझ्नुभएको छ ।

पछिल्लो समय नेपालमा एआई हब र डेटा सेन्टर विस्तारका कुरा धेरै सुनिन्छन्, बिजुली, पानी जस्ता ऊर्जा खपतका दृष्टिले नेपालले हाइपरस्केल डेटा सेन्टर धान्न सक्छ ?

हाम्रोजस्तो कम्पनी, जसको ७० जिल्लामा फाइबर, १ सय ५० भन्दा बढी ठाउँमा क्षेत्रीय कार्यालय र ५ हजारभन्दा धेरै जनशक्ति छन्, हामीलाई टेलिकम सेवा विस्तार गर्न चुनौती छैन डेटा सेन्टरमा अहिले लगानी भइरहेको छ र । केही डेटा सेन्टर सञ्चालनमा पनि छन् । काठमाडौंमा बनिरहेका नयाँ डेटा सेन्टरले अहिलेको माग धान्न त सक्छन् । तर सबै डेटा सेन्टर काठमाडौंमा केन्द्रित हुनुहुँदैन । भविष्यमा यसलाई चाहिने कुलिङ र पावरको मागलाई ध्यानमा राख्दै अन्य क्षेत्रमा पनि जानुपर्ने हुन्छ । पोखरा र चितवनजस्ता ठूला सहर वा जहाँ विद्युत् गृह वा हाइड्रोपावर नजिक छन्, ती स्थानमा डेटा सेन्टर विस्तार गर्दा राम्रो हुन्छ । अहिलेको अवस्था हेर्दा डेटा सेन्टरलाई पुग्ने ऊर्जा हामीसँग छ ।

हाइड्रोपावरको उत्पादन पनि बढिरहेको छ । हिउँदमा केही समस्या हुन सक्छ । त्यसका लागि सरकारले ‘रन अफ द रिभर’ मात्र नभएर स्टोरेजका विभिन्न विकल्पसहित पम्प्ड–स्टोरेज प्रणालीमा लगानी गर्नुपर्छ । चीनले तिब्बतमा डेटा सेन्टरका लागि ठूलो सोलार फार्म बनाइरहेको छ । हामीले पनि हाइड्रोबाहेक यस्ता विकल्प र विशेष गरी हिउँदका लागि स्टोरेज विकल्पका प्रोजेक्टमा ध्यान दिनुपर्छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्रिने हल्ला छ, तपाईंहरू पनि इच्छुक हुनुहुन्छ, यसका लागि स्पेस र बजार छ त ?

नयाँ अपरेटरका लागि स्पेस छ पनि, छैन पनि । पूर्ण रूपमा नयाँ अपरेटर आएर सबै पूर्वाधार बनाउन खोज्दा लागत र सञ्चालन खर्च धेरै हुन्छ । उनीहरूलाई गाह्रै पर्छ । तर हाम्रोजस्तो कम्पनी, जसको ७० जिल्लामा फाइबर, १ सय ५० भन्दा बढी ठाउँमा क्षेत्रीय कार्यालय र ५ हजारभन्दा धेरै जनशक्ति छन्, हामीलाई टेलिकम सेवा विस्तार गर्न चुनौती छैन । हाम्रा लागि त यो ठूलो अवसर हो । हामीसँग टेलिकमलाई चाहिने ७० प्रतिशत पूर्वाधार तयार छ । टावर, पावर र स्विचिङ इक्युपमेन्ट लगायतमा थप ३० प्रतिशत लगानी गरेर हामी टेलिकम सेवा दिन सक्छौं ।

विद्यमान दुवै सेवा प्रदायकले बजार, आम्दानी सबै घट्दो क्रममा रहेको र दूरसञ्चार सेवामा उच्च कर र नीतिगत चुनौतीका कारण उत्साहजनक अवस्था नरहेको बताउने गरेका छन्, यस्तो अवस्थामा तपाईंहरू इच्छुक हुने आधार के हो ?

हामीले १० वर्षअघि फाइबर–टु–द होम सुरु गर्दा साह्रै खर्चिलो र महँगो प्रविधि हुने भएकाले बजार विस्तार सहज नहुने अनुमान गरेका थियौं । तर, मानिसले उत्साहजनक रूपमा अपनाए । अहिले इन्टरनेट सेवाका ग्राहक वार्षिक ३ लाख घरधुरी थपिइरहेका छन् । हाम्रो ग्राहक संख्या ११ लाख पुग्न आँटेका छन् । मोबाइल क्षेत्रमा पनि भ्वाइसबाट मात्रै कमाउने रणनीतिले अब काम गर्दैन । हामीले मोबाइल, फाइबर, इन्टरप्राइज, क्लाउड र सरकारी सुविधाहरूलाई एकीकृत गरेर बजार विस्तार गर्नुपर्छ । नेपालको टेलिकम क्षेत्रमा कर धेरै लाग्छ । हरेक ५ वर्षमा २० अर्ब रुपैयाँ लाइसेन्स नवीकरण र वार्षिक डेढ अर्ब रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बुझाउनुपर्छ । महिनाकै ५० करोड जति रोयल्टी र फ्रिक्वेन्सीमा जान्छ ।Data centers should not be limited to Kathmandu.

तपाईंहरूले कुन लाइसेन्सका लागि जोड दिइरहनुभएको हो ?

हामीलाई मोबाइल प्लेयर मात्र बन्नुभन्दा फाइबर पुग्न नसक्ने ठाउँमा फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) वा फाइभ–जीमार्फत इन्टरनेट पुर्‍याउनु महत्त्वपूर्ण छ । यसमा कम कर लाग्यो भने गाउँका मानिसले पनि सेवा पाउँछन् । उनीहरूको समय बचत हुन्छ । यसलाई ‘कन्जुमर सरप्लस’ भनिन्छ । सरकारले पुरानै २० अर्बको मोबाइल लाइसेन्समा मात्र अड्किनु हुँदैन, नयाँ प्रविधि र मोबिलिटी नहुने फिक्स्ड वायरलेसका लागि छुट्टै लाइसेन्सका बारेमा सोच्नुपर्छ ।

छिमेकी देश भारतमा अधिकांशको पहुँचमा फाइभ–जी पुगिसक्यो, हाम्रोमा परीक्षणसमेत हुन सकेन, कसको कमजोरी हो ?

फाइभ–जीका उपकरण महँगा छन् र यसबाट नेपालमा तुरुन्तै आम्दानी गर्न गाह्रो छ । त्यही भएर सेवा प्रदायकले अलि पछि मात्रै फाइभ–जीमा जाने सोच बनाएका हुन सक्छन् । तर अहिले भारतकै उदाहरण हेर्दा, फाइभ–जीको अवस्था राम्रो देखिन्छ, डेटा खपत बढेकाले फाइभ–जीलाई मनिटाइज गर्न सम्भव भएको छ । हाम्रोमा भने कसैलाई पनि यसप्रति चासो छैन । तर फाइभ–जी चल्ने मोबाइल ह्यान्डसेटको पहुँच नै २५/३० प्रतिशत पुगेको छ । फाइभ–जी दिने हो भने उनीहरूले चलाउँछन् । फेरि फोरजी सेवा ‘स्याचुरेटेड’ भइसकेको छ, भिडियो कलहरू राम्ररी चल्दैनन् । यो ‘कन्जेसन’ (चाप) हटाउन र डेटा खपत बढाउन फाइभ–जी जरुरी छ ।

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनको प्रश्न उठ्दा इन्टरनेट सेवा प्रदायक अन्योलमा पर्ने गरेका छन्, जेन–जी आन्दोलन आसपास पनि त्यस्तै अवस्था थियो, किन होला ?

नीतिगत रूपमा सरकारले जे भन्छ, हामीले त्यही गर्ने हो । समय–समयमा सरकारबाट यो साइट बन्द गर्नुपर्‍यो वा यो सामग्री हटाउनुपर्‍यो भन्ने निर्देशन आउँछ । हामीले सम्भव भएसम्म ती कुराहरू गर्छौं । तर प्राविधिक रूपमा सबै कुरा बन्द गर्न ठूलो लगानी र डिप प्याकेट इन्स्पेक्सन (डीपीआई) फायरवाल चाहिन्छ । यो अहिले इन्टरनेट सेवा प्रदायक वा टेलिकम कसैसँग पनि छैन । अमेजनजस्ता प्लाटफर्ममा होस्ट भएका साइट ब्लक गर्दा वैध ट्राफिक रोकिने जोखिम हुन्छ । हामीसँग भएका सेवा डाइनामिक आईपीमा आधारित हुन्छन् । कुनै निश्चित कन्टेन्ट ब्लक गर्ने खालका हार्डवेयर हामीसँग छैनन् । सरकारको निर्देशनबमोजिम बेटिङ एप र निषेधित साइट डीएनएस र आईपीबाट ब्लक गर्ने प्रयास गर्छौं । तर, भीपीएन चलाउनेहरूलाई रोक्न सकिँदैन ।

अहिलेको ब्यान्डविथ खपतको अवस्था कस्तो छ ? भीपीएनले ब्यान्डविथ खपतमा कस्तो प्रभाव पारेको छ ?

भीपीएन चलाउँदा अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढ्छ । त्यसले गर्दा हाम्रो लागत बढ्छ र इन्टरनेट पनि स्लो हुन सक्छ । हाल ८० प्रतिशत लोकल र २० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । लोकल भन्नाले नेपालमै क्यास सर्भर भएका फेसबुक, युट्युब र टिकटक हुन् । कन्टेन्ट नेपालीले नै बनाएका हुन्छन् तर होस्ट विदेशी प्लाटफर्ममा हुन्छन् । अहिले सबैभन्दा बढी टिकटकमा ब्यान्डविथ खपत हुन्छ । त्यसपछि युट्युब र फेसबुकमा आकर्षण छ ।Data centers should not be limited to Kathmandu.

तपाईंहरू ७० जिल्लामा फाइबर सेवा विस्तार गरेको बताउनुहुन्छ तर काठमाडौं वा सहरी क्षेत्रकै ग्राहकले सेवाको गुणस्तरमा बारम्बार प्रश्न उठाउने गरेका छन्, कसरी सम्बोधन गर्ने सोच्नुभएको छ ?

हामीले पूर्वाधारमा सुधार गरिरहेका छौं । काठमाडौंमा रिङ र डुअल फाइबरको व्यवस्था गरेका छौं । यसले गर्दा अवरोध कम हुन्छ । गाउँतिर मर्मतका लागि जान समय लाग्ने भएकाले सहरको तुलनामा केही कम ‘अप टाइम’ हुन सक्छ । हामी दैनिक रूपमा यसको रिपोर्टिङ र मापन गरेर सेवा सुधारमा जोड दिइरहेका छौं । धेरैजसो समस्या वाइफाईको इन्टरफेरेन्सका कारण हुन्छ । यसलाई सुधार्न हामीले वाइफाई सिक्स राउटर ल्याएका छौं ।

ब्यान्डविथ नै कम भएपछि राउटर मात्रै शक्तिशाली भएर के काम भन्ने गुनासो सुनिन्छ, सिक्स–जी राउटरलाई कतिपय प्रयोगकर्ताले ‘जिउमा नमिल्ने चार गुणा ठूलो साइजको लुगा’ भनेर व्यंग्य गरेको सुनिन्छ नि ?

यस्ता प्रतिक्रिया मैले पनि सुनेको छु । तर, त्यस्ता गुनासा आएको ठाउँमा गएर चेक गर्दा राउटरले नभई राउटर कहाँ र कसरी राखिएको छ भन्ने कारणले समस्या भइरहेको देखिन्छ । राउटर कुनामा राख्दा सिग्नल पुग्दैन । प्रविधिमा समस्या भएको भए सबैतिर एउटै कुरा दोहोरिन्थ्यो र यो ‘डिफेक्टिभ’ हुन्थ्यो । प्रायः ग्राहकमा यो समस्या नभएकाले यो प्रोडक्टको नभई यसलाई कसरी राखियो वा कुन ठाउँमा इन्स्टलेसन भयो भन्ने कुराले समस्या पारेको हुन सक्छ ।

आईएसपीहरूबीचको ‘प्राइस वार’ का कारण गुणस्तरमा असर परेको कुरा के हो ?

आईएसपीहरूबीचको प्रतिस्पर्धाले इन्टरनेट सेवाको मूल्य धेरै तल झरिसकेको छ । ग्राहकले किफायती मूल्यमा गुणस्तरीय सेवा पाउनुपर्छ । तर यति सस्तो पनि हुनुहुँदैन, भोलि गुणस्तर नै नरहोस् । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले फ्लोर प्राइसिङ (न्यूनतम मूल्य) तोकिदिए राम्रो हुन्थ्यो ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully