हामीप्रति सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको विचार भएन भन्ने खाले आरोपहरू लागेका थिए। यद्यपि मैले सधैं अन्तर्वार्तामा भनेको छु, सुरुदेखि नै हामी स्पष्ट वैचारिक धरातलमा छौं।
What you should know
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार दिउँसोदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस भएपछि अहिले निर्वाचन प्रक्रिया सुरु भएको छ। सभापति रवि लामिछाने सर्वसम्मत रूपमा सभापति चयन भइसकेका छन्। ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। त्यसपछि पदाधिकारीका लागि चुनाव हुनेछ। यही विषयमा केन्द्रित रहेर परराष्ट्रमन्त्रीसमेत रहेका रास्वपाका नेता शिशिर खनालसँग कान्तिपुर टिभीका डीपी उपाध्यायले गरेको कुराकानीको संक्षिप्त अंशः
पार्टी निर्वाचन प्रक्रिया सुरु भएको छ। सभापति रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। यसलाई कसरी लिनुभएको छ?
पार्टी सभापति रवि लामिछानेको प्रस्तावक सम्माननीय प्रधानमन्त्रीज्यू आफैं बस्नुभएको थियो। यसले चुनावअघिको समायोजन प्रक्रियाबाट विभिन्न राजनीतिक समूहलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा लिएर आएका थियौं भन्ने कुरा पुष्टि गर्छ। सायद अब यो निर्वाचन र हाम्रो ऐतिहासिक पहिलो महाधिवेशनले सबैलाई एउटै पार्टीभित्र एकीकृत गरेर लैजाने वातावरण सिर्जना गरेको छ।
पार्टी सभापति पक्कै पनि निर्विरोध बन्नुभएको छ। त्यो प्रक्रियाले पार्टी सभापति रवि लामिछानेले सुरु गरेको यो पार्टीमा हामी सबै अटाएका छौं। उहाँको त्याग र संघर्ष हामीले पछिल्लो समय देखेका छौं। जुन ढंगले उहाँले आफैं पनि त्याग गरेर हामी सबैलाई एउटा स्पेस दिनुभएको छ, त्यो अर्थमा उहाँको निर्विरोध हुनु कुनै अचम्मको कुराको विषय भएन।
रास्वपामाथि वैचारिक रूपमा स्पष्ट नभएको आरोप लाग्दै आएको थियो। राजनीतिक प्रतिवेदनले त्यसलाई स्पष्ट पारेको हो?
हामीप्रति सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको विचार भएन भन्ने खाले आरोपहरू लागेका थिए। यद्यपि मैले सधैं अन्तर्वार्तामा भनेको छु, सुरुदेखि नै हामी स्पष्ट वैचारिक धरातलमा छौं।
राजनीतिक दलहरूले आफ्ना केही विषयमा विशेषगरी महाधिवेशनमार्फत परिमार्जन गर्दै जान्छन्। तर अहिलेको संविधान मान्ने र 'व्यवस्था होइन, अवस्था परिवर्तन गर्छौं' भन्ने हाम्रो धारणा २०७९ को चुनावी अभियानदेखि नै स्पष्ट थियो।
त्यो अर्थमा मूल रूपमा हाम्रा सैद्धान्तिक धरातल स्पष्ट थिए। त्यसलाई जलेश्वर बैठकको प्रस्तावनाले पनि मूल रूपमा स्पष्ट पारिसकेको थियो। आज आइपुग्दा त्यसलाई थप स्पष्ट गर्ने अवसर पाइएको हो।
अब तपाईंको उम्मेदवारीतिर जाऔं। तपाईंको उम्मेदवारी केमा छ?
पहिलो चरणमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको छु। दोस्रो चरणमा अवसर पाइयो भने महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छु।
यदि तपाईं महामन्त्री हुनुभयो भने संगठनमा के सुधार गर्न सक्नुहुन्छ?
पछिल्लो चार वर्ष पार्टीमा रहँदै गर्दा पार्टीका नीति–विचारदेखि अघिल्लो निर्वाचनअघि विभिन्न समूह र पार्टीलाई समायोजन गर्ने भूमिकासम्म म रहेँ। मलाई लाग्छ, पहिलो चरणमा पार्टीले स्थापनाको चरण पूरा गर्यो। अब यसलाई संस्थागत गर्ने बेला आएको छ। विधि, पद्धति र संस्थागत संरचनालाई बलियो बनाउने समय आएको छ र त्यसमा काम गर्नुपर्ने मैले देखेको छु।
मूल रूपमा अब संगठनको विस्तार मात्रै होइन, त्यसलाई गहिराइमा लैजाने र सुदृढीकरण गर्ने समय आएको छ। त्यसमा मेरो पहिलाको भूमिका र मेरो ब्याकग्राउन्डले पनि मलाई अनुभव दिएको छ। त्यो अर्थमा म पार्टीलाई योगदान गर्न सक्छु जस्तो लाग्छ।
अरू मन्त्रीहरूले मन्त्रालयको काम देखाएर भोट मागिरहेका छन्। तपाईंले के भनेर भोट माग्दै हुनुहुन्छ?
मलाई लाग्छ, मैले पनि काम नै देखाउने हो। परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै गर्दा नेपाल र नेपालीको ओज संसारभरि राख्ने तथा नेपालको राष्ट्रिय हितको रक्षा गर्ने प्रमुख दायित्व हुन्छ।
त्यो अर्थमा यो अत्यन्त संवेदनशील र महत्वपूर्ण मन्त्रालय हो। पछिल्ला साढे दुई महिनादेखि मैले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु। मैले गरेका गतिविधिले छोटो समयमै नेपालको ओज र श्रीवृद्धिमा योगदान पुगेको छ भन्ने मलाई लाग्छ।
पार्टी छोटो समयमा धेरै ठूलो भएको छ। अबको प्राथमिकता के हुनुपर्छ?
२०७९ को असारमा पार्टी बन्यो, मंसिरमा चुनाव भयो। छोटो समयमै चुनावमा जाँदा त्यतिबेलासम्म पार्टीका संरचनाहरू खासै बनिसकेका थिएनन्। तैपनि अपार जनविश्वासका साथ हामी चौथो ठूलो पार्टी बन्यौं। त्यसपछि संसदीय भूमिकासँगै केही समय कार्यकारी भूमिकामा पनि पार्टी रह्यो।
मूल रूपमा हाम्रो संसदीय भूमिकाकै आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम जनताको अपेक्षा र आकर्षण बढ्यो। त्यसले पार्टीको संगठन विस्तारमा पनि भूमिका खेल्यो। अहिले संगठन निकै ठूलो भएको छ। मतका हिसाबले पनि हामीले ऐतिहासिक समर्थन पाएका छौं।
यो सबै समग्रतामा हेर्दा छोटो समयमा हामीले संगठनको धेरै विस्तार गरेका छौं। तर अब संख्याबाट गुणतर्फ जाने समय आएको छ। त्यसका लागि आन्तरिक तालिम, आन्तरिक विधि, आन्तरिक पद्धति तथा आगामी स्थानीय र प्रदेश निर्वाचनमा केन्द्रित भएर पार्टीलाई बलियो बनाउनु पहिलो प्राथमिकता हो।
पार्टीका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईंको आग्रह के छ?
यहाँ चितवनमा र विदेशमा रहनुभएका सम्पूर्ण प्रतिनिधिज्यूहरूसँग मेरो अनुरोध के हो भने अब पार्टीलाई संस्थागत गर्ने बेला आएको छ। त्यसलाई संस्थागत गर्न सक्ने नेतृत्वलाई मत दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।
मूल रूपमा अब हामी संख्याबाट गुणतर्फ जानुपर्छ। हामी सरकारमा पनि छौं। त्यसैले प्रभावकारी काम गर्नुपर्छ। पार्टी र सरकारलाई एउटै गोरेटोमा हिँडाएर नेपाल र नेपाली जनताको अपेक्षा पूरा गर्नुपर्ने अवस्थामा छौं। त्यसैले भोलि पार्टीको जीवनमा पनि योगदान दिन सक्ने र नेपालको संसदीय तथा सरकारी भूमिकामा पनि खरो उत्रिन सक्ने नेतृत्वलाई रोजिदिनुहोस्।
![It is not surprising that the party president is unopposed, I will rise to the position of general secretary: Shishir Khanal [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sishir-khanal-0662026032951-1000x0.jpg&w=1001&h=0)